अबको कांग्रेस : गुट निवारणका लागि मध्यमार्ग

अबको कांग्रेस : गुट निवारणका लागि मध्यमार्ग


Tribhun chandra wagle

:: त्रिभुवनचन्द्र वाग्ले ::

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्यवाणी छ– ‘सिपाही भनेको तिषारी राखनु’, चाणक्य नीति भन्छ– ‘महारणो अस्त्र:वृत्म परीक्षा, भारतीय नेता डा. राममनोहर लोहिया भन्नुहुन्थ्यो– पार्टी कार्यकर्ता बेकम्मा बसे भने पार्टी विघटन हुँदै जान्छ, केही काम नपाए कार्यकर्तालाई प्रतिपक्षीको गाडीमा ढुङ्गा हान्न लगाउनुपर्छ । ढुङ्गा हान्ने कार्यको समीक्षा हुन्छ, बहस हुन्छ र कार्यकर्तामा एकप्रकारको सक्रियता देखिन्छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्व माथिका तीनवटै दृष्टान्तको कसीमा खरो उत्रन सकेन । कार्यकर्ता पार्टीका लागि सिपाही हुन्, अस्त्र अर्थात् हतियार हुन् । यिनलाई निष्क्रिय राख्नुहुँदैन, तर १२औँ अधिवेशनपछि पार्टी सङ्गठन, भ्रातृ संस्थाहरूको व्यवस्थापन, मुलुकका मुख्य सम्मानित पद प्राप्तिजस्ता दृष्टिले कांग्रेस धेरै कमजोर देखियो । यसको मुख्य दोष वर्तमान नेतृत्व मूलत: पार्टी सभापति सुशील कोइरालामा जानेछ । सात–आठ वर्षको माथापच्चीपछि मुलुकले संविधानसभामार्फत संविधान प्राप्त गरेको छ, यसमा पहिलो जस कांग्रेस र कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई जान्छ ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेतृत्वको बहस चुलिएको छ । स्पष्ट छ– कांग्रेसमा संस्थापना र देउवा पक्षबाट आगामी चुनावमा पार्टी सभापतिका लागि उम्मेदवारी पर्नेछ । देउवा पक्षबाट देउवाले उम्मेदवारी दिने करिब पक्का भएको छ भने संस्थापना पक्षबाट कोइराला र उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी दिने चर्चा सार्वजनिक भएको छ । कोइराला र देउवा पक्षमा तीव्र ध्रुवीकरणले पार्टीलाई मध्यमार्गबाट अघि बढाउनुपर्ने आवश्यकता छ । कोइरालाले यसअघि एक कार्यकालका लागि पार्टी सभापति हुने मात्र बताउनुभएको थिएन, आफू प्रधानमन्त्री भएपछि उपसभापति पौडेललाई कार्यवाहक दिने पनि बताउनुभएको थियो । यसरी हेर्दा सभापति कोइरालापछि संस्थापनबाट पौडेलले नेतृत्व गर्नुहुने निश्चित छ । यदि कोइराला र पौडेल दुवैले उम्मेदवारी दिएमा संस्थापन पक्ष पराजित हुने निश्चित छ । समय छँदै संस्थापनबाट पौडेलको मार्गप्रसस्त गरिएन भने कांग्रेसको इतिहासले नयाँ मोड दिनेछ ।

