वाम सरकारको विकल्प खोजिँदै

वाम सरकारको विकल्प खोजिँदै


सरकार बदलिएपछि मात्र स्थिति सामान्य हुने सम्भावना

kp oli 9

काठमाडौं । प्रधानमन्त्री बनेपछि गर्नुपर्ने कामबारे स्पष्ट दृष्टिकोण र सोच बनाएर बस्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आफूले सोचेका कुनै पनि काम प्रारम्भसमेत गर्न नपाई पदबाट बाहिरिनुपर्ने अवस्थामा पुग्नुभएको छ । केही महिनाअघिसम्म माओवादीविरोधी र प्रजातन्त्र पक्षधर नेता मानिनुहुने ओली प्रधानमन्त्री बन्ने क्रमसँगै माओवादीको घेरामा पर्नुभएको छ । अचेल उहाँले माओवादीभन्दा कांग्रेसलाई दोषी देख्न थाल्नुभएको छ र माओवादीसँगको सहकार्यलाई दिगो र प्रभावकारी बनाउन प्रयासरत हुनुहुन्छ । माओवादी बन्धनमा रहेकै कारण आफूले सोचेअनुरूप काम गर्न नपाएको हेक्का ओलीले राख्नुभएको छैन, राष्ट्रवाद र राष्ट्रियताको गीत गाउँदागाउँदै उहाँको महत्त्वपूर्ण समय बित्ने गरेको छ । देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान प्रधानमन्त्रीका रूपमा ओलीले गर्नुपर्ने काम यथेष्ट छन्, तर उहाँले नाकाबन्दीसिर्जित ‘उपसमस्या’ समाधानमै केन्द्रित हुनुपरेको छ । यसलाई कतिपयले ‘गाँडको उपचारमा लाग्नुपर्नेमा केपी ओली गाँडमाथि आएको पिलो निकाल्न व्यस्त रहनुभएको’ भनी टिप्पणी गरेका छन् ।

तर, यही ‘पिलो निकाल्न’ पनि ओली समर्थ हुनुभएको छैन । उहाँ प्रधानमन्त्री बन्नुभएको करिब अढाई महिना बितिसकेको छ । यस अवधिमा उहाँले सुरुको डेढ महिना भारतलाई गाली गरेर बिताउनुभयो भने त्यसपछिको समय भारतको विकल्प खोज्नमा केन्द्रित भएको छ । भारतको सट्टा चीनलाई व्यापारिक साझेदार बनाउन केन्द्रित रहँदै नाकाबन्दी हटाउन कुनै पनि कूटनीतिक पहल नगर्ने सोचमा रहनुभएका ओली चीनबाट अपेक्षित सहयोग मिल्ने नदेखिएपछि भने केही गम्भीर बन्नुभएको महसुस गर्न थालिएको छ । सुरुमा भारतसँगको तनाव अन्त्य गर्न र आन्दोलनरत मधेसी मोर्चासँग संवाद गरी निकास खोज्न उदासीन रहनुभएका उहाँ पछिल्ला केही दिनयता मोर्चासँग संवाद गर्न र अघिल्लो सरकारकै समयमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव अघि बढाउन राजी हुनुभएको छ । नेपाली काङ्ग्ेरस आफ्नो नेतृत्वमा सरकार रहँदा संविधान संशोधन निम्ति दर्ता गराएको संशोधन प्रस्ताव संसद्मा टेबुल गराउन सफल भएको छ ।

तथापि मधेसी नेताहरू प्रधानमन्त्री ओलीसँगको संवाद सकारात्मक निष्कर्षमा पुग्छ भन्ने विश्वासमा भने छैनन् । मधेसी मोर्चा पुनर्निर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई अघि बढाउन सहमत भए पनि संविधान संशोधन (सीमाङ्कन, समानुपातिक समावेशी र निर्वाचन क्षेत्र निर्धारण निम्ति) सम्बन्धी विधेयक भने परिमार्जित गरेर मात्र ल्याउनुपर्ने अडानमा थियो । तर, मंगलबार कांग्रेसको अडानअनुरूप संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक एकसाथ संसद्मा टेबुल भएको छ । मधेसी मोर्चासम्बद्ध सांसदहरूले भने यसरी ल्याइएको विधेयकविरुद्ध होहल्ला र नाराबाजी गरेका थिए । संविधान संशोधन विधेयकमा मोर्चाको मागअनुरूप परिमार्जन गरिए मात्र उनीहरूको समर्थन हुने बुझिएको छ । तर, प्रधानमन्त्री ओली प्रस्तावित संशोधनलाई थप हलचल गराउने पक्षमा देखिँदैनन् । मधेसी मार्चासँग सरकारको सहमति बन्न निकै कठिन देखिँदै छ भने मोर्चासँग सहमति बने पनि विद्यमान समस्याको समाधान तत्काल हुनेमा शङ्का छ ।

समस्याको पूर्ण समाधान हुन भारतसँगको सम्बन्धमा देखापरेको असहजतालाई पनि सामान्य तुल्याउनुपर्ने अवस्था छ । तर, वर्तमान सरकार भारतसँग सम्बन्ध सुधार गर्न समर्थ हुने विश्वास गरिएको छैन । दुई–दुईपटक भारतको भ्रमण गरेर पनि वामपन्थी सरकारका दक्षिणपन्थी परराष्ट्रमन्त्री कमल थापाले भारतसँग चिसिएको सम्बन्धलाई न्यानोपन दिने क्षमता देखाउनुभएन । भारत आफैँले वीरगन्जबाहेकका केही नाकाहरूबाट मालबाहक गाडी नेपाल भित्रिन सहयोग पुर्‍याएको भए पनि सरकारी प्रयासबाट अहिलेसम्म कुनै ठोस कार्य हुन सकेको छैन । यसरी सरकारी क्षमता कमजोर र रुग्ण भएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार (पुस १ गते) बस्दै छ । यस बैठकले निकासका निम्ति ठोस अवधारणा बनाउने विश्वास गरिएको छ । यसैबीच सरकारको विकल्प खोज्नुपर्ने धारणा पनि सतहमा आएका छन् । केपी ओली नेतृत्वको सरकार रहेसम्म देशको विद्यमान समस्या समाधान नहुने भएपछि सरकारको विकल्प खोज्नुपर्ने अवधारणा प्रकट हुन थालेको हो । वाम सरकारलाई कसरी विस्थापित गर्ने र भावी सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुरा टुङ्गो लाग्नेबित्तिकै सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने बुझिएको छ ।