सुदूरपश्चिममा चाहियो अन्तर्राष्ट्रिय विमानस्थल

सुदूरपश्चिममा चाहियो अन्तर्राष्ट्रिय विमानस्थल


भर्खरै देशव्यापी ड्रग्सविरुद्धको अभियान सञ्चालन गर्ने क्रममा सुदूरपश्चिम क्षेत्रको धनगढी महेन्द्रनगर पुगेर फर्किंदा टनकपुरको महाकाली ब्यारेज पनि देख्ने मौका पाइयो । नेपालको नदीको सम्पूर्णजस्तो पानी भारततर्फ लगिएको रहेछ र थोरै मसिनो पानी नेपाललाई दिइएको रहेछ । त्यो पानी भारततर्फ लगिएको र नेपालका खेती सुक्खा खडेरीका मारमा परी रोइरहेको अवस्थामा देखेपछि मन कुँडियो । गलत व्यक्तिहरू देश चलाउने ठाउँमा पुर्‍याउँदा त्यो देशले कतिसम्मको क्षति व्यहोर्नु पर्दोरहेछ भन्ने कुरा मैले महाकाली नदीलाई अपहरण शैलीमा विदेशतर्फ लगिएबाट पनि बुझँे । एक रात धनगढी बसी भोलिपल्ट विशेष कार्यक्रम आयोजना गर्न म प्रहरी प्रधान कार्यालयबाट जानुभएका प्रहरी अतिरिक्त महानिरीक्षक भीष्म प्रसाईं र डीआईजी विनोद सिंहको साथमा थिएँ । प्रहरी अधिकृतलाई आफ्ना मातहतका कार्यालय र प्रहरीहरूको निरीक्षण पनि गर्नु थियो तर मेरो ध्यान भने केवल सुदूरपशिचमको जीवन नजिकबाट हेर्नेतिर मात्र केन्द्रित थियो । धनगढी विमानस्थलमा ओर्लिएर बजारतर्फ जाँदा अधिकांश खेत मैले असारको मध्यसम्म पनि बाँझै देखेँ । त्यहाँ खेतहरू बाँझो भएका छन् है भनेर त्यस क्षेत्रका जनप्रतिनिधिले काठमाडौंका टेलिभिजन वा भेलामा कतै सरोकार देखाएका वा कुरा उठाएका मैले कहिल्यै सुनेको–देखेको थिइनँ । ती हजारौँ बिघा जमिनमा सिँचाइ नभएर खेती हुन नसक्दा यदि किसानकै मात्र मन दुख्ने हो भने तिनका जनप्रतिनिधि हुँ भन्दै काठमाडौंमा ठूलो कुरा गर्नेहरूको अर्थ नै के भयो र ? जनताको सरकार छ भन्ने अर्थकै के रह्यो ?
