आमसभा कि शक्ति प्रदर्शन ?

आमसभा कि शक्ति प्रदर्शन ?


babita basnet 15
सन् १९५० को दशकमा विश्वकै चर्चित ब्रिटिस नेता विन्स्टन चर्चिलले लन्डनमा सम्बोधन गर्ने एक आमसभामा मानिसको भीड देखेर उनका सहयोगीले भनेछन्, ‘सर, हजुर कति प्रख्यात, हेर्नुस् त हजुर यहाँ आउने भनेर हेर्न र हजुरको भाषण सुन्न कति धेरै मानिस यो सभामा जम्मा भएका छन् । हजुरको जस्तो आकर्षण जनतामा अरू कसैको छैन ।’ जवाफमा चर्चिलले भनेछन्, ‘त्यस्तो होइन, यिनीहरू मैले राम्रो बोल्छु भनेर या मेरो कुरा सुन्न यहाँ आएका होइनन्, भोलि मलाई यहाँ फाँसी दिइँदै छ भन्ने सुने भने यहाँ योभन्दा दुई गुणा बढी मानिस जम्मा हुनेछन् ।’ भीडभाडलाई कहिल्यै पनि आफ्नो प्रख्यातिको सूचक बनाउनुहुँदैन भन्ने विस्टन चर्चिल र भीडभाडका आधारमा ख्यातिको मापन मात्र होइन भीडभाड या हुलहुज्जतकै आधारमा दूरगामी निर्णय गर्ने हाम्रा नेताहरूबीच तुलना गर्ने ठाउँ त छैन, तर ‘नेता भनेको त यस्तो पो हुनुपर्छ त…’ या ‘हाम्रा नेताहरू पनि यस्तै सोच राख्ने भइदिए..’ भनेर चाहना राख्न या सपना देख्न भने हामी स्वतन्त्र छौँ ।

राजनीतिका नाममा नेपालमा जस्तो नेता–कार्यकर्ताको भीडभाड विश्वका कमै मुलुकमा होला । आफ्नो मुलुकमा दुई–चारवटा राजनीतिक दल हुने विकसित मुलुकका नागरिक हाम्रो देशका राजनीतिक दलहरूको सङ्ख्या सुनेर छक्क पर्छन् । राजनीतिक दलसँगै जोडिएर आउँछ आमसभा । यो मुलुकमा जति राजनीतिक दल छन्, तिनले कुनै न कुनै रूपमा आमसभा गर्ने गरेका छन् । नेपाली बृहत् शब्दकोशका अनुसार आमसभाको अर्थ ठूलो जनसमूह सम्मिलित भई गरिएको सार्वजनिक सभा हो । अर्थात्, सर्वसाधारण जनसमूह जम्मा भएर गरिएको सभा आमसभा हो । तर, हामीकहाँचाहिँ जनसमूहलाई सुनाउनेभन्दा पनि आमसभालाई शक्ति प्रदर्शनका रूपमा लिने गरिएको छ । हाम्रो देशमा आमसभाहरू सर्वसाधारण जनसमूह जम्मा हुने ठाउँ नभएर आफ्नै कार्यकर्ता जम्मा पारेर आफूसँग कति मानिस छन् ल हेर भनी शक्ति देखाउने माध्यम बनेका छन् । हालै भएको रङ्गेली घटना यही शक्ति देखाउने क्रममा भएको दु:खद् परिणाम हो ।

आमसभाहरू केका लागि ? भीडहरूले गर्ने निर्णय कहिलेसम्म ? के हामीकहाँ राजनीतिक दलहरूले गर्दै आएका आमसभा साँच्चीकै आमसभा हुन् ? परिवर्तनका नाममा हामीकहाँ जसरी भीडहरू निर्णायक बन्दै गएका छन् यसले भोलिको नेपाललाई कहाँ पुर्‍याउला ? मुलुकको भविष्य के होला ? शायद अब यी प्रश्नहरूमा बहस र छलफल गर्नु आवश्यक भएको छ । कुनैबेला थियो, जनतासम्म कुरा पुर्‍याउनका लागि अहिलेजस्तो सञ्चारमाध्यमहरू थिएनन् । नेपालमा मात्र होइन विश्वमै आफ्ना कुरा जनसमक्ष पुर्‍याउनका लागि आमसभाहरूको आयोजना गरिन्थ्यो । चर्चिल हुन् या रोनाल्ड रेगन आफ्ना कुरा जनसमक्ष पुर्‍याउनका लागि आमसभालाई नै माध्यम बनाउँथे । तर, अहिले त्यो जमाना छैन, आफ्ना कुरा जनसमक्ष पुर्‍याउन मानिसहरू प्रेसलाई माध्यम बनाउँछन् । छापा, विद्युतीय, न्युज मिडिया, सोसियल मिडिया जनतासम्म पुग्नका लागि धेरै माध्यम छन् अहिले । विश्वभरका नेताहरू यही माध्यम अपनाउँछन् । पत्रकार सम्मेलन या अन्य तरिकाले मिडियाको प्रयोग गरेर आफ्ना कुरा सार्वजनिक गर्नेमा सबैभन्दा बढी राजनीतिकर्मीहरू नै हुन्छन् ।

