ढिला गरे ‘रेफरेन्डम’ माग्ने खतरा :: डा. सुन्दरमणि दीक्षित

ढिला गरे ‘रेफरेन्डम’ माग्ने खतरा :: डा. सुन्दरमणि दीक्षित


Sundar M Dixit by JPT
० नेपालमा छिमेकी भारतले अघोषित नाकाबन्दी गरेको चौतर्फी आरोप लागिरहँदा आन्दोलनरत मधेसी मोर्चाका नेताहरूले नाकाबन्दी भारतले नभई आफूहरूले लगाएको दाबी गरिरहेका छन्, तपाईंको बुझाइमा नाकाबन्दी भारतले लगाएको कि मधेसी मोर्चाले ?
– पहिलो कुरा त यसलाई मधेसी आन्दोलन भन्नु नै गलत छ । यो नेपालभित्र मधेस भूभागमा बस्ने सयौँ वर्षदेखि उत्पीडनमा परेका नेपालीले आफ्नो अधिकारका लागि गरेको नेपाली आन्दोलन नै हो । प्रजातान्त्रिक मुलुकभित्र प्रजातान्त्रिक हक–अधिकारका लागि लडेको लडाइँ हुनाले यसमा कुनै पनि डेमोक्रेटिक मुलुकले नैतिक समर्थन दिन्छ, दिनु पनि पर्छ । भारत त संसारकै सबभन्दा ठूलो डेमोक्रेटिक मुलुक हो । उसले ‘मधेसी’ भनेर समर्थन दिएको हो जस्तो मलाई लाग्दैन । बरु प्रजातान्त्रिक अधिकारका लागि लड्ने जुनसकै क्षेत्र, लिङ्ग, जाति या भाषाभाषीलाई उसले नैतिक समर्थन दिनैपर्छ । शोषित, उत्पीडित कसैले पनि आफ्नो हक–अधिकार प्राप्तिका लागि गरेको आन्दोलनमा समर्थन जनाउँदैन भने त भारतले आफूलाई विश्वकै ठूलो प्रजातान्त्रिक देश भनेर कसरी भन्न सक्छ र ? जसरी हामीलाई सात सालमा उसले समर्थन दिएर प्रजातन्त्र हासिल भयो, जसरी छयालीस सालमा उसले समर्थन दिनाले नै पञ्चायत फ्याँकियो, जसरी ०६२/६३ मा उसले साथ–समर्थन दिएर माओवादीसमेत भई राजालाई किनारा लगाइयो भने भारतले कुनै पनि लोकतान्त्रिक आन्दोलनलाई साथ दिनु अस्वाभाविक होइन । भारतकै साथ–समर्थनबाट नेता बनेकाहरू अहिले आफूलाई अनुकूल भएन भनेर भारतको विरोधमा उत्रिनु विडम्बनाको कुरो हो । यस्तै दुइजिब्रे नेताका कारण देश ओरालो लागेको हो । जहाँसम्म नाकाबन्दी भारतले लगायो कि मधेसका आन्दोलनकारी नेपालीले भन्ने सवाल छ, हामी प्रस्ट छौँ कि यो कार्य भारतले नभई आन्दोलनकारीले नै लगाएका हुन् । उनीहरूको मागको समुचित सुनुवाइ हुनेबित्तिकै नाकाबन्दी पनि हट्छ ।

