कांग्रेसको भविष्य भावी नेतृत्वमा निर्भर

कांग्रेसको भविष्य भावी नेतृत्वमा निर्भर


Indra Baral 9
:: इन्द्र बराल ::

नेपाली कांग्रेस १३औँ महाधिवेशनको सङ्घारमा आइपुगेको छ । पार्टी नेतृत्व हत्याउन खोज्नेहरू आफ्नो चुनावी प्रचारमा जिल्ला दौडाहा गरिराखेका छन् र सभापतिका आकाङ्क्षीहरू एक–अर्काप्रति नजानिँदो ढङ्गले कटाक्ष वा व्यङ्ग्यवाद हान्दै गरेको पनि सुन्न र पढ्न पाइएकै छ । कांग्रेसभित्र मौलाएको परिवारवाद आफ्नो निरन्तरताको खोजीमा भरमग्दुर प्रयासरत भएको पनि छनक मिलेको सन्दर्भमा अब कांग्रेसका इमानदार कार्यकर्तादेखि नेतासम्मले भने त्यस्ता प्रवृत्तिलाई निरन्तरता दिने वा निरुत्साहित गर्ने भन्ने गम्भीर प्रश्न निरूपण गर्ने बेला आएको छ ।

होहल्ला र प्रचारात्मक शैलीमा मात्र विश्वास नगरी पार्टीको भावी नीति र कार्यक्रमको आधारमा भोलिको नेतृत्व चयन हुन सकेन भने कांग्रेसको भविष्य सुनिश्चित गन्तव्य भेट्टाउन मुस्किल पर्नेछ । नेपालका मौजुदा उग्रवामपन्थी पार्टीहरूसमेत लोकतन्त्रको खोल ओढेर देखापरेको हुँदा कांग्रेसजनको मन–मस्तिष्क परिवर्तन गराउन सक्ने, भ्रमित तुल्याउन सक्ने सम्भावना छ, जसले कांग्रेसलाई कमजोर बनाउन सक्छ । झट्ट हेर्दा अब नेपालमा नेपाली कांग्रेस मात्रै प्रजातान्त्रिक पार्टी होइन, अरू धेरै स्थापित कम्युनिस्ट पार्टीहरू पनि ‘प्रजातान्त्रिक बाटोबाटो अघि बढिरहेको’ प्रभाव दिन सफल देखिँदै छन् । तसर्थ यस्तो परिस्थितिमा कांग्रेसभित्र नितान्त प्रभावकारी, सबल र गतिशील नेतृत्व चयन हुन आवश्यक छ । यसको अर्थ एउटा नेतालाई नेतृत्व सुम्पेर अर्को नेताको मानमर्दन गर्नुपर्छ भन्ने होइन । कांग्रेसजनका लागि सबै नेता उत्तिकै सम्मानित र आदरणीय छन्, तर सम्मान र आदरका खातिर अक्षम, अयोग्य र गतिहीन व्यक्तिलाई नेतृत्व सुम्पने काममा भने गम्भीर हुनैपर्छ ।

