नेतामा सुझबुझ नहुँदा जमिन बाँझै !

नेतामा सुझबुझ नहुँदा जमिन बाँझै !


स्थानीय समस्या बुझ्ने नेताको अभावमा
हजारौँ रोपनी खेतीयोग्य जमिन सुक्खै !

mukti
– मुक्तिनाथ भुसाल

सिँचाइको अभावमा अर्घाखाँचीका हजारौँ रोपनी खेतीयोग्य जमिन सदुपयोग हुन नसकेबाट जिल्लाका सरोकारवाला कृषक चिन्तित बनेका छन् । अर्घाखाँचीस्थित पूर्व–पश्चिम राजमार्गको भालुवाङ बजारसँग जोडिएको जलुके गाविस–६ लाहपेमा रहेको जमिनलाई मात्र सिञ्चित गरी सदुपयोग गर्नेे हो भने त्यहाँको उत्पादनले आसपासका एक दर्जन जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सक्ने देखिन्छ । राजमार्गसँग जोडिएको हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन सिँचाइ अभावमा खेर गइरहेको छ । सन्धिखर्क सदरमुकामबाट १२५ किलोमिटर यात्रामा सो बस्तीमा पुग्न सकिने भए पनि सम्बद्ध पक्षको ध्यान त्यसतर्फ पुग्न नसकेको स्थानीय श्रीराम गिरी बताउँछन् ।

लाहपे बस्तीमा तीन सयभन्दा बढी घरधुरीको सङ्गत जिल्लाको भालुवाङसँग हुने गरेको छ । उनीहरूको बस्तीमा विकास निर्माणका लागि अर्घाखाँची जिल्लाले ध्यान नदिएको र दाङ जिल्लाले आफ्नो बजेट त्यता लगाउन बाध्य नभएको कारण समस्या ज्युँकात्युँ रहेका छन् । अर्घाखाँचीको लाहपे बस्ती र दाङको भालुवाङलाई राप्ती नदीले अलग्याएको छ । आकाशको फल आँखा तरी मर भनेजस्तो राप्ती नदीको पानी लाहपे बस्तीमा व्यवस्थित नगरिएको कारण हजारौँ रोपनी खेतीयोग्य जमिन सिँचाइविहीन भई साँझबिहान गर्जो टार्नकै लागि त्यहाँका बलिया हात–पाखुरीयुक्त युवा बिदेसिन बाध्य भएका छन् ।

खेर गइरहेको राप्तीको पानीलाई व्यवस्थित गरिए पश्चिम नेपालकै लागि तरकारी, फलफूल त्यहाँबाट उत्पादन गर्न आफूहरू सक्षम रहेको स्थानीय दीपकबहादुर जबरा दाबी गर्छन् । उत्पादित वस्तुहरू बिक्री गर्नका लागि छोटो दूरीमा राजमार्ग पुग्न सकिने भए पनि जिल्लास्थित दलका नेताहरू चुनावको समयमा बाहेक अरू बेला फर्केर नआउने गरेको गुनासो स्थानीयमा रहेको छ । बेलाबखतमा आइलाग्ने छिमेकी मुलुकका अघोषित नाकाबन्दीजस्ता समस्याको समाधानका लागि भए पनि लाहपेबस्तीलाई राज्यको उपल्लो निकायले विशेष ध्यान पुर्‍याई सिँचाइ समस्याको समाधान गरी स्थानीयलाई व्यावसायिक कृषि पेसामा हौस्याउने हो भने ठूलो सफलता प्राप्त हुने देखिन्छ ।mukti pic

त्यसैगरी सोही गाविसको वडा नम्बर ४ लामातालमा सुन्दर खेतीयोग्य जमिन त्यत्तिकै रहेको छ । जसको सिमानामा राप्ती नदी बगेको छ । राप्तीपारि प्युठान र वारि अर्घाखाँचीको लामाताल रहे पनि सो क्षेत्र सिँचाइ समस्याबाट गुज्रिरहेको छ । लामातालको तोरी, अडहर, पिँडालु, सिन्की, माछा आदि जिल्लाकै सन्दर्भमा सस्तो र लोकप्रिय बनेको भए पनि सिँचाइको अभावमा सयौँ रोपनी जमिन अपेक्षाकृत सदुपयोग हुन नसकेबाट उल्लेखित नगदे कृषि उत्पादन सम्भावना भएर पनि मृगतृष्णाझैँ बनिरहेको अवस्था छ । सन्धिखर्क सदरमुकामबाट टाढा भएको कारण लामातालका स्थानीयवासी आफूलाई आवश्यक दैनिक उपभोग्य सामान खरिदका लागि प्युठान जाने गर्दछन् । दुवै क्षेत्रलाई राप्ती नदीले विभाजन गरेको कारण त्यहाँ निर्माण भएको अर्घाखाँचीकै सबैभन्दा लामो झोलुङ्गेपुल स्थानीयका लागि जिउने आधार बनेको छ । लामाताल र प्युठानलाई जोडेको दुई सय २५ मिटर लम्बाइको सो पुलबाट यातायातका साधन वारपार गर्न नमिल्ने कारण एउटा पक्की पुल निर्माणका लागि उपल्लो निकायको ध्यान जाने हो भने सो क्षेत्रका बासिन्दाका लागि ठूलो सम्मान हुने देखिन्छ । लामातालवासीले अझै पनि नौमुरे जलविद्युत् कार्यान्वयन होला र आफ्नो जीवनस्तरमा सुधार आउला भन्ने झिनो आशा हालसम्म पनि पालेका छन् ।

जलुके गाविसको वडा नं. ७ हाडेस्यालामा पनि प्रसस्तै खेतीयोग्य जमिन भए पनि त्यहाँका बासिन्दा आफ्नो बस्तीबाट बगिरहेको राप्ती नदी हेरेर वर्षौंदेखि त्यत्तिकै मन बुझाउन बाध्य बनेका छन् । त्यसैगरी जलुकेमा रहेको प्रहरीचौकीसहितको बाक्लो गाउँदेखि जुकेना गाविसको शिवादहसम्मका स्थानीयवासी खानेपानीको अभावमा कष्टकर जीवन बिताउन विवश छन् । पिउने पानीको सवालमा स्थानीयवासीको कष्टकर दैनिकी देख्दा अर्घाखाँची जिल्लाले हालसम्म पनि सर्वसाधारणको पक्षमा काम गर्ने नेता नजन्माएको प्रस्टै महसुस हुन्छ । वर्तमान उपप्रधान तथा ऊर्जामन्त्री एवम् अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी राष्ट्रिय तहको नेता र क्षेत्र नम्बर २ का सांसद डा. दुमनसिंह थापा योजनाकार भनेर जिल्लाबाहिर हल्ला गरे पनि त्यस क्षेत्रमा दुवैजनाको भूमिका शून्य महसुस भएको छ ।