‘काका’को काम गर्दा सेनाको फन्दा

‘काका’को काम गर्दा सेनाको फन्दा


-सरिता अर्याल
राजा सक्रिय राजनीतिमा भएको बेलाका शाही सेना, यिनीहरूले जे गरे त्यै कानुन । त्यो बेलामा सबैलाई आ-आफ्नो क्षेत्रअर्न्तर्गतको काम गर्न गाह्रो नै थियो । सहज तरिकाले काम गर्न सबै क्षेत्रमा गाह्रो भएको बेलामा राज्यको चौथो अङ्ग पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारले आफ्नो काम सहज तरिकाले गर्न सक्ने त सम्भव नै थिएन । देखेको कुरा लेख्नुपर्‍यो, लेख्दा जङ्गलमा भएका र सहरमा भएका दुवै मित्रको आँखी हुनुपर्ने ।
मेरो आफ्नो सन्दर्भमा भन्नुपर्दा जे भए पनि आफ्नो पेसा त्यो पनि रोजेको काम त गर्नु नै थियो । सायद बेलै नभई रहरले मात्र नयाँ सडक राष्ट्रिय दैनिक पत्रिकाको सम्पादक/प्रकाशक बन्न पुगेकी थिएँ । अपरिपक्व, अनुभवको कमीले हो या असल व्यवस्थापक हुन नसकेर हो नयाँ सडकमा ठूलै घाटा व्यहोर्नुपर्‍यो । म पनि मध्यम परिवारको मान्छे पत्रिकाको ठूलो घाटाले त मलाई पनि विचलित त बनाइदियो ।
जे होस्, काम पनि गर्नुपर्‍यो पैसा पनि कमाउनुपर्‍यो भनेर अरू डराउने बिट द्वन्द्वमा रिपोरि्टङ गर्न थालेँ । सुरुमै इएसपीको लगानीको काम गर्न कालिकोट पुगेको माओवादीको बन्धनभित्र पुगियो । किड्न्यापबाट भागेर बच्न त बचियो तर त्यो मेरा लागि रामै्र भएछ, म त रातारात साहसिक महिला पत्रकार पो बन्न पुगेछु । अनि त पैसा कमाउन कुनै गाह्रो नै भएन । काम पनि कस्ता-कस्ता विषयलाई उठाएर गर्नुपर्ने । आफूलाई साधारण लाग्ने तर पैसा खर्च गर्नेलाई ठूलै विषय हुँदो हो । त्यस्ता विषयलाई उठाएर मैले विकट-विकट गाउँ घुमेर रिपोरि्टङ गर्नुपर्ने । स्वदेशी, विदेशी योजना-परियोजनाको काम गर्दा मैले नेपालको ६३ जिल्ला घुम्ने मौका पाएकी थिएँ ।
एकजना व्यक्ति मेरो बचपनदेखि चिरपरिचित अनुहार । बुबा-काकाहरूको दांैतरी, मलाई मेरो बचपनको अवस्था त्यो क्षण याद छ, पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज उठाएकोमा धेरैपल्ट जेल जानुभएको थियो ।
पहिलो दिन- ‘छोरी तिमीसित भेट्नु छ, ५ बजे अन्नपूर्ण कवावमा आउ ल’ उहाँको फोन आएको थियो मेरो मोबाइलमा ।
ठीक पाँच बजे म पुगेकी थिएँ अन्नपूर्ण मान्यवर काकालाई भेट्न । उहाँसितको पहिलो मिटिङ राजनीतिक गफ, मसित बाहिर म जे-जस्तो भए नि पारिवारिक रूपमा चिरपरिचित व्यक्ति आफूले सधैं आदर गर्दै आएको आदरणीय व्यक्ति कसरी खुलेर कुरा गर्न सक्थें र उहाँसित ? मसित केहीबेर कुरा गरिसकेपछि उहाँले भन्नुभएको थियो, ‘तिमी मसित खुलेर कुरा गरिरहेकी छैनौ, तिमीसित बोल्दा त भर्खर इनरुवाबाट काठमाडौं आइपुगेकी छोरीसित गफ गरेकोजस्तो लाग्यो, तिमीले लिएको इन्टरभ्यु र आरि्टकलहरू हेर्दा र किड्न्यापिङबाट भागेर ज्यान बचाउन सफल सरिताको रूप र यो रूप फरक छ । मलाई त तिमीले मेरो काम गर्न सक्छ्यौ होला भन्ने लागेर तिमीलाई बोलाएको थिएँ ।’
अब मलाई लाग्यो नेता काका मलाई कुनै काम सुम्पन चाहनुहुन्छ । मैले भनेकी थिएँ, ‘भन्नु न काका मैले के गर्नुपर्‍यो ?’
