नेताको हत्यासँगै हराए काङ्ग्रेसका झन्डा

नेताको हत्यासँगै हराए काङ्ग्रेसका झन्डा


मधेसको आशामाथि तुषारापात हुँदै

– बबिता बस्नेत (धनुषा, जनकपुर)

विगत ६ महिनादेखि बन्द र आन्दोलनले ग्रसित मधेसका सदरमुकामहरूमा चहलपहल सुरु भएको छ । यद्यपि, यति समयसम्म गरिएको आन्दोलनको निष्कर्ष के रह्यो ? मधेसवासी जनताले के पाए ? या मधेसले के पायो ? धेरैलाई थाहा छैन । र, यो विषयमा खासै मतलब पनि छैन । सर्वसाधारणलाई त आफ्नो जीविकोपार्जनसँग सरोकार छ । अब फेरि पहिलाजस्तै आफ्नो दु:खसुख गरेर हातमुख जोड्न पाए हुन्थ्यो भन्ने कुराको चिन्ता बढी देखिन्छ ।
Birgunj-Raxual-border
वीरगञ्ज नाका खुलेको खबरसँगै जनकपुरका होटेलहरूमा बत्ती बल्न थालेका छन् । लामो समयसम्म बाहिरका मानिसहरू आउन नसक्दा यहाँका होटेलहरू सुनसान र अँध्यारै रहने गरेका थिए । सडकमा मानिसको उत्साह नै फरक छ । आन्दोलनताका कतिबेला के हुने हो भन्दै वरिपरि हेर्दै हिँड्ने सर्वसाधारण निर्धक्कसँग आफ्ना ससाना व्यापार–व्यवसायमा फर्किएका छन् । बजारका सबै पसलहरू खुल्दा र पहिलाको जस्तै चहलपहल सुरु भएकोमा व्यापारी मात्र होइन विभिन्न पेसा, व्यवसायी तथा सर्वसाधारण सबैमा उत्साह थपिएको छ । मधेस आन्दोलनले राजधानीवासीभन्दा बढी मधेसका जनता प्रभावित हँुदै आएका थिए । राजधानीमा ग्यास र पेट्रोलको समस्या थियो, तर बढी पैसा तिरेर त्यहाँ किन्न पाइन्थ्यो, पाइन्छ । तर, यहाँ बढी पैसा तिरेर पनि सामान किन्न पाउने अवस्था थिएन ।

राजधानी काठमाडौंलाई अप्ठ्यारोमा पार्न गरिएको आन्दोलन भनिए पनि राजधानीका मानिसझैँ निर्धक्क काममा जान र आफ्नो दु:ख गरी खान यहाँका सर्वसाधारणले पाएनन् । रिक्साचालकदेखि ठेला चलाएर गुजारा गर्ने र कपडा सिलाउने हुँदै सडकमा बसेर जुत्ता सिलाई गुजारा गर्नेहरूमा समेत असर पर्‍यो । ‘लामो समयसम्म हामीले होटेलका कोठाहरूमा बत्ती बालेनौँ, गेस्ट आए पो चहलपहल हुन्छ, व्यापार–व्यवसाय केही भएन,’ होटेल व्यवसायी रामविनोद चौधरीले बताए । मधेस आन्दोलनका बेला ह्विस्की, भोड्कालगायतका मादक पदार्थको भाउ तीन दोब्बर बढेको थियो ।

मधेसको अवस्था सामान्य बन्दै जाँदा यसबीचमा भएका दुईवटा घटनाले मधेसवासीलाई झस्काएको छ– पहिलो, यही माघ २२ गते नेपाली काङ्ग्रेसका स्थानीय नेता राजेन्द्र यादवको गोली हानेर हत्या र दोस्रो, आन्दोलन जारी रहने भन्दै आएको मधेसी मोर्चाको नाममा अर्को वक्तव्य । यी दुवै कुराले जनकपुरवासीमा असुरक्षाको अनुभूति गराएको छ । यादवको हत्याको भोलिपल्ट शनिबार नेपाली काङ्ग्रेसकै क्षेत्रीय प्रतिनिधि नासिनुल्लाह राइतलाई जनकपुरमै गोली हानिएको थियो । यी दुवैलाई गोली कसले हानेको थियो भनी पत्ता लागेको छैन । नेपाली काङ्ग्रेसको गाउँ, जिल्ला र क्षेत्रीय अधिवेशन चलिरहेको बेला भएको यो हत्याले काङ्ग्रेसनिकटहरूलाई बढी झस्काएको छ । धनुषाका सातवटा निर्वाचन क्षेत्रमध्ये गत संविधानसभाको निर्वाचनमा ५ क्षेत्रमा नेपाली काङ्ग्रेसले जितेको थियो । काङ्ग्रेसको जारी निर्वाचनलाई लिएर पाँचैजना काङ्ग्रेस सांसदलाई जिल्ला नआउन भनी पटकपटक मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले भनिसकेका छन् । नेपाली काङ्ग्रेसप्रति अगाध श्रद्धा राख्नेहरू अधिवेशनको बेला पनि मधेसमा खुलेर हिँड्न सकेका छैनन् । गाउँ अधिवेशनका बेला जताततै नेपाली काङ्ग्रेसका झन्डा देखिन थालेपछि क्षेत्रीय नेता राजेन्द्र यादवको हत्या गरिएको थियो । उनको हत्यासँगै काङ्ग्रेसका झन्डाहरू एकाएक हराएका छन् ।
मधेसमा कांग्रेस
केही दिनअघि वीरगञ्जवासीले नाका खोलेपछि अलपत्रजस्तै बनेको मधेस आन्दोलन अब झनै द्विविधापूर्ण धारमा पुगेको स्थानीय राजनीतिकर्मीहरू बताउँछन् । मधेस आन्दोलनमा संलग्न नेताहरूमा फाटो आउनु राम्रो नभए पनि नेताहरू विभाजित भइसकेको उनीहरूको धारणा छ । राजेन्द्र महतोलाई अब मधेसको राजनीतिमा अलि अप्ठ्यारै देखिन्छ । यदि मोर्चाले राजेन्द्र महतोको दललाई निकालिदियो भने उनको सङ्गठन कमजोर बन्नेछ । यद्यपि मोर्चाको तर्फबाट गत सोमबार जारी विज्ञप्तिमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवसँगै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यी चार नेताद्वारा जारी विज्ञप्तिमा राजेन्द्र महतोको पनि नाम समावेश गरिएको छ, तर विज्ञप्तिमा उनको हस्ताक्षर भने छैन । साथै विज्ञप्तिको ४ नम्बर बुँदामा ‘सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अबउप्रान्त यस्ता क्रियाकपाल नगर्न र नगराउन मोर्चाले निर्देशन दिएको छ’ भनी उल्लेख छ । आफैँलाई चेतावनीसहितको निर्देशन दिइएको कारण महतोले हस्ताक्षर नगरेको बुझ्न गाह्रो पर्दैन, तर उनको नाम मोर्चाले किन अल्झाइरहेको हो सो भने बुझ्न नसकिएको मोर्चाका एक कार्यकर्ताले बताए । मोर्चाले आगामी दिनको सङ्घर्षका लागि यही माघ २९ गतेदेखि विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ, जसमा लाठी जुलुस, मसाल जुलुस तथा विरोध सभाहरू रहेका छन् । सामान्य हुँदै गएको मधेसको खुसीलाई यस्तो घोषणाले फेरि अन्योलको अवस्थामा पुर्‍याएको छ ।