० तपाईंले प्रजातन्त्रको मूल्यमा भारतले आन्दोलनकारीलाई समर्थन दिएको तर्क गर्नुभयो, भन्नेहरूले त भारतले नेपालको तराई–मधेस भूभाग नै आफ्नो अधीनमा पार्न यस्तो चाल चलेको भन्छन् नि ?
– यो बेकारको प्रपोगण्डा मात्र हो । यस्तो लाञ्छना लगाउनुअघि राम्रोसँग सोच्नुपर्छ । आजको युगमा वर्षौंदेखि यूएनको सदस्यसमेत रहेको राष्ट्रको भूभाग भारत या कुनै पनि शक्तिशाली देशले चोइट्याएर लैजान सक्ला ? यस्तो हौवा कसको इशारामा किन र कुन स्वार्थ सिद्ध गर्न पिटाइँदै छ, यसको लेखाजोखा हुँदै जाला । यहाँ कलिला विद्यार्थीको दिमागमा ‘भारतले नाकाबन्दी गरेर नेपालीलाई दु:ख दिएको छ, देशै खान लागेको छ’ भन्ने कुरा जबर्जस्ती घुसाइने चाल नै चालिएको देख्छु म । भारत भनेको हाम्रो दुश्मन नै हो भनी कलिलो दिमागमा घुसाइएको कुरा मेटिन गाह्रो हुन्छ । यो बेठीक मात्र नभई खतरनाक कुरा हो । वास्तवमा छिमेकी भारतसँग शत्रुतापूर्ण व्यवहार गरेर हामी अगाडि बढ्नै सक्दैनौँ । यस्तो प्रपोगण्डा चलाएर कसैले निहित स्वार्थ सिद्ध त गर्ला तर यसले नेपाल र नेपालीको भने पटक्कै हित गर्दैन ।

० भूभाग चोइट्याएर नलिए पनि देश सङ्घीयतामा गएपछि मधेस प्रदेशका शासकलाई प्रभावमा पारेर भारतले लाभ लिन्छ भन्नेहरू पनि छन् नि ?
– कुनै देशले छिमेकी या अन्य कुनै पनि मुलुकबाट आफ्नो क्षमता प्रयोग गरी लाभ उठाउन खोज्नु कुन आश्चर्यको कुरा हो त ? संसारका सबै मुलुकले आफ्नो राष्ट्र र आफ्ना नागरिकको हितका खातिर काम गर्छ, गर्नुपर्छ । नेपालबाहेक सबै मुलुकले यही गरिरहेका छन् । हाम्रो देशका ‘सो–कल्ड’ नेताहरूबाहेक सबैले देश र जनताको बढीभन्दा बढी हित कसरी गर्न सकिन्छ भनेर लागिरहेका हुन्छन् । त्यसका लागि कूटनीतिक विधि अपनाउँछन्, आवश्यकताअनुसार अरू विधि पनि अवलम्बन गर्लान्, तर जे गर्छन् स्वदेश तथा आफ्ना नागरिकका लागि गर्छन् । कुनै अमेरिकनलाई कतै कसैले दु:ख दिने, ज्यान लिने काम गर्‍यो भने अमेरिकाले त्यहाँ हानिदिन्छ, किनकि उससँग त्यसो गर्ने सामथ्र्य छ । आफ्ना सिटिजनको सुरक्षाका लागि आफूसँग भएको शक्ति प्रयोग गर्नु राज्यको धर्म र कर्म नै हो । शक्ति नहुनेले कूटनीतिक विधि प्रयोग गरेर भए पनि देश र जनताको हित गर्नुपर्छ । भारतले पनि नेपालबाट आफूले के लाभ लिन सकिन्छ भनी प्रयास गर्नु कुनै अनौठो होइन, अनौठो त के हो भने खुला सिमाना रहेको शक्तिशाली छिमेकी देशबाट नेपालले चाहिँ लाभ लिने सामथ्र्य देखाउनै सकेन ।

