जलविद्युत्मा हात हाल्दै नेपाली सेना

जलविद्युत्मा हात हाल्दै नेपाली सेना


Nepali Sena
काठमाडौं । सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्य र अर्थमन्त्रीद्वारा हालै जारी श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजनाअनुरुप नेपाली सेना पहिलो पटक विद्युत् उत्पादनमा लाग्ने भएको छ । सेनाले रोल्पाको कुल १२ दशमलव २५ मेगावाट क्षमताको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । उक्त योजना लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा रहेको थियो ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीका अनुसार कुन मोडालिटीमा सो आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेको र तालुकदार मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयसँग छलफल सकिएपछि आयोजना अगाडि बढ्ने छ । उक्त आयोजना कुन मोडालिटीमा बनाउने भन्ने विषयमा सेनाले रक्षा मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयमा प्रस्ताव पठाइसकिएको बुझिएको छ । व्यवस्थापिका–संसदका कैयन सांसदहरूले सैनिक कल्याणकारी कोषलाई प्रयोग गरेर मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न आग्रह गरेपछि सेनाको तर्फबाट सैनिक कल्याणकारी कोषको रकम प्रयोग गरी जलविद्युत् क्षेत्रमा लगानी गर्न लागिएको हो । सेनाको सैनिक कल्याणकारी कोषमा रु. ३५ अर्ब रकम रहेको बताइन्छ ।

विकास निर्माणलगायतका विभिन्न काममा सेनाले प्रत्यक्ष रूपमा काम गरिरहेको सन्दर्भमा जलविद्युत् आयोजनामा समेत प्रत्यक्ष सहभागी हुन लागेको हो । सेनाले हाल कर्णाली–हुम्ला सडकखण्डको निर्माण गरिरहेको छ भने पछिल्लो पटक सरकारले गल्छी–रसुवागढी सडक निर्माणको जिम्मासमेत सेनालाई दिएको छ ।