परिवारवादको चक्रब्युहबाट मुक्तिको खोजीमा कांग्रेस

परिवारवादको चक्रब्युहबाट मुक्तिको खोजीमा कांग्रेस


Indra Baral 9
:: इन्द्रबहादुर बराल ::

मुलुककै एक मात्रै सबैभन्दा जेठो र लोकतान्त्रिक पार्टीको आसन्न महाधिवेशनले देशकै ध्यान आकृष्ट गरेको छ । किन पनि सर्वाधिक चासो बनेको छ भने जहानियाँ राणाशासन (परिवारवाद) को अन्त्य र प्रजातन्त्रको स्थापनार्थ सफल क्रान्ति सम्पन्न गरेको पार्टी नेपाली काङ्ग्रेस यहाँसम्म आइपुग्दै गर्दा आफैँ जहानियाँजस्तै बनेको पार्टीको नेतृत्व जनताको हातमा जान्छ कि जाँदैन भन्ने छ । यसर्थ हरेक महाधिवेशनका आ–आफ्नै विशिष्टता हुँदाहुँदै पनि १३औँ महाधिवेशनले ऐतिहासिक महत्त्व राख्नेछ । नेपाली काङ्ग्रेससँग देश र जनताकै भविष्य गाँसिएको हुँदा पार्टीबाहिरबाट पनि उच्च महत्त्वका साथ चासो राखेको पाइन्छ । अन्य पार्टीहरू कुनै एक परिवारविशेषबाट नभई सर्वसाधारण नेपाली जनताको छोराको हातमा सहजै पुगेको देखिन्छ । तर, नेपाली काङ्ग्रेसमा हेर्‍यो भने एउटा खास परिवारको सेरोफेरोमा घुमिरहेको छ । अपवादको रूपमा सन्तनेता कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति बन्नुभएकोबाहेक कांग्रेसकोइराला परिवारमा नै घुमिरहेको छ । लाग्दछ– जसरी जंगबहादुर राणाले पारिवारिक रूपमा शासनसत्ता आफ्नो उत्तराधिकारीले प्राप्त गर्दै जाने एउटा पद्धति बसाल्न सफल भए, आज ठीक त्यस्तै पार्टीहरूमध्ये नेपाली कांग्रेस परिवारवादको चक्रब्युहमा फसिरहेको छ ।

व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण पार्टीको अस्तित्वसमेतलाई दाउमा राख्दै पार्टीको मूल्य, मान्यता र आदर्शलाई कुल्चेर जाने गरेको प्रमाणहरू यथेष्ट छन् । अझै अत्यन्तै कटु र निर्मम घटनाको स्मरणले त काङ्ग्रेसमा झनै हलचल नै ल्याउने छ । सर्वोच्च नेता एवम् प्रजातन्त्रका पिता स्व. गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईको बहिर्गमन नेपाली काङ्ग्रेसका निष्ठावान र इमानदार कार्यकर्ताका लागि ज्यादै दुखान्त र कायरतापूर्वक चालिएका काम थिए– तत्कालीन नेतृत्वले गरेका कटु र निर्मम निर्णयहरू । इमानदार र असल भनेर चिनिएका नेता, कार्यकर्तालाई पाखा लगाउँदै अवसरवादी र छट्टुहरूलाई उच्च स्थान उपलब्ध गराउँदै पार्टीमा आफ्नो हात बलियो बनाउँदै जाँदा अन्तत: काङ्ग्रेसको आत्मा नै समाप्त हुने खतरा बढेको छ । नेपाली काङ्ग्रेसका लागि सम्भवत: यही २०७२ असोज २३ र २४ गतेतिरका घटनाक्रम त्यस सन्दर्भमा सामाजिक सञ्जाललगायत यावत् सञ्चारमाध्यममा आएका खबरहरूले प्रत्येक काङ्ग्रेसका मतदातासम्मको मन भाँचिदिएको छ र साथै उनीहरूको स्वाभिमान र राष्ट्रप्रतिको समर्पणभावमाथि शङ्का उब्जाइदिएर शिर निहुर्‍याइदिएको छ । यो सब परिस्थिति त्यागी भनेर आफ्नो छवि बनाएका पार्टी सभापति सुशील कोइरालाको सत्तास्वार्थ र पार्टीमा अरूलाई तगारो बन्ने प्रवृत्तिलाई अझै त्यागी नेताको रूपमा स्थापित गराउने कार्यमा झनै प्रयत्नरत देखिँदै छ ।
कोइराला परिवारबाहेक अरू नदेख्ने प्रवृत्ति अत्यन्तै खतरनाक भएर देखापरेको छ ।