अब सहानुभूति वा कसैको मन राख्नैका लागि आफ्नो विवेक र बुद्धिलाई खर्चिन थालियो भने पक्कै पनि नेपाली कांग्रेसको भविष्य अन्धकारमय हुनेछ । त्यसैले नेपाली कांग्रेसले १३औँ महाधिवेशनबाट यस्तो नेतृत्व छनोट गर्न सकोस् जसले भोलिका चुनौतीहरूको डटेर मुकाबिला गर्न सकोस् । अहिले हाम्रो सामुन्ने प्रस्टै छ– प्रजातन्त्रको विकल्प वामपन्थी छन् र तिनका सहयोगीहरू पनि प्रजातन्त्रभन्दा वामपन्थी नै ठीक भन्ने प्रकृतिका छन् । उदाहरणका लागि चौथो शक्ति (व्यवस्थापिका संसद्मा) राप्रपालाई लिन सकिन्छ । पुराना शक्तिहरू अहिले गाईको गहुँतले चोख्याएर परिवर्तन वा गणतन्त्रका असल सारथि बनेका छन् र प्रधानमन्त्री ओलीका निम्ति उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ठूलै बरदान सावित भएका छन् । दक्षिणपन्थी जसलाई पश्चगामी शक्तिको रूपमा हेरिएको र त्यसरी नै आलोचित पार्टी अहिले वामपन्थी शक्तिलाई प्राणवायु बन्नु राप्रपाका लागि ठूलै उपलब्धि हुनु स्वाभाविक भए पनि अग्रगामी राजनीतिका मसिहालाई कस्तो लागेको होला अड्कलबाजी आ–आफ्नै ढङ्गले गर्नु नै उचित होला । मुलुक यसरी अस्वाभाविक र असामान्य ढङ्गको गठबन्धनबाट अघि बढिरहेको सन्दर्भमा कांग्रेसको महाधिवेशनले विचार पुर्‍याउन सकेन र परम्परावादी भई नेतृत्व परिवर्तनमा चुक्यो भने पश्चात्ताप अवश्यम्भावी छ ।

मुलुक र मुुलुकको लोकतान्त्रिक पद्धतिलाई लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयन गराउन कठिन भइराखेको अवस्थामा एक मात्र लोकतन्त्रको स्थापना, पुनस्र्थापनादेखि गणतन्त्रसम्म आइपुग्दासम्म अग्रणी भूमिका खेलेको पार्टी नेपाली कांग्रेस सायद इतिहासकै अत्यन्त जटिल मोडमा उभिएको प्रतीत हुन्छ । यस्तो जटिल र कठिन परिस्थितिको सामना गर्नैपर्ने बाध्यात्मक अवस्थाको यस घडीमा आसन्न (कांग्रेसको) महाधिवेशनलाई अत्यन्तै महत्त्वका साथ हेरिएको छ । १३औँ महाधिवेशनले समावेशी समानुपातिक सिद्धान्तको आधारमा मुलुकलाई हाँक्न सक्ने सक्षम एवम् सबल नेतृत्व कुनै वंश–परम्पराअनुसार नभई सामान्य परिवारमा जन्मेकै, तर स्थापित नेता नै चयन हुन सके अवश्य पनि कांग्रेसको इतिहासलाई सम्भावित दुर्घटनाबाट जोगाउन सक्ने देखिन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछि लामो समय नेपाली कांग्रेसले नै राज्य सञ्चालन गरोस् भनेर नेपाली जनताले विश्वासको मत दिएका छन् । तर, दुर्भाग्य सुविधाजनक मत प्राप्त पार्टीले जनमतको अवमूल्यन गर्दै जब संसद् विघटन गरियो, तत्पश्चात् कांग्रेसले विश्वासमाथि कुठाराघात गरेकै हो भन्न हिचकिचाउनुपर्दैन ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणमा महाकाली सन्धि (टनकपुर) लाई समझदारीको संज्ञा दिए पनि सर्वोच्च अदालतले सन्धि ठहर गरेपछि विपक्षीहरू कांग्रेसविरुद्ध खनिए । रेलिङ तोड्ने गरी चक्काजामसम्म बडो जोडतोडले लागे । कांग्रेसले चित्तबुझ्दो ढङ्गले विपक्षीको प्रतिकार गर्न सक्ने अवस्था थिएन । तथापि गिरिजाप्रसादले गरेको त्रुटिपूर्ण सहमति/समझदारी (टनकपुर सन्धि)लाई शेरबहादुर देउवाद्वारा नेतृत्व गरिएको गठबन्धन सरकारले मध्यरातसम्म संसद् अधिवेशन चलाई टनकपुर (महाकाली) सन्धिको विरोध गरेर तोडफोड तथा चक्काजाम गर्नेहरूकै समर्थनमा दुईतिहाइ बहुमतबाट उक्त महाकाली सन्धि (टनकपुर सन्धि) अनुमोदन गर्ने–गराउने क्षमता प्रदर्शन गरेको थियो । अर्थात्, वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो लचकदार व्यक्तित्वको प्रभावस्वरुप उक्त खुबी दर्शाएका थिए । सायद प्रधानमन्त्री भएर पहिलो काम एउटा विवादको पटापेक्ष गराउनु उपलब्धि नै ठान्नुपर्छ । तर, देउवाले एउटा सकारात्मक कदम चालेको बदला आफ्नै सांसदलाई लुकाएर सरकार गिराउने काम भयो । तथापि देउवाले हरेस खाएनन् र निरन्तर पार्टी र सरकारको नेतृत्वका लागि प्रयत्नरत रहे । जनताको पक्षमा आफूलाई उभ्याइराखे ।

