सामन्तवाद र समाजवादबीचको अन्तरसङ्घर्ष

सामन्तवाद र समाजवादबीचको अन्तरसङ्घर्ष


Indra Baral 9
:: इन्द्रबहादुर बराल ::

कुनै पनि मानवसमाजमा दुई विपरीत विचार वा चिन्तन रहेको देखिन्छ, यसलाई खासै अस्वाभाविक पनि ठानिँदैन । समाज विकासको क्रममा प्रगतिशील र यथास्थितिवादबीच वैचारिक सङ्घर्ष भएकै पाइन्छ । यिनै वैचारिक सङ्घर्षबाट खारिँदै समाज परिवर्तन वा रूपान्तरण हुंदै न्यायपूर्ण समाज निर्माणको दिशामा राजनीतिक शक्तिहरू क्रियाशील हुन्छन् । नेपालको सन्दर्भमा समाज परिवर्तनको दिशामा ०७ सालको जनक्रान्ति कोशेढुङ्गे सावित भएको छ । तथापि, क्रान्तिपुरुष जननायक बीपी कोइरालाले देखेको सपना पूरा गर्ने सवालमा आफैँभित्र अर्थात् नेपाली कांग्रेसभित्रै लुकेर रहेको यथास्थितिवादले क्रान्तिको उद्देश्यअनुरूप मुलुकलाई अग्रगतिमा लान निकै अवरोध गरेको अनुमान या अनुभूति गरिँदै छ । पार्टीभित्र अनेकन निहुँमा गुटबन्दीको रेखाहरू कोरिनु पनि यसैको उपज हो ।

धेरै बाधा–विरोधबीच पनि ०१५ सालमा भएको प्रथम आमनिर्वाचनबाट बीपीकै नेतृत्वमा सरकार गठन गर्ने सुविधाजनक दुईतिहाइ बहुमत प्राप्त भएको थियो । लामो समयदेखि सामन्ती निरङ्कुशताको बाहिरी रूपमा फाल्न कांग्रेस सफल भयो, तर सामन्ती संस्कार भने त्याग्न सकेन र बीपीद्वारा न्यायपूर्ण समाज निर्माणका लागि चालिएको बिर्ताप्रथाको उन्मूलन, वनजङ्गल राष्ट्रियकरणको अद्भूत जनपक्षीय कार्य गरे । तथापि, बिर्ता उन्मूलन र वनजङ्गलको राष्ट्रियकरण अभियानबाट अत्तालिएकाहरूले महत्त्वाकाङ्क्षी राजा महेन्द्रलाई उचालेर नवोदित प्रजातन्त्रको गला रेटाए, पार्टीहरूमाथि प्रतिबन्धसमेत लगाए र तमाम परिवर्तनकामी नेपाली जनताका ढुकढुकी बीपी कोइरालालगायतलाई नजरबन्दमा राखे । राजा महेन्द्रको उक्त कदमको विरोध गर्ने कतिपयलाई मृत्युदण्ड दिइयो भने कतिपय भागेर ज्यान बचाउन सफल भए । यसको पछाडि प्रमुख कारण थियो– पार्टीभित्र जरा गाडेर रहेको सामन्तवादी सोच ।

यसरी राजनीतिक रूपले परिवर्तनको पक्षमा देखिए पनि अन्तरमनबाट सामन्ती सोच फाल्न नसकेकाहरूले नै महत्त्वाकाङ्क्षी राजा महेन्द्रलाई उचालेर नेपालीको सुनौलो बिहानी बनेर आएको प्रजातन्त्रको अपहरण गर्न उक्साए र अन्तत: ०१७ साल पुस १ गते शोषित, पीडित नेपाली जनताको उज्यालो भविष्यमाथि भयानक कालो बादलले ढपक्क ढाकिदियो । तथापि प्रजातन्त्रको माध्यमबाट नेपाली समाजमा न्यायको अनुभूति गराउने कार्यमा निरन्तर कम्मर कसेर लागिपरेका जागरुक कांग्रेसजनहरू जेलमा हुनेले जेलबाटै, निर्वासनमा बसेकाले निर्वासनबाटै र लुकिछिपी (भूमिगत) बसेकाले आ–आफ्नै ढङ्गले ०१७ साल पुस १ गतेको जनविरोधी कदमको सशक्त प्रतिकार गर्दै आए र अन्तत: ०४६ सालको जनआन्दोलनको आँधीबेहरीको अगाडि जनविरोधी शक्तिलाई बढारेर रछ्यानमा पुर्‍याइछाड्यो । धेरै लामो समयदेखि पिल्सिएर रहेको नेपालीका इच्छा–आकाङ्क्षा तत्कालै पूरा हुन सक्ने अवस्था थिएन । भर्खरै पुनस्र्थापित प्रजातन्त्र तङ्ग्रिन नपाउँदै नेपाली कांग्रेस पार्टीभित्र देखिएको गुटबन्दीले अन्तर्घात गर्नसमेत पछि परेन र कृष्णप्रसाद भट्टराईजस्ता सन्तनेताको तेजोबध गर्न खुलेरै आफ्नै पार्टीका आफ्नै समकक्षी लागे, जुन कुरा लुकाएर लुक्ने कुरै भएन । आखिरी नेपाली कांग्रेस पार्टीमा यस्ता निन्दनीय कार्यहरू किन भइराखेका छन् भन्ने तथ्यको खोजी नगरेसम्म कांग्रेस शुद्धीकरण सम्भव छैन । यही सन्दर्भलाई ध्यानमा राखेर कांग्रेसमा सामन्तवाद र समाजवादबीचको अन्तरसङ्घर्षको रूपमा यस लेखको शीर्षक रोजिएको हो ।