वास्तवमै महाकाली नदी किनारमा रहेर पनि पानी देख्न नपाएका र आकाशतर्फ एकतमासले हेरिरहेका सुक्खा फाँटहरूले मेरो मन साँच्चिकै दुखायो । मैले बाटावरिपरि सानासाना घरहरू देखेँ । ती घरहरू वास्तवमै साना थिए । त्यो घरमा परिवार पनि कसरी अटाउँछ होला ? जस्तो देखिन्थ्यो ती घरहरूका आकारले । ती क्षेत्रका मानिसको आर्थिक अवस्था सहजै अनुमान गर्न सकिन्थ्यो । वास्तवमै भन्ने हो भने ती घरहरू मानिस बस्न लायक नै देखिँदैनथे । सर्प त्यहीँ छ, बिच्छी त्यहीँ छ, त्यही होचो राम्ररी उभिएर सास फेर्नसमेत गाह्रो हुने खालको छाप्रोमा परिवार छ । त्यसैले त्यहाँ सर्पदंशको घटना पनि प्रशस्त हुँदा रहेछन् । ती घरहरू हेरेपछि मेरो मनमा लाग्यो– पूर्वपश्चिम राजमार्गको छेउछाउमा त यति साना घरमा जीवन धान्न यहाँका मानिस विवश छन् भने सेती–महाकालीका विकट पहाडहरूमा त झन् कस्तो हालत होला ? ती घरहरू देखेपछि मेरो मनमा लाग्यो त्यहाँका अधिकांश घरहरू अग्ला, ठूला र परिवार आरामसँग बस्न सक्ने हुनुपर्छ । तर, मलाई लागेर के गर्ने, त्यहाँका कुनै जनताका प्रतिनिधि भन्नेहरूले अहिलेसम्म अधिकांश सुदूरपश्चिमका मानिसले न्यूनतम जीवन धान्नका लागि आवश्यक पर्ने रकम जम्मा गर्न पनि सकेका छैनन् र तिनले स्वस्थ रूपले बस्नका लागि आवश्यक आवासको समेत जगेर्ना गर्न सकेका छैनन् भनेर केन्द्रमा आवाज उठाएको मैले कहिल्यै सुनेको छैन । त्यहाँका नेताहरूले यी कुरा उठाउन्, नउठाउन् तर पनि हामीले नेपाली दाजुभाइले भने त्यो क्षेत्रको आर्थिक स्थिति सुधार्न चिन्ता र चासो दिनैपर्ने समय आइसकेझैं मलाई महसुस भयो । त्यहाँ पनि मानिस बस्ने घरहरू धरान, पोखरा वा काठमाडौंकै जस्तो सुविधाजनक बन्न सकोस् ।
म त जीवन नै खोज्दै थिएँ । टनकपुर बाँधनजिक टाँगामा थुपै्र नेपाली कोचिएर आएको देखेँ । त्यहाँ मलाई भनियो– नेपालीलाई भारतका सीमा प्रहरीले खुबै दुःख दिने मात्र होइन भारतमा मजदुरी गरेर कमाएर ल्याएका सम्पत्ति पनि चपेटामा पारेर नियमविपरीत ढङ्गले हडप्ने गर्दछन् । यो सुन्दा मात्र पनि मलाई नरमाइलो लाग्यो । मैले त्यति नै बेला बम्बैको एक होटलमा काम गर्ने एक सुदूरपश्चिमका नेपालीको अनुहार सम्झेँ । पोहोर हाल सिरडी बाबाको दर्शन गर्न जाँदा बम्बैको एक होटलमा म र मेरा साथी सुवास काफ्लेले एक रात बिताएका थियौँ । त्यो होटलमा कोठा साफ गर्ने एक नेपाली केटा रहेछन् । नेपालीमा कुरा गरेको सुनेपछि उनी हामीसँग झ्याम्मिन आइपुगे । मैले तिनलाई मेरो कोठामा बोलाएँ । उनी डराइडराई त्यहाँ आए । मैले आफ्नो ओच्छ्याउनमा बस्न भने । उनी सङ्कोच मानी–मानी बसे । मेरा लागि उनी नेपाली हुनु नै सम्मानको विषय थियो । कुरा दुःखसुखको