१२औँ सागमा तेक्वान्दो ‘सर्वश्रेष्ठ’ सावित हुनेछ

१२औँ सागमा तेक्वान्दो ‘सर्वश्रेष्ठ’ सावित हुनेछ


:: ध्रुवबहादुर गुरुङ (मुख्य प्रशिक्षक, तेक्वान्दो) ::
Dhan Bahadur Gurung

बंगलादेशको राजधानी ढाकामा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा दुई स्वर्ण पदकमा सीमित रहेको तेक्वान्दोको साख यतिबेला दाउमा लागेको छ । आठौँ साफमा स्वर्ण पदकको थुप्रो लगाएर नेपाललाई ऐतिहासिक सफलता दिलाउन सफल तेक्वान्दो त्यसपछिका सागमा खरो उत्रिन सकेको छैन । अर्थात् तेक्वान्दो खेलाडीको प्रदर्शन दिनप्रतिदिन खस्किँदै गएको अवस्था छ । यस्तो अवस्थामा १२औँ साग तेक्वान्दो खेलाडीका लागि अवसर र चुनौती दुवै बनेर आएको छ । अझ गत वर्ष दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुदमा तेक्वान्दोका खेलाडी पहिलो चरणबाटै बाहिरिएपछि तेक्वान्दोले १२औँ सागमा कस्तो प्रदर्शन गर्ला त्यो अहिले जिज्ञासाको विषय बनेको छ । यसै सन्दर्भमा तेक्वान्दोको साख बचाउन दिनरात प्रशिक्षणमा जुटेका र नेपाललाई थुप्रै स्वर्ण पदक दिलाउने प्रतिबद्धता जाहेर गर्दै आएका तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङसँगको कुराकानी :

० १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेक्वान्दोको तयारी कस्तो भइरहेको छ, तयारीप्रति सन्तुष्ट हुनुहुन्छ ?
– तेक्वान्दोको तयारी अहिले युद्धस्तरमा भइरहेको छ । खेलाडीले निकै मिहिनेतका साथ प्रशिक्षण गरिरहेका छन् । वैदेशिक प्रशिक्षण भएको भए सुनमा सुगन्ध हुन्थ्यो । जुन प्रशिक्षण भइरहेको छ, त्यो वैदेशिक प्रशिक्षणभन्दा कम छैन । अहिले जुन प्रशिक्षण र तयारी भइरहेको छ त्यो सन्तोषजनक छ । खेलाडी र प्रशिक्षकले निकै मिहिनेत गरिरहेका छन् । म १२औँ सागको तयारीप्रति खुसी छु ।

० सागमा स्वर्ण पदकको दाबेदार तेक्वान्दोलाई वैदेशिक प्रशिक्षणमा किन नलगिएको होला ?
– त्यो कुरा त राखेपलाई थाहा होला । मैले बजेट नभएका कारणले वैदेशिक प्रशिक्षणमा नलगेको भन्ने सुनेको छु । बाँकी कुरा उहाँहरूलाई नै थाहा होला । मेरो काम त प्रशिक्षण गराउने हो, त्यो मैले इमानदारीका साथ गरिरहेको छु । अब समय निकै थोरै भएकाले तेक्वान्दो खेलाडी वैदेशिक प्रशिक्षण जाँदैनन् ।

० दिनको कति समय प्रशिक्षण गराइरहनुभएको छ ?
– अहिले दिनको तीन सिफ्ट गरेर प्रशिक्षण गराइरहेका छौँ । जसमा साढे सात बजेदेखि नौ बजे र साढे दशदेखि १२ बजेको बिहानीको दुई सिफ्ट छ । त्यसपछि लन्च खाएर खेलाडीलाई केही घन्टा आराम दिएपछि तेस्रो सिफ्टको प्रशिक्षण दिन्छौँ । जुन अपराह्नको चार बजेदेखि ६ बजेसम्म सञ्चालन हुन्छ । अब केही समयपछि चार सिफ्टको प्रशिक्षण गराउँदै छौँ ।

