यस्तै हो भने एमाओवादी अब सकियो

यस्तै हो भने एमाओवादी अब सकियो


gopal-kirati
:: गोपाल किराती (नेता, एनेकपा माओवादी)

० तपाईंको पार्टीभित्र गृहमन्त्री शक्तिबहादुर बस्नेतको निकै आलोचना हुन थाल्यो नि, किन होला ?

– यो त जगजाहेर भइसक्यो नि । उहाँले गम्भीर गल्तीहरू गर्नुभएको छ । गृहमन्त्रीको जिम्मेवारीमा रही देश र जनताले राहत महसुस गर्न सक्ने काम गरेर पार्टीको शिर उँचो तुल्याउनुपर्नेमा उल्टै उहाँले घिनलाग्दो कर्म गर्नुभयो । तसर्थ, आलोचना मात्र होइन, नैतिकता छ भने उहाँ स्वयम्ले राजीनामा दिनुपर्छ, अन्यथा पार्टीले नै फिर्ता गरेर थप कारबाही गर्नुपर्छ भनेर हामी लागिपरेका छौँ ।

० तपाईंले यसरी कारबाहीको माग गरिरहेको अध्यक्ष प्रचण्डले सुन्नुहोला, मान्नुहोला त गृहमन्त्री बस्नेतलाई फिर्ता बोलाएर कारबाही गर्न ?
– पार्टी केन्द्रीय समितिको बैठकमा पार्टीमा क्यान्सर लाग्यो, क्यान्सर लागेको भाग काटेर फाल्नुपर्छ भन्ने आवाज तीव्र रूपमा उठेको छ । पार्टी विघटन भएको हेरिरहने कि पुनर्निर्माण गर्ने या रूपान्तरण हुने भन्ने सवालमा ०६२ सालयताको पार्टीजीवनमै यो महत्त्वपूर्ण मोड हो भन्ने हामीले महसुस गरेका छौँ । यही कोणबाट छलफल पनि भइरहेको छ । पार्टीलाई पुनर्निर्माण या रूपान्तरण नै गर्ने हो भने शक्तिबहादुरजीले जुन जघन्य, अक्षम्य बदमासी गर्नुभयो, उहाँलाई फिर्ता गरेर नै पार्टी रूपान्तरको प्रक्रिया सुरु गर्नुपर्छ । केन्द्रीय समितिका थुप्रै साथीले उठाएको यस मुद्दालाई अध्यक्ष कमरेडले पनि गम्भीरतापूर्वक नै लिनुभएको होला भन्ने विश्वास गरेको छु मैले ।

० तपाईंहरूजस्ता केही व्यक्तिले चाहँदैमा पार्टीका मन्त्री फिर्ता होलान् त ?
– यो चुनौती नभएको होइन, छ । हामीले पार्टीपङ्क्तिमा यो महसुस गरिरहेकै छौँ । तर, जस्तोसुकै चुनौती सामना गरेर पनि पार्टीलाई पुनर्निर्माण गरेरै छाड्ने भन्ने अठोट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महराले पार्टी मिटिङमा सङ्कल्प प्रस्तुत गर्नुभएको छ । अब यत्ति पनि गर्न नसक्ने हो भने त यो पार्टीलाई कसैले बचाउन नसक्ने परिस्थिति आउन सक्छ ।

० गृहमन्त्रीको जिम्मेवारीबाट शक्तिबहादुर बस्नेत आफैँ राजीनामा दिएर बाहिर निस्कनुपर्छ भन्ने तपाईंको आसय बुझियो, उहाँले त्यसो नगरे पार्टीले साँच्चै कारबाही गर्न सक्छ त ? विश्वास छ तपाईंलाई ?
– सक्छ, किन नसक्ने ? पार्टीको शीर्ष नेतृत्वले यो बुझ्नैपर्छ कि नेपाली जनताले यसपटक अन्तिम मौका दिएको छ एनेकपा माओवादीलाई । यो विश्लेषण अध्यक्ष प्रचण्डले पनि पटक–पटक दोहोर्‍याउनुभएको छ । यसैले व्यवस्थित ढङ्गले सरकार चलाउन पार्टीले नारायणकाजी श्रेष्ठको नेतृत्वमा एउटा संयन्त्र पनि बनाएको छ र संयन्त्रले आचारसंहितासमेत बनाएर दिएको छ । उक्त आचारसंहितामा पार्टी र मन्त्रीहरूको पनि पूरै प्रतिबद्धता रहेको हो । आचारसंहितामा यदि मन्त्रीहरूले चित्तबुझ्दो काम गर्न सकेनन् वा गल्ती गरे भने फिर्ता गरिने भन्ने बुँदा उल्लेख छ । अब यो बुँदा कार्यान्वयन गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