सुरु भयो । उनले भने, ‘सर यदि आफ्नै देशमा रोजगार भएको भए यो मुग्लानमा अर्काको गुलामी गर्न किन आउनुपथ्र्यो । घरपरिवारको खुबै याद आउँछ । कहिले त ह्वाँ–ह्वाँ रुन मन लाग्छ । फर्किऊँ कि के हो जस्तो पनि लाग्छ । तर के गर्ने मैले काम नगरी परिवार चल्दैन । दुई वर्ष काम गरेपछि अलिअलि पैसा बच्छ त्यो पनि बोर्डरमा रहेका भन्सार र भारतीय प्रहरीसँग जोगाएर लैजान धौ–धौ पर्दछ ।’ त्यस दिन झन्डै बीस मिनेट हामी दाजुभाइझैं कुरा गर्‍यौँ । भोलिपल्ट बम्बै विमानस्थल जाँदा अर्को नेपाली पनि करिडोरमा हामीलाई कुरिरहेका थिए । हिजोको नेपाली भाइले आजको नयाँ भाइलाई चिनाउँदै भने, ‘सर आज मेरो ड्युटी होइन, तर तपार्इंहरूलाई बिदा गर्न भनी म यहाँ बसिरहेको छु, यसको चाहिँ आज ड्युटी छ ।’ उनीहरू दुवैले हाम्रा आफ्नै भाइहरूले झैं सामानहरू उचाली गाडीमा ल्याउन मद्दत गरे । बिदा हुने बेलामा दुवै गम्भीर मुडमा देखिए । हामीलाई पनि नरमाइलो लाग्यो । हुन त एक रातको कुरो थियो तर पनि नेपाली–नेपालीको रगत नजिक भइहाल्दोरहेछ । फर्कने बेलामा मैले भने, ‘भाइ हो, हुन त म नेपालमा तपाईंहरूलाई सहयोग गर्न सक्ने पद, शक्तिमा भएको मान्छे होइन, तर पनि साँच्चिकै दुःख पर्‍यो भने मलाई सम्झनु म तपाईंहरूको सेवाको ‘ऋण तिर्न चाहन्छु ।’ जब मैले यसपटक टनकपुर बाँध जाँदा नेपालीको कमाइ अन्यायपूर्ण ढङ्गले भारतीय कर्मचारीले लिने भनिएको स्थान देखेँ तब मलाई प्रत्येक टाँगामा बम्बैमा भेटेका ती निर्दोष सरल नेपाली नै चढिरहेका छन् कि जस्तो लाग्यो । त्यस भेगमा नेपालीले जति दुःख पाए पनि त्यसको प्रतिकारमा त्यस क्षेत्रका नेताले भारतीय दूतावासमा पुगेर ज्ञापनपत्र दिएको वा त्यो समस्या सुनाउन उत्तर प्रदेशको मुख्यमन्त्रीकहाँ डेलिगेसन हिँडेको त मैले कहिल्यै सुनेको–देखेको छैन । वास्तवमा त्यहाँका गरिब, शोषित नेपालीको सम्पत्ति रक्षामा कुरा उठाउन जरुरी भइसकेको रहेछ ।
म त एक रात धनगढी बास बस्दा हेर्न सकिनेजति त्यहाँको जीवन न खोजिरहेको थिएँ । धेरै वर्ष पहिला जागिरको दौरानमा म धनगढी महेन्द्रनगरतर्फ गएको थिएँ । अहिले पनि त्यहाँको सहर, बाटाघाटा, जीवनस्तरमा कुनै उल्लेखनीय सुधार र विकास भएको मैले पाइनँ । एकछिन पानी पर्दै बाटो तलाउ भएको र ती तलाउबीच स्कुल–कलेजका विद्यार्थी भिज्दै–रुझ्दै हिँडेको देख्दा त्यहाँ सरकार छ वा छैन ? ठम्याउन गाह्रो पर्‍यो । ख्यातिप्राप्त शुक्लाफाँटछेउको विमानस्थल गाई, भैंसी, बाख्रा
चराउने चरण बनेको रहेछ । जताततै हुरीले लडाएका बहुमूल्य जङ्गलका रूखहरूको रक्षा गर्न वन विभागसमेत भएको देखिएन ।
