कूटनीतिक क्षेत्रमा जान चाहनेहरूले पढ्नैपर्ने एउटा पुस्तक

कूटनीतिक क्षेत्रमा जान चाहनेहरूले पढ्नैपर्ने एउटा पुस्तक


कूटनीतिमा तीन दशक
कूटनीतिज्ञ मोहनकृष्ण श्रेष्ठलिखित ‘कूटनीतिमा तीन दशक’ पुस्तक अन्तरवस्तुका दृष्टिले ‘कूटनीतिकेन्द्रित’ विषयका किताबहरूमध्ये अब्बल मान्न सकिने छ । गत कात्तिकमा बजारमा आएको उक्त पुस्तकमा श्रेष्ठले आफ्ना अनुभव, ज्ञान र कूटनीतिकलाबारे निसङ्कोच उल्लेख गर्नुभएको छ । शीर्षकले पुस्तक संस्मरणात्मक भएको दर्शाउँछ, तर अन्य कतिपय यस्तै विधाका पुस्तकझैँ श्रेष्ठले आफूलाई केन्द्रबिन्दुमा राखेर प्रस्तुत गर्नुभएको छैन । आफूले गरेका काम र अनुभवको विवरण प्रस्तुत गर्दागर्दै पनि ती आत्मकेन्द्रित नभएर विषय–वस्तुकेन्द्रित छन् ।

फ्रान्समा राजदूत भएर रहँदा आफूले गरेका कामको विस्तृत विवरण उहाँले पुस्तकमा उल्लेख गर्नुभएको छ, तर ती विवरण पढ्दा श्रेष्ठले गरेको कामभन्दा फ्रान्समा हाम्रो राजदूतावासको स्थिति के रहेछ, त्यस मुलुकमा नेपालप्रेमी फ्रेन्चहरू को–कति रहेछन्, फ्रान्समा नेपालसँग जोडिएका सङ्घ–संस्थाहरू कुन–कुन रहेछन् र नेपालप्रति फ्रान्सेली नागरिकको दृष्टिकोण के–कस्तो रहेछ भन्ने जानकारी पाठकलाई प्राप्त हुन सक्छ ।
थाइल्यान्ड, जापान, यूएईलगायतका मुलुकमा रहँदा भए–गरेका कामबारे पढिरहँदा पाठकको ध्यान मोहनकृष्ण श्रेष्ठप्रतिभन्दा विषयवस्तुप्रति आकर्षित हुन पुग्छ, जो पुस्तकको सकारात्मक र सफल पाटो हो । त्यस्तै, यस पुस्तकबाट एउटा कूटनीतिज्ञले कसरी काम गर्नुपर्दोरहेछ र के–कस्त कुरामा ध्यान पुर्‍याउनुपर्ने रहेछ भन्ने ज्ञान पनि पाठकलाई हुन्छ ।

पुस्तकमा श्रेष्ठले कूटनीतिमा प्रयोग हुने शब्दहरूबारे सविस्तार जानकारी गराउनुभएको छ । त्यस्तै, आफूले भ्रमण गरेका ६३ मुलुकको सङ्क्षिप्त परिचय पनि समाविष्ट छ, जसले ती देशबारे जानकारी राख्न चाहनेलाई लाभान्वित गराउन सक्छ । कुटनीतिज्ञले जान्नु बेस, आर्थिक कूटनीति प्रवद्र्धन अविकल्प, राजदूत निवासको जीर्णोद्धार, नेपालको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय विषयमा धारणा, कार्यक्षेत्र र भ्रमण गरेका एकहत्तर देशहरू, नेपालका विशेष आकर्षणहरू, कूटनीतिमा प्रयोग हुने केही शब्दावलीहरू शीर्षकमा लेखकले जे–जस्ता ज्ञानबद्र्धक कुरा उल्लेख गर्नुभएको छ यसले मोहनकृष्ण श्रेष्ठ एक सच्चा देशभक्त र सक्षम कूटनीतिज्ञ भएको मात्र पुष्टि नगरी कूटनीतिमा चासो राख्ने र कूटनीतिक सेवामा प्रवेश गर्न चाहनेलाई दीक्षित तुल्याउने काम पनि गरेको छ । उहाँले पुस्तकमा केही रोचक र हास्यपूर्ण घटना–सन्दर्भहरूको जसरी चर्चा गर्नुभएको छ त्यसले पाठकहरूलाई रोमाञ्चित तुल्याउँछ र पुस्तकमा केन्द्रित भइरहन उत्प्रेरित गर्दछ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयअन्तर्गत संयुक्त राष्ट्रसङ्घ महाशाखाले कसरी काम गरिरहेको छ, परराष्ट्र मन्त्रालयभित्र के–कस्ता समस्या छन्, शिष्टाचार महापाल भएर के–कस्ता काम कसरी गर्नुपर्छ र नेपाललाई समृद्ध तुल्याउने हो भने के गर्नुपर्छ भन्नेजस्ता विषयमा पनि पुस्तकबाट यथेष्ट ज्ञान प्राप्त गर्न सकिन्छ ।
मोहनकृष्ण श्रेष्ठलिखित ‘कूटनीतिमा तीन दशक’ पुस्तक पढिसकेपछि पाठकलाई एउटा बेग्लै प्रकारको सन्तुष्टि मिल्छ । तीन सय ८२ पृष्ठको यस पुस्तकको भाषा र शिल्प कलात्मकभन्दा बढी प्राकृतिक छन् । भाषा र शिल्पमा पनि ध्यान दिइएको भए पुस्तक अझै बढी रोचक हुनसक्थ्यो भन्ने महसुस हुन सक्छ । भाषा र प्रस्तुति पक्षले सुधारको माग गरिरहेको भए पनि नेपालको कूटनीतिक क्षेत्रबारे जानकारी राख्न चाहने, नेपाली कूटनीतिक सेवामा प्रवेश गर्न इच्छा राख्ने र हाल कूटनीतिक सेवामा कार्यरत व्यक्तिहरूले पढ्नैपर्ने पुस्तकको रूपमा यो ‘कूटनीतिमा तीन दशक’ रहेकोमा शङ्का गर्नुपर्दैन । नेपाली समाजलाई एउटा सङ्ग्रहणीय पुस्तक उपलब्ध गराउनुभएकोमा मोहनकृष्ण श्रेष्ठ धन्यवाद र बधाईको विशिष्ट पात्र बन्नुभएको छ ।