० नेपालप्रति भारतको हेपाहा र मिचाहा व्यवहार छ भन्ने तपाईं मान्नुहुन्न त ?
– मैले मान्नु या नमान्नुले भारत र नेपालबीचको सम्बन्ध या व्यवहारमा कुनै फरक पर्दैन । नेपाल र भारतको सम्बन्ध संसारमै बिरलकोटिको छ । परिभाषित गर्नै नसकिने सम्बन्ध भएका मुलुक हुन् यी दुई । यस्तो ‘इनडिफाइनेबल रिलेसनसीप’मा भारतसँगको हाम्रो पोलिसी के हो भन्नेचाहिँ आजसम्म निर्धारण गरिएको छैन । साँच्चै भनौँ भने भारतको पनि नेपाल पोलिसी के हो, प्रस्ट छैन । ‘र’, ‘आईबी’हरूले आफ्नो नीति बनाएर काम गर्नु बेग्लै कुरा हो, तर मेरो बुझाइमा भारतको वास्तविक नेपाल–नीति के हो भन्ने फिक्सड छैन । हाम्रोजस्तो खुला सीमा भएको छिमेकमा सायद यो हुन पनि सक्दैन । यस्तोमा, भारतले हाम्रो भूमि खान लाग्यो, भारत हाम्रो शत्रु हो, भारतले नाकाबन्दी गर्‍यो भनेर बच्चा–बच्चाको दिमागमा हालिदिएर भोलि भारतसँग कसरी हामीले सहायता लिने ? सहयोग त उससँग नलिई सुखै छैन नेपाललाई । तीतो माने पनि मीठो माने पनि यो धरातलीय यथार्थ हो । वल्र्डपावरको रूपमा देखापरेको भारतको सहयोगबिना हाम्रो देशले आवश्यक प्रगति गर्न सक्छ भन्ने मलाई लाग्दैन । अनि, भारतले पनि आफ्नो चासो या हितअनुसार नेपालमा चलखेल त गर्छ नै । हिजो पनि गर्‍यो, भोलि पनि गर्छ । उसले आफ्नो हितमा गर्ने चलखेललाई हामीले कसरी प्रतिरोध गर्ने, कसरी उसबाट लाभ लिने भन्ने त हाम्रो पाटो हो नि । हामीले पनि त्यही किसिमबाट आफ्नो गच्छे या सामथ्र्यअनुसारको कूटनीति चाल्नुपर्‍यो । खै त देश चलाउँछौँ भन्ने हाम्रा नेताहरूले यस्तो गर्न सकेका ? प्रभुत्व जमाउन खोज्दा उसको असरबाट कसरी बच्ने, उसको अहित नगरी उसबाट कसरी लाभ लिने भन्ने कुरा त हाम्रा नेताहरूको क्षमतामा भर पर्ने कुरा हो नि † ०७ सालदेखि अहिलेसम्म कुनचाहिँ दलका कुनचाहिँ नेता मन्त्री, प्रधानमन्त्री बन्न दिल्ली कुदेका छैनन् होला ? पावर हत्याउन दिल्लीमा लम्पसार पर्ने अनि पावर नपाएपछि उसको झन्डा जलाउने, राजदूतलाई जुत्ता हान्नेजस्ता निकृष्ट एवम् गैरकूटनीतिक व्यवहार गरेपछि हामीले दु:ख नपाएर पाउँछौँ के ? भारतले हामीमाथि के–कति प्रभुत्व जमाउन खोज्छ भन्ने त हाम्रै व्यवहारमा भर पर्ने न हो । १२ बुँदे सम्झौता गर्नुपर्दा भारत ठीक, अहिले सत्ताबाहिर बस्नुपर्दा भारत बेठीक भन्ने निजी लाभ–हानिमा तौलिने नेताहरूबाट सनकको भरमा अभिव्यक्त गरिएका बोली नै देशको ‘भारत–नीति’ त हुन सक्दैन नि । तर यहाँ त यस्तै देखियो । मोहनशमशेर आए उनकै नीति, त्रिभुवन हुँदा बेग्लै नीति, गिरिजा भए उनको आफ्नै नीति अनि प्रचण्ड या ओली हुँदा फेरि तिनको आफ्नै नीति † यसरी पनि कहीँ राष्ट्रको नीति चल्छ ? भारतसँग दुश्मनी गर्नुमा फाइदा छ कि मित्रता गर्नुमा ? पहिले यो प्रस्ट हुनुपर्‍यो, अनि सोअनुसारको नीति राज्यले तय गर्नुपर्‍यो । कहिले शिरमै चढाउने कहिले तथानाम गाली गर्ने गरेर भारतसँग मात्र होइन कुनै पनि मित्रराष्ट्रसँग नेपालको निर्वाह चल्दैन ।

० इन्धनलगायतका सामग्री भारतबाट नभए चीनबाट आपूर्ति गरेर देखाइदिने सरकारको जो पहलकदमी छ, यो कति सम्भव होला ?
– थोरबहुत अनुदान–उपहार दिने कुरा अलग हो, तर चीनबाट आपूर्ति गरेरै मुलुक धान्ने चेष्टा गर्नुचाहिँ असम्भव छ । हाम्रो धरातलीय यथार्थ नै यस्तै छ । चीनबाट आउने भनिएको जो बाटो छ, त्यहाँबाट त्यति ठूला ट्याङ्कर र कन्टेनरहरू कसरी आउँछ ? चाइनाको पोर्ट छ क्यान्टोनमा, क्यान्टोनदेखि तिब्बत ल्याएर यताको बाटो हुँदै नेपाल ल्याउनु असम्भव नै छ । यो अप्ठ्यारो बुझेर सरकार नै पछि हटिसक्यो नि । खै त चाइनासँग हस्ताक्षर गर्न सरकार तयार भएको ?

