१२औँ साग :: उत्कृष्ट प्रदर्शनको तयारीमा नेपाल

१२औँ साग :: उत्कृष्ट प्रदर्शनको तयारीमा नेपाल


Shree bikram Bhandari 4

::श्रीविक्रम भण्डारी ::

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १२औँ संस्करण भारतको सिलोङ र गुहावटीमा हुँदै छ । दक्षिण एसियाका आठ राष्ट्रहरूले सहभागिता जनाएको यो प्रतियोगिता दक्षिण एसियाको ‘ओलम्पिक’ खेलको रूपमा समेत चिनिन्छ । आपसी मित्रता, भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन अहम् भूमिका निभाउँदै आएको सागले यसपटक पनि आफ्नो उद्देश्यमा खरो उत्रिनेमा सायदै कसैको दुईमत होला । हालै नेपालमा भ्रमण सकेर फर्किएको १२औँ दक्षिण एसियाली खेलकुद आयोजक टोलीले सागमा नेपालको अत्यधिक सहभागिताका लागि दिएको निमन्त्रणाबाट पनि सहजै अनुमान लगाउन सकिन्छ । केही साता पहिले भारतीय लोकसभा सदस्य भिसेन्ट एच. पालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले १२ सागको तयारी अन्तिम अवस्थामा रहेको बताउँदै तयारी व्यवस्थापन र खेल पूर्वाधार, भूगोल विभिन्न राष्ट्रको टोलीको सहभागितालगायतका बारेका जानकारी गराएका थिए । भारतीय टोलीले नेपाललाई १२औँ सागमा सहभागिताका लागि निमन्त्रणा दिएपछि नेपालमा पनि सागको लहर आएको थियो ।

१२औँ सागको तयारी नेपालले विशेष रूपमा गरेको थियो । तर विडम्बना, भारतले उक्त प्रतियोगिता तोकिएको समयमा नगर्दा नेपालको लगानी र खेलाडीको मिहिनेत बालुवामा पानी हालेसरि भएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने साग यसपटक पाँच वर्षमा आयोजना हुँदै छ । यसबरेमा भारतीय भ्रमण टोलीसँग जिज्ञासा राख्दा उनीहरूले देशको राजनीतिक समस्या र प्राविधिक कारण भनेर पन्छिएका थिए । अहिले ढिलै भए पनि छोरै भएको छ, भारतले १२औँ सागको आयोजना सिलोङ र गुहावटीमा गर्दै छ । जसमा लामो समयको प्रतीक्षापछि नेपाली खेलाडीले सहभागिता जनाउन पाउने भएका छन् । नेपालले १२औँ सागमा २३ खेलमा प्रतिस्पर्धा गर्दै छ । १२ सागमा नेपालको उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास गर्न सकिने भए पनि यति नै पदक जित्छ भनेर ठोकुवा गर्ने अवस्थाचाहिँ छैन । १२औँ सागमा नेपालले सबैभन्दा बढी स्वर्ण पदक जित्ने आश गरिएको करातेलाई यसपटक समावेश नगर्दा नेपालको पदक–तालिकामा कस्तो स्थान हासिल गर्दा त्यो चिन्ताको विषय बनेको छ । यतिबेला नेपाली खेलकुदमा सबैभन्दा उत्कृष्ट प्रदर्शन कराते खेलाडीहरूले गरेका थिए । जो कुरा गत वर्ष इन्चोनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा कराते खेलाडीले गरेको प्रदर्शनबाट पनि थाहा पाउन सकिन्छ । तर विडम्बना, भारतमा देखिएको करातेको विवादले १२औँ सागमा करातेको पत्तासाप भएको थियो । जसको ठूलो मूल्य अब नेपालले १२औँ सागमा चुकाउनुपर्नेछ ।
SAAG 2