नेपालमा पनि मिडियाको खाँचो छैन, तर आफ्नो शक्ति प्रदर्शनका रूपमा आमसभा गर्ने राजनीतिक दलहरूको पनि खाँचो छैन । निर्वाचनका बेला अहिले पनि विभिन्न मुलुकमा निर्वाचन अभियानका रूपमा सभाहरू गर्ने गरिन्छन् । तर, नेपालमा भने आमसभा गर्नका लागि निर्वाचनको आवश्यकता पर्दैन, जतिबेला जसलाई मन लाग्यो उसलाई भीड जम्मा गर्नका लागि आमसभाको नाम दिइन्छ । टुँडिखेल या यस्तै कतै जम्मा भएको भीडले केही नेताहरूका भाषण सुन्छ, ताली बजाउँछ । नेताहरू ठान्छन्, ‘हामी कति प्रख्यात, हेर यत्तिका मानिस आमसभामा आए, हाम्रा कुरा सुने ।’ यस्तो भ्रम नेताहरूलाई हिजो पनि थियो, आज पनि छ । चर्चिलले जस्तो यहाँ कसैले सोचेको छैन कि भोलि हामीलाई फाँसी दिइने अवस्था आयो भने पनि टुँडिखेलमा त्यति नै मानिस जम्मा हुनेछन् । उदाहरण खोज्न टाढा जानुपर्दैन, केही वर्षअघिका श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई हेरे पुग्छ । उहाँ राजा हुँदा जहाँ–जहाँ जानुभो त्यहाँ–त्यहाँ भीड जम्मा भए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाए । राजाबाट प्राय: सोधनी भो, ‘ठीक छ नि’, भीडले भन्यो, ‘ठीक छ सरकार, सब ठीक छ ।’ पछि उहाँले दरबार छोड्दै गर्दा त्यो अँध्यारो रातमा पनि मानिसहरूको भीड दरबारवरपर त्यत्तिकै थियो । र, त्यो भीडले सरकारमाथि बेठीक भयो भनिरहेको थिएन । बेठीक या गलत भयो भन्नेहरू त चुपचाप कोठाभित्र टेलिभिजनमा राजाको बहिर्गमनको दृश्य हेर्दै बसेका थिए ।

केही दिनअघि भएको रङ्गेली घटना यस्तै शक्ति प्रदर्शनका लागि आयोजना गरिएको थियो । शक्ति पनि कसले प्रदर्शन गर्ने भन्दा जो सत्तामा छ, उसैले । सरकारमा रहनेहरूका वरिपरि दुई–चार सय मानिस हुनु कुनै अनौठो कुरा होइन, तर नेकपा एमालेलाई आफ्नो शक्ति देखाउन मन लाग्यो र आमसभाको आयोजना गरियो । सुरक्षा अवस्था राम्रो छैन भन्ने जान्दाजान्दै निमुखा जनतालाई दुई–चार सय मान्छे देखाइहालुँ भन्ने लाग्यो । विकास र आर्थिक समृद्धि देखाउनका लागि त हामीकहाँ केही भएकै छैन के देखाउने, सबैले देखाउने तिनै मानिस हुन् जो जहाँ पनि उपस्थित हुन सक्छन् । रत्नपार्कमा मुकुन्दले दिएको भाषण सुन्न पनि दुई–चार सय मानिस जम्मा भइरहेका हुन्छन् भने प्रधानमन्त्री नै आउने भनेपछि रमाइला कुरा सुन्न र एकछिन मन बहलाउन भए पनि मानिसहरू जाने नै भए । राजनीतिक दलको शक्ति प्रदर्शनको मूल्य भने निमुखा जनताले चुकाउनुपर्‍यो । एकातिर सभा हुन दिँदैनौँ भन्ने भीडको शक्ति प्रदर्शन अर्कोतिर शक्ति देखाएरै छोड्छौँ भन्नेको बलमिच्याइँ । सत्तामा हुनेहरू त्यसै शक्तिवान् हुन्छन्, उनीहरूले शक्ति देखाइरहनैपर्दैन । त्यसमा पनि कसलाई के देखाउनु छ र ? लोडसेडिङ, मूल्यवृद्धि र कालोबजारीले शिथिल जनतासामु शक्तिको प्रदर्शन भनेको भोको पेटको मानिसलाई फुलको बुके उपहार दिएजस्तै हो । नेपाली जनतालाई अहिले आमसभा होइन राहत चाहिएको छ । जुनसुकै दललाई पनि आफ्ना कार्यकर्ता जम्मा गरेर केही भन्नुपरे पार्टी कार्यालयतिरै निम्त्याए हुन्छ । एउटा गतिलो नेतृत्व नपाएर नेपाली हुनुको दु:ख भोगिरहेका जनतालाई शक्ति प्रदर्शन होइन, दु:खमा साथ दिने दल चाहिएको छ । आमसभाभन्दा पनि मुलुकमा बेथितिको अन्त्य र प्रणालीको सुरुवात चाहिएको छ ।