अमेरिकामा कर दाखिला : जीवनशैली सहज बनाउने उपयुक्त काइदा

अमेरिकामा कर दाखिला : जीवनशैली सहज बनाउने उपयुक्त काइदा


sanubabu silwal
:: सानुबाबु सिलवाल ::

अमेरिकामा कानुनी हैसियतमा बस्नेलगायत सबै अमेरिकी जनतालाई चटारो छ अहिले । गत वर्ष २०१५ को आर्थिक कारोबार, आम्दानी, खर्च, लेनादेना, आधारभूत आवश्यकताका वस्तु, विलासिताका वस्तु, दैनिक आवश्यकताहरू, उपभोग्य वस्तुहरूको प्रयोग, आम्दानीका स्रोत, भएका खर्चहरू सबैको लेखाजोखा गरी सरकारलाई बुझाउने, बढी कमाएको छ भने त्यसबापतको कर सरकारलाई तिर्ने, कम कमाएको छ भने वर्षभरि तिरेका आयकर फिर्ता लिने समय अर्थात् आयकर दाखिला गर्ने समय ।

अमेरिकामा यो समय बाली भित्र्याउने बेला । गत वर्ष २०१५को हरहिसाब, नाफाघाटा, आम्दानी, खति, खर्च, कारोबार, लेखाजोखा, तिरनतारन, लेनादेना, ब्याज, ऋण, दान, चन्दा, सरसापट, आर्थिक नालीबेलीको पारदर्शिता र फेहरिस्त, आफ्ना व्यापार–व्यवसाय नाफाघाटा, आयव्यय, कर्मचारी तनाखा कर, बिक्रीकर, आम्दानी कर र व्यय क्षति सरकारलाई बुझाउने बेला अर्थात् कर दाखिला, प्रतिवेदन बुझाउने बेला अर्को अर्थमा सरकारलाई आफ्नो गत वर्षको आयव्यय बुझाउँदा सरकारले तोकेको मापदण्डभन्दा कम भए फिर्ता लिने र मापदण्डभन्दा बढी कमाएको रहेछ भने तिर्ने बेला । सरकारले प्रदान गरेको आधिकारिक सोसियल सेक्युरिटी नम्बर (सामाजिक सुरक्षा सङ्ख्या) जो–जोसँग छ र जस–जसले वर्षभरि वा आंशिक रूपमा काम गरेको छ र कर बुझाएको छ भने उनीहरूले बुझाउने कर दाखिला, कारोबार र सरकारले फिर्ता गर्ने करले अमेरिकाको अर्थव्यवस्थामा ठूलो महत्त्व मात्रै राख्दैन, अमेरिकी जनताका लागि ठूलो राहत पनि हुने गर्छ । सरकारको आन्तरिक राजस्व कार्यालयसमक्ष दाखिला गर्ने कर दाखिला गर्दा धेरै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । जसबाट भविष्यमा अमेरिकी जीवनशैलीलाई सहज मात्रै बनाउँदैन यसले अवसर, सदुपयोग र अमेरिकी सरकारको नजरमा विश्वासपात्र बन्न मद्दत गर्दछ ।

कर बुझाउँदा के–कस्तो कुरामा ध्यान पुर्‍याउने ? अमेरिकी सरकारको गत वर्षको व्यक्ति वा परिवारका लागि तोकेको सीमा रकम कति हो ? कर दाखिला गर्दा के–के कुरा संलग्न गर्न सकिन्छ ? फाइदा र के–कस्तो आम्दानी गर्नेले कर के–कसरी दाखिला गर्ने ? कामै नगर्नेले कर बुझाउन जरुरी छ कि छैन ? यी सबैको गाँठो फुकाउने गरी तयार गरिएको चिरफारसहितको नेपाली समुदायका लागि तयार गरिएको जानकारीसहितको मेरो नयाँ लेख धेरैका लागि ज्ञानबद्र्धक हुने ठानेको छु ।

