कन्यादानमा नाकाबन्दी

कन्यादानमा नाकाबन्दी


मधेस आन्दोलनको असर :
कन्यादानमा नाकाबन्दी

– बबिता बस्नेत
नाकाबन्दीका कारणले जुन प्रकारको सङ्कटको सामना मुलुकले गर्नुपर्‍यो त्यसको सबैभन्दा ठूलो असर तराई–मधेसमा परेको छ । राजधानी र अन्य भूभागमा बस्नेहरूले नाकाबन्दीलाई लिएर सम्पूर्ण मधेसबासीलाई गाली गर्ने गरेका भए पनि मधेसवासीहरूले भने राजधानीवासीभन्दा बढी दु:ख भोग्नुपरेको थियो । मधेसवासीलाई नाकाबन्दी र मधेस आन्दोलनको आर्थिक मात्र नभएर सामाजिक र मनोवैज्ञानिक असरसमेत परेको छ ।
मधेसका जिल्लामा प्राय: भारत (यूपी, बिहारलगायत)मा बिहेबारी हुने गरेको छ । नेपाली छोरी दिनेभन्दा भारतीय छोरीलाई बुहारी बनाएर ल्याउने चलन बढी छ । तर, मधेसवासीले गत असोजयता भारतीय छोरीहरूलाई नेपाली बुहारीका रूपमा भित्र्याउन पाएका छैनन् । विशेषगरी मङ्सिर र माघ विवाहका महिना हुन् । तर, यसपटक मङ्सिर र माघमा तराईमा केही विवाह भए पनि भारतीय छोरीसँग भने नेपाली छोराको विवाह भएन । जुन विगतका वर्षहरूमा सयौँको सङ्ख्यामा हुने गथ्र्यो ।

धनुषा, सिरहा र सप्तरीको स्थलगत भ्रमणका क्रममा विभिन्न क्षेत्र, पेसा, व्यवसाय, जात, धर्म समुदायबीच कुराकानी हुँदा धेरैले मधेस आन्दोलनले आफूहरूलाई दिएको दु:खबारे बताए । मधेसका अन्य समुदायसँगै माडवारी समुदायमा प्राय: भारतमा बिहेबारी हुने गर्दछ । तर, यसपटक मधेस आन्दोलनका कारण अहिलेसम्म जम्मा दुईवटा मात्र विवाह सम्पन्न भएको जानकारी प्राप्त भयो । माडवारी समुदायमा छोराभन्दा छोरीको सङ्ख्या २० प्रतिशतले थोरै छ । यद्यपि नेपालभरिको जनसङ्ख्यामा भने पुरुषको भन्दा महिलाको १.५४ प्रतिशतले बढी छ । यो समुदायमा धेरैजसो बिहेबारी भारतमा हुने गर्दछ ।
भारतीयले आफ्ना छोरीहरू नेपालमा दिन नचाहनुका प्रमुख कारणमा मधेस आन्दोलनसँगै नागरिकताबारे चलेको हल्ला पनि हो । भारतबाट विवाह गरेर ल्याइएका बुहारीलाई अङ्गीकृत नागरिकता दिइने र अङ्गीकृतले नेपालका कुनै पनि निकायमा काम गर्न नपाउने व्यवस्था नेपालको नयाँ संविधानले गरेको छ भन्ने हल्लाका कारण भारतीय अभिभावकले आफ्ना छोरीहरूलाई नेपालमा कन्यादान गरेर तिनको भविष्य अन्धकारमा धकेल्न नचाहेका हुन् ।
कन्यादान
यद्यपि नेपालको संविधान २०७२ मा त्यस्तो कुनै कुरा उल्लेख छैन । अङ्गीकृत नागरिकताको सवालमा पहिला जे थियो अहिले पनि सोही प्रकारका सुविधाहरू छन् । मधेस आन्दोलनलाई सीमाक्षेत्रका भारतीयहरूको सहयोग रहोस् भनेर नेताहरूले नियतवश यसप्रकारका हल्ला चलाएको बुझ्न गाह्रो पर्दैन । यही अवस्था रहेमा मधेसमा रोटीको सम्बन्ध कायम रहे पनि बेटीको सम्बन्धले निरन्तरता पाउला भनेर भन्न सकिन्न । मधेस आन्दोलनयता एक हजार पचासजनाले अङ्गीकृत नागरिकता प्राप्त गरेको भनी राज्यले तथ्याङ्क प्रस्तुत गरे पनि ती मधेस आन्दोलनअघि नै बिहेबारी भएकाहरूले पाएका हुन् । नेपालमा छोरी नदिनुको अर्को कारण असुरक्षा पनि हो । सधैँको आन्दोलन र ग्यास–पेट्रोलको समेत अभाव हुने ठाउँमा छोरी दिन भारतीयहरू हिच्किचाएको सामाजिक अभियन्ताहरू बताउँछन् । माडवाडी सेवा समितिका पूर्वअध्यक्ष हरिद्वारिलाल सिंहानियाले संविधानको असर विवाहमा परेको बताए ।

