भारतसँग सम्बन्ध पुनर्संरचना गर्नुपर्ने बाबुरामको भनाइ

भारतसँग सम्बन्ध पुनर्संरचना गर्नुपर्ने बाबुरामको भनाइ


नेशनल युनिभर्सिटी अफ सिङ्गापुरको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजले आज सिङ्गापुरमा आयोजना गरेको सेमिनारमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र राज्य पुनर्संरचनाको क्रममा अन्तर्राष्ट्रिय सम्बन्धलाई सचेतरुपमा व्यवस्थापन गर्नुपर्ने तर्क गर्दै तर त्यसो हुन नसकेको बताएका छन्। भट्टराईले नेपाल जस्तो भूरणनीतिक अवस्थामा रहेको देशले छिमेकीसँगको सम्बन्ध व्यवस्थित गरेरमात्र अगाडि बढ्न सक्ने उल्लेख गरे।

पूर्वी एसियाली बौद्धिकहरूबीच बोल्ने क्रममा उनले भने- “चीन र भारतबीच रहेको नेपालको संवेदनशील भूरणनीतिक अवस्थाका कारण द्वन्द्वपछिको राज्यको पुनर्संरचनाको क्रममा अन्तर्राष्ट्रिय सम्बन्धलाई सचेतरुपमा पुनर्संरचना तथा व्यवस्थापन गरिनुपर्छ, खासगरी प्रभावशाली छिमेकी भारतसँग। तर सङ्केतहरू त्यति सकारात्मक छैनन्।”

“द्वन्द्वपछि नेपालको पुनर्संरचना, चुनौती र सम्भावना” विषयक सेमिनारका एक्ला वक्ता भट्टराईले नेपाली सेनाको लोकतान्त्रिकरण र माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापना गरी सुरक्षा फोर्सको पुनर्संरचनाको मोडल विकास गरिनुपर्ने बताएको कार्यक्रममा सहभागी स्रोतले जनाएको छ। नेपालको सुरक्षा शक्तिको पुनर्संरचना सबभन्दा चुनौतीपूर्ण र कठिन रहेको उल्लेख गर्दै भट्टराईले, “नेताहरू आरोप-प्रत्यारोपमा रमाइरहेकाले शान्ति र लोकतन्त्रीकरण प्रक्रिया खतरनाक मोडमा पुगेको” दाबी गरे।