यसका धेरै प्रमाणहरू छन् । नेपाली कांग्रेसलाई जोताहा किसानको पक्षमा स्थापित गर्न भूमिसुधारमा क्रान्तिकारी कदम चालियो र मोहीयानी हकलाई २५ प्रतिशतबाट ५० प्रतिशत कायम गराइयो, जुन कार्य अत्यन्त प्रशंसायोग्य थियो र अझै पनि छ । केही भूसामन्तहरूलाई केही छटपटी भए पनि हजारौँ जोताहा किसानको जग्गामाथि समान हैसियत कायम हुनु चानचुने काम थिएन जुन काम देउवा नेतृत्वको सरकारले गरेरै छाडेको थियो । त्यसकारण कांग्रेसमा देउवा किसानको पक्षमा देखिनुभएको छ र यही सन्देश आसन्न महाधिवेशनमा दिन सक्नुपर्छ । साथै पश्चिम तराईका पाँच जिल्ला दाङदेखि कञ्चनपुरसम्मका कमैया मुक्ति पनि त्यत्तिकै महत्त्वको काम थियो भने अन्य धेरै ऐतिहासिक महत्त्वका काम भएका छन् । अब तिनै कामको आधारमा जनमुखी नेतृत्व चयन गर्ने बेला आएको छ कांग्रेसमा ।

कांग्रेस पार्टीभित्र धेरै आकाङ्क्षी छन् जो पार्टीको नेतृत्व तहमा आफूलाई स्थापित गराउन चाहन्छन् जुन ज्यादै सकारात्मक कुरा हो । नयाँ पुस्ताले पनि आफूलाई नेतृत्वको पाइपलाइनमा राख्नैपर्छ र नेतृत्वको औचित्य पुष्टि गर्नुपर्छ । मेरा समकालीन कहाँ पुगे मचाहिँ यहीँ छु भन्ने जस्ता तर्क होइन सार्थक तर चुनौतीका चाङमा डटेर मुकाबिला गर्ने आधारमा हुनुपर्छ । अहिले नेपाली राजनीतिमा कांग्रेसीमा यही खोजी रहेको छ । समावेशी राजनीतिमा हरेक जाति, क्षेत्र र वर्गले राज्यमा आफ्नो उपस्थिति सुनिश्चित गराउन त्यत्तिकै क्रियाशील छन् । आदिवासी/जनजातिहरूले २०५८ सालमा देउवा नेतृत्वको सरकारका बेला आदिवासी–जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन नै निर्माण गरेर ठूलै उपलब्धि हासिल गरेका छन् र त्यही ऐनको आधारमा राज्यबाट आरक्षण सेवालगायत धेरै सेवा–सुविधा प्राप्त गरिराखेका छन् । तैपनि नेपाली कांग्रेस आदिवासी–जनजातिको पक्षमा काम गर्दागर्दै पनि जस लिने काममा पार्टी चुकिरहेको छ । त्यसैले नेपाली कांग्रेस आदिवासी/जनजातिको पार्टी हो भन्ने विश्वास दिलाउन सक्नुपर्छ । यो मुलुकको सबैभन्दा उत्पीडन, शोषण र दमनको चरम पीडामा परेका दलितहरूको हकमा समेत देउवा नेतृत्वको सरकारले उनीहरूलाई अर्थात् दलितहरूको उत्थानका लागि राष्ट्रिय दलित आयोग बनाएर एउटा सकारात्मक कार्यको प्रारम्भ भएको थियो र सो आयोगले केही न केही काम गरिराखेको छ, यद्यपि त्यति नै पर्याप्त भने नहुन सक्छ । साथै महिलाको हकमा पनि धेरै उत्पीडन थिए र छन् पनि, तर राष्ट्रिय महिला आयोग बनेपछि त्यसले केही न केही भए पनि महिलालाई राहत मिलेकै हुनुपर्छ, र पनि नेपाली कांग्रेसका वरिष्ठ नेताले सरकारको नेतृत्व गरिरहँदा जनताको पक्षमा भए–गरेका कार्यहरूको कहिल्यै चर्चा भएन । यो अत्यन्त दु:खको पाटो कहिलेसम्म रहने हो थाहा छैन ।