० यसमा पनि भारतले नै कूटनीतिक माध्यमबाट अवरोध पुर्‍याएको आरोप लगाइँदै छ त ?
– कस्तो लज्जास्पद कुरा † भारतले रोकाएको हो भने हाम्रो सरकार कति कमजोर, कति फितलो रहेछ त † यस्तो लुते किन भएको ? इन्डिया हामीलाई चाहिन्न भन्दै उसलाई तथानाम गाली पनि गर्ने अनि चाइनाबाट ल्याउन नसकेपछि पनि उसैलाई आरोप लगाउनु त आफ्नै निकम्मापनको पराकाष्टा हो । यो त हिप्पोक्रेसी भयो नि । यस्ता काल्पनिक प्रचारले कसैको हित गर्दैन ।

० यसको मतलब चीनले चाहेर पनि नेपाललाई सहयोग दिन नसक्ने अवस्था रहेछ, हो ?
– यस्तै त हो नि । माओ त्से तुङले उहिल्यै चीन भ्रमणमा गएका बीपी कोइरालालाई भनेका थिए– हेर्नुस्, नेपालप्रति हाम्रो सहानुभूति छ, हामी सक्दो सहयोग गर्न पनि चाहन्छौँ, तर तपाईंहरूका लागि त भारत यति निकटको मित्र सावित हुन्छ कि नेपाललाई हरेक कुरा त्यताबाट सजिलै उपलब्ध हुन सक्छ । त्यति सजिलो आवतजावत छ तपाईंहरूको कि भारतबाट हुने जस्तो गरी हामीले नेपालमा आपूर्ति गर्न सक्दैनौँ । त्यसैले, हामीसँग नेपालको राम्रो सम्बन्ध छ तापनि भारतसँग तपाईंहरू सम्बन्ध नबिगार्नुस्, अझ राम्रो बनाउनुस् । प्रधानमन्त्री चाउ एन लाईसमेतलाई सँगै राखेर माओले त्यतिबेला बीपीलाई भनेका थिए । त्यसैले हामीले यो बुझ्नुपर्छ कि चाहेर पनि चीनले नेपाललाई आवश्यक पर्ने मात्रामा आपूर्ति गर्न सक्दैन भन्ने चीन स्वयम्ले राम्ररी बुझेको छ । उसले दिन सक्ने प्रकारको सुविधा त दिइहाल्छ, तर भारतको रिसमा चीनलाई देखाएर घुक्र्याउने मूर्खता हामीले गर्नैहुँदैन । हाम्रा दुवै छिमेकी आफ्नै बुताले वल्र्डपावर बनेका देश हुन्, यस्ता छिमेकी पाउनु हाम्रो भाग्य हो । त्यसैले दुवैको हित चिताउँदै दुवैतिरबाट फाइदा लिनेतर्फ नेपाल लाग्नुपर्छ । कसैलाई ‘हिट’ गर्ने होइन, सबैको ‘हित’ गर्नुपर्छ ।

