कम्युनिज्म र भ्रष्टाचार !

कम्युनिज्म र भ्रष्टाचार !


Ratnanidhi Regmi

:: ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ ::

‘कम्युनिस्ट देशमा वा समाजमा भ्रष्टाचार हुँदैन’ । यो वाक्य बडा विवादास्पद छ । कार्लमाक्र्सको सिद्धान्तअनुसार मान्छे कम्युनिस्ट याने साम्यवादी बन्न निकै कठिन छ । किनकि मानिस पहिले मानिस त्यसपछि समाजवादी बनेर बल्ल कम्युनिस्ट बन्ने हो । तैपनि माक्र्सले जीवनभरि सोसेलिष्ट इन्टरनेसनल चलाए । माक्र्सको विचारमा मानिस समाजवादीकरण बन्दै गयो भने अन्त्यमा राज्यविहीन बन्ने हो । कसैले पार्टी नाम दिनेबित्तिकै त्यो राज्यसत्ता भयो, कम्युनिस्ट भएन । त्यसो हुनाले विश्वका जति पनि कम्युनिस्ट पार्टीहरू थिए र छन्, ती सबै साम्यवादी होइनन्, हुने सम्भावना पनि होइन । माक्र्सकै हिसाबमा पनि उग्रक्रान्तिकारी नारा माक्र्सवाद होइन । स्वयम् माक्र्सले पनि आफूद्वारा प्रतिपादित सिद्धान्तलाई माक्र्सवाद भनेका छैनन् । पछाडिका विश्लेषकहरूले उनको सिद्धान्तलाई ‘वाद’को बिल्ला भिराइदिए । माक्र्स स्वयम्ले पेरिस कम्युनको पतनपछि सोसेलिस्ट विचारलाई अपनाएका थिए ।

माक्र्स र फ्रेडरिक एंगेल्स दुई मिलेर सन् १८६४ मा सोसेलिस्ट इन्टरनेसनल चलाएका थिए । माक्र्सको देहान्तपछि पनि सन् १९१४ सम्म यो विचार मौजुदै थियो । सन् १९१७ मा रुसमा (बोल्सेविक) का लेनिनले जबर्जस्त सत्ता हत्याएपछि माक्र्सका नाममा वाद मात्रै खडा गरेनन्, ता कि आफूले लिएको बाटोलाई पनि लेनिनवादको संज्ञा दिए । पछिसम्म पनि माक्र्सवाद–लेनिनवाद भन्ने गरियो र यी वाद भनेका कम्युनिस्ट हुन् भन्ने फटाहा कुरा आजसम्म पनि गरिँदै छ । विश्वमै सय, दुई सय मानिस समाजवादी पाइँदैनन् भने कम्युनिस्ट भन्ने त दुर्लभै होलान् । माक्र्सकै सिद्धान्तअनुसार जब मानिसले पुँजीको अनुशरण गर्दैन, पुँजीको पछि दौडिँदैन, पुँजी आर्जनतिर लाग्दैन, त्यस्तो व्यक्ति वा समूह मात्र समाजवादी ठहर्छ ।

अझ उनको पछिल्लो पुस्तक निजी सम्पत्ति तथा परिवारमा त निजी परिवार जोड्नु पनि समाजवादी होइन । समाजवादमा व्यक्तिगत सम्पत्ति र परिवारको महत्त्व रहँदैन । जसले पुँजी कमाउँछन्, निजी परिवार जोड्छन् ती सबै पुँजीवादी हुन्, समाजवादी होइनन् । समाजवाद व्यवहारमा प्रकट हुने आदर्श हो । त्यसकारण संसारकै कम्युनिस्ट हुँ भन्नेहरू फटाहाहरू मात्र हुन्, तिनीहरू समाजलाई ढाँट्न छद्मभेषमा उत्रिएका पाखण्ड हुन् । यस्तो पाखण्डपूर्ण शासन व्यवस्थामा भ्रष्टाचार वा दुराचार हुँदैन भन्ने विचार त्यही फट्याइँको दृष्टान्त मात्र हो ।