आयकर बुझाउँदा, कर दाखिला गर्दा वा नगर्दा फाइदा घाटाहरू के–के छन् त ? बितेका वर्ष खर्च भएका के–कस्ता कुराहरू कर दाखिलामा उल्लेख गर्न सकिन्छ ? कर बुझाएपछि तिर्नुपर्ने वा फिर्ता पाउने रकमले तपाईं–हाम्रो क्रेडिट इतिहास, भोलि आवश्यकता पर्दा वित्तीय संस्थाहरूबाट प्राप्त हुने ऋणको अवसर, ती ऋणहरू न्यूनतम ब्याजमा प्राप्त हुने अवसर, व्यक्ति एवम् परिवारको आर्थिक हैसियत, आर्थिक अनुशासन र कारोबारको फेहरिस्त यही कर दाखिलाबाट हेरे पुग्छ ।

अमेरिकामा आम्दानी कर तथा राजस्व सङ्कलनको इतिहास झन्डै एक सय ५२ वर्ष पुरानो छ । सन् १८६२ मा युद्धका लागि सहयोग जुटाउन अमेरिकी जनतामा आम्दानी कर लगाउन थालिएको हो । सन् १८६२ मा आन्तरिक राजस्व आयोग गठन गरी सदनबाट पहिलोपटक निर्णय गरी प्रतिव्यक्ति ६ सय डलरदेखि १० हजार डलर आम्दानी गरेबापत ३ प्रतिशत र उक्त रकमभन्दा बढी आम्दानी गर्नेहरूका लागि उच्च आम्दानी कर लगाइएको र सन् १८६६ सम्म आइपुग्दा अमेरिकाको ९० वर्षे इतिहासमा आम्दानी करबाट सबैभन्दा बढी तीन सय १० मिलियन डलर उठेको रहेछ ।
us tax
अमेरिकामा सन् १७९१ देखि १८०२ सम्म धुम्रपान तथा खैनी, सम्पत्ति लिलामी, सहकारी धरौटी, मदिरा कच्चापदार्थ उत्पादन, ढुवानी तथा चिनी उद्यमबाट मात्र आन्तरिक राजस्व उठाइएको थियो । सन् १९११ ताका सर्वोच्च अदालतद्वारा विगतमा उठाइएका कर नियमसम्मत नभएको र अवैधानिक रहेको भन्ने आदेश जारी गरेपछि सन् १९१३ मा १६औँ संविधान ऐन, संशोधनमार्फत आयकर एवम् राजस्वलाई स्थायी रूपमा व्यवस्था गरिएको र दोस्रो विश्वयुद्धपछि अमेरिकामा रोजगारीमा वृद्धि एवम् आर्थिक समृद्धिका लागि कार्यक्रम ल्याइएपश्चात् झन्डै ७.३ बिलियन आम्दानी कर उठाइएको थियो । सन् १९४५ सम्म आइपुग्दा सरकारले ४३ बिलियन आम्दानी कर उठायो । सन् १९८१ मा अमेरिकाको इतिहासमै सबैभन्दा बढी कर कटौती गरिएपछि पनि सात सय ५० बिलियन डलर आम्दानी कर उठाइएको थियो । सन् १९८६ को अक्टोबर २२ मा राष्ट्रपति रेगनको कर संशोधन ऐनमा भारी आम्दानी कर ५० बाट २८ प्रतिशतमा, सन् १९९३ को अगस्ट १० मा राष्ट्रपति बिल क्लिन्टनको राजस्व तथा आम्दानी कर सम्झौतामा हस्ताक्षर र १९९७ को अर्कोे राजस्व नियममा हस्ताक्षरपछि आम्दानी कर र राजस्वलाई भारी सामाजिक सेवामा लगाइएको थियो । राष्ट्रपति क्लिन्टनको यस कर सम्झौता र नियमलाई अमेरिकी इतिहासमै प्रगतिशील करको रूपमा हेरिन्छ । जहाँ व्यक्तिको आम्दानी कर कटौतीमा पाँच सय डलर छुट र यस आम्दानी करलाई शैक्षिक लगानीमा लगाइयो । युद्धका लागि उठाउन थालिएको आम्दानी कर अन्ततोगत्वा सामाजिक सेवाका क्षेत्रमा खर्चिन थालिएपछि अमेरिकाको आम्दानी कर प्रणाली व्यवस्थित, व्यावहारिक र सन्तुलित व्यवस्थापनमा केन्द्रित हुँदै गइरहेको देखिन्छ ।