तर, नेपालका कम्युनिस्टहरू जनताको पक्षमा काम नगरे पनि जनताका मसिहा हुँ भन्ने हल्लाकै भरमा राज्यको डाडुपुन्यु लिएकै छन्, अझै भन्ने हो भने नाकाबन्दी र मधेसी मोर्चाको अवरोध झनै फलिफाप हुँदासम्म कांग्रेसका वर्तमान सभापति सुशील कोइरालाले प्रतिपक्षको भूमिका बिर्सेका हुन् या कम्युनिस्टहरूको लाचार छाया हुन् केही पत्ता पाउन छाडिसकेका छन् । महँगी र कालोबजारीका विरुद्ध सशक्त र प्रभावकारी कदम चाल्न सकेको देखिँदैन । तथापि आगामी १३औँ महाधिवेशनमा पार्टी सभापति बन्ने आकाङ्क्षी देखिएका उनमा लज्जाबोध हुनुपर्ने होइन र ? त्यसैले अबको नेतृत्व छातीमा हात राखेर इमानदारी साथ मूल्याङ्कन गर्ने हो भने यसपटक देउवाको विकल्प खोज्नु अन्याय हुन्छ । यो लेखको आशय व्यक्तिलाई आँखा चिम्म गरेर अरूको विरोध गरेको नभई कामको आधारमा मूल्याङ्कन हुँदा पार्टीको भविष्य उज्यालो हुने निश्चित देखिन्छ भन्ने मात्र हो, नेताहरूले आफ्नो बोली र वचनमा पक्का हुनुपर्छ । कहिले एकपटक भनेर सहानुभूति देखाएर नेतृत्व हत्याउने अनि पहिलेका बोली बिर्सने बानी खतरनाक हुन्छ ।

त्यस्तै संविधान जारी भएपछि पद त्याग गर्छु भनेर भन्ने, तर त्याग नगर्ने यो कस्तो लाजमर्दो प्रतिबद्धता हो ? पार्टी सभापतिका बोली र वचनमा पक्का नदेखिँदा धेरै स्वाभिमानी कार्यकर्ताको आत्मसम्मानमा चोट पुगेकोतर्फ हेक्का राख्ने कि नराख्ने ? यसर्थ १३औँ महाधिवेशनले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्ने बेलामा पार्टीका तमाम शुभचिन्तक, सक्रिय सदस्यदेखि महाविधेशन एवम् महासमिति सदस्यले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ । १३औँ महाधिवेशन नेपाली कांग्रेसका लागि बरदान सावित गराउँदै सुसङ्गठनको बाटोमा पार्टीका प्रतिनिधिहरूले सही नेतृत्व चयन गर्नेछन् भन्ने अपेक्षा राख्नु स्वाभाविक र सान्दर्भिक छ भन्नु अन्यथा नठानिएला । विवेकशील प्रतिनिधिहरूकै हातमा कांग्रेसको भविष्य निर्भर रहने छ, चेतना भया ।