० नारायणकाजी श्रेष्ठले त आफँै संयन्त्रबाट राजीनामा दिनुभयो नि ?
– हो, उहाँ स्वयम् पीडित हुनुहुन्छ पार्टीका मन्त्रीहरूको तालमाल देखेर । तर, रूपान्तरणको सबभन्दा चर्को नारा दिने तपाईं नै यसरी पछि हटेर कसरी काम चल्छ भन्दै हामी उहाँलाई ढाडस दिइरहेका छौँ । पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने मौका यही हो भनेर हामीले भनेका छौँ, उहाँले पनि बुझ्नुभएकै छ । मैले त स्पष्ट भनेको छु कि एमाओवादी पार्टी रूपान्तरणको दिशामा अघि बढ्छ कि बढ्दैन भन्ने कुराको प्रस्ट चित्र शक्तिबहादुरजीलाई फिर्ता बोलाएर देखाइन्छ कि देखाइँदैन भन्ने कुराले नै देखाउँछ । शक्तिबहादुरजीले राजीनामा पनि नदिने र उहाँको गल्तीअनुसार फिर्ता पनि नगरिने हो भने केन्द्रीय समितिका सबै कामरेडको मानसिकता नै विघटन हुन सक्छ ।

० शक्तिबहादुरजीले त आफूले जो–जसलाई चीन भ्रमणमा सिफारिस गरेको हो ती सबै कुनै न कुनै रूपले भूकम्पपीडित जिल्लाको प्रतिनिधित्व गर्छन्, भूकम्पका बेला उद्धार तथा राहतमा संलग्न युवाहरूलाई समेटेको छु भन्ने तर्कका साथ आफ्नो सफाइ दिइरहनुभएको छ त ?
– यस्ता कुतर्क र रुन्चे स्पष्टीकरणको कुनै अर्थ छैन । पार्टीको हकमा भन्नुपर्दा शक्तिबहादुर बस्नेत मेरो कमरेड हो, तर मेरो कमरेड भएर मात्र त देश चल्दैन नि । देशको गृह मन्त्रालय सरकारकै योग्यताको पनि प्रश्न हो । भूकम्पपीडित त यहाँ लाखौँ नागरिक छन् । तर, प्रचण्ड कमरेडलाई समेत जानकारी नदिई भूकम्पपीडितको नाममा चार–चारजना उहाँका नातिनीहरू पठाइदिने र यसको घानमा अध्यक्ष प्रचण्डलाई पार्ने कहाँसम्मको धृष्टता ? यो सन्दर्भलाई मैले त यसरी बुझेको छु कि प्रचण्डलाई सिध्याएर पार्टी कब्जा गर्ने लिन प्याओवादी गुटको नेतृत्व शक्तिबहादुर बस्नेतजी गरिरहनुभएको छ । त्यसैले प्रचण्डको रक्षा र पार्टीको रूपान्तरणको निम्ति पनि बस्नेतजीको राजीनामा या उहाँलाई फिर्ता बोलाउनको निम्ति हामी गम्भीर सङ्घर्षमा छौँ ।
Gopal Kirati 2
० गृहमन्त्री बस्नेतले त सानो गल्ती गरेको हुँ, यत्रो रूप लेला भन्ने सोचिनँ, अब आयन्दा यस्तो गल्ती हुँदैन भनेर माफी माग्नुभयो भने के गर्नुहुन्छ नि ?
– त्यसको कुनै अर्थ रहनेछैन । यो सानो गल्ती होइन । सिङ्गै पार्टीको आज बद्नाम भएको छ । हाम्रा गृहमन्त्रीको यस व्यवहारले प्रधानमन्त्री ओलीलाई गद्गद् तुल्याइरहेको होला, नाकाबन्दी लगाएर हामीलाई सताउने भारतीय पक्ष पनि मुस्कुराइरहेको होला, प्रतिपक्षमा रहेको कांग्रेस पनि भित्रभित्रै खुसी नै मानिरहेको होला, तर हाम्रो भने शिर झुकेको छ यो राष्ट्रिय बेइज्जतीका कारण । त्यसैले उहाँले राजीनामा दिनैपर्छ । तर, घटना–सन्दर्भको यतिका समय बितिसक्दा पनि राजीनामा दिने छाँट नदेखाएकोले उहाँलाई पार्टीले नै फिर्ता बोलाएर कारबाही गर्नुपर्छ । मलाई पूरापूर विश्वास छ कि उहाँ प्रचण्डलाई नै सिध्याएर पार्टी कब्जा गर्ने खेलमा हुनुहुन्छ । नत्र त यस्तो लिच्चडपन देखाउनु नपर्ने हो शक्तिबहादुरजीले । तर, बस्नेतजीलाई यहाँनेर म के सुझाव दिन चाहन्छु भने यसरी पार्टीलाई नै गएगुज्रेको तुल्याइसकेपछि पार्टी कब्जाको पनि के औचित्य रहला र ?