रोजगारप्राप्त, स्वरोजगार, स्वआम्दानी जसरी आम्दानी गरे पनि चार सय डलर वा सोभन्दा बढी आम्दानी गरिएमा कर दाखिला गरी देखाउनैपर्छ । अमेरिकामा आन्तरिक राजस्व सेवा (आईआरएस)लाई शक्तिशाली निकायका रूपमा हेरिन्छ । मुलुकको सङ्घीय एवम् राज्य सरकारअन्तर्गत सम्पूर्ण आर्थिक लेनदेन, आर्थिक कारोबार र व्यवस्थापन यसै निकायले गर्दछ । यो निकायसँग कानुनी कारबाही गर्ने तथा कारबाहीको सीमा एवम् अधिकार उच्च रहेको हुन्छ । आर्थिक कारोबारका सीमा, आम्दानी करका सीमा, अधिकार सीमितता तथा नियम–कानुनको पालना अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील हुने गर्दछ ।

कानुनी रूपमा जसरी वा जुन माध्यमबाट कमाए पनि व्यक्तिगत आम्दानी कर जनवरीदेखि अप्रिल–१५ सम्म दाखिला गर्न सकिनेछ । कुनै कारणवश दाखिला गर्न नसकिएमा कारणसहित अक्टोबर–१५ सम्म समयसीमा दिइएको छ । र, त्यसपछि भने मान्य हुनेछैन । रोजगारदाताद्वारा डब्लूफोर रोजगार कागज भरी आम्दानी–वर्षको हरेक तीन–तीन महिनामा रोजगार कर दाखिलापछि जनवरी १५ बाट गत वर्ष बुझाएको सम्पूर्ण करको हिसाबकिताबसहित डब्ल्यूटू कागजका आधारमा आफैँले, आफ्नो लेखापालमार्फत, निजी लेखा कम्पनीमार्फत वा करदाखिलाका लागि खोलिएका कम्पनीमार्फत गत सालको आम्दानी कर व्यक्तिगत परिवारसहित संयुक्त, बच्चाहरू वा छुट्टिएको भए फरकफरक फर्म १०४०, १०४० ए र १०४० ई जेड बुझाउनुपर्नेछ ।

परिवारको संयुक्त आम्दानीको हकमा नौ हजार आठ सय डलर वा त्यसभन्दा कम र व्यक्तिगत रूपमा आठ हजार सात सय ५० वा त्यसभन्दा कम वार्षिक आम्दानी भएमा कर दाखिला गर्न अनिवार्य छैन । तर, आफूले जे–जस्तो कमाएको छ, त्यसको सम्पूर्ण विवरण दाखिला गर्दा उत्तम हुन्छ । र, त्यसो गर्नु नै बुद्धिमानी हुनेछ । अमेरिकामा कानुनी कागजात भई ६५ भन्दा कम उमेरका व्यक्ति र परिवारले व्यक्तिगत एवम् सामूहिक आम्दानी कर बुझाउनुपर्नेछ । अमेरिकी सरकारको आन्तरिक राजस्व सेवाले सन् २०१५ को कर दाखिला गर्दा एकलपिता वा एकलआमासँग एक बच्चा भएको अवस्थामा आम्दानी ३९ हजार एक सय ३१ डलरसम्मलाई निम्नतम मानिएको छ । त्यसैगरी संयुक्त परिवार, आमाबाबु र एक बच्चाको हकमा ४४ हजार ६ सय ५१ डलरको आम्दानीलाई शून्य करमा राखिएको छ । त्यसैगरी एकलपिता वा मातासँग दुई बच्चा छन् भने ४९ हजार नौ सय ७४ डलरसम्मको आम्दानीलाई करशून्य बनाइएको छ । त्यसैगरी एक मात्र घरमूली वा एक मात्र पुरुष वा एक मात्र महिलाका लागि भने १४ हजार आठ सय २० डलर र वैवाहिक संयुक्त परिवारका लागि २० हजार तीन सय ३० डलरलाई निम्नतम आम्दानीको रूपमा तोकिएको छ । तीनवटा बच्चा वा बढी भएका एकलपिता वा आमालाई ४७ हजार सात सय ४७ डलर र संयुक्त परिवारसँग तीन वा तीनभन्दा बढी बच्चा भएको संयुक्त परिवारलाई ५३ हजार दुई सय ६७ डलरसम्मको आम्दानीलाई करशून्य गरिएको छ ।