‘म तिमीलाई एक-एकवटा विषय दिएर गाउँ पठाउँछु तिमीले त्यसमा गहिरिएर रिपोरि्टङ गरिदिनुपर्छ । तिमीले मैले दिएको विषयलाई लिएर कतै छपाउन पाउँदिनौं, त्यो विषय मात्र मेरा लागि हुन्छ, तर म तिमीसित कुनै किसिमको लिखित सम्झौता भने गरि्दनँ । तिम्रो रिपोरि्टङ मात्र लिखितमा हुन्छ अरू सबै हाम्रो मौखिकमै हुन्छ । म तिमीलाई कामको विवरण दिन्छु तिमी हिसाब गरेर भन त्यसमा तिमीलाई कति पैसा चाहिन्छ । आधा पैसा अगाडि दिन्छु आधा रिपोरि्टङ पाएपछि ।’ ओहो ! कस्तो पत्रकारिता, कस्तो काम ?, कस्तो रिपोरि्टङ ? अहिलेसम्म मैले यस किसिमको रिपोरि्टङ त गरेकी थिइनँ । दुईपक्षीय सम्झौता गरेर मात्र काम सुरु गरिरहेकीले यो कस्तो काम हो ? कतै म पैसामा आफ्नो कलमलाई गलत हातमा त बेच्न गइरहेकी छैन ? मेरो रिपोरि्टङ कसका लागि ? अनेक प्रश्न मेरो मनमा उठिरहेका थिए । एउटा रिपोरि्टङको दुई लाखदेखि ६ लाखसम्म मैले पाइसकेको कुरा मँन्यवर काकाबाटै सुनेपछि त म झन् अचम्मित भइरहेकी थिएँ । तिमीलाई पैसा कति चाहिन्छ भन पैसामा कुनै मोलतोल गर्नु नपर्ने गरी भन्नु, तिमी निराश हँुदिनौ ।’
बिना लिखित सम्झौतामा लाखौँ खर्च गर्ने कुरा काकाको भनाइले मैले थाहा पाइसकेकी थिएँ । त्यत्रो पैसा खर्च गर्न काकालाई कसले भनेको होला ? काकाको आर्थिक स्थिति व्यक्तिगत त्यति खर्च गर्ने खालको त थिएन । जे होस्, त्यो समयमा मलाई पनि नयाँ सडकको घाटाबाट बाहिर निस्कनु थियो, आखिर काम पनि त आफ्नै पेसाकै त हो नि भनेर काकासित मैले मौखिक सम्झौता गरेँ ।
२ दिनपछि हामी फेरि भेटिँयौँ बानेश्वरको बेकरी क्याफेमा । मलाई पहिलो काम उहाँले दिनुभएको थियो- कैलालीको धनगढी छेउछाउमा भएको कमैया शिविरबाट युवती, किशोरीहरू बेपत्ता हुनुको कारण, पहिलो प्रोजेक्ट २ लाखमा कुरा मिल्यो । त्यो रिपोरि्टङ चित्त बुझयो भने पैसा खर्च गर्ने मान्छेलाई अरू रिपोरि्टङको काम दिने रे । १ लाख मैले काकाबाट त्यही दिन पाएँ । यो कस्तो रिपोरि्टङ मौखिक कुरामा एक लाख लिएर लागेँ म घरतिर ।
भोलिपल्टै म लागेँ कैलालीतिर । हप्ता दिनमा काम सकेर मैले रिपोरि्टङ मान्यवरलाई बुझाएकी थिएँ । रिपोरि्टङ कसका लागि थियो त्यो मलाई त्यो समयमा थाहा भएन । तर, काका मात्र माध्यम हुनुहुन्थ्यो भन्ने कुरा काकाले पैसा दिने बेलामा भन्नुभएको थियो, ‘तिम्रो रिपोरि्टङ पैसा दिने मान्छेलाई मन पर्‍यो रे, यस्तै गहिरिएर रिपोरि्टङ गर्दै जानू’ भन्ने वाक्य मेरा लागि काफी थियो काकाको पछाडि कोही छ भन्ने कुरा जान्नका लागि । त्यसपछि त एक महिनामा तीनवटासम्म जिल्ला घुमेर म रिपोरि्टङ गर्न थालेकी थिएँ मान्यवरको मौखिक आदेशमा ।