० यस्तो अवस्थामा तपाईंले चाहेजस्तो पार्टीमा व्यापक सुधार या रूपान्तरण गर्ने आँट अध्यक्ष प्रचण्डसँग होला त ?
– उहाँले त्यस्तो हिम्मत प्रदर्शन गरिरहनुभएको छ र हामीले उहाँको कदमलाई सहयोग दिने प्रतिबद्धता जनाइरहेका छौँ ।

० शक्तिबहादुर बस्नेतलाई गृहमन्त्रीबाट फिर्ता बोलाउँदा अहिलेको परिवेशमा पार्टीमा कुनै समस्या आउँदैन भन्ने लाग्छ तपाईंलाई ?
– त्यस्तो समस्या आउनुपर्ने देखिँदैन । किनकि, सरकार भनेको बेग्लै कुरा हो भने पार्टी अलग पक्ष हो । स्थायी कमिटी बैठकमा पनि मैले तसाथीहरूलाई भने कि तपाईंहरू चित्त नदुखाउनुहोस्, म तपाईंहरूको पक्षमा छैन । अर्थात्, पार्टी सरकारमा भए पनि म सत्तापक्षमा छैन, म त जनपक्षमा छु । प्रतिपक्षमा छु म । राम्रो काम गर्नुभयो भने जनताले राम्रो भन्नेछन्, त्यसमा मलगायत सबैको चित्त बुझ्छ, नराम्रो काम गर्नुहुन्छ भने जनताले नराम्रो भनी विरोध गर्नेछन् । जनताले नराम्रो भनेका काम–कुरालाई राम्रो भनेर झुटलाई पक्षपोषण गर्न मचाहिँ सक्दिनँ । किनकि, माओवादी पार्टीको एकपटकको यो पनि नीति हो कि जो सत्तामा रहन्छ ऊ सत्तापक्ष हुने र जो रहँदैन ऊ प्रतिपक्ष हुनुपर्छ । यो संसदीय प्रणालीले विकृति निम्त्यायो भनेर नै पार्टीले यस्तो धारणा बनाएको थियो । त्यसअनुसार मैले आफूलाई प्रतिपक्षीको भूमिकामा उभ्याउन खोजेको हुँ ।

