राणा, शाह र नेपाली कांग्रेस

राणा, शाह र नेपाली कांग्रेस


Indra Baral 9

:: इन्द्रबहादुर बराल ::

नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा कम्तीमा पनि राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहसम्म पुग्नैपर्छ । त्यसो त आजको नेपाल निर्माणका प्रणेता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई खुनी हमलाको संज्ञा दिँदै उनले नेपाल एकीकरण गरे तापनि ‘राष्ट्र’ भने बनाउन सकेनन् भन्ने केही पाखण्डी राजनीतिज्ञ तथा कथित राजनीतिक विश्लेषक नभएका होइनन् । यसका बाबजुद आमनेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति आभार र सम्मान व्यक्त गरेकै छन् । गोरखाबाट नेपाल एकीकरण प्रक्रिया सुरु भएर पनि वर्तमान नेपालको सट्टा गोरखा राज्य नामाकरण गर्न कुनै तागतले रोक्न सक्ने अवस्था नहुँदानहँुदै पनि नेपाल नै नामाकरण हुनु वा गर्नु काठमाडौंका जनताको भावनालाई उच्च कदर गरेको प्रमाणका रूपमा लिनु न्यायसङ्गत हुन्छ । तसर्थ कसैले पनि पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु भनेको नेपाल नचिन्नु वा नबुझ्नु नै हो ।

राज्य सञ्चालनको लामो प्रक्रियामा केही विकृत तथा महत्त्वाकाङ्क्षी शासकहरूको जन्मले मुलुकलाई अन्धकारमा धकेलिदियो । जब १९०३ मा जङ्गबहादुर राणाले सत्ता आफ्नो हातमा लिए त्यसपछि जहानियाँ शासनको परम्परा बस्यो र राणा परिवारबाटै ‘श्री ३ महाराजा’ बन्न थाले । ‘श्री ५’हरूभन्दा ‘श्री ३’हरू अत्यन्त बलशाली बन्न पुगे र श्री ५ हरूलाई दाह्रा–नङ्ग्रा झिकेका बाघजस्तै बनाए भने राष्ट्रको स्रोतसाधनलाई आफ्नो व्यक्तिगत पेवाजस्तै बनाउँदै गए । देशका सम्पूर्ण नागरिकलाई अधिकारबाट वञ्चित गरी रैतीमा परिणत गरियो । सामान्यतया रैती भनेको कुनै पनि मौलिक एवम् मानवअधिकारविहीन जनता भन्ने बुझिन्छ । केही टाठाबाठा वा सामन्तहरू तिनै श्री ३ वा तिनको आसेपासेको सेवा गरेबापत केही जग्गाजमिन र वनजङ्गलको उपभोग गर्ने गर्दथे र तिनका सन्तानलाई सामान्य शिक्षादीक्षाको अवसर मिल्दथ्यो । आफ्ना छोराछोरीलाई पढाउने उत्कट चाहना राख्ने केही सम्पन्न रैतीहरूले जेनतेन सन्तानलाई बनारससम्म पुर्‍याएर शिक्षाको ज्योति बालेको इतिहासबाट जानकारी लिन सकिन्छ । यसरी एउटा परिवारविशेषले राज्यशक्तिलाई निरङ्कुश रूपमा उपभोग गर्दै जानु र त्यसलाई रोक्ने तागत नहुँदा मुलुक खतरनाक निरङ्कुशतातर्फ धकेलिँदै गएको अवस्थामा केही सचेत या जागरुक नागरिक राणाका विरुद्ध या प्रजातन्त्रको प्राप्तिका लागि सङ्गठित हुँदै गए । फलस्वरूप जहानियाँ राणाशाहीको अन्त्य भयो । दाह्रा–नङ्ग्राविहीन राजा पनि आजाद भए ।

यसरी एउटा परिवारविशेषको वर्चश्व समाप्त गरे पनि पुन: अर्को वंश परम्पराले जरा गाडेको अवस्थालाई नेपाली कांग्रेसको अगुवाइमा ०६२/६३ को जनआन्दोलनमार्फत जरैबाट उखेलेर फाल्ने काम भयो । उपरोक्त दुवै जहानियाँ हुन् या वंशपरम्परा, दुवैलाई नेपाली जनताले रुचाएनन् र त्यसको समूल नास गरे । ०७ सालको क्रान्तिले स्थापित गरेको प्रजातन्त्र र ०६२/६३ को जनआन्दोलनबाट प्राप्त गरेको गणतन्त्रले के स्पष्ट पार्छ भने अब नेपाली जनता जहानियाँ र वंशपरम्पराको पक्षमा छैनन् । त्यसैले नेपालीले गणतन्त्र र प्रजातन्त्रप्राप्तिको आन्दोलनमा आफूलाई समर्पित गरेका थिए भन्ने प्रस्टै छ ।