० नेपालले के गरिदिए भारतको हित हुन्छ त ?
– छिमेकी हुनुको नाताले हित गर्ने या अहित गर्ने काम–कुरा त अनेक हुन सक्लान् । मेरो बुझाइमा भारतलाई मुख्यतया टेरिरिज्मको डर छ । हाम्रो तराईभरि थुप्रै मदरसा छन्, त्यताबाट एउटा मात्रै पनि आतङ्ककारी जन्मियो भने त्यसले भारतमा ठूलो नोक्सानी पुर्‍याउन सक्छ । खुला बोर्डर न उसले बन्द गर्न सक्छ न ढुक्क हुन नै सकेको छ । आफ्नो सुरक्षाका लागि उसले त्यहाँ नजर लगाएको छ । यसैगरी स्मगलिङ रोक्नु पनि उसको अर्को ध्येय होला । फेक करेन्सीलगायतको तस्करीमा उसको विशेष चासो छ । अर्को कुरा ‘माओवादी’को डर पनि उत्तिकै छ । नेपालले त भाग्यवश माओवादीलाई मूलधारमा ल्याउन सक्यो, तर भारतमा त माओवादीको समस्या कायमै छ । नेपालको माओवादी सुध्रिएर भारतीय माओवादीलाई समेत मूलधारको राजनीतिमा आउन प्रेरित गर्ला भन्ने भारतीय चाहनामा तुषारापात भएकोले ऊ सशङ्कित छ । नेपालसँग जोडिएको बिहारदेखि उता आन्ध्र प्रदेशसम्मै माओवादी समस्या झेलिरहेको छ भारत । भारतले नेपालका माओवादी पद र सत्तामा पुगेपछि जसरी भ्रष्ट भएर कुहिएको देख्यो, यस्तो आशा उसले गरेको थिएन । भारतका माओवादीले सत्तामा गएर भ्रष्ट बनेको नेपाली माओवादीलाई राम्रो दृष्टिले हेर्दैन । जसले गर्दा भारतीय माओवादी मूलधारमा आएर शान्तिको बाटो अवलम्बन गर्ने सम्भावना कम देखिएको छ र यसकारण भारत एकप्रकारले निराश बन्न पुगेको छ ।
Sundar mani Dixit
० हामीले यतिबेला दु:ख पाउनुमा भारत दोषी होइन त ?
– यसको जवाफमा म एउटा सानो उदाहरण दिन चाहन्छु । नेपाल आएर मोदीले भनेका थिए, ‘अभी हम आपको बिजुली देँगे, पिछे हम आपसे बिजुली लेँगे, लेकिन हम फ्रि नहीँ लेँगे ।’ उनको आशय नेपालसँग यत्रो ऊर्जाको स्रोत छ, यसलाई उपयोग गर्न हामी मद्दत गर्छौं र पैसा दिएर खरिद गर्छौं भन्ने नै थियो । यसबाट दुवैको हित हुन्थ्यो । एकातिर सहयोग गर्न खोज्ने छिमेकीलाई लत्याउने अर्कोतिर ठूला आयोजनामा हात हाल्ने अन्य विदेशी कम्पनीलाई पनि काम गर्न नदिने, भ्रष्टाचार र कमिसनको डरलाग्दा खेल खेल्ने यहाँका नेताका चरित्र देखियो । यदि नेताहरूले भ्रष्टाचार गरेर ठूलाठूला आयोजना नतुहाइदिएका भए आज भारतले नाकाबन्दी लगायो भन्दै कोकोहोलो मच्चाउनुपर्ने अवस्था नै आउने थिएन । ०४६ सालयता मात्रै बिजुली उत्पादनमा जोड दिएको भए आज ट्रली बस गुड्थ्यो, रोप–वे र केबलकार चल्थ्यो, उद्योग–धन्दा फस्टाउँथे, हामी कहाँबाट कहाँ पुग्थ्यौँ । त्यसैले म त जोडसँग भन्छु कि हाम्रा नेताहरू भ्रष्ट भएर कुहिएकाले हामीले दु:ख पाएका हौँ, भारतको कारण हामीले यो कष्ट भोग्नुपरेको होइन । भारत आफैँले नाकाबन्दी लगाएको होइन, यहीँबाट यस्तो परिवेश निम्त्याइएको हो । ०४६ मा यहीँबाट गएर नेताहरूले नाकाबन्दी लगाउन माग गरेका थिए भने अहिले पनि मधेसीको समस्या सम्बोधन नगरेर जानाजान हाम्रै शासकहरूले नाकाबन्दी निम्त्याएका हुन् । मधेसको यतिबेलाको जो माग छ, त्यो डेमोक्रेसीभित्रैको डिमान्ड हो, जाहेज माग छ यो । तर फटाहा शासकहरूले माग पूरा गर्ने होइन कि पेलेर जाने, जबर्जस्ती आन्दोलन दबाउने र यो सब भारतले गर्दा भएको हो भनी हौवा फैलाउने चेष्टा गरे । कुरा यहीँबाट बिग्रियो ।

