गहिरिँदै छ बक्सिङको विवाद

गहिरिँदै छ बक्सिङको विवाद


Boxing-390x205
नेपाली खेल जगत्मा बक्सिङ आफैँमा स्थापित र चर्चित खेल हो भन्दा सायदै कसैको दुईमत होला । बक्सिङका खेलाडीहरूले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागदेखि एसियाली खेलकुद प्रतियोगितामा सफलताको झन्डा गाडिसकेका छन् । त्यस्तै ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेर बक्सिङको सम्भाव्यतालाई प्रस्ट पारिसकेका छन् । दलबहादुर रानामगर, चित्रबहादुर गुरुङ र दीपक महर्जन त्यस्ता खेलाडी हुन् जसले बक्सिङको नाम अन्तर्राष्ट्रियस्तरमा रोशन गरेर नेपालको मान, सम्मान र प्रतिष्ठालाई बढाइसकेका छन् । यी खेलाडीको उत्कृष्ट प्रदर्शनकै कारण नेपालमा बक्सिङको लोकप्रियतामा चार चाँद लागेको थियो । अहिले पनि यिनै खेलाडीको साखले नेपालमा बक्सिङ हराभरा हुने अवसर पाएको छ । यिनै खेलाडी प्रेरणाको स्रोत बन्न पुगेका छन् । बक्सिङ खेलको इतिहासमा दलबहादुरले पाएको सफलता अहिलेसम्म कसैले पाउन सकेको छैन । दलबहादुर नै त्यो खेलाडी हो जसले ओलम्पिकमा पहिलो राउन्ड जितेर इतिहास कायम गरेको थियो । दलबहादुर र बक्सिङलाई ओलम्पिकसम्म पुर्‍याउन त्यसबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह, बक्सिङका पदाधिकारी र प्रशिक्षकले खेलेको भूमिका आफँैमा उदाहरणीय र प्रेरणादायी बनेको थियो ।

तर, विडम्बना अहिले बक्सिङको नाममा घिनौलो राजनीति हुन थालेको छ । प्रत्यक्ष–परोक्ष रूपमा खेलाडीलाई पदाधिकारीको विरुद्धमा उतारेर राजनीति गरिन थालिएको छ । बक्सिङमा भाँडभैलो मच्चाउन अनेक प्रकारका तिकडमबाजी गरिन थालिएको छ । जसले बक्सिङ दिनप्रतिदिन विवादको दलदलमा भासिँदै गएको छ । खेलाडीले खुलेआम पदाधिकारीको विरोध गर्नु र गाली, बेइज्जती गर्नु सामान्य कुरो भइसकेको छ । अनुशासनहीनताले पराकाष्ठा नाघेको छ । र पनि, बक्सिङमा भइरहेको घिनौलो खेलप्रति राष्ट्रिय खेलकुद परिषद् अनदेखी र अनसुनी गरिरहेको अवस्था छ । आफ्नै नाकमुनि एउटा खेलाडीले अनुशासनहीनताको पराकाष्ठालाई पार गर्दासमेत राखेप मूकदर्शक बनेको छ । खेलाडीले खेल्ने हो कि कसैको उस्काहटको भरमा राजनीति गर्ने हो त्यसको निर्णयसमेत गर्न सकेको छैन । तसर्थ अहिले बक्सिङ विवादको घेरामा परेको छ । यसको समाधान अब कसले गर्ने हो त्यसको निक्र्योलसमेत हुन सकेको छैन ।

साँचो अर्थमा भन्नुपर्दा अहिले बक्सिङमा ठूलो राजनीति भइरहेको छ । यसमा नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् पर्दापछाडिबाट खेलिरहेका छन् भने खेलाडी, प्रशिक्षक र केही बक्सिङका पदाधिकारी आवरणमा देखिएका छन् । त्यस्तै, बक्सिङमा भित्रिन बाहिरबाट राम अवालेले पनि विशेष भूमिका निर्वाह गरिरहेको अवस्था छ । उनले बक्सिङलाई सहयोग गर्ने नाममा बक्सिङका खेलाडीलाई उचालेर बक्सिङको हुर्मत लिने कार्य गरेका छन् । अवालेले बक्सिङका विवादास्पद खेलाडी मनोहर बस्नेत अर्थात् म्याक्सलाई हतियार बनाएर आफ्नो स्वार्थसिद्ध गरिरहेको बुझिनमा आएको छ । यसको ज्वलन्त उदाहरणको रूपामा हालै १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि बक्सिङको छनोटमा उनले देखाएको हर्कतले नै यो कुरालाई पुष्टि गर्छ । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले नेपाल बक्सिङ सङ्घमा राम अवालेलाई ल्याउन सङ्घमा पत्राचार गर्नुले पनि बक्सिङमा केही न केही खिचडी पाकिरहेको सोझै अनुमान लगाउन सकिन्छ । अन्यथा बक्सिङ सङ्घको निर्वाचन हुन केही महिना मात्रै बाँकी रहेको अवस्थामा राम अवालेको बक्सिङ सङ्घमा त्यस्तो के आवश्यकता पर्‍यो ? यसमा ठूलो राजनीतिक गन्ध आएको छ । बक्सिङ सङ्घमा देखिएको यो विवादले बक्सिङ खेल र खेलाडीमा प्रत्यक्ष असर पर्ने देखिए पनि कसलाई असफल पार्न यस्तो षड्यन्त्र रचिएको हो त्यसको पर्दाफास हुन भने बाँकी छ ।