नेपालको सन्दर्भमा त प्रायश: पागलले आफूलाई कम्युनिस्ट भन्ने गरेका छन् । सामान्य समाजवादी आचरण पनि नभएका बुङ्गा र लठैत जमातले आफूलाई कम्युनिस्ट भन्ने गरेका छन् । कुरा माक्र्सको गर्ने तर निजी घर र निजी परिवार पनि जोड्नेजस्ता पागलपन नेपालका कम्युनिस्ट भनिने जमात्मा बग्रेल्ती पाइन्छ । सत्ता र सम्पत्ति अशान्तिको कारण मानेर बुद्धले राज्य त्यागेका हुन् । तर, निजी बंगला, निजी परिवार जोडेर म बुद्धिष्ट हुँ भन्ने कसाहीहरू पनि नेपालमा यत्रतत्र सर्वत्र पाइन्छन् । ती र कम्युनिस्ट भनिनेहरू सर्वथा लफंगा भएकाले तिनको शासन वा समाजमा भ्रष्टाचार हुँदैन भन्ने मान्यता त्यही लपंmगा विचारको नमुना मात्र हो । माक्र्सकै विचारअनुसार समाजवाद नै एक कडा अनुशासन हो, जहाँ रहनेले आफूलाई पूर्णरूपले त्यागमा समर्पण गर्नुपर्दछ । नेपालमा माक्र्सका विचारको अपव्याख्या मात्र होइन अवमूल्यन पनि भएको छ । विशेष गरी आफूलाई कम्युनिस्ट हौँ भन्ने क्रूर जमातले माक्र्सको अपव्याख्या वा अवमूल्यन गरेको छ ।
communist
कार्लमाक्र्स एक कुशल अर्थशास्त्री हुन्, अर्थशास्त्रमा उनको जति दख्खल विश्वमै देखिएको छैन, तर उनी राजनीतिज्ञ नभएकाले उनीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्त सफल भएन । उनले पुँजी र राजनीतिलाई जोडेर दर्शन निकाले तर त्यो व्यवहारमा कतै आएन । आउने कुरा पनि थिएन । ज्ञातव्य नै छ, स्वभावैले मानिस अन्य प्राणी को तुलनामा स्वार्थी प्राणी हो । स्वार्थ नहुँदो हो त मानिस अरू प्राणीले भैंm जीवन चलाउँथ्यो । स्वार्थको परिपूर्ति भौतिक वस्तुले मात्र गर्नसक्ने भएकाले मानिसले विज्ञानलाई आत्मसात् गर्‍यो । विज्ञान भन्नु पनि एक अभ्यास मात्र हो । फेरि प्रकृतिले नै मानिसलाई मात्र अद्भूत कल्पना गर्नसक्ने दिमाग दिएको छ । दिमाग समान नभएसम्म भौतिक उन्नति समान हुँदैन रहेछ । आजसम्मको मानव सभ्यता वा भौतिक उन्नतिले सिद्ध गरेका कुरा हुन् । त्यसकारण माक्र्सले परिकल्पना गरेको राजनीतिक विचार असफल भयो । उनले लेखेको द्वन्द्वात्मक भौतिकवाद पनि विवादास्पद नै छ ।

द्वन्द्व वा सङ्घर्ष माक्र्स जन्मनुअघिकै कुरा हो । सृष्टिको आदि र अन्त्य पनि द्वन्द्व वा सङ्घर्षमै निहित छ । सङ्घर्षद्वारा बिजुली बल्छे, विक्रमद्वारा दीप भनेर महाकवि देवकोटाले मुनामदन खण्डकाव्यमा लेखेका पनि छन् । बिनासङ्घर्ष कुनै पदार्थ वा प्राणीको विकास हुँदैन । तर, आफूलाई मात्र सङ्घर्षशील वा क्रान्तिकारी देख्ने तथाकथित कम्युनिस्टहरूको कानोपन मात्र हो । माक्र्सले पनि चेतनाले पदार्थ जन्मायो भनेका छन्, तर यो पूरै सहीचाहिँ होइन । किनकि पदार्थ नभई नाम वा चेतना त हुँदैन, चिसो नभई चिसो अनुभव पनि त हुँदैन । त्यसकारण पदार्थको उपस्थितिले चेतनाको विकास गर्छ भन्ने मान्यता परिमार्जित भएर आयो ।

क्रान्ति भनेको परिवर्तन हो । हामी सूर्यलाई हेरौँ, हरेक बिहान ऊ क्रान्ति भएर आउँछ र शिथिलीकरण भएर अस्ताउँछ । पृथ्वी घुम्छ र त्यही बिन्दुमा आउँदा एक फन्को अर्थात् क्रान्ति पूरा हुन्छ । तर, नेपालका कम्युनिस्ट भनिनेहरू मान्छे मार्नु, जुलुस वा धर्ना गर्नु आदिलाई क्रान्ति भन्छन्, यथार्थमा यो क्रान्ति होइन उग्रता प्रदर्शन मात्र हो । उग्रतालाई स्वयम् माक्र्सले कायरताको संज्ञा दिएका छन् । यसकारण कायरताद्वारा स्थापित हुने सत्ता वा समूह राजनीतिक दर्शन नभएर एउटा क्रूर र आततायी विचार हो । यसलाई माक्र्सवादसित जोड्नु दिमागी दिवालियापन मात्र हो । त्यसकारण विश्वमा कम्युनिज्मको सम्भावना नै छैन, भने छ भनेर हिँड्नु एक पागल प्रलाप मात्र हो । यस्तो मानसिक रोगको उपचार पनि सम्भव छैन ।