कांग्रेसमा अहिले पनि प्रस्ट रूपमा दुईवटा धार कायम नै छ । संस्थापन पक्षतर्फको उत्तराधिकारी बन्ने दौडमा रामचन्द्र पौडेल पनि छन् । तर, अर्को धारको नेतृत्वचाहिँ वरिष्ठ नेता शेरबहादुर देउवाले गरिरहेका छन् । यी दुई धार वा गुट केवल पद र प्रतिष्ठाका लागि मात्र लडेका हुन् या त्यहाँभित्र कुनै विचारले पनि काम गरेको छ भन्नेबारे नयाँ बहस गर्नैपर्छ । बीपीको समयसम्म आफैँले अङ्गीकार गरे–गराएको प्रजातान्त्रिक समाजवाद, पार्टीको संस्थापन पक्षले आफ्नो मार्गदर्शनको रूपमा ग्रहण गर्दै आयो र बिर्ता उन्मूलनदेखि वन–जङ्गलको राष्ट्रियकरण तथा राजारजौटाको उन्मूलनसमेत व्यवहारमै गरिसकेको सन्दर्भमा बीपीपछिको कांग्रेसको संस्थापन पक्षले समाजवादी धारलाई कहिल्यै आत्मसात् गरेन र अझ भन्ने हो भने भूसामन्तको पक्षपोषणमै खुलेर लागेको देखिन्छ । यसको प्रमाणका रूपमा ०५६ को आमनिर्वाचनपश्चात् कृष्णप्रसाद भट्टराईको सरकार स्वयम् आफ्नै पार्टीको दबाबका कारण सत्ताबाट बाहिरिएपछि वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भूमिमा हदबन्दी कायम गराउने अभियानलाई तीव्रता दिन अध्ययनका लागि वर्तमान उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनेको सन्दर्भलाई लिन सकिन्छ । उक्त अध्ययन टोलीले जमिनको हदबन्दी सम्बन्धमा आफ्नो प्रतिवेदन सरकारलाई नबुझाउँदै तत्कालीन पार्टी सभापतिको इसारामा क्रान्तिकारी भूमिसुधार कार्यक्रमलाई असफल बनाउन महिनौँसम्म संसद् अवरुद्ध गरिएको थियो । त्यसको रेकर्ड संसद् सचिवालयमा खोजे अहिले पनि पाउन सकिन्छ ।

त्यसपछिका कांग्रेस नेतृत्वका सरकारहरूले कहिल्यै पनि दु:खी, गरिब जनताको हित गर्ने कुनै कार्यक्रम ल्याउन सकेन । गरिबसँग बीपी भन्ने कार्यक्रमले जनताको मन छुन सकेको पाइँदैन । गरिबसँग बीपी कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि त्यसको प्रभावकारितामा सन्तोष गर्ने ठाउँ छैन । यसर्थ कांग्रेसको संस्थापन पक्ष जहिले पनि विशेष गरेर भूसामन्तहरूको सेवामा नै भएको देखिन्छ । गाह्रो, साँगुरो परेको बखत बीपीको नाम जपेर प्रजातान्त्रिक समाजवादको मन्त्र जप्ने, कार्यान्वयन गर्ने बेला बिर्सने गरेको यथार्थ हो, आग्रहपूर्वक यसो भनिएको होइन । अन्यथा, संस्थापन पक्षले भन्न सक्नुपर्‍यो कहाँकहाँ समाजवादी नीति र कार्यक्रमहरू भए ? प्रस्ट पार्नुपर्‍यो । तर, यहाँ ठोकुवाका साथ भन्न सकिन्छ कि वरिष्ठ नेता शेरबहादुर देउवाले तुलात्मक रूपमा संस्थापन पक्षभन्दा ज्यादा प्रगतिशील कामहरू गरेका छन् । यसैको आधारमा देउवा बीपीको अत्यन्त इमानदार प्रजातान्त्रिक समाजवादको अनुयायी हुन् भन्न किञ्चित धक मान्नुपर्दैन । यदि विचारको दृष्टिले भन्ने हो भने कोइराला परिवारका कुनै पनि सदस्यले बीपीको आदर्श र मार्गदर्शनलाई पछ्याएका छैनन् । केवल पार्टीको नेतृत्व आफैँले हत्याउने र पारिवारिक विरासतलाई निरन्तरता दिन बीपीको नाम जपेर पार्टीलाई पैतृक सम्पत्ति बाबुको बिर्ता बनाउन खोजिँदै छ, जुन नेपाली कांग्रेसका लागि दुर्भाग्य हो । पार्टीमा चरमगुटबन्दी पनि संस्थापन पक्षबाटै भएको हो । आफूसँग सहमत नहुनेलाई मुलुककै कार्यकारी पद सम्हालेका शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यतासम्म नरहने गरी निष्कासन गरेको तथ्य कहीँ–कतै छिपेको छैन । यसकारण पार्टीभित्रको फरक वैचारिक फरक धार बने । किनकि, शेरबहादुर देउवा सुदूरपश्चिमको दुर्गम जिल्लामा जन्मेर आफ्नै बलबुतामा स्थापित एक होनहार प्रजातान्त्रिक समाजवादका प्रखर अनुयायी भएकाले भूसामन्तको आँखाको तारो बन्नु स्वाभाविक थियो र भयो पनि ।