० संविधानले त मधेसका सबै मागको सम्बोधन गरेको छ भनिएको छ नि, खासमा मधेसको माग नाजायज हो कि शासकहरूको भनाइ नाजायज हो ?
– संविधानले मधेसको माग पटक्कै सम्बोधन गरेको छैन । त्यसैले हाम्रा शासक नेताहरूकै भनाइ नाजायज हो भन्न म हिच्किचाउँदिनँ । मधेसी आन्दोलनकारी पक्षको भनाइ स्पष्ट छ, बाह्रबुँदेले जे दिने वाचा गरेको थियो र आठबुँदेले त्यसलाई अझ बढाएर दिने जुन कुरा गरिएको थियो, त्यो हुनुपर्‍यो भन्ने मात्र उनीहरूको माग हो । त्यो सहमति गर्ने त यिनै नेताहरू थिए भने अहिले किन छलकपट गरिँदै छ ? यदि मधेसी आन्दोलनकारीहरू गलत ठाउँमा हुन्थे भने के मधेसका नेपाली सय दिनभन्दा बढी यसरी लगातार आन्दोलित भइरहन सक्थे ? कुनै दुई–चारजना नेताले भन्दैमा जनता यसरी लगातार आन्दोलनको मैदानमा डटिरहन्थे र ? गाउँ–गाउँबाट मधेसका नेपाली उठेका छन् अहिले । ०४६ पछि उनीहरूलाई लागेको थियो कि अब हाम्रो पनि अलिअलि इज्जत हुन्छ, मान हुन्छ, पहिचान हुन्छ । पहिचानपछि सम्मान हुन्छ र सम्मानपछि उत्थान हुन्छ । पहिचान, सम्मान अनि उत्थान । खोजेको यही हो मधेसले । यही कुरा जनजातिले पनि खोजेका हुन् । तर, शासन–सत्ता हातमा लिनेहरूले यो कुरामा आँखा चिम्लिदिए । औँलामा गन्न सकिने नेताहरूले आ–आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न मुलुकमाथि नै घीनलाग्दो चलखेल गरे । यहाँ त डरलाग्दो कुरा के भइदियो भने कुनै नेताको क्षेत्र सुरक्षित गर्न लाग्दा उब्जेको समस्या समाधान गर्न नसक्दा मधेसलाई राज्यले नै एउटा ‘प्रदेश’बाट ‘देश’ बनाउने खतरा पैदा भएको छ । मधेसलाई नेपालको प्रदेश रहन दिने कि छुट्टै देश बन्न उक्साउने, नेताहरूले सोचुन् ।

० तपाईंहरूले त नागरिक समाजको तर्फबाट प्रधानमन्त्रीलाई भेटेर सुझाव पनि दिनुभयो क्यारे, कस्तो प्रतिक्रिया पाउनुभयो प्रधानमन्त्रीबाट ?
– यस्तो गम्भीर मुद्दामा पनि प्रधानमन्त्री एकदम लापरबाह भएको हामीले महसुस गर्‍यौँ । चीनलाई देखाएर भारत तर्साउने खेलमै उहाँ मग्न हुनुहुन्छ जस्तो लाग्यो । तर, यो चल्दैन । चीनले त राम्रो गर्‍यो नि, फ्रेन्डसिपको नाताले अनुदान नै दियो । तर, व्यापारिक हिसाबले दिन त उसले पनि नेपालको हस्ताक्षर चाहन्छ । हावाको भरमा चीनले दिँदैन । हजारौँ वर्षको भारतसँगको सम्बन्धलाई यसरी बिगारेर नेपालले आफूसँग हात फैलाउँछ भने भोलि सारा संरचना तयार गरेपछि आफूसँगको कारोबार चटक्कै छोडेर नेपाल अर्कोतिर नलहसिएला भन्ने के ग्यारेन्टी ? भन्ने सोचेर चीन सतर्क छ । आफ्नो आन्तरिक समस्या सुल्झाउनेतिर नलागी मित्रराष्ट्र भारतलाई अन्तर्राष्ट्रिय तवरमा बद्नाम गर्न खोजेको कुरालाई चीनले पनि नियालिरहेको छ । भोलि आफूलाई पनि नेपालले यस्तै नगर्ला भन्ने के ग्यारेन्टी भन्ने चीनले सोचेको छ । त्यसैले सकभर भारतसँग नेपालले सम्बन्ध सुधारेर समस्या समाधान गरोस् भन्ने चीन चाहन्छ । सही गर भनेर उसले भनेको कारण यही हो, तर खै त नेपालले चीनसँग हस्ताक्षर गर्न सकेको ? केटाकेटी खेलेजस्तो होइन नि देश–देशबीचको सम्बन्ध भनेको । एउटा प्रस्ट नीति हुनुपर्छ, सोचसमझका साथ चल्नुपर्छ । तर, त्यस्तो देखिएन ।

