बूढीगण्डकी जलविद्युत् तत्काल सुरु गर्न स्थानीयको आग्रह

बूढीगण्डकी जलविद्युत् तत्काल सुरु गर्न स्थानीयको आग्रह


बूढीगण्डकी जलविद्युत्
काठमाडौं । गोरखा र धादिङका २७ गाविसका बासिन्दाले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम तत्कालै सुरु गर्न उर्जामन्त्री टोपबहादुर रायमाझीसँग आग्रह गरेका छन् । गोरखाको बोर्लाङमा शनिबार आयोजित एक कार्यक्रममा बूढीगण्डकी आयोजना सरोकार समिति आरुघाटका दिनेश ढकालले तत्कालै काम सुरु गर्न आग्रह गर्दै भूकम्पले घर भत्केकै बेला प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण गरेर सुरक्षित ठाउँमा सार्नुपर्ने जिकीर गरे । सो अवसरमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावट क्षमताको बन्ने जानकारी दिँदै जारी विद्युत्भार कटौती अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले आयोजना १२ सय मेगावाटकै बन्ने र निर्माणको काम सुरु हुने भएकाले आयोजना बन्दैन भन्ने हल्लाबाट मुक्त रहन स्थानीयवासीलाई आश्वस्त तुल्याए । जलासययुक्त हुने भनिएको आयोजनाका लागि धमाधम जग्गाको लगतकट्टा सुरु गर्न निर्देशन दिँदै उनले बूढीगण्डकी जलविद्युत् आयोजना बनाइ छाड्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरे । जग्गाधनीलाई मुआब्जा वितरण गरेर आयोजनाको कामलाई तीव्र रुपमा अघि बढाउने उनको कथन छ ।

कार्यक्रममा सभासद् कृष्ण धिताल, सभासद् पर्शुराम तामाङ, बूढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा, नेपाली काँग्रेस गोरखा सचिव पूर्ण दाहाल, नेकपा एमालेका सचिव कृष्ण नेपाली, एमाओवादीका अध्यक्ष लेखबहादुर थापालगायतले आयोजनाको काम द्रुतगतिमा अघि बढाउन मन्त्री रायमाझीको ध्यानाकर्षण गराएका थिए ।