आसन्न १३औँ अधिवेशनमा पार्टीको आर्थिक, सामाजिक लाइन प्रस्ट गर्न जरुरी छ । अबको कांग्रेस परम्परावादी विचार राख्ने, पुँजीपति वा उच्चकुलीन वर्गको पक्षपोषणको मार्ग तय गर्ने कि गरिब किसान–मजदुरको पक्षमा प्रजातान्त्रिक समाजवादलाई अझै प्रभावकारी बनाउनेतर्फ लाग्ने भन्ने विषयमा जमेर बहस चलाउनुपर्छ । १३औँ महाधिवेशन पनि केवल नेतृत्व हत्याउनेतर्फ मात्र केन्द्रित रह्यो भने बडो दु:खका साथ भन्नैपर्ने हुन्छ कांग्रेसका दुर्दिन कसैले रोक्न सक्नेछैन । यसर्थ देउवा नेतृत्वमा विगतमा गरेका महत्त्वपूर्ण सामाजिक–आर्थिक कार्यक्रमको आधारमा नेपाली कांग्रेसले गर्व गर्ने ठाउँ छ । कांग्रेसलाई समावेशी बनाउन कदमजम (कर्णाली, दलित, महिला, जनजाति र मधेसी) कार्यक्रम अभियानकै रूप अगाडि बढाउने काम भयो । परिणामत: आज धेरै दलित र मधेसी, महिला र जनजातिहरूको पार्टीमा उल्लेख्य उपस्थिति र उनीहरू उपस्थिति अत्यन्त प्रभावकारी पनि देखिँदै छ । कांग्रेस आदिवासी/जनजातिको पार्टी बनाउने काम भएको छ, त्यस्तै दलित महिला, मधेसी र कर्णालीका जनताको पार्टी बनाउने काम भएकोमा गर्व गर्नैपर्छ ।

यी काम बीपीकै मार्गदर्शन र आदर्शबाट अभिप्रेरित भएरै सम्भव भएको हो । जुन काम देउवाले सरकारको नेतृत्व सम्हाल्दा सम्भव बनाए । त्यस्तै लाखौँ कमैया र कमलरीहरूलाई ऋण मोचन गराउनेजस्तो मानवोचित कार्य गरेर कांग्रेसीजनले शिर ठाडो गरेर हिँड्ने वातावरण बनेको छ । तथापि संस्थापन पक्षले पदीय दुरुपयोग गरी पार्टीमा गुटबन्दी गरेको आरोप लगाउँदै छ, जसमा कुनै तुक छैन । सर्वसाधारण जनताले देखेको, बुझेको र भोगेको यथार्थतालाई भ्रमजालमा राख्दै पार्टी नेतृत्व आफ्नो मुट्ठीमा राख्ने भूसामन्तहरूका कठपुतली बन्ने अभीष्ट बोकेका पारिवारिक विरासतको आडमा जुन खेल खेलिँदै छ त्यसबाट सावधान रहनैपर्छ । त्यसैले अहिले पार्टीमा देखिएको दुई धार भनौँ या गुटबन्दी वैचारिक धरातलको आधारमा प्रस्ट रूपले देख्न सकिन्छ । एउटा पक्ष (धार) सामन्तवादी सोचबाट टाढा छैन जसको नेतृत्व संस्थापन पक्षले गरिराखेको छ र त्यसैको उत्तराधिकारी बन्ने दाउमा रामचन्द्र पौडेल पनि लालयित भएका छनक पाइन्छ भने दोस्रो धार शेरबहादुर देउवाको प्रस्ट प्रजातान्त्रिक समाजवाद हो । त्यसैले अहिलेको रोजाइ सामन्तवाद कि समाजवाद भन्ने नै हो । यसरी हेर्दा कांग्रेसको १३औँ महाधिवेशनमा सामन्तवाद र प्रजातान्त्रिक समाजवादीबीचको अन्तरसङ्घर्षको रूपमा बुझ्न जरुरी देखिन्छ ।