ओलीले गुमाए ऐतिहासिक अवसर

ओलीले गुमाए ऐतिहासिक अवसर


प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो हनिमुन पिरियड समप्तिको सङ्घारमै पुगेका छन् । मुट्ठीमा शासकीय अधिकार बोकेर सय दिन कटाउँदै गर्दा यतिबेला प्रधानमन्त्री ओलीमा असीम खुसी, सन्तुष्टि र विजेताको भाव भरिएको हुनुपर्ने हो । तर, ओली ठीक उल्टो परिवेशको सामना गर्न अभिशप्त देखिँदै छन् । सुरुमा हरेक तह–तप्काका नागरिकमा घनघोर आशा जगाउँदै मुलुककै प्रमुख कार्यकारीको ओहोदामा उक्लिएका केपी ओली तीन महिनाकै अवधिमा एक हठी र आफ्नै लहडमा बहकिएको एक जटिल पात्रमा रूपान्तरित हुन पुगेका छन् । कैयन् नागरिकले त उनलाई एक हास्यपात्रकै रूपमा चित्रित गरेका छन् । पत्रपत्रिका एवम् सामाजिक सञ्जालका भित्तामा यतिबेला प्रधानमन्त्री ओलीको जुन ‘इमेज’ प्रस्तुत भएको छ, यसले ओलीको ओजिलो, सुस्पष्ट र दृढ व्यक्तित्वप्रति नतमस्तक उनका हरेक प्रशंसकलाई निराश तुल्याएको छ । आमतप्कामा यसरी ग्लानि र निराशा जाग्नुमा प्रधानमन्त्रीका पछिल्ला केही अभिव्यक्ति पनि मुख्य कारक देखिएका छन् ।
ghatana logo 1
कुनै खास ाचा–प्रतिबद्धता नजनाए पनि प्रधानमन्त्री ओली आशा र भरोसाका पात्र रहेकै थिए । मधेसकेन्द्रित दलीय मोर्चाको आन्दोलनका कारण उत्पन्न कठिन अवस्थालाई चिर्न नसकी देश अकल्पनीय कष्ट झेल्न विवश हुँदा पनि प्रधानमन्त्रीकै समर्थन खातिर जनता चुपचाप बसेकै हुन् । मधेस आन्दोलनलाई मत्थर तुल्याउनुको साटो झन् चर्काइँदा र सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सरकारी रवैयाकै कारण नराम्रोसँग प्रभावित बन्न पुग्दा पनि धीरतापूर्वक जनताले साथ–समर्थन दिएकै हुन् । राजनीतिक माहोल प्रतिकूल नभइदिएको भए बोलीले मात्र नभई ओलीले व्यवहारत: नै मुलुकलाई समृद्धिको मार्गमा डोर्‍याउने पहलकदमी उठाइसक्ने थिए भन्ने नागरिक–कल्पना जागृत नै थियो । यसबीच सत्ता टिकाउनकै लागि जथाभावी मन्त्रालय टुक्र्याएर जम्बो मन्त्रिमण्डल खडा गरी मुलुकको आर्थिक खभार बढाउने काम गर्दा पनि सआलोचना नै सही, जनसमर्थन कायम रहेकै थियो । तर, नागरिक तप्काको आफूप्रतिको यस्तो सद्भावका बाबजुद जब प्रधानमन्त्रीले वर्षदिनमै मुलुकलाई लोडसेडिङमुक्त तुल्याउने प्रतिबद्धता सार्वजनिक भाषणमा दोहोर्‍याउन थाले, यतिले नपुगी ग्यास–सिलिन्डरको फेज नै समाप्त भएको र अब घरघरमा एलपी ग्यासको पाइपलाइन फिट गरिदिने ‘गम्भीर प्रतिबद्धता’समेत उनले जुन शैलीमा जनाउन थाले, समस्त नेपालीजनमा प्रधानमन्त्री ओलीप्रति आशङ्का भाव जाग्न पुग्यो । कुन मनोदशाले प्रधानमन्त्रीलाई यस्ता अभिव्यक्ति दिन उत्प्रेरित तुल्याइरहेको छ भन्ने त्रासयुक्त जिज्ञासा र आशङ्का यतिबेला जन–जनमा व्याप्त छ ।

छिट्टै बिजुली दिन्छु, सहजै ग्यास दिन्छु भनी प्रधानमन्त्रीले वाचा गर्नु प्रकारान्तरले अत्यन्तै सकारात्मक कुरा हो । सकारात्मक अभिव्यक्तिले सुखद् र आशावादी भाव नै जगाउनुपर्ने हो । तर, किन आममानसमा उल्टै त्रास र निराशा उत्पन्न गरायो ? यो सवालको मर्म प्रधानमन्त्री केपी शर्मा ओली र उनको सल्लाहकार–मण्डलले अत्यन्तै गम्भीरतापूर्वक मनन गर्नु वाञ्छनीय देखिन्छ । साँच्चै पूरा गर्न सकिने भए प्रस्ट मार्गचित्र जनसमक्ष प्रस्तुत गर्नु अपरिहार्य छ, अन्यथा, काल्पनिक कुरा गरेर जनतामा ह्वात्तै आशा जगाइदिने अनि चरम निराशको गर्तमा हुत्याइदिने खतर्नाक प्रवृत्तिले ओलीको आजसम्मको ‘आर्जन’लाई नै धुलिसात तुल्याइदिने निश्चित छ ।

वास्तवमै ओली अब एक आशा–भरोसाका भर्भराउँदो व्यक्तित्वबाट चिप्लिएर यतिबेला प्रधानमन्त्रीय भूमिकामा उभिएका एक निरीह, गफी, हठी र दम्भी व्यक्तिमा सीमित हुन पुगेका छन् । ऐतिहासिक राजनेताको छवि निर्माण गर्ने अभीष्ट पालेका कुनै राजनीतिकर्मीको निम्ति यो अवस्था कति दर्दनाक हुन्छ, केपी शर्मा ओलीजस्ता ‘कुशाग्र’ व्यक्ति स्वयम्ले अनुभूत गर्न सक्ने कुरा हो । ओलीको बोली स्वादिलो मात्र नभई बोलीलाई व्यवहारमा उतार्ने खुवी पनि दर्बिलो रहेको आमबुझाई मिथ्या रहेछ भन्ने त राष्ट्रिय एकताका सूत्रधार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा सरकारले दर्शाएको लाछीपन नै काफी छ । यस मामलामा प्रधानमन्त्री ओली आफ्नो वचनबाट मात्र च्यूत भएका छैनन्, एउटा अपरिहार्य र ऐतिहासिक निर्णय लिने अवसर गुमाएर घोर पश्चात्तापको एक मुहान खोल्ने बिब्ल्याँटो पात्रका रूपमा समेत स्थापित हुन पुगेका छन् ।