देउवा पार्टी सभापति हुनुहुँदैन भन्ने होइन, तर कोइराला र देउवाको तीव्र धु्रवीकरणले पार्टीलाई एकताबद्ध गर्न असहज हुने भएकाले मध्यमार्गी समाधानका लागि पौडेल उपयुक्त हुने कोइराला र देउवा पक्षधरमा रहेका दोस्रो पुस्ताका कतिपय नेताहरूले बताउँदै आएका छन् । देउवाले चाहेर पनि तत्काल उहाँ गुटमुक्त हुन सक्ने अवस्था छैन । हुन पनि कांग्रेसले जानेको भए कोइराला राष्ट्रपति, देउवा ‘प्रतीक्षित प्रधानमन्त्री’ र पौडेल पार्टी सभापति हुने सम्भावना नजिकै थिए, तर पौडेललाई प्रधानमन्त्री र देउवालाई पार्टी सभापति बनाउन हुँदैन भन्ने मानसिकताधारीले अन्तत: कोइरालालाई राष्ट्रपति हुनबाट रोके ।
paudel-koirala-deuba combo
अहिले पनि सफलताको एउटा उचाइमा पुगिसक्नुभएका र एक कार्यकालका लागि वचनबद्ध कोइरालालाई पार्टी सभापतिमा उठाउन केही पात्र र प्रवृत्ति उद्यत् देखिएको छ । यो प्रवृत्ति सफल भयो भने कांग्रेसको संस्थापना पक्षको पराजयनजिक देखिएको छ । नेता पौडेललाई पटकपटक उठ्छु भन्ने, तर नउठ्ने आरोप लाग्दै आएको अवस्थामा यसपटक कुनै पनि हालतमा पौडेलले पछि नहट्ने सङ्केत दिनुभएको छ । मध्यमार्गी, ६० र ४० भागबन्डाका विरोधी एकताका पक्षधर कार्यकर्ताले पौडेलको समन्वयकारी भूमिकाबाट पार्टीमा देखिएको तीव्र ध्रुवीकरण रोक्न सकिने बताएका छन् । पार्टी एकता भए पनि कार्यकर्तामा अझै मनोवैज्ञानिक र भावनात्मक एकताको सन्देश गएको छैन । यस्तो अवस्थामा देउवा वा कोइराला आ–आफ्ना पक्षको मात्र समर्थनमा पार्टी सभापति हुनुभयो भने उहाँले अहिलेको जस्तै भागबन्डा र कमजोर तरिकाबाट पार्टी चलाउनुपर्ने अवस्था आउनेछ । त्यसैले दुवै पक्षका कार्यकर्ता र आमकांग्रेसबीच मध्यमार्गी लचकता र सङ्गठनका लागि पौडेलको आवश्यकता कार्यकर्ताहरूले देखाएका छन् ।

यस सन्दर्भमा कांग्रेसका युवा नेता तथा काभ्रे पार्टी सभापति मधु आचार्यले कांग्रेसमा अनुहारभन्दा पनि जुझारु सङ्गठकको आवश्यकता रहेको बताउनुभएको छ । विभाजनका रेखाहरूलाई भौतिक र मनोवैज्ञानिक रूपमा मेट्न गुटको नेतृत्व नगरेका, मध्यमार्गी सबैलाई समेट्न सक्ने र प्रतिपक्षी/प्रतिद्वन्द्वीसँग वैचारिक बहस गर्न सक्ने व्यक्ति नै कांग्रेसको नेतृत्वमा आउनुपर्ने आमकांग्रेसको माग छ भन्दै आचार्यले आफू विभिन्न अभियानमा विभिन्न जिल्ला पुग्दा नेता पौडेललाई कार्यकर्ताले यसरी हेरेको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पौडलमा समन्वय गर्ने क्षमता र सोच छ’ ।

देउवा र कोइरालाबीचको विभाजन मेटिसकेर आगामी दिनमा देउवाले नेतृत्व लिनुभए पनि हुन्छ, तर तत्कालका लागि भने देउवाले नेतृत्व लिँदा एकताको सन्देश नजाने र गुट वा विभाजनको मनोविज्ञान यथावत् रहने जसले नेपाली कांग्रेसलाई थप कमजोर बनाउने अवस्थाप्रति मध्यमागी चिन्तित छन् । पौडेलले यसअघि प्रधानमन्त्री र पार्टी सभापति हुने बेलामा कोइरालालाई पूरै सहयोग गर्नुभएकाले पनि यसपटक कोइरालाले पौडेललाई सहयोग गर्नुहुनेमा कतिपय नेता तथा कार्यकर्ता ढुक्छ छन् । देश दौडाहाकै क्रममा पौडेलले आफू व्यक्तिगत रूपमा मात्र नभएर साथीहरूको आग्रहमा अघिबढेको बताउनुभएको छ । साथै पार्टी सभापतिसँग छलफल गरेर थप अघि बढ्ने पनि स्पष्ट गर्नुभएको छ । एक प्रसङ्गमा पौडेलले भन्नुभयो, ‘गुटबाट होइन समन्वयबाट पार्टीलाई अघि बढाउन सकिनेमा सभापतिजी स्पष्ट हुनुहुन्छ ।’ पौडेलले भन्नुभयो, ‘उहाँकै सहयोग र समर्थनमा पार्टीले नयाँ नेतृत्व पाउनेमा म विश्वस्त छु’ ।

