सुध्रिए प्रचण्डका गुरु-वीरेन्द्रमणि पौडेल

सुध्रिए प्रचण्डका गुरु-वीरेन्द्रमणि पौडेल


बोट, बिरुवा र वनस्पतिका सवालमा एकै समयमा रोपिएका र छरिएका बिउहरू कुनै फुल्छन् मात्रै, कुनै उम्रिन्छन् मात्रै, कुनै फल्छन्, कुनै उम्रि्रदैनन् । हावा बराबर, पानी बराबर, माटोको गुण उही र उस्तै, मल बराबर, कुल मिलाएर बिउका लागि आवश्यकता पर्ने हरेक चिज बराबर उपलब्ध गराउँदासमेत कुनै बिउ उम्रिएर फल दिने अवस्थासम्म आइपुन्छ, कुनै नउम्रिने र उम्रिएपछि पनि नसप्रिने हुन्छ । यो प्रकृतिको विशेषता हो । गाई, भैँसी र अन्य जनावरको उत्पत्ति र विकासक्रम पनि अनौठो छ । धेरैजसो जनावर जन्मैदेखि स्वावलम्बी हुन्छन्, आफैँ सप्रिन्छन्, आफैं हुर्किन्छन् । भैंसीको पाडो वा पाडी जन्मिएपछि लर्खराउँदै माउको दूध चुस्न आफैँ उठेर जान्छ । भैँसी आफ्नो थुन लिएर पाडा, पाडीको मुख नजिक जाँदैन । पाडापाडी आफैँ उठ्छन्, हिँड्छन् र भैँसीको थुन पत्ता लगाउँछन् र दूध पिउँछन् । बाघ, हात्ती, मृगलगायत अन्य जनावरहरूको बाँच्ने र हुर्किने प्रक्रिया पनि यस्तै हुन्छ । तर, जहाँसम्म सवाल मानवको जन्मिने, हुर्किने र सप्रिने प्रक्रिया छ त्यो नितान्त अरूभन्दा फरक छ । मानिस जन्मैदेखि स्वावलम्बी छैन, परनिर्भर छ । मानिसको बच्चा जन्मिएर पाडापाडीजस्तो आफैँ उठेर दूध चुस्न जान सक्दैन, मुखमा लगेर दूध चुसाउनुपर्छ । जन्मिएको मानिसको बच्चा उसको आमा वा अन्य मानिसको सहयोग नभए बाँच्न सक्दैन । अन्य जनावरका बच्चा बाँच्न र हुर्किनका लागि आफैँ सङ्घर्ष गर्छन् तर मानिसको बच्चाले आफैँ सङ्घर्ष गर्न सक्दैन । यसरी प्रस्ट हुन्छ- मान्छे जन्मैदेखि स्वावलम्बी छैन परावलम्बी छ । यसैलाई हामीले एक मात्र प्राणी मानिस हो जसले सहयोग गर्न सक्छ भन्ने परिभाषा दिएका छौँ ।
जन्मिएर हुर्किन सफल मानिसहरू कोही ज्ञान र विवेक प्राप्तिका साथ निरन्तर सप्रिन्छन् । कोही विवेक गुमाएर ब्रिगिन्छन् नमरुञ्जेलसम्म । कोही ब्रिगिन्छन् कहिल्यै सुध्रिँदैनन् । कोही ब्रिगिएर फेरि सुध्रिन्छन् र दुनियाँका अगाडि नमुनाको रूपमा स्थापित हुन्छन् । राष्ट्रको सम्पत्तिको रूपमा विकसित हुन्छन् । नेपाली नागरिक समाजमा अहिले पनि थुप्रै मानिस छन् जो असामाजिक र अमर्यादित काम गरेर ध्वस्त भएका छन् । कहिल्यै पनि नसप्रिने र नसुध्रिने बाटोमा हिँडेका छन् । असामाजिक काम गर्न बानी परेकाहरू हत्तपत्त सुध्रि्रदैनन्, बिरलै सुध्रिन्छन् । तर, चितवनको भरतपुर ७ कृष्णपुरमा अचम्मै भएको छ । शिक्षण पेसाबाट निवृत्त शिक्षक मुक्तिनाथ भण्डारी शतप्रतिशत सुध्रिएर खाँटी मानव चरित्र प्रदर्शन गरिरहेका छन् । हुन त भण्डारीका सहोदर साला भोला कोइराला पनि नसुध्रिएका होइनन् । कोइराला पेटभरि रक्सी पिउँथे । पेटभरि रक्सी पिउनु आफैँमा खराब कर्म थियो तर उनी रक्सी मात्र होइन हिजोआज खैनी, चुरोट, सुर्ती, पानपराग, ल्वाङ, सुकमेल, सुपारी र दालचिनीसमेत खाँदैनन् । उनी भन्छन्- जे खायो त्यही खाने बानी पर्छ, त्यसैले यस्ता चिज कसैले पनि नखाओस् । आज भोला कोइराला धेरैका हाई-हाई भएका छन्, प्रशंसाका पात्र भएका छन् । मुक्तिनाथ भण्डारीले पहिले के-के गरे ?