यस्तो स्थितिबाट पार्टीलाई मुक्त गराउन धेरै पहिलेदेखि प्रयत्न भए पनि शेरबहादुर देउवा नै एक मात्र चोटिलो चुनौती बन्न सफल हुनुभएको हो । सन्तनेता एवम् आदर्शपुरुष कृष्णप्रसाद भट्टराईले २०५६ चैत ३ गते प्रधानमन्त्रीबाट राजीनामा दिएपछि संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनु ज्वलन्त उदाहरण हो । जब कोइराला परिवार संसदीय दलको नेतामा पराजित भए तत्पश्चात् कोइराला क्याम्पमा ठूलै खैलाबैला मच्चियो र देउवाविरुद्ध अनेक षड्यन्त्र रच्ने काम गरियो । अन्तत: सरकारको नेतृत्व गरेको व्यक्तिलाई पद त्याग गर्न अनेक दबाबका बाबजुद शेरबहादुर देउवाले राजीनामा नगरेपछि पार्टीको साधारण सदस्यसम्म पनि नरहने गरी गरेको कारबाहीले पार्टी फुट्नेसम्मको स्थिति सिर्जना भयो र काङ्ग्रेसलाई घनघोर अन्धकारले ढपक्कै ढाक्न पुग्यो । अर्कोतर्फ एमाओवादी अर्थात् तत्कालीन माओवादीले जनयुद्धको क्रममा कपोलकल्पित आरोप लगाएर काङ्ग्रेस कार्यकर्तालाई छप्काउने कार्य पनि त्यत्तिकै तीव्रताका साथ अघि बढेको त्यस्तो विषम र प्रतिकूल परिस्थितिमा समेत पार्टीलाई आफ्नै परिवारवादको चक्रब्युहमा राख्ने कहीँकतै पनि मानवताको सामान्य ख्यालसमेत राखेको पाइएन । यसरी दर्दनाक पीडाबाट तमाम काङ्ग्रेस कार्यकर्ता छटपटिँदा पनि आफूसमान मात्रै होइन बीपीका समकक्षी र पत्याइएका विश्वास पात्र साथीको कुठाराघात सबैको स्मरणमा ताजै हुनुपर्छ ।

माथि उल्लेखित सङ्क्षिप्त घटनाक्रम विषय प्रवेशको सन्दर्भमा अत्यन्तै सान्दर्भिक ठानिएको हुँदा प्रस्तुत गरिएको छ । यहाँ आग्रह–पूर्वाग्रह राखिएको होइन जे देखेको र भएको थियो सूक्ष्म रूपमा राख्ने जमर्को गरिएको हो । काङ्ग्रेस लगभग १३औँ महाधिवेशनमा प्रवेश गरिसकेको छ, माघ १५ देखि गाउँ, वडा, नगर हुँदै २५ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ । यद्यपि मुलुक एकात्मकताबाट सङ्घात्मकतामा गइसकेको सन्दर्भमा पार्टीको अधिवेशनलाई कसरी व्यवस्थापन गरिने हो, त्यो भने तल्लो तहका कार्यकर्तामा राम्रो जानकारी नहुँदा केही अन्योल र अस्पष्टताका बीच अधिवेशन कसरी सम्पन्न हुने हो यसै भन्न सकिने अवस्था छैन । तथापि अहिले पार्टीभित्र अधिवेशनको रन्को लागिसकेको छ । पहिले त लागेको थियो सुशील कोइरालाले पार्टी सभापतिदेखि प्रधानमन्त्रीसम्म सबै पद त्याग गर्नेछन् र सहज ढङ्गले पार्टी नेतृत्व वैधानिक प्रक्रियामार्फत सहजै हस्तान्तरण गर्नेछन् । तर, परिस्थिति भनेजस्तो हुन सकेन, प्रधानमन्त्री बन्ने प्रयत्नदेखि अहिले आएर पार्टी सभापतिसमेत पुन: दाबी गरेजस्तो देखिनुले काङ्ग्रेसमा फेरि अर्को चिन्ता थपिएको छ । चिन्ता बूढी मरी भन्ने होइन, काल पल्कियो भन्ने हो । यदि काङ्ग्रेस पार्टी एउटा परिवार विशेषको चक्रब्युहबाट फुत्कन नसक्ने हो र त्यसैको चङ्गुलमा अल्झिराख्ने हो भने नि:सन्देह पार्टी दुबोजस्तै फैलन सक्दैन र जनता काङ्ग्रेसको विकल्पमा अर्को प्रजातान्त्रिक पार्टीको खोजीमा लाग्न बाध्य हुनेछन् । पारिवारिक विरासतकै भरमा पार्टी चलाउने हो र त्यसको विकल्पमा पार्टीको महाधिवेशन प्रतिनिधिहरू गम्भीर भएनन् भने काङ्ग्रेस दुब्लाउने क्रम सुरु हुनेछ त्यसलाई रोक्ने तागत कसैसँग रहनेछैन । त्यसैले काङ्ग्रेसको भविष्य विवेकशील महाधिवेशन प्रतिनिधिहरूको हातमा निर्भर छ ।
नेपाली कांग्रेसमा परिवारवाद