एकपल्ट मलाई मान्यवरले पठाउनुभएको थियो, रामेछाप जिल्लाको गाउँमा गएर माओवादीहरूले कसरी सूचनाहरू घरघरमा प्रचार गरेका छन्, त्यो फोटोसहित लिएर आऊ । लौ पैसा थियो ६ लाख । बेला थियो राजाको सक्रिय नेतृत्वमा चलेको राज्य-व्यवस्था । त्यो बेलाका सेना अलि अप्ठ्यारै भएर प्रस्तुत हुन्थ्यो पत्रकारसित । त्यसैले म जहाँ जान्थेँ सदरमुकाममा कुनै जानकारी नै नदिई एक-दुईजना स्थानीय पत्रकारलाई साथी लिएर पहिले गाउँकै काम खत्तम गर्थें ।
त्यहाँ पनि मैले दुईजना स्थानीय पत्रकार भाइहरूलाई लिएर गाउँ पसेकी थिएँ । तीनजना पत्रकार गाउँतिर लागेका छन् भन्ने खबर सेनाको ब्यारेकमा पुगेछ । हामी अघिअघि सेनाको टोली पछिपछि । हामी एक दिन बीचमा बास बसेर भोलिपल्टको बास बस्न साँघुघाट पुगेका थियौँ । मैले घरघरमा माओवादीले राखेका उजुरीपेटिका, रूखको टुप्पामा भएका माओवादीका झन्डा र घरका दिवालहरूमा लेखिएका नारा, पाटी-चौतारीहरूमा झुन्ड्याइएका सूचना, व्यङ्ग्यचित्र आदिको फोटो लिँदै गएकी थिएँ, मैले मेरो रिपोरि्टङका लागि खुराक त पाइनै रहेकी थिएँ तर मैले मेरो गाउँ बस्नुको उद्देश्य साथीहरूलाई खुलेर भन्न सकेकी थिइनँ किनकि म काकासितको मौखिक सम्झौताको पालना गरिरहेकी थिएँ । मेरो भेट साँघुघाँटीमा चन्द्रीनगाहपुर बैंक लुटेर फर्किएका माओवादी जनसेनासित भएको थियो । मैले उनीहरूसित सामान्य कुरा गरेकी थिएँ । मेरो उद्देश्य उनीहरूसित गहिरिएर गफ गर्नु थिएन । किनकि म त्यसको रिपोरि्टङ कहीँ गर्न सक्दिनँ थिएँ । उनीहरूको भनाइलाई म पत्रिकामार्फत दिन सक्दिनँ थिएँ । मेरो जानकारीका लागि थोरै प्रश्नहरू मात्र मैले माओवादी सेनासित सोधेकी थिएँ । मेरो कार्यक्षेत्रभित्र माओवादीको सेनाको इन्टरभ्यू थिएन त्यसैले मैले कुनै कुरा पनि नोट गरिनँ, त्यसले मेरा सहयात्री भाइहरूलाई अचम्मित बनाएछ । उनीहरू मलाई प्रश्न गर्न थाले- दिदीले फोटो र गाउँलेसितका केही गफबाहेक केही गर्नुभएन । दिदीको यो दुई दिनको हिँडाइको कारण र उद्देश्य के त ? म र्फकंदा बाटोभरिका उनीहरूका यस्ता प्रश्नको जवाफ अर्कै किसिमले दिँदै आइरहेकी थिएँ । यथार्थ बताउन म असमर्थ थिएँ ।
हामी फर्किएर त्यही घरमा बास बस्न पुग्यौँ जहाँ दुई दिन पहिले बसेका थियौँ । हामी हिँडेको केही क्षणपछि ५०-६० जना सेनाको टोली हामीलाई सोध्दै त्यहाँसम्म आइपुगेको रहेछ । त्यहाँबाट हामीले रामेछाप सदरमुकाम आउने बस लियौँ र रामेछाप पुग्नुअगाडि नै सेनाको ब्यारेकअगाडि हाम्रो बस रोकियो । मेरा दुईजना पत्रकार साथीलाई सेना आएर लिएर ब्यारेकभित्र गए । १५/२० मिनेटपछाडि साथीहरू फर्किनु भो । सेनालाई जानकारी नदिई किन गाउँ गएको भनेर गाली गरेछन् साथीहरूलाई, म गेस्टहाउसतिर लागेँ भने साथीहरू लाग्नु भो आ-आफ्नो घरतिर ।
