‘पोयमाण्डु’मा गालिवको सम्झना

‘पोयमाण्डु’मा गालिवको सम्झना


poemandu 2
भारतीय साहित्य–संसारमा विख्यात मिर्जा गालिवको २१८औँ जन्मजयन्तीको अवसर पारेर बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय राजदूतावासले गत शुक्रबार चर्चित कार्यक्रम ‘पोयमाण्डु’को २९औँ शृङ्खला आयोजना गर्‍यो । नेपाल–भारत पुस्तकालयमा आयोजित सो कार्यक्रममा उर्दू साहित्यमा गालिवको महान् योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली प्रकट गरियो । प्रा.डा. सनतकुमार वस्तीले गालिवको कर्मबारे सङ्क्षिप्त प्रकाश पार्दै ११ वर्षकै उमेरदेखि कविता लेख्न सुरु गरेका मिर्जा गालिवले सुरुमा दु:खद् प्रेमको भाव बोकेका गजल एवम् सायरी लेख्ने गरेका र पछि लेखनको दायरा फैलाउँदै गीत, गजल एवम् कविताका साथ दर्शन, यात्रालगायत अन्य थुप्रै विषयमा असङ्ख्य गजल सिर्जना गरेर अमर बन्न पुगेका उल्लेख गर्नुभयो ।

‘पोयमाण्डु’मा जानेमानेका सर्जकहरू मनोज न्यौपाने, त्रिपुरा पौडेल, अब्दुल मोमिन, मोमिला जोशी, गोपाल अस्क, इम्तियाज वाफा, ज्ञानुवाकर पौडेल, कृष्णजंग राणा र शेखर गिरीले नेपाली र हिन्दी भाषामा आ–आफ्ना रचना पाठ गरेका थिए । यी कवि–कवयित्रीहरूका शक्तिशाली रचनाको स्वाद उपस्थित कविताप्रेमी स्रोताहरूले अभिरुचिपूर्वक लिएका थिए ।
poemandu
सो अवसरमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले काठमाण्डुमा पोयमाण्डुलगायतका साहित्य कार्यक्रम आयोजनबारे आफ्ना अनुभूतिहरू सेयर गर्नुभयो । मिर्जा गालिवबारे खुलासा गर्दै कवि अभयले अन्तिम मुगल सम्राट बहादुर शाह जफरको शासनकालमा जौक नामक कविले महाकविको दर्जा पाएका भए पनि समयले गालिव नै महान् कवि रहेको प्रस्ट्याएको बताउनुभयो । उहाँले गालिव र महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि आफूले रचेको कविता पनि सुनाउनुभयो । साथै ३४ महिनाअघि आरम्भ गरिएको पोयमाण्डुमा सहभागी भएर कार्यक्रमको गरिमा बढाइदिने समस्त स्रष्टाहरूप्रति आभार प्रकट गर्दै उहाँले आफू छिट्टै काठमाडौंबाट बिदा हुँदै भारत सरकारको डेपुटी चिफ अफ मिसनका रूपमा ब्रासिलिया प्रस्थान गर्न लागेको जानकारी दिनुभयो । पोयमाण्डुजस्तो लोकप्रिय कार्यक्रमले भावी दिनमा निरन्तरता पाउने आशा पनि उहाँले गर्नुभयो ।

सो कार्यक्रमकै बीच डा. कृष्णजंग राणाद्वारा लिखित ‘धुपछाया’ नामक पुस्तकको विमोचनसमेत गरिएको थियो ।