त्यसैगरी आफ्नै काम, स्वरोजगार आम्दानी, घरबाटै आम्दानी, ट्याक्सीचालक वा अन्य व्यक्तिगत स्वरोजगारको हकमा चार सय र यसभन्दा बढी, चर्च धार्मिक सेवाबाट एक सय आठ डलर २८ सेन्टभन्दा बढी आम्दानी, स्वास्थ्य बचत, घर खरिद सहुलियत बचत, अवकाश तथा स्वास्थ्य सेवा बचतको जुनसुकै आम्दानी पनि कर दाखिलाको अनिवार्यताभित्र पर्दछन् । राजस्व विभागका अनुसार अरूको आश्रितका रूपमा बसेका सदस्यको हकमा आठ हजार सात सय ५० भन्दा कम कमाएमा कर दाखिला गर्न जरुरी छैन । तर, दाखिला गर्दा बुद्धिमानी हुनेछ र भविष्यमा व्यक्तिगत एवम् परिवारको रेकर्डमा सहयोग पुग्नेछ । दान–चन्दा लेनदेन, सामाजिक सेवा एवम् सङ्घसंस्थाहरू जुन ५०१ सी ३ अन्तर्गत दर्ता भएकाहरूको आम्दानीमा कर छुट हुनेछ । तर, कर विवरणबाट पारदर्शिता लिनुपर्नेछ ।

आफ्नो आर्थिक कारोबार, बैंकिङ कारोबार, ऋण–धन आदान–प्रदानमा अत्यन्त सावधानी एवम् पारदर्शी बन्नुपर्नेछ । राजस्व विभागको नजरमा पर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । यस विभागको ऋण अदालतबाट बच्चाको हेरचाह, परिवारको छुट्टा भिन्न खर्च व्यहोर्ने निर्देशन, अस्पतालको ऋण, भुक्तानी नभएको कलेजको ऋण वा सरकारी अन्य निकायलाई तिर्नुपर्ने भुक्तानी नतिरेसम्म कर तथा आर्थिक कारोबारको कानुनी छुटकारा पाइने छैन । र, सरकारी निकायले जुनसुकै बेला जसरी पनि जायजेथाबाट भुक्तानी लिनेछ । त्यसरी भुक्तानी हुन नसके जेल जानुपर्ने अवस्थासमेत आउन सक्छ । त्यसो भएमा अन्य दैनिक जीवन गुजारा एवम् सेवा लिने अवसरबाट वञ्चित हुनुपर्नेछ ।

सरकारी सुविधा फुड स्टाम्प, विक भौचर, असहाय एवम् अन्य सुविधा भत्ता, आर्थिक सहायता उपभोग गरिएको अवस्थामा कर दाखिला गर्दा पनि ढाँट्ने वा गलत विवरण नदिनु बुद्धिमानी हुनेछ । यस्तो अवस्थामा सरकारी सामाजिक सुविधा प्राप्त गर्दा रेकर्डमा जाने र भविष्यमा घर खरिद, सम्पत्ति खरिद अध्यागमन सुविधा वा अन्य आर्थिक एवम् सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपर्नेछ । थुप्रै व्यक्ति एवम् परिवारहरूले प्रत्यक्ष नगदमा काम गर्ने, आम्दानी करमा नदेखाउने तथा अत्यन्त न्यून देखाउने गरेको पाइएको छ । यसबाट तत्कालका लागि नगदमा फाइदा भए पनि कालान्तरमा यसको प्रत्यक्ष नकारात्मक असर पर्नेछ । साना व्यवसायमा काम गर्ने अधिकांशले नगदमा काम गर्ने र प्राप्त आम्दानीलाई आम्दानी करमा दाखिला नगर्ने देखिएकाले भविष्यमा थुप्रै आर्थिक एवम् सरकारी अन्य सुविधा र अवसरबाट वञ्चित हुनुपर्नेछ । घर किन्न जाँदा आम्दानी हेर्नेछ । क्रेडिट कार्ड, सवारीसाधन वा अन्य खरिदमा आम्दानीको स्रोत तथा कति कर बुझाएको छ, त्यो हेर्नेछ । त्यसले गर्दा भविष्यलाई हेरेर काम गर्नु राम्रो हुनेछ । नेपालबाट वा अन्य ठाउँबाट परिवार अन्य सदस्यलाई भित्र्याउन पनि करको विवरण हेर्ने हुँदा आम्दानीलाई करमै देखाउनु राम्रो हुनेछ ।

