बिचरा काठमाडौं :: बबिता बस्नेत

बिचरा काठमाडौं :: बबिता बस्नेत


Babita Basnet 20
कुनै बेला कसैले आफू राजधानी काठमाडौंवासी भनेर चिनाउँदा मानिसहरू ठूलो ठाउँबाट आएको या सुविधायुक्त स्थानमा बस्ने भनेर चिन्थे र भन्ने गथे, ‘त्यस्तो ठाउँबाट आउनुभएको मान्छे, हामीकहाँ त दु:ख छ है…।’ दुर्गम ठाउँ भए भन्ने गरिन्थ्यो, ‘हामीकहाँ त पानी पनि टाढाबाट ल्याउनुपर्छ, बिजुली पनि छैन, सुविधामा बस्नुभएको, तपाईंहरूलाई गाह्रो भो ।’ तर, हिजोआज राजधानीबाहिर जाँदा धेरैजसोले भन्ने कुरा उस्तै हुन्छ, ‘काठमाडौंमा त कति गाह्रो छ है, कसरी बसिरहनु भा’छ ? खान पनि गाह्रै होला… दाउराको आगो… बाल्ने ठाउँ पनि नहोला… बत्ती पनि छैन, ग्यास पनि छैन… पानी पनि आउँदैन…त्यस्तो जाडोमा…†’ मानिसलाई हेर्ने दृष्टिकोण अभाव र सम्पन्नतामा फरक त हुने नै भए, अभाव हुँदाका हेराइ र परिस्थिति ठीकै हुँदाका हेराइमा धेरै अन्तर हुँदोरहेछ । आफन्तहरूले पनि काठमाडौंमा दु:ख छ, दुई–चार दिन यतै बसेर गए हुनेझैँ गर्ने । प्राय: सहरहरूमा त दु:खै छ, त्यसैले खासै फरक नपर्ने, तर गाउँका मानिस भेटिँदा भने हामीकहाँतिरै जाऊँ, केही समय गाउँमै बसेर उता (काठमाडौंमा) दु:ख सकिएपछि गए हुन्न ? भन्ने आफन्तहरू भेट्न थालिएको छ ।

काठमाडौंभन्दा गाउँहरू अहिले सम्पन्न छन् । घरछेउमा दाउराका घार, नजिकै खानेपानी, सोलार या नजिकको खोलाबाट आएको कहिल्यै लोडसेडिङ नहुने बिजुलीबत्ती, खेतबारीमा फलेका अन्नपात र तरकारी । मधेस र पहाड दुवै गाउँहरू हिजो जस्ता थिए, आज त्यस्तै छन् । पहाडका गाउँ–गाउँमा बिजुली बत्ती पुगेका कारण पहाडी बस्तीहरू बढी सुविधायुक्त बनेका छन् । कतिपय ठाउँमा ग्रामीण सडकहरू बनेका छन्, पहाड र तराईका गाउँहरूबीचको फरक भनेको पनि सडक नै मुख्य हो । यता सहरहरूमा अभाव बढ्दो छ । पाँच दिन पेट्रोलियम पदार्थको अभाव हुँदा आत्तिने काठमाडौंले ग्याससहित इन्धनको अभाव भोगेको पाँच महिना भइसक्यो । अझै कहिलेसम्म यसप्रकारको परिस्थिति भोग्नुपर्ने हो यसै भन्न सक्ने अवस्था छैन ।

मङ्सिरदेखि ठिहिर्‍याउने चिसो सुरु हुने काठमाडौं रात परेपछि हिउँदमा सधैँ ‘फ्रिज’ हुन्छ । चिसो मौसममा काठमाडौंका बिहानहरू हिँड्न नसक्ने गरी अररो बनाउने हुन्छन् । त्यसो त, चिसो काठमाडौंमा मात्र हुने होइन अहिले काठमाडौंबाहिरका केही जिल्लामा हिउँदमा हिउँ नै परिरहेको छ । तर, बाहिरको चिसो व्यवस्थापन गर्नका लागि आगो बालिन्छ । बिहान–बेलुका भान्सामा आगो बल्छ, जाडोमा आगो ताप्नकै लागि वरिपरिका मानिसहरू जम्मा भएर दाउरा बालेर गफगाफ गर्दै साँझ या बिहानको समय बिताउने चलन पनि छ । तराईमा घुर तापिन्छ । टोलभरका मानिस जम्मा भएर घुर ताप्ने कुरा एक–अर्कासँग नजिक हुने र दु:ख–सुख बाँड्ने माध्यम पनि हो । जाडोका ‘कोपिङ मेकानिजम’ बाहिर अनेक छन् । तर, काठमाडौं यति सङ्कीर्ण र साँघुरो छ कि यहाँका घरहरूमा आगो बाल्ने ठाउँ नै छैन । गाउँघरमा जस्तो घरघरमा स्थायी चुला छैनन्, अँगेना पनि छैनन् । स्टिलका चुलाहरू खाना पकाउन त काम लाग्छन्, तर न्यायोका माध्यम होइनन् । काठमाडौंमा धेरै मानिस अरूको घरमा भाडामा बस्छन् । एउटा कोठा, दुईवटा कोठा लिएर बस्नेको त के कुरा पूरै फ्ल्याट लिएर बस्नेहरूको पनि आगो बाल्ने न त ठाउँ हुन्छ न त दाउरा नै । जसको आफ्नै घर छ उनीहरूलाई पनि दाउरा र स्थानका कारणले आगो बाल्न गाह्रो छ । काठमाडौंको जाडोको व्यवस्थापन गर्ने माध्यमहरू वर्गसँग सम्बन्धित छ । ग्यास हिटर, बिजुली हिटर, बिजुली हिटरमा पनि सानो, ठूलो, त्यसपछि न्यायो लुगा नै हो ।