चितवनको शिवनगरमा अवस्थित नारायणी विद्या मन्दिरमा माविमा कुनै बेला सहायक प्रधानाध्यापक रहेका मुक्तिनाथ भण्डारी नेपालका यतिबेलाका चर्चित राजनीतिज्ञ पुष्पकमल दाहाल प्रचण्डलाई पढाउने गुरु पनि हुन् । प्रचण्ड ०३४ सालतिर त्यही विद्यालयमा पढ्थे । मुक्ति भण्डारीले शिवनगरमा पढाए । भरतपुर मावि भरतपुर, लक्ष्मी मावि लङ्कु, प्रेमबस्ती मावि, प्रेमबस्तीमा कतै हेडमास्टर भए कतै सहायक हेडमास्टर । जुन हैसियतमा रहेर पढाए पनि झन्डै बत्तीस वर्ष पढाएपछि उनी रिटायर्ड भए । मुक्ति भण्डारीले बहुविवाह गरेनन् । यौनकाण्डमा फसेनन् । कसैलाई ठगेनन् । आर्थिक भ्रष्टाचार गरेको प्रमाण छैन । उनले रक्सी पिएको कसैले देखेन । तर, उनले गर्नै नहुने तीनवटा असामाजिक काम गरेका थिए । शिक्षण पेसामा बहाल रहँदैमा उनले सार्वजनिक स्थलमा चाडपर्वमा कौडा ?जुवा) खेलेका थिए । शनिबार बिदाको दिन तास खेल्थे र याक चुरोटको बट्टा उनको हातमा सधैँभरि हुन्थ्यो । उनी औधी चुरोट पिउँथे । पढाउने पेसाको सम्मानित मानिसको स्वास्थ्य पनि सधैंभरि तन्दुरुस्त हुनुपर्छ । चुरोट पिउनु ठीक होइन भन्ने कुरा उनलाई रामै्रसँग थाहा भइकन उनले पिएका थिए । गुरुले चुरोट पिएको देखेर शिष्यहरूले के सोच्लान् ? के गर्लान् उनले यसतर्फ कहिल्यै सोचेनन् । निर्धक्क चुरोट पिउँथे उनी । सार्वजनिक स्थलमा चुरोट पिएर उनले आफ्नो सम्मानलाई क्रमिक रूपले घटाइरहेका थिए । उनको दोस्रो असामाजिक र अमर्यादित काम थियो- शनिबारको फुर्सदमा तास खेल्ने । उनी जुन घरमा तास खेल्न जान्थे त्यस घरका पढिरहेका र पढ्ने उमेरका विद्यार्थीले केसम्म सोच्लान् भन्नेतर्फ उनको कहिल्यै ध्यान गएन । उनले लामो समयसम्म तास खेले । तेस्रो नम्बरको असामाजिक काम थियो जुवा । दाहिने हातमा कौडा, देब्रे हातको चोरीऔंला र माझी औँलाको बीचमा धुवाँ पुत्ताइरहेको याक चुरोट र पलेँटी कसेर दाउ मार्ने आशमा जुवा खेलिरहेको अवस्थामा उनलाई धेरै मानिसले देखेका थिए । यहाँसम्म कि भण्डारी दाउ हान्थे उनका विद्यार्थी उनलाई पैसा च्याँखे थाप्थे । गुरु चेलासँगै एउटै खालमा जुवा खेल्थे ।
सार्वजनिक स्थलमा जुवा खेलेर मुक्तिनाथ भण्डारीलाई बढी से बढी खेलुञ्जेल रमाइलो भएको थियो होला तर त्यसबाहेक उनले केही पाएका थिएनन् । गुमाइको हकमा बिस्तारै उनले शिक्षण पेसाको मर्यादालाई घटाइरहेका थिए । शायद उनका छिमेकी र दौंतरीहरूलाई लागेको थियो होला मुक्तिनाथ भण्डारीले बाँकी जीवन पनि यसरी नै बिताउने छन् जसरी विगतमा बिताएका थिए । अनुमान गर्नेहरू गलत सावित भए । भण्डारी सोह्रैआना सुध्रिए । भण्डारीले चुरोट सेवन पूरै बन्द गरे । अब उनका नजिक