‘ओखलढुङ्गाको बाटो र बलबहादुर राईको आत्मा’

‘ओखलढुङ्गाको बाटो र बलबहादुर राईको आत्मा’


-शिवजी श्रेष्ठ
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापश्चात्को प्रथम संसदीय निर्वाचनको मझधार थियो । सबै पार्टी र उम्मेदवारहरू आ-आफ्नो चुनाव प्रसारमा व्यस्त थिए । सोही सिलसिलामा २०४७ चैत ३ गते तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई ओखलढुङ्गाको सदरमुकामस्थित हाइस्कुलको खेलमैदान ?ठूल्चौर) मा हेलिकोप्टरबाट उत्रिनुभयो र सीधै कार्यक्रमस्थलतर्फ लाग्नुभयो । कार्यक्रममा सम्हालिनसक्नु भीड थियो । वक्ताहरूको बोल्ने क्रममा ओखलढुङ्गा क्षेत्र नं. २ का नेपाली काङ्ग्रेसका उम्मेदवार बलबहादुर राई बोल्न थाल्नुभयो । बोल्ने सिलसिलामै उहाँले, ‘यदि मैले यस निर्वाचनमा जितेँ भने ओखलढुङ्गामा जसरी पनि बाटो ?सडक) ल्याएरै छाड्छु । ल्याउन सकिनँ भने कि त यातायातमन्त्री मर्छ, नत्र यो बले किराँती मर्छ’ भन्नुभएको मात्रै के थियो, आकाश यसरी गुञ्जियो कि, खाली ‘जिन्दावाद’ मात्रै बुझिन्थ्यो । धुलो यसरी उड्यो, मान्छे को त कुरै नगरौं हेलिकोप्टर पनि देखिएन । सँगसँगै ताली र नारा एकनासले गुन्जिरह्यो । स्थिति यस्तो भयो कि बलबहादुर राईको भाषण नसकिँदै किशुनजी उठ्नुभयो र बलबहादुर राईको हातबाट माइक लिनुभयो र भन्नुभयो, ‘ओखलढुङ्गावासीहरू, ढुक्क हुनुहोस् बलबहादुर राईलाई मर्न दिने छैन’ यस निर्वाचनपछि पनि म नै हो प्रधानमन्त्री, तपार्इंहरूको जिल्लामा अब बाटो ?सडक) आउँछ, आउँछ तब के चाहियो ताली, नाराबाजी । केही मिनेट त किशुनजीले पनि बोल्न सक्नुभएन, जनता त्यति खुसी र उत्तेजित भएर चिच्याएका थिए । किशुनजी क्रमश: बोल्दै जानुभयो- त्यही क्रममा पर कुनाबाट नेकपा ?एमाले) का नेता, कार्यकर्ताले ‘कालो झन्डा’ देखाए । तर, पनि कार्यक्रम शान्तिपूर्वक सकियो ।
तोकिएको समयमा निर्वाचन सकियो, बलबहादुर राईले अत्यधिक मत ल्याएर चुनाव जित्नुभयो । तर ‘बलबहादुर राईलाई मर्न दिन्नँ’ भन्ने किशुनजीले भने चुनाव हार्नुभयो ।
माथि उल्लिखित ओखलढुङ्गावासीहरूको खुसी, उत्तेजना र छटपटीभित्र लामो कथा थियो जो सडक यातायातसँग जोडिएको थियो । वि.सं. २०१६ सालमा बीपी कोइरालाको प्रधानमन्त्रित्वमा गठित सरकारले नै सिन्धुली हुँदै ओखलढुङ्गाको प्रस्तावित बाटो २०१७ सालको काण्डसँगै रोकियो । तबदेखि त्यो ओखलढुङ्गाको बाटो पञ्चायतकालमा प्रत्येक राष्ट्रिय पञ्चायतको सदस्यको चुनावमा उम्मेदवारको पर्चा ?पम्प्लेट) को पहिलो एजेण्डा बन्दै रह्यो भने ओखलढुङ्गावासीका लागि सधैं काकाकुलको कथा बन्यो ।
अहिले सम्झँदा पनि कहाली लाग्छ, उदयपुरको कटारीबाट ४/५ दिनको बाटो भरियाले ढाकरमा बोकेको नुन, तेल, लत्ताकपडाले त्यहाँका जनता आफ्ना दैनन्दिन जीवनयापन गर्दथे । यी अप्ठ्यारासँगैको महँगीमा जनता बाँचेकै थिए । मान्छेको आवतजावत् ?त्यो पनि हुने-खाने) रुम्जाटारको हवाईमैदान हुँदै प्लेनमा ?त्यो पनि टिकट पाउने मान्छे भाग्यमानी वा सोर्सफोर्सवाला मानिन्थ्यो) हुन्थ्यो, जुन वर्षा मौसमभरि अघोषित रूपमा बन्दजस्तै हुन्थ्यो । तब ज्यान हत्केलामा राखेर खोलाको किनारैकिनार हिँड्दा दिनहुँ ‘आज पनि मान्छे बगायो रे’ भन्ने समाचारहरू पनि सामान्य र स्वाभाविकझैं लाग्थे । तर, पनि गरिब जनताको जीविका त्यही बाटो भारी बोकेरै चलेको थियो । यसै सन्दर्भमा ओखलढुङ्गामा एउटा रमाइलो भनाइ चलेको थियो, तत्कालीन पूर्वरापंस ?