० जुन परिवेशमा तपाईंको पार्टी सरकारमा सहभागी भएको छ, के एमाओवादी मन्त्रीहरूले समुचित भूमिका निर्वाह गर्न सकेका छन्, के देख्नुभएको छ ?
– मैले बुझेअनुसार हाम्रो पार्टीका केही जुनियर मन्त्रीहरू आफूले मन्त्री पद पाउनैपर्छ भनी धर्ना दिएर मन्त्री बनेका होइनन्, तर आफूलाई सिनियर ठान्ने नेताहरूचाहिँ ‘म नै मन्त्री हुनुपर्छ, यही मन्त्रालय नै चाहिन्छ, अन्यथा गोलीले भुटिन्छ, आफू पनि गोली ठोकेर मरिन्छ’ भन्नेसम्मका धम्की, घुर्की र घेराबन्दी गरेर पदमा पुगेका हुन् भन्नेसम्म पनि हामीले सुनेका छौँ । सरकार बनाउने बेला म राजधानीमा नभई टेम्केमा थिएँ । सामान्य ढङ्गले मन्त्री बनाएर पठाउने काम होला भन्ने ठानेको त त्यस्तो परिस्थिति पैदा भएको मैले सुन्नुपर्‍यो । पेरिसडाँडामा झुन्डिएर मर्छु, लाजिम्पाटमै झुन्डिएर मर्छु भनेर पनि साथीहरू मन्त्री बनेका छन्, यसमध्ये एकजना शक्तिबहादुरजी पनि हो भन्ने मैले बुझेको छु । त्यसैले, यसरी मन्त्री बनेका व्यक्तिहरूबाट म त सुरुदेखि नै आशावादी थिइनँ । दुर्भाग्यले मैले आशा नगरेअनुरूपकै व्यवहार देख्नुपरेको छ ।

० जनताले यत्रो आशा गरेको पार्टीका नेताहरू किन यसरी सुविधाभोगी भएका होलान् ?
– त्यही त दु:खको कुरा छ । त्यसैले त यिनलाई कोर्रा ठोक्नुपर्छ भनिरहेको छु म । कोर्रा हान्ने काम सैद्धान्तिक रूपले त पार्टी बैठकमा भइरहेको छ, अब भौतिक रूपले नै हान्नुपर्छ भन्ने लाग्छ मलाई । कोर्रा नहानीकन लाखौँ कार्यकर्ता र करोडौँ जनताले रगतपसिना बगाएर स्थापना गरेको गणतन्त्र र मुलुकको संविधानलाई स्थापित गर्न सकिँदैन । यस्ता दुई–चारजना फटाहा, डाँका, तस्करहरूको बाउको बपौती बन्न त दिइँदैन पार्टीलाई ।

० बाबुराम भट्टराईको बहिर्गमनलाई कसरी लिनुभएको छ नि तपाईंले ?
– भट्टराईजीले पार्टीलाई दूषित तुल्याउनुभएको थियो । पार्टीमा फोहोर छोडेर उहाँ जानुभएको छ । यसरी उहाँ त उम्किनुभयो, त्यो फोहोर–प्रदूषण सफा गर्नुपर्ने जिम्मेवारी या दायित्व हामीले लिएका छौँ ।
० बाबुराम भट्टराईका निकटस्थहरू त जमेरै रहेका छन् नि पार्टीमा, टोपबहादुर रायमाझीहरूबारे के भन्नुहुन्छ ?
– कुनै बेला रायमाझीजीहरू बाबुरामका मन्छे हुनुहुन्थ्यो, तर अहिले होइन भनेर पार्टीप्रति वफादारी देखाउनुभएकाले अब पनि बाबुरामजीकै मान्छेको रूपमा उहाँहरूलाई चित्रित गरिरहने मानसिकतामा हामी छैनौँ ।

० यसको मतलब राम्रै काम गरिरहनुभएको छ रायमाझीहरू, हो ?
– प्रस्टै भन्नुपर्छ कि काम त राम्रो गरिरहनुभएको छैन । जस्तो कि प्रधानमन्त्री केपी ओली वर्षदिनमै लोडसेडिङ अन्त्य गर्ने कुरा गरिरहनुभएको छ, तर ऊर्जामन्त्री भएर रायमाझीजीचाहिँ दुई वर्षमा सकिएला कि भन्नेदेखि लिएर यस्तै ताल रहे दश वर्षमा पनि सकिन्न भन्ने अभिव्यक्ति दिइरहनुभएको छ । क्याबिनेटमा छलफल पनि हुँदैनरहेछ कि प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचमा ? यस्तो विवादास्पद अभिव्यक्ति दिनेबाहेक राम्रो काम गरेको त हामीले अहिलेसम्म पाएका छैनौँ । रायमाझीजी मेरा नेता, पार्टीका सचिव त हुनुहुन्छ, निकै सिपालुजस्तो पनि देखिनुहुन्छ, तर उहाँको निर्णयक्षमताको प्रशंसा गर्न भने मैले आजसम्म पाएको छैन ।

० आपूर्तिमन्त्री गणेशमान पुनको चाहिँ के क्षमता देख्नुभयो नि ?

