अनुसन्धान अधिकृतको नाममा ठेकेदारले उठाए दुई करोड

अनुसन्धान अधिकृतको नाममा ठेकेदारले उठाए दुई करोड


Baluwa
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला माछा’ खोजी गर्दै भ्रष्टाचार नियन्त्रणको नयाँ अभियान सुरु गरिरहेका बेला भक्तपुरका केही हरूले भने अख्तियारकै एक अनुसन्धान अधिकृतलाई बुझाउने भन्दै दुई करोड रुपैयाँ जम्मा गरेको समाचार प्राप्त भएको छ । भक्तपुरको झौखेल, दुवाकोट, चाँगुनारायणलगायतको क्षेत्रमा जिल्ला विकास समितिबाट इजाजत लिई विगत दश वर्षदेखि बालुवा खानी सञ्चालन हुँदै आएकोमा व्यापक अनियमितता भएको सूचना प्राप्त भएपछि अख्तियारले खानी सञ्चालन बन्द गरी अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारले जिल्ला विकास समितिबाट बालुवा खानी सञ्चालनसम्बन्धी सम्पूर्ण फाइल नियन्त्रणमा लिएको र यसैबीचमा वातावरणीय प्रभाव अध्ययन कार्य पनि अघि बढिरहेकोमा ठेकेदारहरूले अनुसन्धान अधिकृतलाई बुझाउन भन्दै दुई करोड रुपैयाँ उठाएका हुन् । यसरी पैसा उठाउनेमा एमालेको स्थानीय नेतासमेत रहेका बालुवा ठेकेदार रमेश बुढाथोकी प्रमुख व्यक्ति हुन् र उनी पूर्वउद्योगमन्त्री महेश बस्नेतको व्यापारिक साझेदारको रूपमा समेत चिनिन्छन् । ज्ञातव्य छ, महेश बस्नेत भक्तपुर मात्र नभएर धादिङ र सिन्धुपाल्चोकका बालुवा ठेकेदारहरूको समेत व्यापारिक साझेदार एवम् संरक्षक मानिन्छन् । महेशकै सहयोगमा नगद उठाएर अख्तियारका सम्बन्धित अनुसन्धान अधिकृतसम्म पुर्‍याइएको र त्यसपश्चात् फाइल तामेलीमा पठाउने व्यवस्था भएको बुझिएको छ ।

यस कार्यमा जिल्ला विकास समिति भक्तपुरका केही कर्मचारीको समेत सहभागिता र सहयोग भएको जानकारीमा आएको छ । विगत नौ महिनादेखि बालुवाखानी रोकिँदा महेश बस्नेत, बालुवा ठेकेदारहरू र स्थानीय केही गुण्डाहरूसमेत निकै छटपटीमा थिए । सातजना बालुवा ठेकेदारबाट उठेको दुई करोड रुपैयाँ अनुसन्धान अधिकृत एक्लैले ग्रहण गरेका हुन् या यसमा अन्यको पनि भाग लागेको थियो, सो भने यकिन हुन सकेको छैन । तर, अनुसन्धान अधिकृतबाट ‘ग्रिन सिग्नल’ मिलेपछि बालुवाखानी सञ्चालनको तयारी भने भइरहेको छ ।