कांग्रेसका तीनैजना नेता सभापतिको उम्मेदवार

कांग्रेसका तीनैजना नेता सभापतिको उम्मेदवार


nepalicongress
लामो समयदेखि कोइराला पक्षको सहयोगी भूमिका निर्वाह गर्दै आएका रामचन्द्र पौडेललाई तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन सुशील कोइरालाले आनाकानी गरेपछि महाधिवेशनमा सभापतिका तीन प्रत्याशी मैदानमा उत्रने सम्भावना बढेको छ । यसअघिका दुई महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका वरिष्ठ नेता शेरबहादुर देउवा तेह्रौँ महाधिवेशनमा सशक्त ढङ्गले उम्मेदवार बन्ने तयारी गर्दै छन् । सुशील कोइराला आफैँ उम्मेदवार बन्ने तानाबाना बुन्दै छन् भने उपसभापति रामचन्द्र पौडेल उम्मेदवार बनेरै छोड्ने दृढताका साथ जिल्ला अभियानमा छन् । कांग्रेसको इतिहासमा यसपटक कोइराला पक्ष सर्वाधिक सङ्कटग्रस्त अवस्थामा पुगेको छ ।

सुशील कोइराला नै कोइराला पक्षको उम्मेदवार बने भने उनले पच्चीस प्रतिशतभन्दा बढी मत प्राप्त गर्न ठूलै मिहिनेत गर्नुपर्ने देखिँदै छ । सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएमा देउवाले पचहत्तर प्रतिशतसम्म मत प्राप्त गर्न सक्ने अवस्था कांग्रेसमा रहेको छ । तर, सुशील कोइरालाको सट्टा रामचन्द्र पौडेल उम्मेदवार बनेको अवस्थामा भने देउवा र पौडेलबीच तीव्र प्रतिस्पर्धा हुनसक्ने देखिएको छ । वास्तविकता यस्तो भए पनि सुशील कोइराला पौडेललाई उम्मेदवार बनाउन अहिलेसम्म तयार छैनन् । उनले पौडेललाई उपसभापति र संसदीय दलको नेता पद दिएर आफैँ सभापति बन्ने योजना बनाएका छन् । देउवासँग प्रतिस्पर्धा गर्न पौडेललाई अघि सार्दा पार्टीमा अर्को एउटा शक्तिकेन्द्र (पौडेल) बन्ने सम्भावनालाई लिएर कोइराला सचेत र त्रसित बनेको बताइन्छ । एउटा शक्तिकेन्द्रको रूपमा देउवा स्थापित रहेको यस अवस्थामा पौडेलसमेत शक्तिकेन्द्र बन्दा कोइराला परिवारको राजनीति सदाका लागि सकिने चिन्ता पनि सुशीलमा रहेको बुझिन्छ । त्यसैले कुनै बाध्यतावश पौडेललाई उम्मेदवार बनाइए पनि सुशील कोइरालाले भित्रभित्रै देउवालाई मतदान गर्ने व्यवस्था मिलाएर पौडेललाई पराजित गराइदिने आशङ्का र अनुमान पनि कांग्रेसभित्र हुन थालेको छ ।
congerss leaders 2

ज्ञातव्य छ, सुशील कोइराला षड्यन्त्रको राजनीतिमा माहिर मानिन्छन् । कांग्रेस राजनीतिमा इतिहासदेखि वर्तमानसम्म दुई समूह क्रियाशील रहँदै आएको पाइन्छ । एउटा पक्षको नेतृत्व कोइराला परिवारले स्थायी रूपमा गर्दै आएको छ भने अर्को पक्षको नेतृत्व परिवर्तन हुने गरेको छ । पछिल्लो दशकमा शेरबहादुर देउवाले पार्टीभित्र कोइरालाको प्रतिकूल हुने गरी बलियो पकड राख्दै आएका छन् । देउवालाई कमजोर बनाउन सक्ने अवस्थामा यतिबेला कोइराला परिवार देखिँदैन । बरु कोइराला परिवारका सदस्यहरूले समेत देउवासँग मिलेर आफ्नो राजनीतिक भविष्य जोगाउनुपर्ने परिस्थिति निर्माण भएको छ । तर, यो वास्तविकतासँग सुशील कोइराला परिचित हुन सकेका छैनन् । कोइराला परिवारका सदस्यमध्ये सुशीलले डा. शशांक कोइरालालाई मात्र महत्त्व दिएका छन् । त्यसैले डा. शेखर कोइराला र सुजाता कोइरालाले समेत देउवा या पौडेल कोसँग समझदारी बनाउँदा आफू सुरक्षित हुन सकिन्छ भन्ने उपायको खोजी गरिरहेका छन् ।

कांग्रेसमा डा. रामशरण महत, खुमबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, लक्ष्मण घिमिरे, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, नरहरि आचार्य, बालकृष्ण खाण र डा. नारायण खड्कादेखि एनपी साउद, चन्द्र भण्डारी, रमेश लेखक, सुजाता कोइराला, गगन थापा, दिलेन्द्रप्रसाद बडू, डा. अमरेशकुमार सिंह र विश्वप्रकाश शर्मासम्मका नेताहरू कतापट्टि उभिनेछन् भन्ने कुराले ठूलो माने राख्नेछ । उल्लिखित नेताहरूमध्ये अधिकांशको साथ जसलाई रहन्छ उसैको पल्ला भारी हुने निश्चित छ । विगतमा सुशील कोइरालाको समर्थक रहेका केशवकुमार बुढाथोकी, अमृत अर्याल, श्याम घिमिरे र चन्द्र भण्डारीलगायतले देउवालाई साथ दिने निर्णय गरिसकेका छन् । अर्जुननरसिंह केसी र गगन थापा पनि अहिले सुशीलबाट टाढिइसकेका छन् भने लक्ष्मणप्रसाद घिमिरेको साथसमेत सुशीलले गुमाइसकेका छन् ।

यसरी सुशील कोइरालाको साथ छोड्ने क्रम जारी रहेको छ । रामचन्द्र पौडेललाई उम्मेदवार नबनाएर कोइराला आफैँ मैदानमा उत्रिए भने थप दर्जनौँ नेता कोइरालालाई छोडेर देउवातिर जाने सम्भावना छ । पौडेललाई उम्मेदवार नबनाइएमा देउवा र पौडेलबीच सहमति र सहकार्यको सम्भावनासमेत देख्न थालिएको छ । कांग्रेसको तेह्रौँ महाधिवेशनपश्चात् कांग्रेसको नेतृत्व परिवारवादबाट मुक्त भएर जनतामा सर्ने सम्भावना बढ्दै गएको छ ।