खाना खाएर बिछ्यौनामा पल्टिएर म मेरो डिजिटल क्यामरामा भएका फोटोहरू हेरिरहेकी थिएँ, क्यामेराको ब्याट्री सकियो । ब्याट्री निकालेर चार्जमा राखेर म फर्किंदै थिएँ बिछ्यौनातिर ढोका ढकढकियो । मैले ढोका खोलेँ, बाहिर बार्दलीभरि सेना, तल पूरै सेनाले गेस्टहाउस घेर्दै थियो । ३-४ सय सेना थिए ।
‘तपाईं नै हो सरिता अर्याल ?’ हो मैले भने । ‘तपार्इं एकछिन बाहिर उभिनु त, हाम्रो जवानले तपाईंको कोठा खानतलासी लिन्छन् । हुन्छ भनेर म बार्दलीमा किनारा लागेँ । म लेफि्टनेन्ट, के गर्नु माथिको आदेश ।
पहिलोपल्ट ममाथि सेनाको र्सच भएको थियो । मेरो क्यामरा र डायरी लिएर आएर सेनाले लेफि्टनेन्टलाई दियो । डायरीका पाना पल्टिए, एक पानामा गाउँलेले राजालाई गाली गरेको इन्टरभ्यू थियो । त्यो पन्ना च्यातियो, ब्याट्री नभएकोले क्यामरा अन भएन । डायरी र क्यामरा दिएर सेना फर्कियो । पछि थाहा भयो हामी तीनैजनाकोमा सेना एकै समय आएको रहेछ । मेरो दुई मित्रको घरमा गएर उहाँहरूको क्यामरा, डायरीसहित दुवैलाई सेनाले ब्यारेक लगेको रहेछ ।
केही समयमा नै मन्थली र रामेछापभरि यो खबर डढेलो लागेजत्तिकै फैलिएको रहेछ । दुर्गा घिमिरे र जगदीश घिमिरे को थियो त्यो गेस्टहाउस जहाँ बस्न दुर्गा दिदीले मलाई भन्नुभएको थियो । गेस्टहाउसमा सेनाले र्सच गरेको खबर काठमाडौंका जगदीश दाइलाई पनि भएछ । उहाँलाई मलाई फोन गरेर सोध्नुभयो, कसको प्रोजेक्ट लिएर जानुभएको रामेछाप ? बिट के हो आदि आदि । तर म कत्ति अप्ठ्यारो स्थितिमा पुगेकी थिएँ । म खुलेर नेता काकाको नाम पनि लिन सक्दिनँ थिएँ अरू कसैको फर्जी नाम पनि म दिन सक्दिनँ थिएँ किनकि मलाई यही प्रश्नको जवाफ सेना, पत्रकार, नेता सबैलाई दिनुपर्ने भएको थियो । म एक उत्तरमा मात्र चिप्लिएँ भने पनि मेरो भोलिका दिन अप्ठ्यारोमा पर्न सक्थ्यो । साथीहरूलाई सेनाले कहाँ पुर्‍यायो कसैलाई थाहा थिएन । त्यो रातिसम्म मेरो कोठामा स्थानीय नेताहरूको भीड लागिरहेको थियो । मैले पत्रकार महासङ्घका सभापति विष्णु निष्ठुरीलाई फोन गरेर साथीहरूलाई सेनाले लगेको र सेनाले र्सच गरेको जानकारी दिएकी थिएँ । भोलिपल्टका सबै दैनिक पत्रिकामा म र्सचमा परेको र दुई साथी बेपत्ता पारिएको खबर छापिएको थियो ।
हिजो सोधपुछ गर्न आएका लेफि्टनेन्ट फेरि आए गेस्टहाउसमा र किन पत्रिकामा दिएको भनेर रिसाए । मलाई त्यो दिन मान्यवरसित किन लिखित सम्झौता गरिनँ भनेर पछुतो भइरहेको थियो । तर, पनि मैले उहाँको नाम कतै लिइनँ । सेनाले लिएको लिखित बयानमा पनि मेलै मेरो आफ्नो पत्रिकाका लागि भनेर भनेकी थिएँ ।
आज इन्टरनेटमार्फत पत्रिकाहरू पढ्दै थिएँ । मेरो नजर मान्यवर नेता काकाको फोटोमाथि पर्न गयो । माथि हेडिङ हेर्छु, समवेदना । मेरो पत्रकारिताको आयुमा चार वर्ष मलाई काम दिने काकाको देहान्त भएछ । मैले लुकाएर राखेको नाम सधैंका लागि लुकेछ । जे होस्, काकाको आत्माले शान्ति पाओस् ।