साइकल चढेर हमाल हलहलमा

साइकल चढेर हमाल हलहलमा


सुटिङमा सबैभन्दा ढिला पुग्ने हिरो भनेर चिनिन्थे राजेश हमाल । आफूले अभिनय गरेको फिल्म जतिसुकै हिट किन नहोस्, हेर्न उनी हलमा कहिल्यै गएनन् । निर्माताले जति नै आग्रह गर्दा पनि हलमा नजाने हमाल पछिल्लो समय भने साइकल चढेरै फिल्मको प्रचार गर्न थालेका छन् । ‘बाघ बूढो भए पनि फट्याङ्ग्रा खाँदैन’ भन्ने नेपाली उखानविपरीत हमाल फट्याङ्ग्रा टिप्न निस्केको टिप्पणी सर्वसाधारणबाट हुन थालेको छ ।
राजेश हमाल साइकलमा
फिल्मसँग सम्बन्धित भए पनि सुटेडबुटेडहरू मात्रै उपस्थित हुने कार्यक्रममा सहभागिता जनाउँदै आएका हमाल यसपालि चलचित्र बागमतीको प्रचारमा यसरी जुटेका छन् । लाग्छ, अब हमाल जुनियर हिरोहरूसँग फेरि एकपटक भिड्ने तयारीमा छन् । बंगाली निर्देशकले बनाएको नेपाली चलचित्र बागमतीको प्रचारका लागि हमाल गएको हप्ता कीर्तिपुरमा साइकल यात्रा गर्न पुगे । उनले साइकलमा यात्रा गर्नुलाई नराम्रो त भन्न मिल्दैन । यो बुढेसकालमा सौगात मल्ल वा दयाहाङ राईले झैँ हल हलमै पुगेर दर्शकसँग साक्षात्कार गरेको अलि हजम नहुने पो हो कि ?