‘एचआइभी सङ्क्रमितलाई रोगी नभनौँ’

‘एचआइभी सङ्क्रमितलाई रोगी नभनौँ’


World Aids day (3)
काठमाडौं । एड्स दिवस मनाउन लागेको २८ वर्ष हुदाँ पनि सङ्क्रमितलाई सम्बोधन गर्ने तरिका हेपाहा खालको भएको सङ्क्रमितहरुले गुनासो गरेका छन् । विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागी कार्यक्रममा समय सान्दर्भिक विषयमा कुरा गर्दा भेदभाव जनाउने खालका शब्द चयन गरेको प्रति दःुख व्यक्त गरेका हुन् ।
नेपाल एचआइभी÷एड्स सङ्क्रमितको महासङ्घका तालिम अधिकृत प्रकाश योगीले सङ्क्रमितलाई रोगी भनि सम्बोधन गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो— “केही शब्दले भेदभाव र लाच्छना घट्नुको साटो बढाएको छ । सङ्क्रमितलाई रोगी, महामारीको रुप, पीडित भनी सम्बोधन गर्नु निराशाजनक हो ।”

सङ्क्रमितले चाहेमा आफूबाट रोग फैलनबाट रोक्नसक्ने भएकाले उनीहरुलाई महामारीको रुप भनी सम्बोधन नगर्न आग्रह गरेका छन् । लामो समयदेखि एचआइभी एड्सको क्षेत्रमा काम गरिरहनुभएका नेपाल एचआइभी÷एड्स एलाइन्सका ऋषि ओझाले पहिलेको तुलनामा सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनुभयो । उहाँले सरकारले आफ्नो कार्यक्षेत्रलाई बढाएर अति जोखिममा परेका व्यक्तिसम्म पुग्न आवश्यक भएको बताउदैँ अहिले सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमणको उच्च जोखिममा रहेका मानिससम्म नपुग्दा एचआइभी÷एड्सको जोखिम रहिरहने धारणा राख्नु भयो ।

नेपालमा ३९ हजार २१४ मानिस एचआइभीको सङ्क्रमणमा रहेको अनुमान छ, जसमा २५ हजार ४४९ पुरुष, १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क रहेको छ । नेपाल एचआइभी÷एड्स सङ्क्रमितहरुको महासङ्घका अध्यक्ष अच्युत सिटौला भने सरकारले गरेको कार्य पूर्ण नभएको धारणा राख्नुहुन्छ । उहाँले केही प्रतिशतमा सङ्क्रमण हुने सङ्ख्या घटेपनि सङ्क्रमणमा रहेका व्यक्ति औषधिको पहुँचमा पुग्न नसकेको बताउनुभयो ।

लागूपदार्थ दुब्र्यसनीका कारण एचआइभीको सङ्क्रमणमा परेका सिटौला युवालाई लक्षित गरी यस्ता खालका कार्यक्रम ल्याउनुपर्ने र सबै सङ्क्रमितलाई औषधिको दायरामा ल्याउनु सरकारको चुनौती भएको बताउनुहुन्छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले नेपालले हालै प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७१ तथा रणनीति (२०१६–२०२०) मा एन्टिरेट्रोभाइरल (एआरभी) औषधि उपचार सेवालाई विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री चौधरीले एचआइभीलाई प्रमुख चुनौतीका रुपमा राखेको र कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक आधारभूत स्वास्थ्य सेवाका रुपमा सूचीकृत गर्नुपर्ने बताउँदै उहाँले यसका लागि एचआइभीसम्बन्धी रणनीति तथा योजनाको कार्यान्वयनलाई पनि समीक्षा गरी अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । मन्त्रालयले सन् २०१५ सम्ममा एचआइभी सङ्क्रमणलाई ५० प्रतिशत घटाउने र एड्सबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा एचआइभी रोकथाम, परीक्षण, उपचार, हेरचाह सेवामा लक्षित समुदायको पहँुच उल्लेखनीय रुपमा बढ्दै गएको बताउँदै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्यका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीव्र बनाउन जरुरी भएको बताउनुभयो । नेपालमा ८५ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट हुनेगरेको केन्द्रका सूचना अधिकृत वीरबहादुर राउतले जानकारी दिनुभयो ।
– कल्पना पौडेल