मताधिकार पायौँ भन्दैमा आफ्नै विवेक र विचारलाई बन्धक बनायौँ भने भन्नैपर्ने हुन्छ हामीले आफ्नो घुँडामा आफैँ बन्चरो हान्दै छौँ । यसर्थ भोलिका दिन चाहे सरकार चलाउन होस् वा पार्टी अत्यन्तै चुनौतीपूर्ण छन् । सामान्य किसिमले न सरकारहरू चल्छन्, न पार्टी नै त्यसैले अबको पार्टी नेतृत्वको भारी बोक्न सक्ने हिम्मत र आँट भएको अनि अनुभवले समेत खारिएका वरिष्ठ नेता शेरबहादुर देउवालाई नै जिम्मा लगाउन देश, काल र परिस्थितिले पनि माग गरेको छ । तर, पार्टीको नेतृत्व लिनेले पनि हचुवाको भरमा प्रस्तुत हुनुहुँदैन, त्यसका लागि आवश्यक गृहकार्यका साथ स्पष्ट नीति, कार्यक्रम र भावी कार्ययोजनाका साथ कार्यकर्तामा उपस्थिति रहनुपर्छ । शेरबहादुर देउवाका अतिरिक्त अन्य नेताहरूले पनि आकाङ्क्षी बन्नु स्वाभाविक हो । किनकि यस पार्टीभित्र असङ्ख्य व्यक्तित्वले योगदान पुर्‍याउनुभएको छ । त्यसैले अन्य धेरै आकाङ्क्षीलाई पनि त्यत्तिकै सम्मानका साथ स्थान दिनुपर्छ । यसको मतलब सबैलाई पार्टी सभापति बाँड्न सकिने कुरो भएन ।

तर, जिम्मेवारी अन्य धेरै छन्, ज्येष्ठता, योग्यता, क्षमता र निरन्तरताको आकारमा सबै सम्मानित नेताहरूले स्थान नपाउने कुरै भएन । केपी ओलीले प्रधानमन्त्रीमा टिक्न दुनियाँका सामु ६–६ जना उपप्रधानमन्त्री बनाएर आफूले ठूलै पुरुषार्थ गरेको ठानिरहेका छन् । त्यतिले मात्रै कहाँ पुग्यो र, एउटा मन्त्रालयलाई टुक्रा–टुक्रा पारेर ठूलै काम गरेको गर्व गर्दै छन् । अर्कोतिर दिनहुँ लोडसेडिङ बढिराखेको छ, तर लोडसेडिङ अन्त्य गर्छु भन्दै छन् । अँध्यारोको व्यापार फस्टाएर हो कि वा अन्य के कारणले काशी जान कुतीको बाटो बताइरहेका छन् र पनि उनीहरूभित्र सँगै जाने र जिम्मेवारी बाँडफाँडमा खासै समस्या देखिएको छैन भने काङ्ग्रेसमा त झनै कुनै समस्या नै छैन । हुन त पार्टी सभापति सुशील कोइरालाको जस्तो सङ्कीर्णतामा अल्झियो भने त केही भन्न सकिन्न । अन्यथा योग्यता, क्षमता, ज्येष्ठता र इमानदारिताको आधारमा काम गर्ने पर्याप्त अवसर छन्, जसको उचित बाँडफाँड तथा व्यवस्थापन मात्रै गर्न सक्नुपर्छ, राइट म्यान राइट प्लेसको आधारमा । नेपाली काङ्ग्रेसको इतिहासमा सबैभन्दा निकम्मा र असक्षम पार्टी सभापति प्रमाणित भइसक्नुभएको हुँदा अब सुशील कोइरालाले पदको लोभ नगर्नु नै श्रेयस्कर होला ।