प्रजातान्त्रिकदेखि गणतान्त्रिक व्यवस्था स्थापनासम्म नेपाली राजनीतिमा कोइराला परिवारको भूमिका नि:सन्देह अग्रणी र प्रशंसनीय पनि छ । यद्यपि जनआन्दोलन–२ मा समेत अतुलनीय योगदान पुर्‍याएको नेपाली कांग्रेस आफैँले गणतन्त्र स्थापना गरे पनि गणतन्त्र नेपालमा हराएजस्तो वा अलमलिएजस्तो देखिनु विडम्बना नै हो । नेपाली कांग्रेस किन अहिले यसरी अलमलियो वा गतिहीन हुन पुग्यो भन्नेबारे अझै व्यापक बहस र छलफल हुन सकेको छैन । बरु आसन्न १३औँ महाधिवेशनमा पार्टीको नेतृत्व हत्याउने चक्करमा एकलव्य भएर लागेको पाइन्छ । प्रजातन्त्रप्राप्तिको मकसद वा उद्देश्य के थियो ? यसबारे चर्चा नै हुन छाडेको छ । निश्चित रूपमा ०७ सालको क्रान्तिको उद्देश्य जहानियाँ राणाशासनको अन्त गरी प्रजातन्त्रको स्थापना गर्नु थियो । अर्थात्, एउटा परिवारविशेषको मुठ्ठीबाट देशलाई मुक्त गराउनु थियो । जुन कार्य त्यसबखतका हाम्रा प्रात:स्मरणीय ज्ञात–अज्ञात अग्रजहरूबाट सम्भव भयो । त्यसैले ती सम्पूर्ण अग्रजलाई हृदयदेखि नै सलाम गर्नुपर्छ । परिवारवादको चङ्गुलबाट देशलाई मुक्त गराई पहिलो जननिर्वाचित सरकारप्रमुख स्व. बीपी कोइरालाले चालेका जनमुखी एवम् क्रान्तिकारी कदम बिर्ता उन्मूलन र वन–जङ्गल राष्ट्रियकरणबाट अत्तालिएका भाइभारदार तथा बिर्तावालाहरूको उक्साहट र आफ्नो महत्त्वाकाङ्क्षाका कारण राजा महेन्द्रबाट निर्ममतापूर्वक नवोदित ‘बालक प्रजातन्त्र’को गला रेट्ने काम गरे, परिणामत: ०६२/६३ को जनउभारले उक्त कामको बदला वंशपरम्पराबाट उखेलेर फाल्ने परिस्थिति आयो । देशमा अहिले गणतान्त्रिक व्यवस्थाको सूत्रपात भएको छ ।

घटनाक्रमलाई यसरी हेर्दा अब नेपाली कांग्रेसले आगामी दिनमा चाल्नुपर्ने कदमको दिशाबोध गराउनैपर्छ । गणतान्त्रिक व्यवस्था जनताले आफ्नो भाग्य र भविष्य आफँै निर्धारण गर्न पाउने अधिकारको उपभोग गर्ने व्यवस्था हो । राणा वा शाह परिवारलाई हुत्याएर त्यस्तै अर्को परिवारवादको स्थापना आजको आवश्यकता किमार्थ हुन सक्दैन । यो तथ्य नेपाली कांग्रेसले बुझ्नैपर्छ । देशमा भएका महत्त्वपूर्ण राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेस पनि आफूलाई परिमार्जन गर्दै जान नसके समयको भेलले मूल प्रवाहबाट हुत्याउन सक्छ भन्ने कुरा ख्याल राख्नैपर्छ ।

