आरटीआई गतिविधिप्रति सर्वसाधारणको आकर्षण

आरटीआई गतिविधिप्रति सर्वसाधारणको आकर्षण



– मुक्तिनाथ भुसाल

अर्घाखाँची/ सूचनाको हक कार्यान्वयन गराउने उद्देश्यले स्थापना गरिएको सूचना तथा सुशासन अभियान, सीआईजी अर्घाखाँचीले हालै सन्धिखर्कमा दुईदिने कार्यक्रम सम्पन्न गरेको छ । नागरिक सहयोगद्वारा सम्पन्न सो कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अर्थ मन्त्रालयका उपसचिव तथा भ्रष्टाचारविरुद्धका अभियानकर्ता डा. भीष्मकुमार भुसालले पच्चीस वर्षअघि संविधानमा लेखिएको सूचनाको अधिकारलाई सीआईजीले अर्घाखाँचीमा खेलेको भूमिका मुलुककै लागि उदाहरणीय भएको बताए । भ्रष्टाचार भन्ने कुरा सरकारी कार्यालयबाट मात्रै नहुने र जोसुकैले पनि अरूको हित काटेर आफ्नो फाइदामा काम गर्नु भ्रष्टाचार भएको डा. भुसालको भनाइ थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै स. प्रजिअ चिरञ्जीवी घिमिरेले सीआईजीजस्ता पवित्र संस्थालाई उपल्लो निकायले साथ–सहयोग दिने हो भने थोरै लगानीमा सूचनाको हक आमनागरिकसमक्ष पुग्ने उल्लेख गरे । उनका अनुसार सार्वजनिक निकायलाई उत्तरदायी तथा पारदर्शी बनाउन कुनै कन्जुस्याइँ नगर्ने बुझिएको छ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नारायण पोख्रेलले कुनै पनि अभियानको सफलता विद्यालयसँग जोडिने कारण सीआईजीले पनि आफ्नो अभियान विद्यालयबाटै सुरुवात गरेकोमा प्रशंसासहित आफूहरूको तर्फबाट सक्दो सहयोग रहने आश्वासन उनले दिए ।
rti
कार्यक्रममा नेकपा एमालेका उपसचिव प्रेमनारायण गैरे, एमाओवादी जिल्ला कोषाध्यक्ष छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमुक्ति मोर्चा लोकतान्त्रिकका टोपबहादुर बलाल र राप्रपाका देवीबहादुर खड्काले सूचना उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको जानकारी गराए । पछिल्लो समयमा सूचनाको हकलाई गाउँस्तरसम्म पुर्‍याउन सहयोग पुर्‍याएका १३ वटा मावि तथा उमाविलाई सोही अवसरमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सम्पूर्ण सम्मानित विद्यालयको तर्फबाट श्री ज्योति उमावि ठाडाका प्राचार्य शङ्कर अर्यालले सीआईजीलाई धन्यवादसहित अभियानको निरन्तरताका लागि शुभकामना दिए ।

सीआईजीको आयोजनामा केही दिनअघि सूचनाको हकको व्यावहारिक प्रयोग शीर्षकको निबन्ध प्रतियोगिताका विजेता छात्रछात्रालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । श्री आदर्श मावि खाँचीकोट, ज्ञानप्रकाश मावि सल्लीकोट र अर्घा रजस्थल मावि अर्घाबाट प्रथम, द्वितीय र तृतीय बन्न सफल नौजना छात्रछात्रालाई उमेश छापाखानाका प्रोपराइटर उमेश घिमिरेले पुरस्कारसमेत प्रदान गर्नुभएको थियो । सीआईजी कार्यक्रममा आफ्नो नृत्यद्वारा सबैको मन जित्न सफल अर्घाखाँची आवासीय उमाविकी छात्रा सुरुचि रायमाझीलाई प्रशंसापत्रद्वारा सम्मान गरिनुको साथै आरटीआई तालिममा सहभागी ३२ जनालाई प्रमाणपत्र वितरण गरियो ।

तालिममा सहभागीको तर्फबाट सीआईजी अर्घाका संयोजक बलबहादुर रायमाझीले आफूहरूले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सूचनाको हकलाई जनचेतना र कार्यान्वयनका लागि सक्रिय सीआईजीलाई निरन्तर सहयोग गर्दै आएका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा अर्घाखाँची उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथिलाई सीआईजीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, द ओल्ड एभरेस्ट होटेल सन्धिखर्कमा दुई दिनसम्म सञ्चालित सूचनाको अधिकारसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमको निम्ति होटेल सञ्चालक मोहन ठकुरीले विशेष सहयोग प्रदान गरेका थिए भने यस्तै सहयोग प्रदान गर्नेहरूमा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा अर्घाखाँची उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नेपाल निर्माण व्यवसायी सङ्घ अर्घाखाँचीका अध्यक्ष ऋषि खनालको महत्वपूर्ण साथ रहेको थियो ।

सिआईजी अर्घाखाँचीको गठनपश्चात हालसम्म अर्घाखाँचीका विभिन्न स्थानमा २७ वटा कार्यक्रममार्फत करिव ४ हजार स्थानीय वासिन्दा प्रत्यक्ष लाभान्वित बनेका दाबी गरिएको छ । आरटीआईलाई ब्यवस्थित गर्नका लागि १५ वटा सिआईजी सन्जालमा १ सय १५ जना आबद्ध रकेका छन् ।