मौन बस्ने छैनन् मङ्गलेश्वर

मौन बस्ने छैनन् मङ्गलेश्वर



:: रामेश्वर राउत मातृदास

अहो ! हेरिनसक्नु मात्र कहाँ रह्यो र !
खपिनसक्नु भयो द्रौपदी तिम्रो बीभत्स चीरहरण,
यो कौरवीय दरिद्र रौरवता
हरेकपल बीभत्स विलौना पोख्दै,
समुद्रका समुद्र आँसु रोहिरहेकी छिन् मङ्गलेश्वर, नेपालीश्वरी !

ज्युँकात्युँ छ शकुनी षड्यन्त्र
भीष्म/द्रोणाचार्य
नुन खाएका यी हुतिहारा कृपाचार्यहरूको मौनता
आकाशले हेरिरहेका छन् पलपल !
हिसाब–किताब मौजुदा छ मरुदगणसँग,
अग्नि आक्रोश शान्त तपस्यारत छन्
के यो विवेकहीन अत्यायपूर्ण रौद्र नाच,
चलिरहन्छ त अनन्त कालतक यसरी नै ?

विश्वासका वायुपङ्खी, घोडाहरू
निश्छल यात्रा सौन्दर्यपूर्ण छन् सर्वकाल
अहो यो पक्षपातपूर्ण निष्पट्ट अन्धकार रात !
उल्टनैपर्छ अवश्य एक दिन खल्र्यामखुर्लुम,
र त्यो दिन/त्यस घडी,
अवश्यमेव न्यायकी देवी नाच्नेछिन् छमछमाउँदै
र निष्ठाको शिखर/मर्यादाको महानता
मारुनी पुरुसुङ्गे मुस्कुराउनेछन् सर्वेश्वर
र झुक्नेछन् अन्धकार गौरवहरू नफर्कने गरी !

त्यही शुभमुहूर्तको प्रतीक्षामा
आकाश/अग्नि/जल/वायु र धरती
यो कपटपूर्ण षड्यन्त्रको उखरमाउलो अरिङ्गालका अन्याय
चुपचाप हेरिरहेका होलान् भन्ठान्छ विश्वस्त मन
र घामका झुल्का/जीवनको उन्मुक्त बाँसुरीहरू,
निष्ठाको आँगन/विश्वासको धरातलमा
कहिल्यै अलपत्र छाड्ने छैनन्
अवश्य, द्रौपदीको बीभत्सता मौन बस्ने छैनन् मङ्गलेश्वर !