नेपाल अहिले सर्वथा नयाँ परिवेश र परिस्थितिलाई सहज ढङ्गले ग्रहण गर्न अझै कसरत गरिरहेको छ । प्रजातन्त्रको स्थापनासँगै त्यसको अभ्यास गर्न पाउँदानपाउँदै प्रजातन्त्रको गला रेटे राजा महेन्द्रले । त्यसपछि ३० वर्ष प्रजातन्त्रको पुनस्र्थापनाकै लडाइँ र अर्को पक्ष पञ्चायती निरङ्कुशता कायम नै गराउने अन्तरसङ्घर्षका कारणले जनजीविकाका काम ओझेलमा परे । बल्लतल्ल ०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनस्र्थापना त भयो, तर त्यसमाथि पनि ग्रहण लाग्न थाल्यो र हुँदै जाँदा सत्ताच्युत राजा ज्ञानेन्द्र शाहले गणतन्त्रको मार्ग खोल्न सहयोग पुर्‍याए । गणतन्त्र स्थापना भए पनि अस्थिरताका काला बादल नेपाली राजनीतिक क्षितिजमा मडारिइराखेका छन् । परिणामको रूपमा हाल जारी मधेस आन्दोलनलाई लिन सकिन्छ, साथै जातीयता र क्षेत्रीयतावादी चिन्तन र दृष्टिकोणहरू पनि त्यत्तिकै खतर्नाक देखिन्छ । नेपालीसामु गणतन्त्रलाई संस्थागत गर्ने समस्या मात्रै होइन, यहाँ त सङ्घीयता झनै पेचिलो भएर खडा भएको छ ।
nepalicongress
सङ्घीय संरचना कस्तो हुने भन्ने बहस सहमतिका साथ टुङ्गिन नसक्दा अहिलेको गतिरोध उत्पन्न भएको छ । नेपालको राजनीतिक गतिरोधमा दक्षिणको छिमेकी भारतसमेत मुछिएको अवस्थामा त्यति सहज ढङ्गले यसको निकास नहुन सक्छ । त्यसका लागि नेपालको आन्तरिक राजनीतिमा राष्ट्रिय सहमतिको खाँचो महसुस गरिँदै छ । दुवै छिमेकी विश्वकै शक्तिसम्पन्न राष्ट्र भएकाले नेपालीको सामुन्ने कूटनीतिक बाटो अवलम्बनबाहेक अर्को विकल्प छैन । कूटनीति भनेको सामान्य रूपमा बलियासँग कमजोरले गर्ने व्यवहार भन्ने बुझिन्छ । देशको अत्यन्त विषम परिस्थिति र कांग्रेसको १३औँ महाधिवेशन बाध्यात्मक स्थितिका कारण नगरी नहुने अवस्थामा छ । मुलुकको अन्योलपूर्ण अवस्थालाई जतिसक्दो छिटो अन्त्य गर्न पनि कांग्रेसको अधिवेशनप्रति धेरैको चासो गएको छ । देशको एक मात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस लोकतन्त्रको मूल्यमान्यताका आधारमा चल्छ–चल्दैन वा वंशपरम्पराजस्तै एउटै परिवारको चङ्गुलमा रहने वा सामान्य नागरिकको पनि पार्टी बनाउने भन्ने बहस आवश्यक छ । त्यसैले नेपाली कांग्रेस पार्टी जनताको पार्टी बनाउनेतर्फ १३औँ महाधिवेशन कोसेढुङ्गो सावित गराउनु नै पार्टी प्रतिनिधिहरूको जिम्मेवारी हो । बीपी र जीपीको नाममा उही वंशपरम्पराजस्तै त्यसको निरन्तरता दिँदै जाँदा आफैँले विगतमा गरेका क्रान्ति वा आन्दोलन र ती क्रान्ति तथा आन्दोलनले स्थापित गरेका मूल्य, मान्यतालाई खिल्ली उडाउने काम हुन सक्नेतर्फ प्रतिनिधिहरूले विशेष ध्यान पुर्‍याउने नै छन् ।

तसर्थ १३औँ महाधिवेशनमा पार्टी नेतृत्वको होडबाजीमा देखिएका हाम्रा अग्रजहरूमध्ये तत्कालको लागि वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै बलबुतामा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय नेतृत्व सम्हाल्दै यहाँसम्म आइपुग्नुभएको यो लामो यात्राको विश्लेषणात्मक समीक्षा गर्दै आगामी कांग्रेसको नेतृत्व दिन सकेको खण्डमा कांग्रेसको भविष्य सुनिश्चित हुनेमा द्विविधा रहँदैन । नेपाली कांग्रेसलाई बीपीको विचार र चिन्तनले आजपर्यन्त मुलुकको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित गराइराखेको छ । प्रजातान्त्रिक समाजवादको मूल मर्म र भावनालाई बुझेको र त्यही आधारमा चल्न सक्ने दृढ इच्छाशक्ति भएको व्यक्ति भनेकै शेरबहादुर देउवा हुन् । भलै समय र परिस्थिति अनि अलि–अलि व्यक्तिको महत्त्वाकाङ्क्षाका कारण पनि नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको विकल्पमा गणतन्त्रसम्म आइपुग्यो । यही गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति बन्ने आकाङ्क्षाका कारण स्व. जीपी कोइरालाले २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसलाई मत माग्ने साहस गरेनन् ।

परिवर्तित पस्थितिलाई संस्थागत गर्दै प्रजातान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै समाजवादको कार्यान्वयन गर्न सक्ने हिम्मत र आँट भएको नेता भनेको देउवा हो । जुन समाजले आर्थिक र सामाजिक न्याय दिन सक्दैन । त्यो समाजबाट मुलुकले शान्ति र स्थिरता दिन सक्दैन । यो यथार्थतालाई कसैले लुकाउन सक्दैन । साथसाथै अहिले मुलुकले भोग्नुपरेको अस्थिरता, अभाव र सकसको अन्त गर्न पनि शेरबहादुर देउवाजस्तो सबल, सक्षम, जुझारू एवम् सङ्घर्षशील व्यक्तित्वको खाँचो देखिएको छ । यही दिशामा नेपाली कांग्रेसको १३औँ महाधिवेशन अग्रसर हुने अपेक्षा सिङ्गो मुलुकले गरेको छ । विगतका आन्दोलनहरू र ती आन्दोलनले स्थापित गरेका मूल्य–मान्यतालाई कुल्चेर परिवारवादको घेराबाट बाहिर निस्कने आँट गर्नुमा नै कांग्रेसको भविष्य छ । अन्यथा नेपाली कांग्रेस पनि राणा, शाहजस्तै एउटा परिवारवादको चङ्गुलमा परी महमा माखा लटपटिएजस्तै लटपटिएर आफ्नो अस्तित्वको लडाइँमा मात्र सारा शक्ति खर्चिनुपर्ने सम्भावित खतराबाट जोगाउन पनि देउवाको विकल्प देखिँदैन ।