जो यातायात सहायकमन्त्री पनि भइसकेका थिए) ले आफ्नो चुनाव प्रसारको क्रममा त्यही भरिया हिँड्ने बाटोमा बसेर ती भरियाहरूलाई भोट माग्ने क्रममा भनेका थिए रे, ‘हेर्नुस् न मेरा विरोधीहरूले म यातायातमन्त्री हुँद बाटो ल्याएन भनेर मेरो विरोध गर्छन्, अब मैले बाटो ल्याइदिएको भए अहिले तपाईंहरूले कहाँ भारी बोक्नुहुन्थ्यो ?’ जे होस्, बाटो ?सडक) पछिसम्म पनि काकाकुलको कथा नै रहिरह्यो ।
यिनै कथा-व्यथाको पृष्ठभूमिमा आशा र अपेक्षाका केन्द्रको रूपमा बलबहादुर राईप्रति भोट ?मत) खनिएको थियो । उहाँले चुनाव मात्र जित्नुभएन, गिरिजाबाबु प्रधानमन्त्रित्वको सरकारमा वरिष्ठ मन्त्रीको हैसियत पनि प्राप्त गर्नुभयो । तब सुरु हुन्छ रमाइलो कथा । लामो समयपश्चात्को प्रजातान्त्रिक सरकार । जोशका साथ विभिन्न जिल्लामा विभिन्न विकासका योजना परियोजनाहरू राखिए । तर, ओखलढुङ्गामा सडकको योजना फेरि परेन । मन्त्रिपरिषद्को बैठक बसिरहेको बेला सडक योजनामा ओखलढुङ्गा नपरेपछि आवास तथा भौतिक योजनामन्त्री बलबहादुर राईले यातायातमन्त्री खुमबहादुर खड्कातर्फ फर्किएर सोध्नुभएछ, ‘के त यातायातमन्त्रीज्यू ओखलढुङ्गामा सडक योजना नपरेकै हो त ?’, यातायातमन्त्रीको टाउको हल्लाइपछि बलबहादुर राईले गिरिजाबाबुलाई सम्बोधन गरेर भन्नुभएछ, ‘गिरिजाबाबु लौ आज यहाँ एउटा घटना घट्ने भो ।’ गिरिजाबाबुले आर्श्चर्यमिश्रति स्वरमा सोध्नुभएछ, ‘किन ? के घटना ?’ ‘अब यहाँ कि त खुमबहादुर मर्छ, कि बलबहादुर । ‘मैले त जिल्लामा बोलेको छु….।’ तब माथि यथास्थानमा वरि्णत घटना सविस्तार बलबहादुर राईले सुनाउनुभएछ । सबै मन्त्रीहरू हाँसोमिश्रति आर्श्चर्यमा परे । गिरिजाबाबु पनि मुसुमुसु हाँस्नुभएछ र एकछिनपछि गम्भीर भएर यातायातमन्त्रीतिर फर्किएर आदेश दिनुभएछ, ‘ओखलढुङ्गामा सडक योजना पार्नू ।’ तब बलबहादुर राईले लामो श्वास फेर्नुभएछ ।
जे होस्, ओखलढुङ्गामा सडक आयो, नाम राखियो ‘सिद्धिचरण लोकमार्ग’ उद्घाटन थियो, २०५६ साल माघमा । सदरमुकाममाथिको रमाइलो डाँडामा बलबहादुर राईबाटै उद्घाटन कार्यक्रम थियो, अनि अर्को कार्यक्रम थियो सडक जिल्लामा ल्याउने व्यक्तित्व बलबहादुर राईको अभिनन्दन पनि गजबको संयोग बलबहादुर राईलाई अभिनन्दन गर्ने तिनै हातहरू थिए- जो हिजो २०४७ सालमा कालोझन्डा देखाउने । जो उपस्थित थिए त्यसबखत जिविस सभापति अनि गाविस अध्यक्षको रूपमा अनि साक्षीहरू थिए, ‘आफ्नो मातृभूमि सम्झौं’ कार्यक्रममा काठमाडौंबाट- ओखलढुङ्गा पुगेका प्रसिद्ध सीमाविद् बुद्धिनारायण श्रेष्ठ अनि प्रसिद्ध साहित्यकार एवम् वाम बुद्धिजीवी डा. कविताराम श्रेष्ठ ?जो आफैं ती कर्मयोगीहरूलाई दोसल्ला ओढाउँदै थिए) ।
त्यो सडक यातायात उद्घाटन भएको दिन एक दशक बितिसकेछ । अहिले त त्यो बाटो अर्को बलबहादुर ?केसी) को जिल्लामा पनि जोडिइसकेको छ ।
आज तिनै ओखलढुङ्गावासीलाई सडक यातायातका लागि काकाकुलको कथाबाट मुक्ति दिलाउने कर्मयोगी बलबहादुर राईको भर्खरै निधन भएको समाचार आएको छ । तर, मलाई लाग्छ, उहाँको निधन भएको छैन । उहाँको ‘अमर आत्मा’ ओखलढुङ्गाको तिनै कच्ची बाटो वरपर अल्मलिँदै कतै घुमिरहेको होला ।
तिनै कर्मयोगीको अमर आत्माको चिरशान्तिको कामनासहित श्रद्धासुमन ।