आफू र पौडेलले उम्मेदवारी दिँदा पार्टीलाई पुग्ने क्षतिबारे चासो र चिन्ता देखाउनुभएका कोइरालाले आफूनिकटका केही नेतालाई विषयको गाम्भीर्य बताउँदै पौडेलसँग संवाद गर्न अह्राउनुभएको बताइएको छ । कोइराला पौडेललाई पार्टी सभापति बनाउन तयार रहनुभएको तर आफूनिकट केही नेताको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा रहनुभएको छ । खासगरी कोइराला परिवारका प्रतिभाशाली र भविष्य बोकेका केही सदस्य पछि परे पार्टीलाई घाटा लाग्छ भन्ने निष्कर्षमा पुग्नुभएका कोइरालाले आफूभन्दा पनि अन्य केहीको एड्जस्टमेन्टलाई बढी महत्त्व दिनुभएको स्रोतले बताएको छ । यस्तो अवस्थामा पौडेल र कोइरालाको प्राथमिकता पार्टीलाई थप एकताबद्ध गर्दै अघि बढाउनेमै केन्द्रित रहने स्पष्ट छ । पौडेलले कुनै पनि हालतमा मैदान नछाड्ने हो भने त्यो विर्वाचनको परिणाम अहिले नै आँकलन गर्न सकिन्छ । त्यो परिणाम भोग्न कोइराला तयार हुनुुहुन्न भने उहाँको साथसमर्थन पौडेललाई रहनेमा तमाम मध्यमार्गी कार्यकर्ता ढुक्क छन् ।

पौडेलले आफू व्यक्तिगत आकाङ्क्षीभन्दा पनि पार्टीभित्र मौलाउँदै गरेको व्यक्तिवाद र गुटगत चिन्तनको अन्त्यका लागि अघि बढेको बताउनुभएको छ । उहाँले भनेजस्तै वर्तमान कांग्रेस कार्यकर्ता गुटको दलनमा परेका छन् । सहज रूपमा महाराजगञ्ज र बुढानीलकण्ठ जानसक्ने अवस्था पनि छैन । लुकीलुकी जानुपर्ने अवस्था छ भन्दै नेपाल विद्यार्थी सङ्घका नेता रामप्रसाद अधिकारी पार्टीमा गुट अन्त्यका लागि मध्यमार्गी पात्र नै अहिलेको काङ्ग्रसको आवश्यकता रहेको बताउनुहुन्छ । १३औँ अधिवेशनपछि सङ्घीय संरचनाको पार्टीलाई गुटमुक्त गर्नुपर्ने आमयुवा विद्यार्थी र सर्वसाधारण कांग्रेसजनमा एकताको सन्देश जानुपर्ने भन्दै अधिकारी यो महाधिवेशनलाई भावनात्मक एकताको महाधिवेशन बनाउन मध्यमार्गी चिन्तनलाई सफल बनाउनुपर्ने आवश्यकता देख्नुहुन्छ । यिनै परिप्रेक्ष्यमा कांग्रेसको आगामी नेतृत्व चयन भए उसभित्रको गुटगत तुषको अन्त्य मात्र हुनेछैन, आधिकारिक रूपमा स्थापित गरिएका भागबन्डा अर्थात् ६०/४० को विकृति पनि अन्त्य हुनेछ ।