लोकमानलाई ज्यान मार्ने धम्की

लोकमानलाई ज्यान मार्ने धम्की


lm karki

भ्रष्टचार नियन्त्रणका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक कारबाही सुरु गरेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ज्यान मार्नेसम्मका धम्की आउन थालेको समाचार प्राप्त भएको छ । कार्कीलाई उहाँको सचिवालयका कतिपय कर्मचारी तथा उहाँका निकटस्थ भनी चिनिएका व्यक्तिहरूको टेलिफोनमार्फत धम्की आउन थालेको र सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रमुखहरूलाई कारबाहीको दायरामा ल्याएपछि यो क्रम बढेको बुझिएको छ । त्यसअघि अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा उच्च राजनीतिक एवम् प्रशासनिक तहका उनन्तीस व्यक्तिहरूलाई अनुसन्धानको सीमामा ल्याउन अख्तियारले पत्र काटेदेखि नै कार्कीलाई धम्की आउने क्रम सुरु भएको थियो । सशस्त्र प्रहरी बलका तत्कालिक प्रमुख कोषराज वन्त तथा पूर्वप्रमुखहरू सनतबहादुर बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठलगायतले भ्रष्टाचार गरेको प्रमाण फेला पारेपछि अख्तियारले उनीहरूविरुद्ध कारबाही सुरु गरेको थियो ।

Lokman-singh-karki

कारबाहीमा परेपछि कोषराज वन्त अलिक बढी आक्रोशित बनेको र उनले लोकमानविरुद्ध जथाभावी बोल्दै हिँड्ने गरेको सूचना अख्तियारलाई प्राप्त भएको छ । आफ्नो पार्टीको नेता कृष्णबहादुर महरा तथा सांसद (पूर्वप्रहरीप्रमुख) रवीन्द्रप्रताप शाह र आफ्ना विशेष सहयोगी रहेका कोषराज वन्तविरुद्ध अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड पनि लोकमानसिंह कार्कीसँग क्रूद्ध भएका छन् । प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भेटी ‘लोकमानलाई तह लगाउनुपर्ने ’ भन्दै आएका छन् । कार्की भ्रष्टाचार नियन्त्रण निम्ति यसरी नै सक्रिय भइरहे आफूसमेत तानिन सक्ने चिन्ता प्रचण्डमा रहेको बताइन्छ । त्यसैले भ्रष्टचार नियन्त्रण निम्ति भएका प्रयासलाई उनले राजनीतिक रङ दिँदै यसमा विदेशी शक्तिको भूमिका रहेकोसमेत भन्न भ्याएका छन् ।

सशस्त्र प्रहरीका उच्च अधिकारी र प्रचण्ड मात्र नभई सङ्गठित अपराधी, माफिया र देश लुट्न पल्केका अन्य कतिपय व्यक्ति पनि यतिबेला लोकमानसिंह कार्कीलाई ‘ठेगान लगाउने’ उपायको खोजीमा रहेको सङ्केतहरू देखिएका छन् । यसरी लोकमानले ‘शत्रु बढाउने काम’ गरिरहनुभएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रमुख आयुक्तको हैसियतमा कार्कीलाई दिइएको सुरक्षामाथि प्रश्न उठाउन थाल्नुभएको छ । गत साता केही मन्त्रीहरू र सुरक्षा निकायका उच्चअधिकारीहरूसमेतका अगाडि ओलीले ‘लोकमान सिंहलाई किन यति धेरै सुरक्षा दिएको’ भनी प्रश्न गर्नुभएको थियो । प्रमुख आयुक्त कार्कीको सुरक्षा संवेदनशिलता बढेको यो समयमा उहाँको सुरक्षाप्रति गम्भीर हुँदै प्रधानमन्त्रीले ‘प्रहरीबाट मात्र सुरक्षा हुनसक्छ या सेनाकै सुरक्षा दिनुपर्छ’ भनी चासो राख्नुपर्नेमा केपी ओलीबाट त्यस किसिमको अभिव्यक्ति आउनु आफँैमा रहस्यमयी र शङ्कास्पद मानिएको छ ।

कार्कीको सुरक्षामा अहिले नेपाल प्रहरी खटिएको छ । र, अख्तियार भ्रष्टाचार नियन्त्रण निम्ति थप अघि बढ्न खोजिरहेको यो समयमा कार्कीलाई सैन्य सुरक्षा दिनुपर्ने आवश्यकता देखिँदै छ । ज्ञातव्य छ, अख्तियारले शङ्कास्पद एक हजारभन्दा बढी व्यक्तिको सूची बनाएर तीमाथि निगरानी राख्दै आएको छ भने करिब दुई सय शङ्कास्पद व्यक्तिहरूलाई यथाशीघ्र पुर्जी काट्ने तयारी भइरहेको बुझिएको छ । यस्तो अवस्थामा राज्यको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री केपी ओली र उच्चस्तरीय सत्ता संयन्त्रका संयोजक प्रचण्ड नै भ्रष्टाचार नियन्त्रण निम्ति अख्तियारले चालेको कदमलाई निरुत्साहित गर्न अग्रसर हुनुलाई अत्यन्त दु:खद् मानिएको छ । सत्तापक्ष यसरी बक्री हुनु र प्रमुख आयुक्त कार्कीलाई ज्यान लिने धम्की आउनु एउटा संयोग मात्र हुन नसक्ने आशङ्का पनि गर्न थालिएको छ । कार्कीलाई धम्क्याउन प्रयोग भएका टेलिफोन नम्बर तथा सम्बन्धित व्यक्तिहरूको आवाज रेकर्ड गर्ने तयारी अख्तियारमा भइरहेको बुझिएको छ । सुरक्षा सतर्कताकै कारण प्रमुख आयुक्त कार्कीले आफ्नो निजी फोन भने अति गोप्य राख्ने गर्नुभएको छ र समय–समयमा नम्बर परिवर्तन गर्न उहाँ बाध्य हुनुभएको छ ।

अख्तियारको अनुसन्धान तथा छानबिनमा परेपछि कतिपय व्यक्तिहरूले निकै ठूला प्रलोभन दिने गरेको, तर त्यस्ता प्रलोभनले कार्कीलाई कुनै असर नगरेको र उहाँ दोषीहरूलाई कारबाही गर्न कटिबद्ध हुनुभएपछि धम्क्याउने र तर्साउने क्रम सुरु भएको अख्तियार सम्बद्ध अधिकारीहरूको आशङ्का छ । बितेका दुई साताभित्र प्रमुख आयुक्त कार्कीलाई दर्जनभन्दा बढी पटक ज्यान मार्ने धम्की आइसकेको बताइन्छ । केपीको सरकारले प्रमुख आयुक्तको सुरक्षा बढाएर भ्रष्टाचार नियन्त्रण अभियानलाई सघाउने हो या कार्कीलाई निरुत्साहित गरी भ्रष्टाचारी तथा सङ्गठित अपराधीहरूलाई संरक्षण गर्नतिर लाग्ने हो परीक्षा र प्रतीक्षाको बिषय बनेको छ ।