अमेरिका संसारको यस्तो मुलुक हो, जहाँ तपाईंले के बोल्नुभयो, त्यसमा विश्वास गर्दैन । र, त्यसले खासै अर्थ पनि राख्दैन । तपाईंका कागज वा तपाईंद्वारा बनाइएका कागजात तथा तपाईंको आधिकारिक विवरणले जे बोल्छ, त्यसलाई आधार मान्छ । तपाईंले जे तिर्नुभएको छ, तपाईंले जे–जसरी बिल वा अन्य निकायको भुक्तानी वा आर्थिक कारोबारमा जे–जसरी पारदर्शिता देखाउनुभएको छ, त्यो नै तपाईंको मुख्य आधार हो र अमेरिकी निकाय र समाजले यसलाई नै आधार मान्दछ । व्यक्तिगत कर दाखिलाको अलावा आफ्नो व्यवसाय वा संस्थाको कर बुझाउँदा कामदार कर, आम्दानी कर, सामाजिक सेवा भत्ता, सङ्घीय, राज्य सरकार एवम् काउन्टी कर, आफ्नो उठबस, आयस्रोत वा कारोबारबारे जिम्मेवार र व्यवस्थित हुन जरुरी छ । अन्यथा अमेरिकामा १० वर्षपछि पनि तपाईं समस्यामा पर्न सक्नुहुनेछ ।

बैंकमा पैसा राख्दा ब्याज नआउने, बैंकलाई शुल्क बुझाउनुपर्ने, आम्दानीको नियमितता नहुने तथा गरिबीका कारण झन्डै १३ मिलियन अमेरिकीहरूसँग बैंक खाता छैन । आम्दानी नगदमा लिने, आम्दानी बढी देखाउँदा फुड स्टाम्प र सरकारी स्वास्थ्य बिमा मेडिकेड, मेडिकेयरका साथै अन्य सुविधाहरूसमेत गुम्ने भएकाले अमेरिकी गरिब समुदायले कर नै दाखिला गर्दैनन् । जति गर्छन्, अधिकांशले कर फिर्ता वा सहुलियतमार्फत राम्रो नगद प्राप्त गर्दछन् । सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाअघि तथा पछि पनि प्राप्त गरेको कानुनी सामाजिक सुरक्षा सङ्ख्या र कागज भएको, तर मिति गुज्रेको भए पनि आफ्नो आम्दानी कर दाखिला गर्दा भविष्यमा राष्ट्रपतिको अध्यागमन आदेश एवम् अन्य सहुलियत नियममार्फत कागज प्राप्तिका बखत कर दाखिला प्रमाणले ठूलो सहयोग पुर्‍याउन सक्छ । सवारी साधन, घर, वातावरणमैत्री एवम् किफायती संयन्त्र तथा विद्युतीय यन्त्रहरू खरिद, कृषि उपकरण तथा सहुलियत दिइएका वस्तुहरूको खरिदमा सरकारले कर छुट दिनेछ । कर दाखिलाबाट ओबामा केयर स्वास्थ्य बिमामा समेत कर छुट दिइएको छ ।

