‘संसारभरिका एजीओहरूबाट नेपाल मुक्त होस्’ :: भगतसिंह कोसियारी

‘संसारभरिका एजीओहरूबाट नेपाल मुक्त होस्’ :: भगतसिंह कोसियारी


bhagat-singh-koshyari
भारतको नेपाली मूलका नागरिकको बाहुल्य क्षेत्र देहरादुनलगायतका क्षेत्रबाट भारतको लोकसभामा प्रतिनिधित्व गर्ने भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपाध्यक्ष भगतसिंह कोसियारी नेपाल मामिलाका जानकार मानिन्छन् । उत्तराखण्डका पूर्वमुख्यमन्त्रीसमेत रहिसकेका कोसियारी नेपाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएका भाजपाका नेतामध्ये एक हुन् । उनीसँग ऋषि धमलाले घटना र विचार साप्ताहिकका लागि गरेको कुराकानी :

० नेपालमा के भइरहेको छ, जानकारी छ तपाईंलाई ?
– अहिले जे नेपालमा भइरहेको छ, त्यसले नेपालीलाई मात्रै दु:ख दिइरहेको छैन, सारा भारतीयलाई पनि दु:ख दिइरहेको छ । किनकि भारत र नेपाल केवल दुई देश मात्रै होइनन्, केवल छिमेकी मात्रै होइनन् यिनीहरू त दुई भाइजस्ता छन् । नेपालको समस्या प्रजातन्त्रमा विषयहरू जसरी सहज रूपमा समाधान हुनुपर्ने थियो त्यो नभएर त्यहाँ समस्या झन् खडा भएको छ । हामी त्यसबाट चिन्तित छौँ । हामी चाहन्छौँ कि नेपालको सत्तारुढ दलहरूले आन्दोलनरत दलहरूसँग बसेर संवादमार्फत समाधान निकालून् । यदि संवाद गर्दा जर्मनीको पर्खाल तोड्न सकिन्छ, दुई जर्मनी एक हुन सक्छ भने मधेस र शेष नेपाल त एउटै देश हो, त्यसैले उनीहरूलाई संवादबाट समाधान गर्नुपर्ने आवश्यकता छ ।

० भारतले त नेपाललाई कठिन यात्रामा धकेल्यो नि ?
– नेपालको यात्रा कठिन छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको समस्या हल गर्न हो, त्यहाँ समस्या उत्पन्न गर्न होइन । हाम्रो भनाइ, यो हो कि नेपालको समस्याको समाधान नेपालले नै गर्नुपर्छ । नेपालले यो नगरी अरू देशलाई दोषारोपण गरेर समस्याको हल हुँदैन ।

० नेपालमा भारतले नाकाबन्दी त गरेको छ नि ?
– भारतले नेपालमा कुनै नाकाबन्दी गरेको छैन । नेपालमै एक वर्गका मानिस आन्दोलित छन् । उनीहरू मर्न–मार्नका लागि तयार भएका छन् । यस्तो अवस्थामा भारतले आफ्नो ट्रक त्यहाँ किन पठाउँछ ? जब उनीहरूको ट्रक जलाइन्छ भने सामान किन पठाउँछन् ?

० रक्सौलबाहेक अरू नाकामा त आन्दोलन छैन नि, त्यहाँबाट किन नपठाएको त ?
– जुन नाकाबाट सधैँ सामान जान्छ त्यहाँ आन्दोलन भइरहँदा कसरी सामान जान्छ ? त्यहाँ गोली चल्छ, त्यहाँबाट जान सक्दैन त्यहाँका ट्रकहरू अर्को बाटो जाँदा त्यहाँ पनि आउन सक्छन् भन्ने सोच्छन् ।