सुशील कोइरालाले ठान्नुभयो होला पार्टीका कुनै पनि भ्रातृ सङ्गठन नभए पनि सजिलै अघि बढ्न सकिन्छ । नेविसंघ र तरुण दलसँग तर्सेर नै होला नयाँ–नयाँ नेतृत्व विकास गर्नबाट वञ्चित गर्नका लागि नेविसंघ र तरुण दलको अधिवेशन नगराई उक्त सङ्गठनहरूलाई निष्क्रिय बनाएर छाड्नुभयो । हुन त अन्य धेरै भ्रातृ संस्थाको पनि हालत त्यस्तै बनाएर राखियो । पार्टीका विभाग र संसदीय समितिसमेत नबनाई बाह्रौँ महाधिवेशनको उपलब्धिलाई शून्यमा झार्ने काम भयो । यसरी हेर्दा आफ्नै सङ्गठनभित्रका सहयोगी सङ्घ/संस्थासँग तर्सनेबाट अब पार्टीले के अपेक्षा गर्न सक्छ भनी प्रश्न गर्ने ठाउँ पर्याप्त छ । परिवारवादको चक्रब्युह भनेकै यिनै यिनै कारण हुन् । यहाँ कुनै कुण्ठा र आग्रह व्यक्त गरिएको होइन । त्यसकारण पनि पार्टी सभापति र प्रधानमन्त्रीसम्म दुवै पदमा आसीन सुशील कोइरालाले वास्तवमै त्याग देखाउने बेला आएको छ र त्यागी नेता भनेर चिनिएकाले अब पदको चाहना राख्नु कुनै दृष्टिले पनि उपयुक्त देखिँदैन । कोइराला परिवारबाट तत्काल वैकल्पिक नेतृत्व तयार नदेखिएकाले पारिवारिक विरासत यथावत् कायम राख्न पनि सुशील कोइराला पुन: सभापति लड्ने तर्क गरिएको छ । तर, अब पनि पार्टीलाई परिवारवादको चक्रब्युहबाट मुक्त गराउन सकिएन भने अहिलेका युवा नेता भनेर चनिएका व्यक्तिहरूको हालत के होला, विचार पुर्‍याउनैपर्छ ।

मुलुक अहिले प्रजातन्त्र भर्सेज कम्युनिज्मजस्तो देखिएको छ । सत्तासमीकरण पनि सोहीअनुरूप देखिन्छ । कम्युनिस्ट केन्द्र बनेको खण्डमा बहुमत नहुने कुरै छैन । यस्तो अवस्थामा काङ्ग्रेसलाई हाँक्न सक्ने सक्षम व्यक्ति भनेको शेरबहादुर देउवा नै हो भन्ने देखिएको छ । प्रजातन्त्रलाई समावेशी र समानुपातिक ढङ्गले परिमार्जित एवम् परिस्कृत गर्दै लैजाने चिन्तनको व्यावहारिक प्रयोग गर्ने एक मात्र नेता शेरबहादुर देउवा नै हो । यसर्थ, अहिले नेपाली काङ्ग्रेस परिवारवादको चक्रब्युहमा छटपटिराखेको छ, गर्भभित्र रहेको बच्चा बाहिर निस्कन खोजेजस्तै । त्यसैले अब बेला आएको छ १३औँ महाधिवेशनको सङ्घारमा पार्टीलाई केन्द्रमा राखेर इमानदारिताका साथ सोचौँ र आफ्नो विवेक–विचारको सही प्रयोग गरी परिवारवादको चक्रब्युहबाट पार्टीलाई मुक्त गरौँ । यसैमा काङ्ग्रेसको भविष्य सुनिश्चित हुनेछ ।
Susil-Koirala-