जीवन खोज्दै गएँ । अधिकांश मानिसका जीवनमा त्यहाँ अभाव, दुःख, कठिनाइबाहेक अरू मैले केही देखिनँ । ठाउँ–ठाउँमा माओवादी क्याम्पहरू देखिन्थे । तिनलाई देख्नेबित्तिकै नेपालले भोगेको त्रासदीपूर्ण समयको केही पल याद दिलाउँथ्यो । लडाइँ भयो र सकियो, तर पनि ति साना घरहरु खुम्चिएर बसेका एक नेपालीलाई अर्को नेपालीले धनी भनेर मारेका घटनाहरु त बिर्सन त्यो क्षेत्रलाई पक्कै समय लाग्ला । म त यहि भन्छु कि नेपालमा युद्ध जरुरी नै थिएन । युद्धले नेपालीको जीवनमा कुनै परिवर्तन पनि ल्याएन, नत्र त्यस भेगमा युद्धपश्चात जीवनस्तरमा वृद्धि भएको देखिनुपथ्र्यो ।
जीवन खोज्दै थिएँ एक स्थानिय व्यक्तिले धनगढीको एउटा चोक देखाउँदै भन्नुभयो– ‘हामीले अखण्ड सुदुरपश्चिमको लागि कैयौं दिन यहाँ आन्दोलन गर्‍यौंं ।’ मैले सोधेँ, ‘किन आन्दोलन ? कोसँग आन्दोलन ?’ उनले भने, ‘मूख्य रुपमा थारुहरुसँग हाम्रो आन्दोलन भयो ।’ मैले सोधेँ, ‘हिजोको अवस्थामा तपाईंहरु र थारु दाजुभाइहरुको बीचमा कस्तो सम्बन्ध थियो ?’ उनले भावविभोर हुँदै भने– ‘दाजुभाइ जस्तै थियौँ । एकअर्काका विवाह, भोज, दुःख–सुखमा हामी साथै हुन्थ्यौँ ।’ अनि मैले सोधेँ, ‘आज तपाईंहरुबीच यो दुस्मनी कसले फैलायो त ?’ उनले एकछिन सोच्दै भने, ‘नेताहरुले त हो नि ।’
एक रात बसेर त्यहाँको जीवन खोज्दै जाँदा मैले महसुस गरेँ कि अझै सुदुरपश्चिम विकासको पथतर्फ जाने सम्भावना वा लक्षण देखिँदैन । त्यहाँ आपसी झगडाको लक्षण देखिन्छ, भुकमरी पर्ने लक्षण देखिन्छ, अझै भारतमा काम गरेर घर चलाउनुपर्ने बाध्यता हुने लक्षण देखिन्छ तर विकासको लक्षण र पूर्वाधार देखिँदैन अझै । त्यसैले मलाई लाग्यो हामी अन्य क्षेत्रका दाजुभाइ दिदीबहिनीहरुले पनि त्यो क्षेत्रको विकासका बारेमा अलिकति अब सोच्नु पर्दछ । मेरो विचारमा हामीले नेपालको नयाँ बन्ने अन्तर्राष्ट्रिय विमानस्थल धनगढीतिरै बनाउन दिनुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलले त्यो क्षेत्रमा आर्थिक विकास गर्न सक्छ ।
त्यस क्षेत्रमा विकासका अन्य पूर्वाधारहरु तुलनात्मक ढङ्गमा अन्य क्षेत्रभन्दा कम छ भने गरिवी बढी । पूर्वमा खेतीपाती, चिया, ठूला नाका र उद्योगधन्दा छन् । मध्य क्षेत्रमा राजधानी र वीरगञ्जजस्ता व्यापारिक स्थल छन् । पश्चिममा पर्यटन र उद्योग छ । मध्य पशिचममा उद्योगधन्दा, व्यापारिक स्थल छ भने सुदुरपश्चिम क्षेत्रचाहिँ पिछडिएको छ । त्यसैले त्यहाँका जनतालाई माथि उकास्न सबै नेपालीले अब बन्ने नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सुदुरपश्चिममा बनाउन दिनुपर्छ । त्यसैले अन्य क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मेरो हार्दिक अनुरोध छ– ‘दिउँ अन्तर्राष्ट्रिय विमानस्थल सुदुर पश्चिमलाई ।’