तिम्रो नयाँ सहर र मेरो बूढो गाउँ

तिम्रो नयाँ सहर र मेरो बूढो गाउँ


Satish
:: सतिश त्रिपाठी ‘सार्थक’ ::

मेरा रहरमा तिम्रा रहर मिसाउँदा
नितान्त नयाँ बनेका छन् यी रहरहरू
केही तिम्रोजस्तो केही मेरोजस्तो
साँच्चै भनौँ त प्रिया न मेरोजस्तो न तिम्रोजस्तो ††
सँगै उभिएका छन् पुच्छ्रे हिमाल र लिबर्टी खम्बाहरू
पुच्छ्रे हिमाल मेरो रहरको
लिबर्टी खम्बा तिम्रो रहरको
देख्दै छु नयाँ सहर हाम्रो रहरको
केही तिम्रोजस्तो केही मेरोजस्तो
साँच्चै भनाँै त प्रिया न मेरोजस्तो न तिम्रोजस्तो ††
यो सहर सपनाहरूको व्यापार गर्छ
मृगतृष्णा देखाउँछ, गुणन गरेर सपनाहरूको
नीलमको चारा देखाएर, कैद गर्छ बिस्तारै सिसाको पिँजडामा
कृत्रिम पखेटाहरूमै अभ्यस्त हुनेछौँ हामी
दिनानुदिन नयाँ रहरहरूले क्रमश: पाउला हाल्दै जानेछन्
यो दलदले सहर, हाम्रो रहरको बसाइँ सर्न दिँदैन
तिम्रो र मेरो सम्झौताले म्याद थप्दै जानेछ, अनन्तसम्म
न मेरा रहर पूरा हुनेछन्
न तिम्रा रहर पूरा हुनेछन्
साँच्चै भनौँ त प्रिया, हामी मृगतृष्णा लिएर बाँचिरहनेछौँ
झ्याउँकिरीसँगै बास बस्छ मेरो गाउँ आज पनि
उसैगरी उठ्छ भालेको डाक सुनेर
सपनाहरूको रोपाइँ गर्छन्, गोडमेल गर्छन् रहरहरूको
र जिउँछन् वर्तमान
दैलोमा घामको छाया हेरेर, समय भन्छ मेरो आँगन
कमेरोको लाली पोत्दै मुस्काउँछ मेरो दलिन
आशाहरूको टीका लगाई बिदा गरेका थिए तगारोहरूले
जोर घडाभरिको शुभकामना दिएर
फर्केर फेरि त्यही आँगन सिँगार्ने आसले
मखमली फुल्दै होला, म फिर्ने आसले
घडीफूल पात्रो पल्टाउँदै होला दिन छोट्टिने आसले
न मेरो फिर्ने कुनै सुरसार छ
न तिम्रो कुनै चाहना छ
साँच्चै भनौँ त प्रिया, मेरो आँगन व्यर्थको जिजीविषा लिएर बाँचिरहेको छ
छरपस्ट ताराहरूको माझ यो खुर्पेजून,
यो आकाश,
पूर्णिमाको गोधूलि अँगालो
भन्छेऊ, सबै उस्तै हुन्छ
चाहे तिम्रो गाउँ होस् या यो सहर
जून उसैगरी मुस्काउनेछ
छर्नेछन् शुभकामनाहरू उसैगरी ताराहरूले
इन्द्रेणी उस्तै सप्तरङ्गी प्वाँख फिँजाउँछ सगरमा
जहाँ बसे पनि, जहाँ बाँचे पनि
आखिर सपनाहरूकै लागि हो
सक्छौ फैलाऊ कीर्ति,
गर्वले भुल्नेछ सबै व्यथाहरू तिम्रा आँगन, करेसाहरूले
सार्थक हुनेछ तिम्रो जन्म
न तिम्ले गाउँ त्यागेको ठहर्छ
न तिमीलाई दूधको ऋणले पिरोल्छ
साँच्चै भनौं त प्रिया, तब मात्र हामी दुवैको जीवन सार्थक हुनेछ

– हाल : यूएसए