– गणेशमान पुन: एक इमानदार कमरेड हो, तर मुलुकमा यतिबेला आइपरेको सङ्कटावस्थामा आपूर्ति व्यवस्था मिलाउने सवालमा उहाँ असफल देखिनुभयो । आपूर्तिमन्त्री लायक व्यक्ति उहाँ होइन रहेछ भन्ने पाएँ मैले त । उहाँ पनि धर्ना हालेर घेराबन्दी गरेरै मन्त्री भएको भन्ने सुनेको छु, त्यसैले उहाँहरूको योग्यतामाथि ठूलो चुनौती खडा भएको छ ।

० शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चाहिँ राम्रै गर्नुभएको होला, कि कसो ?
– उहाँले राम्रो गर्नुभएको कसले देखेछ कुन्नि, मैले त त्यस्तो अनुभूति गर्न सकेको छैन । बरु कृषिमन्त्री हरिबोल गजुरेलले भने के–के काम गर्ने भन्ने सवालमा एउटा प्रतिबद्धतापत्र सार्वजनिक गरेर त्यसअनुसार अघि बढ्दै हुनुहुन्छ भन्ने बुझेको हुँ । गिरिराजजीको हाउभाउ त धेरै नै हुने तर काम भने गुटबन्दी प्रकारको हुने हुनाले हामी सन्तुष्ट छैनौँ । उहाँलाई अर्कै मन्त्रालय दिन लागिएकोमा शिक्षामन्त्री पाए जाने अन्यथा नारायणकाजी समूहको तर्फबाट सरकार नै बहिष्कार गर्ने भनी धम्क्याइएको कुरा मैले टेम्केबाट फर्किएपछि सुनेको हुँ । यसरी धम्क्याएर लिइएको जिम्मेवारी निर्वाह गर्न गाह्रै हुँदोरहेछ कि कसो हो, उहाँबाट पनि सन्तोषजनक काम भएको देखिएको छैन । यसरी घेराबन्दी गरेर मन्त्री भएकाले उहाँले पनि तारा नै खसालेर देखाउनुपर्छ, होइन भने उहाँको पनि फिर्ताको माग गरिन्छ । आठजना मन्त्री साथीहरूमध्ये उमेश यादवले पनि राम्रै गर्दै हुनुहुन्छ भन्ने सुनिएको छ । अरू मन्त्रीको हकमा चित्त बुझाउन सकिएन ।

० वनमन्त्री अग्नि सापकोटाबारे पनि केही भन्नु छ कि ?

– खै के भन्ने र † उहाँले दाउरा बाँडेको बेला म पनि नागरिकता बोकेर दाउरा जोहो गर्न बालकुमारी पुगेको थिएँ, तर दुई घन्टा कुर्दा पनि मैले दाउरा पाइनँ । तर, यतिबेला हाम्रो पार्टीमा ध्यान खिचिएकोचाहिँ गृहमन्त्री बस्नेत, आपूर्तिमन्त्री पुन र ऊर्जामन्त्री रायमाझीको अकर्मण्यतामाथि हो । त्यसमा पनि गृहमन्त्री बस्नेतले भने अक्षम्य गल्ती गरेका छन् । लिन प्याओवादी शैलीमा षड्यन्त्र गरेर अध्यक्ष प्रचण्डलाई सिध्याई पार्टी कब्जा गर्ने उनको दुस्साहसविरुद्ध विषयकेन्द्रित भएको छ पार्टीमा । यस्ता व्यक्तिले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो, अब पार्टीले पनि कारबाही गर्न सक्दैन भने एकीकृत नेकपा माओवादी सकियो भनेर बुझ्नुपर्ने हुन्छ ।