साना दलको हैसियत के ?

साना दलको हैसियत के ?


बहुमतको समर्थन रहिरहेकै र दोस्रो ठूलो दल नेपाली काङ्ग्रेसलगायत अधिकांश साना दलहरूको दर्बिलो साथ-सहयोग रहँदारहँदै माधवकुमार नेपालले प्रधानमन्त्रीको जिम्मेवारीबाट अचानक काँध बिसाएको घटना सातादिनयता लगातार चर्चाको प्रसङ्ग बनिरहेको छ । नेपालले सहसा यसरी खुट्टा कमाएर आफूलाई कामचलाउ प्रधानमन्त्रीमा रूपान्तरण गरेको कारणप्रति आमतप्कामा व्यापक रूपले कुतूहल जागेको अनुभूति गरियो र त्यत्तिकै बढ्ता चासो जनस्तरमा यतिबेला भावी प्रधानमन्त्रीको अनुहारबारे जागृत भइरहेको छ, जुन स्वाभाविक र सामयिक पनि हो । तर, प्रधानमन्त्रीको हठात् राजीनामाले जुन सन्तोष र सुखका लहर माओवादी नेतृत्व र एमालेभित्रैको एउटा खेमामा पैदा गराएको थियो, त्यो क्रमशः फिक्का बन्दै गएको छ । साथै, माधवकुमारले बाटो छोड्नेबित्तिकै सम्भव हुने भनी कतिपयले दाबी गर्दै आएको राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया पनि अत्यन्त जटिल तथा अन्योलपूर्ण बन्दै गएको छ ।
रोचक त के छ भने ठूला दलहरूले पैदा गराएको वर्तमान राजनीतिक अन्योलको वातावरणमा साना दलहरूको सक्रियता अस्वाभाविक रूपमा बढ्न पुगेको छ । ठूला भनिएकाहरूको गल्तीमा उनीहरू यसरी औंला उठाइरहेका छन्, मानौँ धेरै जान्नेसुन्ने या सक्षम भएकै कारण उनीहरू साना दलका नेता बनेर उदाउन पुगेका हुन् । ँठूलाले सकेनन्, अब सरकारको नेतृत्व सानो दलले गरे मात्र संविधान बन्ने सुनिश्चितता छ’ भन्ने अभिव्यक्ति दिनेदेखि लिएर अनेक बैठकको नौटङ्की मञ्चन गर्दै भावी सरकारमा मन्त्री पद सुनिश्चित गर्न ठूला दलका नेतृत्व तहमा चाप्लुसी-चाकडी बजाउने तथा उनीहरूसँग ँपोलिटिकल ब्ल्याकमेलिङ’ गर्नेसम्मका धन्दामा उनीहरू सक्रिय देखिएका छन् । संविधान निर्माण कार्यमा सिन्कोसम्म भाँच्ने हुति र योग्यता नभए पनि संविधानसभाको ँजागिर’ तन्काउने ँविशेष कार्य’मा उनीहरू सफल सावित भइसकेका छन् । यसरी संविधानसभाको म्याद थप्ने नाममा आफ्नो जागिरको अवधि बढाउन सफल भएपछि उनीहरू संविधान बनाउन होइन मन्त्री पद कसरी हासिल गर्न सकिएला भन्नेमै छटपटिन थालेका छन् ।
कसरी हुन्छ सर्वस्वीकार्य संविधान निर्माण गर्नका लागि छोटो-छिटो-छरितो सरकार बनाएर संविधान निर्माणकार्यमा अघि बढ्नुपर्नेमा छोटामोटा अनेक नामधारी दलका कथित नेताहरू सबैलाई मन्त्री बनाउनुपर्ने र्सतयुक्त ँधम्की’ परोक्ष रूपमा किन दिइरहेछन् साना दल – ताजुबको विषय बनेको छ । समानुपातिक प्रणालीको लाभ उठाएर संविधानसभामा मुस्किलले एक सिट हासिल गरेका हैसियतविहीन कतिपय साना दलका नेताहरू राजनीतिक सङ्क्रमण र सङ्कटग्रस्त नेपाल राष्ट्रको तारणहार आफैं भएजत्तिकै स्वाङ पारेर यसरी चुरीफुरी प्रदर्शन गर्न थालेका परिदृश्य प्रकट हुनु मुलुक र मुलुकवासीका निम्ति अप्रियसूचक एवम् दुःखदायी प्रसङ्ग हो । साना दलहरूले यतिबेला दर्शाइरहेका चर्तिकला हुट्टयिाउँले आकाश थामेको धक्कु लगाएको उखान चरितार्थ हुनुजत्तिकै हो ।
हो, ठूला दलहरूले धेरै गल्ती गरिसकेका छन्, धेरै ठाउँमा उनीहरू चुकिसकेका छन् । यसो भन्दैमा उनीहरूको ठाउँ अब सानाले लिइहाल्न सक्लान् भनी कल्पना गर्न सकिने र गर्न मिल्ने कुरा पनि होइन । दलहरूले गल्तीको परिणति भोग्दै छन्, अझै भोग्नुपर्ने छ । राजनीति पूर्णरूपेण सङ्लो नभएसम्म यो चलिरहने प्रक्रिया हो, चलिरहोस् । तर, समस्त सभासद्का यतिखेरको प्राथमिकता संविधान निर्माणमै हुनुपर्छ, मन्त्री बन्ने, विदेश सयरको अवसर चिहाउने र अन्य सुख-सुविधाको बाटो पहिल्याउनेमा होइन । वर्ष दिनपछि म्याद पक्कै थपिन्न, तर्सथ जो सकेको लाभ उठाइहालौँ भन्ने मानसिकताबाट जबसम्म ६०१ सभासद् मुक्त हुँदैनन्, संविधान बन्न नसक्ने मात्र होइन त्यसले अरू कल्पना नगरिएका समस्या मुलुकमा सिर्जना गराउनेमा विवाद गरिरहनै पर्दैन । र, फेरि पनि तोकिएको समयमा संविधान बन्न नसक्नुको दोष अब साना दलको टाउकामा पनि त्यत्तिकै जोडले बजारिनेछ जति ठूला दलहरू अपजशको भागीदार बन्नेछन् ।