पहिलापहिला धनी वर्गले मात्र लाउन सक्ने ज्याकेट र अन्य न्याया लुगाहरू चीनको चमत्कारले गर्दा सबै वर्ग–समुदायले लाउन सक्ने भएका छन् । जाडोमा अहिले काठमाडौंमा देखिएका थरीथरीका डाउन ज्याकेटदेखि ऊनीका लुगा र लामो बुटजुत्तासम्म खासाको करामत नै हुन् । जसले काठमाडौंको जाडोलाई सहज बनाइरहेका छन् । गत वैशाखमा प्रत्येक दिनजस्तै गएको भुइँचालोले सबैलाई सडकमा पुर्‍याएर समानता कायम गरेझैँ यसपटक कसैले पनि ग्यास हिटर बाल्न पाएनन् । न त बिजुली हिटर नै । ग्यास र बिजुली दुवै नभएपछि जस–जसका हिटर थिए ती थन्किएरै रहे । निकाल्ने राख्ने झन्झट भएन । यो वर्ष राजधानीवासीका साँझहरू हिटर नबाली बिते । काठमाडौं जाडोमा कठ्याङ्ग्रिरह्यो, मानिसहरू चुपचाप आफूसँग जे थियो त्यही लगाएर न्यायो अनुभूति गर्दै गए । अरू कुनै उपाय पनि थिएन । त्यसो त, वर्षौंपछि काठमाडौंका कौशीहरूमा चुला बने र दाउरामा भात पाक्यो । कतिका चुलाहरू धेरै दिनसम्म चिसै रहे ।

कुनै बेलाको सुविधासम्पन्न राजधानी काठमाडौं कसरी यति बिचरा हुनपुग्यो ? काठमाडौंलाई यो अवस्थामा पुर्‍याउनुमा को जिम्मेवार छ ? राजधानी भनेपछि निश्चय नै अरू ठाउँभन्दा फरक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । राजधानी सुविधासम्पन्न पनि हुनुपर्छ । नेपालीका साथै विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि राजधानीमै बस्छन् । अन्तर्राष्ट्रिय जगत्मा मुलुकको छवि राजधानीको सुरक्षा, सुविधालगायतका कुराहरूका आधारमा नै पुगिरहेको हुन्छ । मानिसका हेर्ने दृष्टिकोणहरू प्राय: सम्पन्नतासँग सम्बन्धित हुन्छन् । चाहे त्यो व्यक्तिगत स्तरमा होस् या राज्यको । काठमाडौं बिचरा बन्नु भनेको नेपाल र नेपाली बिचरा हुनु हो । कुनै बेला थियो सरकार फेरिएपछि समृद्धिको अपेक्षा गरिन्थ्यो । विकासका कामहरू अघि बढुन्, राजगारी पाइयोस् भन्ने अपेक्षा गरिन्थ्यो ।

तर, यसपटक भने सर्वसाधारणको अपेक्षा फरक थियो । यसअघिको सुशील कोइराला सरकार परिवर्तन भएपछि मानिसले यो सरकारबाट त्यति ठूलो आशा राखेनन्, केवल मुलुकको अवस्थालाई पुरानै ठाउँमा पुर्‍याइदिए पुग्छ भन्ने अपेक्षा तीव्र रह्यो । सायद विश्वका कुनै पनि मुलुकका नागरिकले पुरानै अवस्थामा जान पाऊँ भन्ने चाहना राख्दैनन् । समयक्रमसँगै विकासका कामहरू तीव्रताका साथ अघि बढुन्, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक सबै दृष्टिकोणबाट मुलुकमा परिवर्तन आओस् भन्ने चाहना नै नागरिकहरूमा हुन्छ । तर, यो वर्ष नै शायद यस्तो वर्ष हो र यो सरकार नै यस्तो सरकार हो जहाँ सर्वसाधारणले हामीलाई अरू केही चाहिँदैन पुरानै ठाउँमा मुलुकलाई पुर्‍याइदेऊ भन्ने चाहना राखे । पहिलाजस्तै भान्सामा सकिएपछि पसलबाट ग्यास पाऊँ, आफूलाई पायक पर्ने जुनसुकै पेट्रोलपम्पबाट तोकिएको मूल्यमा पेट्रोल हाल्न पाऊँ, सार्वजनिक यातायातमा सहज तरिकाले यात्रा गर्न पाऊँ । जब परिस्थिति धेरै बिग्रिन्छ, त्यसपछि मानिसहरू मुलुकको समृद्धिभन्दा सहज जीवन बाँच्ने कुरातर्फ केन्द्रित हुँदा रहेछन्/भइँदोरहेछ । काठमाडौंलाई बिचराबाट माथि उठाउन सक्नेले मुलुकलाई नै उठाइदिन सक्छ । त्यस्तो नेतृत्वको प्रतीक्षा जारी छ ।