बसेर चुरोट सेवन गर्नेहरू उनका अगाडि लाज मान्नुपर्ने स्थिति आयो । हिजो आज उनी तास खेल्दैनन् मात्रै होइन तास खेल्ने मानिसको नजिकमा बस्नसमेत रुचाउँदैनन् । जुवा खेल्न त परै जाओस् जुवा-तास खेलेको हेर्न पनि जाँदैनन् । सादा जीवन बिताउनु उत्तम मानव कर्म हो- उनले बुझिसकेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा उनले मानवजीवनको अभिशापको रूपमा रहेको लोभलाई सम्पूर्ण रूपले त्यागिसकेका छन् । उनलाई मीठो खानेकुराको लोभ छैन, अनावश्यक धन थुपार्ने लोभ छैन । महिनामा उनले पेन्सनबापत पाउने करिब एघार हजार रुपैयाँले आमा, श्रीमती र आफूलाई प्रशस्त खान-लाउन पुर्‍याएका छन् । उनी भ्रष्टाचारी, तस्कर र गैरकानुनी ढङ्गले कमाएका मानिसले दिएको खाँदैनन् । तिनीहरूलाई नमस्कार गर्दैनन् । जस्तोसुकै आपत्-विपद् किन नपरोस् भ्रष्टाचारीहरूको मद्दत लिँदैनन् । सीमित र असल मानिससँग सङ्गत गर्छन् । ठीक बोल्छन्, अड्कलेर बोल्छन् । उनका केही भनाइहरू ज्यादै मननयोग्य छन् । उनी भन्छन्- अरूलाई सुधार्ने प्रयास गर्नुको अर्थ छैन । सुध्रिने आफैं हो । लोभ, रिस र घमण्ड मानव समाजको उपल्लो स्तरको दुश्मन हो । आज नेपाल हरेक कोणबाट हेर्दा अस्थिर, अशान्त र अविकसित हुनुमा पनि लोभ, रिस र घमण्डलाई कारण मानेका छन् उनले । झलनाथ खनाल, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, प्रचण्ड र डाक्टर बाबुराम भट्टराईहरूलाई प्रधानमन्त्री पदको लोभ छ । यिनीहरूलाई आफूले प्रधानमन्त्री पद नपाइएला र अर्को व्यक्तिले पाउला भन्नेमा डाह छ, रिस छ । मैले मात्रै मुलुक हाँक्न सक्छु भन्नेमा घमण्ड छ । राजनीतिक दलका नेताहरूको लोभ, रिस र दम्भले दुई वर्षसम्म संविधान बनेन । मनभित्रका विकारको रूपमा रहेका लोभ, रिस र घमण्ड त्याग्न नसके थपिएको एक वर्षमा पनि संविधान बन्न नसक्ने स्थिति उनले देखेका छन् । मुक्तिनाथ भण्डारी संसारका जीवित सात अरब मानिसमध्ये एक हुन् जसले आफ्ना कमजोरीहरू हटाएर सर्त्कर्मद्वारा जीवनलाई सफल पार्न कस्सिएका छन् । गल्ती मानिसले गर्छ, सुधार्ने मानिस हुन्छ, दोहोर्‍याउने पशु हुन्छ । आज धेरै मानिसले मुक्तिनाथ भण्डारीको वचन र कर्मलाई अनुशरण गर्न थालिसकेका छन् । धेरैले भन्न थालेका छन्, ‘मान्छे हुनु त मुक्तिनाथ भण्डारीजस्तो असल हुनु ।’ हरेक नेपालीले आफ्ना गल्तीहरूलाई सच्याउने, सर्ुकर्मको प्रारम्भ गर्ने हो भने मुलुकभरिका हरेक पेसामा आबद्ध नागरिकले निवृत्त शिक्षक मुक्तिनाथ भण्डारीले जस्तै आफूलाई परिवर्तन गर्ने, सुधार्ने प्रयास गर्ने हो भने पनि नेपाल साँच्चैको एउटा सभ्य, सम्पन्न र अनुशासित मानिसको देश बन्न सक्छ ।