हजुरआमाले भनेका कुरा

हजुरआमाले भनेका कुरा


jb khatri
– जेबी खत्री

बालक छँदा
सानो हुँदा
म आफन्त भनेपछि
हुरुक्क हुन्थेँ ।
यतिसम्म कि उनीहरू
आफ्नोमा आउँदा
सधैँभरि अब उनीहरू
हामीसँगै बसे हुन्थ्यो
जस्तो लाग्थ्यो ।
फर्केर उनीहरू
आफ्नो घर जाने दिन
नआइदिए हुन्थ्यो
जस्तो लाग्थ्यो ।
उनीहरू हाम्रोमा आएर
काम सघाउँदा
आफू पनि
उनीहरूकहाँ गएर
त्यसरी नै काम सघाउन
मन लाग्थ्यो ।
र सघाउँथ्यौँ पनि
उनीहरूले हामीप्रति
देखाएको माया–ममता
र आफन्तको पन
कसरी फर्काऊँ
जस्तो लाग्थ्यो ।
जसरी उनीहरू आफूहरूप्रति
समर्पित हुन्छन् ।
आफू पनि उनीहरूप्रति
त्यसरी नै समर्पित होऊँ
जस्तो लाग्थ्यो ।
अझ बढी आफैँ
काटियौँ जस्तो लाग्थ्यो ।
उनीहरूको दु:ख देख्दा
मन रुन्थ्यो ।
हरेक कुरामा भर–थेग
गर्दै ल्यायौँ हामीले ।
उनीहरूलाई आफ्ना मान्छे भनेर
मरिमेट्यौँ ।
अहिले त उनीहरू पनि
आफ्नो खुट्टामा टेकेर
आफैँ उभिने भएका छन् ।
खुसी लाग्छ , उनीहरूलाई देख्दा पनि
बल्ल खुट्टा टेके भनेर
तर उनीहरू अहिले
पहिलाको जस्ता छैनन् ।
पहिले हाम्रो घरमा आइरहने
अहिले आउँदैनन् ।
बरु तर्किएर हिँड्छन् ।
हामीले नराम्रो व्यवहार
गरेको पनि होइन ।
बोल्दा पनि काठ भाँचिएको
जस्तो गरी बोल्छन् ।
तर, हामीमा भने
उनीहरूप्रतिको मायामोह उत्तिकै छ ।
हामी पहिला जस्तो थियौँ
अहिले पनि उस्तै छौँ ।
म यति बेला हजुरआमाले
भनेको कुरा सम्झन्छु –
आफूदेखि बाहेक अरू कोही
आफ्नो हुँदैन बाबु भन्नुहुन्थ्यो ।
मलाई साँच्चै हो रहेछ
जस्तो लाग्छ ।
साँच्चै,
आफूदेखि बाहेक
अरू कोही
आफ्नो हुँदो रहेनछ ।