यतिबेला १२औँ सागको शंखनाद भइसकेको छ । नेपाली टोली आफ्नो बाहुबलसहित भारतको सिलोङ र गुहावटीमा काही पुगिसकेको अवस्था छ भने कोही पुग्ने क्रम जारी छ । यसपटक नेपालले थुप्रै खेलमा पदको आशा गरेको छ । १२औँ सागमा सहभागिता जनाउने केही खेलबाहेक अन्य सबैले पदक जित्ने विश्वास गरिएको छ । जसमा यसपटक स्वर्ण पदक जित्ने खेलमा तेक्वान्दोलाई प्रमुख हेरिएको छ । त्यस्तै स्वर्ण पदक जित्ने खेलमा उसु दोस्रो नम्बरमा परेको छ । गत वर्ष ढाकामा सम्पन्न ११औँ सागमा उसुले दुई स्वर्ण पदक जितेको थियो । आफ्नो पहिलो सहभागितामा नै नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल उसुबाट यसपटक अत्यधिक स्वर्णको आशा राखिएको छ । उसुका मुख्य प्रशिक्षक प्रणीलध्वज कार्कीले यसपटक उसुको तयारी राम्रो रहेको बताएका छन् । मुख्य प्रशिक्षक कार्कीले १२औँ सागमा उसुका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्दै ११औँ सागको कीर्तिमान तोड्ने बताए । आफ्ना खेलाडी वैदेशिक प्रशिक्षणमा जान नपाएकोमा चुकचुकाउँदै प्रशिक्षक कार्कीले भने, ‘यदि एक–दुई महिना मात्रै वैदेशिक प्रशिक्षणमा खेलाडी राख्न पाएको भए ‘छुरा’ बन्ने थिए ।’ तर, अहिले प्रशिक्षण र तयारी पनि सन्तोषजनक अर्थात् वैदेशिक प्रशिक्षणभन्दा कम नभएको कार्कीको कथन थियो ।
१२औँ सागको तयारीमा भुइँचालो, नाकाबन्दी र सरकारको रवैया तगारो बने पनि कुनैबेला अनिश्चित बन्दै गएको नेपालको सहभागिता अहिले पक्का भएको छ । सरकारले झुलाएर, ढिलो गरेर, खेलकुदको हुर्मत लिएर सागका लागि बजेट दिएको छ । खेलकुदलाई बजेट दिनु बालुवामा पानी हाल्नुसरि हो भन्ने नकारात्मक मानसिकता पाल्दै आएको सरकारले यसपटक पनि खेलकुदप्रति देखाएको रवैयाले सो कुरा पुष्टि गरेको थियो । सरकारले सागको छनोट र तयारीप्रति गैरजिम्मेवारी भूमिका निभाए पनि राखेका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीमा नौलो जोस भर्न गरेको प्रयास आफैँमा प्रशंसनीय बनेको थियो । सदस्यसचिव विष्टले सङ्घहरूसँग तालमेल मिलाउँदै गरेको छनोट र बन्द प्रशिक्षणका लागि गरेको व्यवस्थापन आफैँमा तारिफयोग्य थियो । त्यसैले खेलाडीहरूलाई १२औँ सागमा सफलताको शुभकामना दिने क्रममा सदस्यसचिव विष्टले भनेका थिए, ‘भूकम्प र नाकाबन्दीको पीडाबीच हामीले पदक जितेर नेपाललाई खुसी पार्न जरुरी रहेको छ । त्यसका लागि सरकारले यथेष्ट बजेट नदिए पनि सागमा आफ्नो उत्कृष्ट प्रदर्शन गरी पदक ल्याउनुपर्नेछ ।’ साधन–स्रोत मात्रै सबथोक होइन, राष्ट्रिय भावना र इच्छाशक्ति पनि पदक जित्ने महत्त्वपूर्ण पाटो हो । जुन यो विषम परिस्थितिमा चुनौतीपूर्ण भए पनि यसपटक नेपालले ऐतिहासिक सफलता हासिल गर्ने कुरामा विष्ट ढुक्क थिए । विष्टले यसपटक नेपालले १५ स्वर्ण पदक जित्ने दाबीसमेत गरेका छन् ।

‘जस्तो बिउ त्यस्तै फल ।’ १२औँ सागको तयारी हेर्दा यो उखान नेपालसँग ठ्याक्कै मिलेको छ । यसपछिको परिणाम के आउला त्यो पनि सोझै अड्कल र अनुमान लगाउन सकिन्छ । जसको जग नै कमजोर छ त्यसबाट कति अपेक्षा राख्ने त्यो अहिले सोचनीय कुरा बनेको छ । र पनि नेपालले तेक्वान्दो, उसुबाहेक बक्सिङ, जुडो, महिला फुुटबल र ट्रायाथलनबाट स्वर्णको आशा गरेको छ । नेपालले यी खेलमा स्वर्ण पदक जित्छ भनेर भन्न सकिने अवस्था छैन । पछिल्लो समयको प्रदर्शनलाई आधार मान्ने हो भने बक्सिङबाट स्वर्णको धेरै आशा गर्न सकिने अवस्था छ । तर, महिला फुटबलको विगतको प्रदर्शन हेर्दा यसपटक बाजी नमार्ला भन्न सकिँदैन । अन्य खेलहरू जसले विगतका सागमा स्वर्ण जिते पनि यसपटक उनीहरूको प्रदर्शनमा खासै सुधार देखिएको छैन । तसर्थ नयाँ खेलमा नेपालले सहभागिताका लागि सहभागिता मात्रै जनाउनेछ भने अन्य केही खेलहरू पनि नेपालका लागि उपलब्धिविहीन हुने पक्का छ । जुन १२औँ सागबाट रित्तो हात फर्किने पक्का छ ।
SAAg

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपाल अहिलेसम्म स्वर्ण पदकविहीन बनेको छैन । एउटै स्वर्ण पदक जितेर भए पनि नेपालको साख बचेको अवस्था छ । तर १२औँ साग नेपालका लागि चुनौती र अवसर दुवै बनेर आएको छ । भूकम्प र नाकाबन्दीवाट ग्रसित नेपालले १२ सागमा कस्तो प्रदर्शन गर्ला त्यो अहिले अहम् बनेको छ । नेपाली खेलाडीको मानसिकता र मनोबल राष्ट्रियताले ओतप्रोत हुनु र केही गरेर देखाउनुपर्छ भन्ने भावनाले प्रेरित हुँदा यसपटक नेपाली खेलाडीबाट ठूलो आशा गर्न सकिन्छ । तर, भोलि यही माटो, यही देशभक्ति बुद्धि र विकेकमाथि हावी भइदियो भने त्यो नेपालको लागि ठूलो कुठाराघात हुने पक्का छ । तसर्थ नेपाली खेलाडीले संयम भएर, धैर्यका साथ, बढो प्रेम बुद्धिमानीका साथ खेल्नुपर्ने अहिलेको परिस्थिति छ । जुन जोस र होस नगुमाई गोर्खाली भएर खेल्नु जरुरी छ । यसैमा नेपाल र सम्पूर्ण नेपालीको कल्याण हुनेछ । पशुपतिनाथले नेपाल र नेपालको मनकामना पूर्ण गरून् भन्दै खेलाडीको १२औँ सागमा सफलताको कामना गर्दछु ।