० अन्तर्राष्ट्रिय समुदायमा त ‘अघोषित नाकाबन्दी’को कुराले भारत आलोच्य पात्र नै बन्यो नि, होइन ?
– सबभन्दा नजिकको छिमेकी मित्रदेश नेपालको हालको व्यवहारले भारतको मन पक्कै कुँडिएको महसुस गर्न सकिन्छ । अन्तर्राष्ट्रिय नियमअनुसार भारतले नेपाललाई नाका दिनैपर्छ, दिइरहेको पनि छ । सबभन्दा नजिकको पोर्ट दिएको छ उसले । यदि नेपाललाई साँच्चै दु:ख दिने हो भने त उसले उता मद्रास, भुवनेश्वरतिर दिन सक्थ्यो । त्यस अवस्थामा नेपालको हालत के हुन्छ ? यसरी कसैले सोचेको छ ? विचार नगरी अन्तर्राष्ट्रियकरण गर्न खोज्दा भोलि आइपर्ने घनघोर समस्या कसरी थेग्न सकिन्छ ?

० आफूलाई लागेको र आफूले बुझेको कुरा तपाईं यसरी प्रस्ट राख्ने गर्नुहुन्छ, भारतपरस्तको आरोप लाग्ला भन्ने डर छैन ?
– लगाउनेले त्यस्तो आरोप लगाइरहेकै छन्, लाग्दै गरोस् । जति पनि कुरा म गरिरहेको छु यो भारतका लागि नभएर नेपालकै हितका लागि गरिरहेछु । नेपालले आफ्नो पोजिसन बुझ्नुपर्छ र छिमेकीहरूसँग त्यसअनुसारको व्यवहार गरेर फाइदा उठाउनुपर्छ भन्ने मेरो धारणा हो । भारतलाई गाली गरे राष्ट्रियता झल्कने, समर्थन गर्दा देशघाती हुने भन्ने जुन अन्धो मान्यता छ, यसबाट म अलग छु । कुनै पनि विवेकशील नेपालीले निरपेक्ष रूपमा विचार–मन्थन गरे राष्ट्रियता के हो र राष्ट्रघात के हो भन्ने सहजै छुट्टिहाल्छ नि । राष्ट्रियताको चर्का कुरा गर्दै राष्ट्रलाई नै क्षति पुर्‍याउने काम गर्नु कहाँको बुद्धिमत्ता हो ? जुनसुकै शक्तिशाली देशले पनि आफ्नो मुलुक र मुलुकवासीको हितका लागि प्रभाव देखाउन खोज्नु प्राकृतिक कुरा नै हो । भारत मात्र होइन जसले पनि यो गर्छ । नेपाल ठूलो र शक्तिशाली भएको भए हामी पनि गथ्र्यौं । त्यसैले म दोहोर्‍याएर भन्छु कि समृद्ध छिमेकीलाई चिढ्याएर होइन राम्रो व्यवहार र उन्नत कूटनीति प्रस्तुत गरेर लाभ उठाउन सक्नुपर्छ । यसो गर्न नसक्ने शासक असफल हुन्, तिनले शासन–सत्ता छोडिदिनुपर्छ ।