के–के कुराहरू उल्लेख गर्न सकिन्छ भन्ने कुराहरू अमेरिकी सरकारको राजस्व कार्यालयको वेबसाइट एवम् कागजातहरूबाट जानकारी लिन सकिन्छ । अर्थात् नजिकको अनुभवी लेखापाल तथा विशेषज्ञहरूलाई पनि सोध्न सकिनेछ । मेडिकल बिल, मेडिकल खर्च, डेन्टल खर्च, दान, सहयोगको प्रमाणपत्रसहितको रेकर्ड, चिठ्ठा वा जुवा खेल्दा जितेको वा हारेको प्रमाण र दसी, परिवार छुट्टै भिन्न (डिभोर्स) हुँदाको खर्च, शैक्षिक ऋण वा खर्च, बच्चाहरूको हेरचाह, व्यवसाय वा महत्त्वपूर्ण कामका लागि खर्च भएको इन्धन, ऊर्जा बचत गर्ने खालका साधनहरूको खरिद आदि क्षेत्रमा कर मिनाह, कम कर वा शून्यकरको व्यवस्था गरिएको छ । खर्चको प्रकृति, अवस्था र तहको अनुपातको लेखाजोखा गरी सहुलियतका अवस्थाहरू छन् । रोजगार भए पनि निजी स्वास्थ्य बिमा किन्न नसक्ने अवस्थामा सहुलियतअन्तर्गत स्वास्थ्य हेरचाह (ओबामा केयर)को लाभ लिँदा प्राप्त हुने कर क्रेडिटका महत्त्वहरू, फाइदा, महत्त्व जरिवानालाई हेर्दा आर्थिक नियम र अनुशासनलाई प्राथमिकतामा राख्न जरुरी छ ।

समग्रमा के बुझ्न राम्रो हुन्छ भने आफ्ना कुनै पनि आर्थिक आम्दानी तथा खर्च कारोबारलाई यथार्थ एवम् विश्वसनीय ढङ्गले पारदर्शी नबनाएसम्म थुप्रै झन्झट व्यहोनुपर्ने र कानुनी कारबाहीमा समेत परिनेछ । त्यसैले आर्थिक पारदर्शिताका साथै आफ्नो आम्दानीलाई कर दाखिलामा उल्लेख गर्नु बुद्धिमानी हुनेछ । जसबाट भविष्यमा आफ्नो क्रेडिट बलियो हुने र अवसर सदुपयोगमा सहयोगी हुनेछ ।

काम नगर्नेलाई कर तिर्न जरुरी छैन । र, कर दाखिला गर्न अनिवार्य पनि गरिएको छैन । तर, अमेरिकी सरकारको राजस्व कार्यालय (आईआरएस) ले आम्दानी नगरिए पनि कर दाखिला गर्दा कालान्तरमा फाइदा पुग्ने बताउँछ । सोही कार्यालयले बच्चाहरूसहितको परिवार वा एकल व्यक्तिलाई आयकर दाखिला गर्दा राहत मिल्ने प्रोत्साहित गरेको छ । हेक्का राख्नुहोला कि गैरकानुनी आम्दानी, नदेखिएको आम्दानी वा अपारदर्शी ढङ्गबाट कमाइएको अन्य कुनै रकम अमेरिकी सरकार राजस्व कार्यालय (आईआरएस) वा कानुनी कार्यालयले वा प्रहरी एवम् सरकारी तहबाट त्यस्ता नगद वा रकम फेला पारेमा कडा सजायको भागीदार मात्र होइन, भविष्यमा आर्थिक कारोबारसम्बन्धी व्यक्तिगत रेकर्ड कालो बनाइदिनेछ ।

अमेरिकामा यदाकदा आईआरएसको नामबाट फ्रडहरूले विभिन्न बहानामा फोन गरी तर्साएर व्यक्तिका सम्पूर्ण सूचना लिन खोज्ने गरेको पनि देखिइएको छ । यसरी ती फ्रडहरूले तपाईंका व्यक्तिगत विवरण र बैंकिङ खाता रित्याइदिन सक्छन् । के हेक्का राख्नुहोला भने अत्यन्त अपर्झट समस्याबाहेक आईआरएसले फोन गर्दैन । आवश्यक कागज मेल गर्दछ । मेलबाटै जवाफ पठाउनुपर्ने हुन्छ । यस्ता शङ्कास्पद गतिविधि पाइएमा आयकरसम्बन्धी जानकारी भएका वा आफ्नो चार्टर्ड एकाउन्टेन्टमार्फत सम्पर्क गर्नुहोस् वा नजिकैको करकार्यालयमा समय लिएर भेट्न जानुहोस् । केही जान्नु वा बुझ्नु परेमा www.irs.gov मा पाउनुहुनेछ ।

(लेखक वरिष्ठ वातावरण पत्रकार, अमेरिका–नेपाल व्यवसायी सङ्घका कार्यवाहक सभापति र अमेरिकन चेम्बर अफ कमर्सका एक मात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)