० यसले नेपाल–भारत सम्बन्धमा चिसोपन त ल्यायो नि ?
– यदि भारतको तर्फबाट नाकाबन्दी भएको भए यहाँबाट हवाईजहाज नै चल्दैन थियो । भारतको तर्फबाट नाकाबन्दी हुन्थ्यो भने मानिस एक–अर्को देशमा जाँदैन थिए । रिक्सा, मोटरसाइकल, हवाईजहाज चल्छ भने नाकाबन्दी छैन भनेर बुझ्नुपर्छ ।

० नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भारतले नाकाबन्दी गरेर मानवताविरोधी काम गरिरहेको छ भनेर भन्नुभएको छ नि ?
– मानवताविरोधी काम मलाई थाहा छैन, केपी ओलीले गरिरहनुभएको छ कि मधेसीहरू गरिरहेका छन् कि भारतले गरिरहेको छ । म यो कुरा भन्दिनँ किनकि भारत कहिल्यै पनि मानवताविरोधी काम गर्दैन । संसारमा जहाँ–जहाँ शान्ति स्थापन गर्नुपर्ने हुन्छ जस्तो कङ्गो होस् या श्रीलंका होस् भारत त त्यहाँ मानवताको नाताले सधैँ अगाडि गएको छ । उनीहरूको सुरक्षा र शान्तिका लागि सैनिकले बलिदान दिएको छ । भारतमा त मानवताविरोधी परम्परा नै छैन । नेपालमा केही मानिसले आफ्नो इगो बनाएका छन्, प्रेस्टिज इश्यु बनाएका छन् । नेपालको प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री सबै मेरा मित्रहरू हुन् । उनीहरूसँग मेरो बारम्बार कुराकानी हुन्छ । मैले भन्ने गरेको छु, संवादबाट समाधान खोज्नुस् । कुनै सर्तबिना बातचितमा बस्नुस् । सरकारको पनि कुनै सर्त हुनुहुँदैन, मधेसीको पनि कुनै सर्त हुनुहुँदैन । निसर्त वार्तामा बस्नुपर्‍यो समाधान हुन्छ । मधेसीले आफ्नो सर्त राख्ने, सरकारले आफ्नो सर्त राख्ने भए सहमति हुन सक्दैन ।

० नेपालमा अहिले इन्धन छैन, ग्यास छैन, औषधि छैन ?
– नेपाललाई भारतमा विश्वास छैन भने बंगलादेशबाट ग्यास मगाओस्, हामी बाटो दिन्छाँै । पाकिस्तानबाट मगाउनुस् । के त्यहाँ ट्रक लिएर जान सक्छ ?

० नेपाल सरकारले भारतबाट नआएपछि चीनसँग सम्झौता गर्दै छ नि ?
– नेपाल संसारका कुनै पनि देशसँग सम्झौता गर्न सक्छ । हामीले त्यसमा कुनै बन्धन लगाएका छैनाँै । नेपाल हाम्रो भाइ बन्धु हो, यदि ठीकसँग बस्ने हो भने हामी नेपालको उन्नति–प्रगति चाहन्छौँ । जबसम्म दुवै पक्ष विनासर्त नबसेसम्म हल निस्किँदैन । मेरो यो सन्देश तपाईं सत्तारुढ दल र मधेसीलाई लगेर सुनाइदिनुस् ।

० भारत सरकारको व्यवहारले त नेपाली जनता दु:खी छन् नि ?
– यो विषयमा भारतीय जनता पार्टी र भारत सरकारलाई किन मुछिरहनुभएको छ ? नेपालमा त्यस्तो किन भइरहेको छ भने सबैभन्दा पहिला जातीय आधारमा राज्य बन्नुपर्छ भनेर भारतले होइन नेपालकै नेताले माग गरेका हुन् । अहिले सत्तामै भएका नेताले जातीय आधारमा राज्य बन्नुपर्छ भनेर कुरा उठाएका हुन् । उनीहरूले नै यो जातीयताको आगो लगाएकोले यसलाई उनीहरूले नै निभाउनुपर्छ । आगो लगाएर अहिले छाडेपछि केही अर्थ छैन । अब दुबै पक्षले इगो छाडेर बिनासर्त वार्तामा बस्नुपर्छ । नेपालमा संविधान संशोधन प्रस्ताव पेस गरिएको छ, त्यो मैले हेरेको छु, राम्रो छ । बसेर छलफल गरे अर्को संशोधन पनि हुन सक्छ । र, अर्को कुरा भारतलाई आरोप लगाउने काम छाड्नुपर्‍यो, समाधान हुन्छ ।