० अहिलेको तनाव र सङ्कटको अवस्था कहिलेसम्म जारी रहला, कतिसम्म थेग्न सक्ला त नेपालले ?
– हेर्नुस्, अबको दुई साता मात्रै पनि अवस्था यत्तिकै रह्यो भने मधेसले अधिकार होइन ‘रेफरेन्डम’को माग गर्ने खतरा ह्वात्तै बढ्ने छ । रेफरेन्डमको माग गरेपछि उसले नेपालसँग रहने कि अलग देश निर्माण गर्ने भन्ने छनोट खोज्छ । मधेसलाई भारतसँग मिल्नु छैन, त्यसैले भारतमा मिल्ने कुरा उसले गर्दैन, बरु यसरी अलग देशको माग उठ्न सक्छ । त्यसबेला मधेसले भारतको सहानुभूति खोज्न सक्छ, दिल्लीको नहोला यूपी–बिहारको सहानुभूति त उसले अवश्य पाउँछ । अनि के हुन्छ ? हेर्नुस्, यस्तो नहोस् भन्ने भारत चाहन्छ । नाकाबन्दीको समस्या नेपालभित्रै छ, त्यो सुल्झाउ भनेर भारतले बारबार यसै त भनेको होइन नि । मधेस अलग हुने कुरा आयो भने भारतलाई अप्ठ्यारो पर्न सक्छ । यूएन सुरक्षा परिषद्मा आफ्नो हक दाबी गरिरहेको भारत यस्तो झमेलामा पर्नै चाहँदैन । वास्तवमा यी सब घटनाक्रमले गर्दा भारत यो महसुस गरिरहेको छ कि यत्रो स्नेह र सहयोग गर्दागर्दै पनि नेपालले भारतको इज्जतमाथि खेलबाड गरिदियो । अन्तर्राष्ट्रिय मञ्चमा उभिन अप्ठ्यारो हुने परिस्थिति नेपालले सिर्जना गरिदिँदै छ भन्ने महसुस गरेर कुनै कडा कदम भारतले चालिदियो भने वास्तविक दु:खका दिन सुरु हुनेछ नेपाल र नेपालीको । के शासकहरूले यो महसुस गरेका छन् ? अर्को कुरा म यहाँनेर के थप्न चाहन्छु भने हिन्दुत्वको सवालमा भारतलाई रोक्न अन्तर्राष्ट्रिय शक्तिहरू यतिबेला लागिपरेका छन् । अहिले विभिन्न मुलुकमा भारतविरुद्ध जुन प्रदर्शनहरू भएका छन्, के ती सबै प्रवासी नेपालीकै भरमा मात्र भएको मान्न सकिएला त ? वास्तवमा यो चलखेल कसले किन गराइरहेछ ? मनन गर्नु जरुरी छ ।

० समस्या समाधानको उपायचाहिँ के हो त ?
– सजिलो छ । संविधान संशोधन गरेर भविष्यमा मागको सुनुवाइ गर्ने भनी जसरी राज्यले भनिरहेको छ, यो मधेसले विश्वास गरेन । त्यसैले, अब आखिर संशोधन गर्नु नै छ भने अहिले मधेसका जनताले भनेअनुसार गरिदिँदा भइहाल्छ, त्यो ठीक भएन भने पछि फेरि संशोधन गरे भइहाल्छ नि । जहाँसम्म मधेस टुक्रिएर भारतमा मिल्न खोज्दै छ भन्ने आरोप छ, यो कुरा बेतुकको हो । यस्तो अवस्था नआओस् भनेर नै भारत मधेसको समस्या नेपाल सरकार र यहाँका प्रमुख दलहरूले छिटोभन्दा छिटो हल गरोस् भन्ने आग्रह गरिरहेको छ । हाम्रा नेताहरूले भारतको यो बाध्यता बुझ्नै सकेनन् । त्यसैले म एउटा कुरा जोड दिएर भन्न चाहन्छु कि आजका चल्तापुर्जा नेताहरूले बेलैमा यो मनन गरेर समस्या समाधान गर्नेतिर लागेनन् भने नेपालबाट बेग्लै मधेस राज्य टुक्र्याएको कलङ्क यिनै नेताहरूले बोक्नुपर्नेछ ।

– प्रस्तुति : जयप्रकाश त्रिपाठी