नेपालमा श्री विश्वेश्वरप्रसाद कोइराला माक्र्सको विचारका अनुयायी थिए । उनले नेपालमा पहिलोपल्ट समाजवादी सिद्धान्तको प्रतिपादन गरे । समाजवाद नै माक्र्सको विचारको मूल मर्म हो । समाजवाद भन्नुको अर्थ हो गरिबीलाई निर्मूल गर्नु वा सामान्य मानिसको जीवनस्तरलाई उकास्नु हो । माक्र्सको बलियो विचार भनेको पनि त्यही हो । सर्वहाराको अर्थ हो परिश्रम नबेची बाँच्न नपुग्ने अवस्था । तिनको सम्पन्नताका लागि आर्थिक अवसर अपरिहार्य हुन आउँछ । तर, नेपालमा कम्युनिस्ट भनिनेहरू विगत २५ वर्षदेखि सत्तामा छन्, एउटा मनमोहन अधिकारीबाहेक कसैले पनि गरिबी अन्त्यको बाटो लिएनन् र आफू पुँजीपति हुने बाटो अवलम्बन गरे । अझै पनि भूमिपति, अर्बपति र व्यापारीहरू आफूलाई सर्वहाराको नेता वा अगुवा ठान्छन् । बी.पी.ले त्यस्तो कतै सर्वहारावादी पनि भनेका छैनन् । न त उग्रताको बाटो नै हिँडे ।

भलै बी.पी. बुद्धमार्गी भएनन् होला, तर समाजवादीचाहिँ थिए । नेपालमा प्रधानमन्त्री बनेर समाजवादी वा माक्र्सको विचारलाई स्थापित गर्न खोज्ने उनी एक मात्र राजनेता हुन् भन्नेमा दुईमत छैन । त्यसपछि ठूला समाजवादी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन्, जसले जीवनमा रत्ति पनि स्वार्थ नभएको महामानव सिद्ध गरेर गए । नेपाली कांग्रेसभित्र माक्र्सको आदर्शको पालना गर्ने सुशील कोइराला, रामहरि जोशी, प्रदीप गिरी, नूतन थपलियासम्म अनेकौँ व्यक्तिहरू अस्तित्वमा छन् । यस्ता आदर्शवादी व्यक्तित्वमा गणेशमान सिंह, महेन्द्रनारायणनिधि, डिल्लीरमण रेग्मीसम्मै कांग्रेसी वृत्तमा थिए । तर, ठूलठूला बकवास छाँट्ने कम्युनिस्टहरूका समूहमा पुष्पलाल श्रेष्ठ मात्र सुयोग्य पात्र थिए, जसले आदर्शलाई आत्मसात् गरे ।

यसर्थ व्यवहारले सिद्ध नहुने र नाराले मात्र क्रान्तिकारी वा माक्र्सवादी भन्नेहरूलाई मैले पागल भनेको हुँ । राजनीतिमा सिद्धान्त र कार्य व्यवहार एक अर्काका परिपूरक हुन्, व्यवहारबिना विचारको प्रवाह हुन सत्तैmन । यहाँनिर के भनौँ भने बी.पी., किशुनजी, सुशील कोइरालाले म कम्युनिस्ट हुँ भनेको भए सुहाउँथ्यो । किनकि यिनीहरूले व्यक्तिगत पुँजी र निजी सम्पत्ति जोडेनन् । तर, नेपालका कम्युनिस्ट भनिनेहरू कुरा माक्र्सका गर्छन् र व्यवहार मासु बेचेर पेसा कमाउने कसाई वा वेश्याको जस्तो गर्छन् । अब यस्ताको शासनमा वा समूहमा भ्रष्टाचार हुनु आश्चर्यको विषय नै छैन ।

आजसम्म कुनै कसाई वा वेश्या भ्रष्टाचारी भएको उदाहरण विश्वमै छैन । वेश्या भन्नुको अर्थ स्खलित वा पतित महिला भनेको होइन, केवल संस्कार हो भनेर बुझ्नु पनि आवश्यक छ । त्यसकारण समाज रहेसम्म नैतिक वा अनैतिक कार्यहरू भइरहन्छन् । सभ्य र असभ्य कुराहरू पनि भइरहन्छन् । कुनै समाज त्यस्तो निष्कलङ्क छैन, जहाँ भ्रष्टाचार वा बद्मासी नहोस् । त्यस्तो अपेक्षा पनि गर्न सकिँदैन । गर्ने कुरा पनि होइन । यो विज्ञानसम्मत कुरा हो । तर, हुँदै नहुने कुरा पनि हुन्छ भन्नु र हुँदै नभएको कुरालाई भएको हो भन्नुजस्तो मूर्खता दुनियाँमा अर्को छैन । यस्तो महारोगबाट आफूलाई कम्युनिस्ट भन्नेहरूले जोगिन सके मात्र सिद्धान्त र व्यवहारले मेल खाला, अन्यथा जनता ढाँट्ने पागलबुद्धिसिवाय केही हुन्छजस्तो मलाई लाग्दैन । बी.पी.ले म माक्र्सवादी हुँ, तर कम्युनिस्ट होइन भनेर किन लेखे ? यति मात्र बुझिदिए अहिलेलाई काफी हुन्छ ।

e-mail: [email protected]