० अन्तर्राष्ट्रिय समुदायले पनि भारततर्फ औँला उठाउन थालिसके नि ?
– भारतको यसमा कुनै जिम्मेवारी छैन । भारतको जिम्मेवारी त्यतिबेला हुन्छ जब तपाईं शान्ति स्थापना गर्नुहुन्छ त्यसपछि समृद्धिका लागि काम गर्ने हो । प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सहयोग गर्नुभयो । भूकम्प आउँदा दिल खोलेर सहयोग गर्नुभयो । हाम्रो काम त्यतिबेला हुन्छ जब आवश्यक पर्छ ।

० नेपालमा भारतविरोधी सेन्टिमेन्ट त बढ्न थाल्यो नि ?
– आफ्नो कमजोरी छुपाउन मानिसले अरूलाई दोष दिन्छ । मेरो विनम्रतापूर्वक नेपालका नेताहरूलाई अनुरोध छ कि आफ्नो कमजोरी छिपाउन अरूलाई दोष दिने काम छाड्नुस् । आफ्नो कमजोरी र शक्ति महसुस गरे देश छिटो विकास हुन्छ । नेपालमा शान्ति भएपछि नेपाल भारत सम्बन्ध अगाडि बढ्छ । त्यसको चिन्ता गर्नुपर्दैन । भारत र नेपालको सम्बन्ध राजनीतिक स्तरमा हुँदैन, यो जनता–जनताबीचको सम्बन्ध हो । जुनसुकै शासक आए पनि हामी एक–अर्कालाई चिन्छौँ । यो सम्बन्धको चिन्ता नलिनुस् ।

० भारतमा पनि दलहरूले यो कुुरा उठाउन थालेका छन् नि ?
– उठाउन्, उठाउने मात्रै होइन, उहीँ गएर समाधान गरुन् । कङ्ग्रेस आई र माक्र्सवादीले गर्छ भने हवाईजहाजमा लिएर गए भइहाल्यो ।

० प्रधानमन्त्री केपी ओलीले भारत नेपालमा के चाहन्छ भनेर प्रश्न उठाउनुभएको छ, वास्तवमा भारत के चाहन्छ ?
– भारत नेपालमा शान्ति चाहन्छ, समृद्धि चाहन्छ, भारत नेपाललाई एक सशक्त राष्ट्र देख्न चाहन्छ । भारत चाहन्छ कि नेपाल संसारभरिका एनजीओहरूबाट मुक्त होस् । नेपालका जनता आत्मनिर्भर हुन् । नेपाली सगरमाथाजस्तै शिर उचालेर हिँड्न सकून् । युरोपियन युनियन, चीन, अमेरिका, भारतको अगाडि नझुकोस् ।

० तपाईंहरू नेपालमा हिन्दूधर्म त चाहनुहुन्छ नि ?
– जहाँ धेरै हिन्दू धर्मावलम्बी छन् त्यसलाई कसैले पनि मुस्लिम राष्ट्र भन्न सक्दैन । हिन्दूराष्ट्र भने पनि नभने पनि त्यो हिन्दूराष्ट्र हो । भारतले हिन्दूराष्ट्र हुनुपर्छ भन्दैन । पहिला मुलुकमा लागेको आगो निभाउनुपर्छ । त्यसपछि बाँकी कुरा गर्नुपर्छ ।