० प्रशिक्षणमा खेलाडी कत्तिको उत्साहित देख्नुभएको छ ?
– खेलाडी निकै उत्साहित भएको मैले पाएको छु । मुलुकको यस्तो विषम परिस्थितिमा पनि उनीहरूको जोस, जाँगर र आत्मविश्वासमा कुनै कमी आएको छैन । खेलाडीलाई हामीले राष्ट्रलाई ऐतिहासिक सफलता दिलाउनुपर्छ भनेका छौँ । उनीहरू त्यसैलाई लक्ष्य बनाएर युद्धस्तरमा निकै मिहिनेतका साथ प्रशिक्षण गरिरहेका छन् ।

० १२औँ सागमा तेक्वान्दो खेलाडीको कस्तो प्रदर्शन रहला ? पहिलेझैँ कीर्तिमान कायम गर्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– १२औँ सागमा तेक्वान्दो खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु । त्यो कुरा खेलाडीले गरेको मिहिनेतले पनि प्रस्ट पार्छ । हामीले पनि खेलाडीलाई प्रशिक्षण र प्रोत्साहन गर्नमा कुनै कसर बाँकी राखेका छैनाँै । हाम्रो प्रयास यसपटक मुलुकलाई आठौँ साफमा झैँ ऐतिहासिक पदक जिताएर नेपालको प्रतिष्ठा अन्तराष्ट्रमा बढाउने रहेको छ ।

० १२औँ सागमा तेक्वान्दोले कति पदक जित्ने आशा गर्नुभएको छ ?
– १२औँ सागमा तेक्वान्दोका सम्पूर्ण खेलाडीले पदक जित्नेछन् । तर, त्यसमा स्वर्ण, रजत र कांस्य पदक कस–कसले जित्लान् त्यो भन्न सकिने अवस्था भने छैन । र पनि, १२औँ सागमा तेक्वान्दोले पाँचदेखि ६ स्वर्ण पदक जित्छ । केही खेलाडीलाई छोडेर सबै नयाँ अनुहार भए पनि खेलाडीको प्रदर्शन हेर्दा सागमा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु । अझ एसियन र साग गेममा पदक जितिसकेका अनुभवी खेलाडीसमेत तेक्वान्दो टोलीमा भएकाले ११औँ सागको भन्दा उत्कृष्ट नतिजा आउने कुरामा म ढुक्क छु ।
12400577_1691696197709272_4440083156796721648_n
० महिला र पुरुषमध्ये कसले बढी पदक जित्ला, अनुमान गर्न सक्नुहुन्छ ?
– मलाई यसपटक महिलाले बाजी मार्छन् जस्तो लाग्छ । यसर्थमा कि सागमा छनोट भएका पाँचैजना महिला खेलाडी आफँैमा उत्कृष्ट छन् । अझ महिला खेलाडीले गरेको मिहिनेत पुरुषभन्दा तारिफयोग्य छ । यसको अर्थ पुरुष खेलाडी नराम्रो छन् भन्नेचाहिँ कदापि होइन । केवल अहिलेसम्मको स्थितिमा महिला खेलाडी अब्बल देखिएका छन् । अहिले प्रशिक्षण जारी छ, पुरुष खेलाडीले पनि आफ्नो प्रदर्शनमा सुधार गर्न सक्छन् । १२औँ सागमा प्रतिस्पर्धा गर्नुअघि आफूलाई बराबरीमा पनि ल्याउन सक्छन् । साँचो रूपमा भन्नुपर्दा यसपटक महिला र पुरुषले समान स्वर्ण पदक जित्नेछन् ।

० १२औँ सागमा स्वर्ण पदकको प्रमुख दाबेदार खेलाडीको नाम लिनुपर्दा कसको लिनुहुन्छ ?
– ओ हो † यो निकै जटिल प्रश्न भो, कसरी भन्ने एउटा–दुईवटाको नाम ? यहाँ त तेह्रैजना खेलाडी स्वर्ण पदकका दाबेदार छन् । म यतिचाहिँ भन्न सक्छु पदकचाहिँ सबैले जित्छन् । एउटा–दुईवटाको नाम नलिँदा नै राम्रो होला । किनकि यसमा उनीहरूको लक पनि गाँसिएको हुन्छ । तर, म एउटा कुरा ग्यारेन्टी गर्न सक्छु, त्यो के भने १२औँ सागमा तेक्वान्दोले सबैभन्दा बढी स्वर्ण पदक जित्छ ।