राष्ट्रिय खेलकुद परिषद्ले मुख्य प्रशिक्षकमा गरेको फेरबदलसँगै बक्सिङको विवादले शिखर छोएको थियो । मुख्य प्रशिक्षक ओम मास्केले आफू राजनीतिको सिकार भएको भन्दै आफूलाई फेरबदल गर्नमा अध्यक्ष राजीव श्रेष्ठको हात रहेको बताएका थिए । तर, मास्केको यो कुरालाई गलत सावित गर्दै खुद राखेपले यो नियमित प्रक्रिया भएको जवाफ दिएको छ । तर, मास्के यो कुरा मान्न तयार छैनन् । उनको मानसपटलमा राजीव श्रेष्ठको बाहेक अन्यको छवि बसेको छैन । मास्केको आरोप छ, ‘काम गर्ने कालु मकै खाने भालु ।’ आफू मिहिनेत गर्ने परिणामको बेला अरूलाई जिम्मेवारी दिने ? उनको तर्कमा अध्यक्ष श्रेष्ठले सहमति जनाउँदै आफू नेपाल बक्सिङ सङ्घको अध्यक्ष मात्र भएको बताएका छन् । साथै श्रेष्ठले मास्केलाई फेरबदल गर्नमा आफ्नो हात नभएको र आफ्नो हकअधिकारभित्र नपर्ने प्रस्ट पारेका छन् । ‘मुख्य प्रशिक्षकको फेरबदल राखेपले गरेको हो, मैले होइन,’ श्रेष्ठले भने । यसमा आफ्नो कुनै भूमिका नरहेकाले आफूलाई आरोप लगाउनुको अर्थसमेत नभएको श्रेष्ठको तर्क थियो ।

बक्सिङमा किन र केका लागि राजनीति मौलाउँदै छ, त्यो रहस्यकै विषय बने पनि सायद त्यसको सही जवाफ कुर्सी हुन सक्ला भनेर अड्कल भने अवश्य काट्न सकिन्छ । त्यसैले होला, नेपाल ओलम्पिक कमिटीका महासचिव टेन्डी लामा शेर्पा अहिले बक्सिङ सङ्घका महासचिव दीपक गुरुङका साथ बारम्बार देखिन थालेका छन् । पछिल्लो समयमा अध्यक्ष राजीव श्रेष्ठको कट्टर विरोधीको रूपमा देखिएका गुरुङ जसरी भए पनि राजीवको स्थानमा पुग्न चाहन्छन् । त्यसैले उनी श्रेष्ठलाई पदास्थापन गर्न साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गरिरहेका छन् । त्यसका लागि उनले पार्टी, नेता र सङ्घका पदाधिकारीसँग हिमचिमसमेत बढाएका छन् । पछिल्लो समय राजीवलाई अध्यक्ष पदमा निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका लामाले यसपटक गुरुङलाई धाप मार्नुको रहस्य अझै खुल्न सकेको छैन । यसर्थमा लामा र गुरुङको निकटता आफँैमा प्रश्नवाचक बनेको छ । एनओसीको निर्देशनमा लामाले यस्तो कदम चालेका हुन् भने त्यो कदापि सत्य सावित हुँदैन । यसर्थमा कि यसपटक एनओसीको पहिलो रोजाइमा राम अवाले परेका छन् । अर्को कुरा, पार्टी र एनओसीको निर्देशनविपरीत लामा चल्न सक्ने अवस्था पनि छैन । यतिबेला अवालेले एनओसीलाई लगाएको गुन र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई लगाएको गुन तिर्नुपर्ने बेला आएकाले दीपक गुरुङ कुनै पनि हालतमा लामाको पञ्जाबाट छुट्न सक्ने प्राय: निश्चित छ । अझ लामा र श्रेष्ठको मित्रताको अगाडि गुरुङको यो खेल सूर्यको अगाडि दियो साबित नहोला पनि भन्न सकिँदैन ।

बक्सिङमा विवाद र राजनीति गर्माएसँगै कुर्सीका लागि हानथाप हुने सङ्केत प्रस्ट रूपमा देखिएको छ । यसका लागि अध्यक्ष श्रेष्ठमाथि खेलाडीहरूको रकम हिनामिना गरेको आरोप लगाएर राखेपले छानबिन समितिसमेत गठन गरेको थियो । खेलाडी र अन्य गरी पाँच लाख रुपैयाँको श्रेष्ठले हिनामिना गरेको आरोप लागे पनि त्यसमा उनले सफाइ अर्थात् क्लिन चिट पाइसकेका छन् । विभिन्न आरोप लगाएर श्रेष्ठलाई बद्नाम गराउने र बक्सिङमा आफ्नो आधिपत्य कायम गर्नेतर्फ अहिले पनि एक गुट सक्रिय भएर लागेको छ । त्यसमा केही खेलाडी, पदाधिकारी र प्रशिक्षक पनि रहेका छन् । यस्तोमा केही महिनापश्चात् हुने बक्सिङ सङ्घको निर्वाचनमा कत्तिको प्रभाव पर्छ त्यो हेर्न लायक भएको छ । त्यस्तै प्रत्येक साग गेममा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्दै आएको बक्सिङले १२औँ सागमा कस्तो प्रदर्शन गर्ला र बक्सिङको विवादले यसलाई आफ्नो लपेटामा पार्ला कि नपर्ला त्यो प्रतीक्षाको विषय बनेको छ । यसरी बक्सिङमा भाँडभैलो मच्चाउनमा कारकतत्त्व मानिएका सङ्घका पदाधिकारी र मुख्य प्रशिक्षकलगायतका व्यक्तिहरू सफल हुन्छन् या असफल त्यो अहिले प्रतीक्षाको विषय छ । र पनि, अन्य सङ्घमा झँै बक्सिङमा पनि भित्रिएको यो गुटबन्दी र जालझेल व्यक्तिलाई सफल बनाएर पनि बक्सिङलाई भने असफल पार्ने प्राय: निश्चित छ ।