० तेक्वान्दोका खेलाडीलाई जुन प्राथमिकतामा राखेर प्रशिक्षण गराउनुपथ्र्यो त्यस्तो हुन सकेन, त्यसको असर खेलाडीमा कत्तिको पर्ने देख्नुहुन्छ ?
– सागमा सबैभन्दा बढी स्वर्ण पदक जितेर तेक्वान्दोले कीर्तिमान कायम गरेको कसैबाट छिपेको छैन । सो कुरालाई मात्र पनि आधार मान्ने हो भने सम्बन्धित निकायले तेक्वान्दोलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने थियो । तर, १२औँ सागमा त्यस्तो केही भएन । हामी अहिले नेपाल तेक्वान्दो सङ्घकै बलबुतामा सातदोबाटोमा प्रशिक्षण गरिरहेका छौँ । तैपनि हामीले हरेश खाएका छैनौँ । सम्बन्धित निकायले तेक्वान्दोलाई अन्य खेलसरि हेरेकोमा भने दु:ख लागेको छ । यसर्थमा कि सागमा पदक जित्ने कुरामा तेक्वान्दोको तुलना अन्य खेलसँग हुनै सक्तैन ।

० तेक्वान्दोलाई सम्बन्धित निकायले किन अन्य आमखेलझैँ हेरेको होला त ? यसबारे सङ्घले आवाज उठाउनुपर्दैन ?
– सङ्घले आवाज उठाउनुपथ्र्यो वा पर्दैैनथ्यो त्यसबारे म केही भन्न सक्दिनँ । त्यो मेरो कार्यक्षेत्रभित्र पनि पर्दैन । म तेक्वान्दोको मुख्य प्रशिक्षक मात्रै हुँ । मैले सङ्घको नीति, नियम र निर्देशनको पालना गर्नुपर्छ । त्यो अहिलेसम्म गरिरहेको छु, भविष्यमा पनि गर्नेछु । काठमाडौंमै सीमित रहेर पनि तेक्वान्दोलाई १२औँ सागमा उत्कृष्ट बनाउने प्रयासमा जुटेको छु । राखेपको विशेष सहयोग पाएको भए अझै धेरै गर्न सकिन्थ्यो । हामीले आठौँ साफझँै १२औँ सागमा पनि ऐतिहासिक सफलता हासिल गर्न सक्थ्यौँ ।

० र पनि, तपाईंको प्रशिक्षणमा यसपटक तेक्वान्दोले ११औँ सागको रेकर्ड तोड्छ, होइन त ?
– अवश्य तोडछ, यो कुरामा म पूर्ण विश्वस्त छु । यसपटक खेलाडी मात्रै नभई प्रशिक्षकले पनि उत्तिकै मिहिनेत गरेका छन् । खेलाडी र प्रशिक्षकले अहिले १२औँ सागमाथि अर्जुनदृष्टि लगाएका छन् । जसमा सहायक मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, वरिष्ठ मुख्य सहायक प्रशिक्षक संगीना वैद्य र प्रशिक्षक दीपक विष्टले मुख्य भूमिका निभाइरहेका छन् । त्यस्तै, राखेप र सङ्घबाट पनि हामीलाई मार्गदर्शन प्राप्त भएको छ । सोही कुरालाई आधार मान्दा पनि १२औँ सागमा तेक्वान्दो सर्वश्रेष्ठ खेल हुने कुरामा म विश्वस्त छु । त्यो म बोलेरभन्दा पनि तेक्वान्दोलाई सर्वाधिक पदक जिताएर देखाउन चाहन्छु ।

प्रस्तुति : श्रीविक्रम भण्डारी