मधेस आन्दोलनको असरलाई राजनीतिक लाभहानिका साथै प्राय: आर्थिक कुरा र रोजीरोटीसँग जोडेर हेर्ने गरिए पनि यसले मधेसका व्यवसायीहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पुर्‍याएको छ । जुन कुरा अहिलेसम्म छलफल र चर्चाको विषय बन्ने गरेको छैन । त्यति लामो समयसम्म व्यवसाय गर्न नपाउँदा ऋण लिएर व्यापार सुरु गरेकाहरू विशेष तनावमा परे । घरको भाडा, बैंक र अन्य वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजको तनावका साथै सधैँ काममा जाने व्यवसायी दिनभरि घरमै बस्नुपर्दा फ्रस्ट्रेसनका साथै कतिलाई ‘डिप्रेसन’समेत भएको परिवारका सदस्यहरूले बताएका छन् । फ्याक्ट्री, पसललगायतका काममा बिहान जाने र दिनभरि व्यस्त हुने व्यवसायी एकाएक कामविहीन हुँदा उनीहरूमा व्यापक निराशा छाएको थियो । नाकाबन्दी खुलेर मधेस सामान्य भएपछि विस्तारै क्रमिक रूपले व्यवसायीहरूको स्वास्थ्यमा पनि बदलाव आउँदै गरेको बताइएको छ । यसैगरी आन्दोलनमा गोली लागेर घाइते भएका तथा तिनका परिवार एवम् मृत्यु भएकाहरूका परिवारको अवस्था पनि दु:खदायी छ । आन्दोलन आह्वान गर्ने नेताहरूले तिनको खासै वास्ता गरेका छैनन् ।

मधेस आन्दोलनको मनोवैज्ञानिक असर बालबालिका र युवाहरूमा पनि त्यत्तिकै परेको छ । कतिपय अवस्थामा विनम्रताका साथ प्रस्तुत भएरभन्दा धम्क्याएरै काम हुन्छ भन्ने भावना विकास भएको देखिन्छ । यसको प्रत्यक्ष उदाहरणका रूपमा यसपटकको सरस्वती पूजामा विद्यार्थीले सडकमा मागेको चन्दाको शैलीलाई लिन सकिन्छ । प्रत्येक वर्ष सरस्वती पूजामा विद्यार्थीले बाटोमा डोरी टाँगेर सवारीसाधनहरू रोकी चन्दा माग्ने गर्छन् । यसलाई सामान्य परम्पराकै रूपमा लिइन्छ । स्थानीयका अनुसार विगतमा यसरी चन्दा माग्दा रमाइलो गरी विनम्रतापूर्वक मागिन्थ्यो र दिनेले पनि खुसीका साथ दिने गर्थे । तर, यसपटक भने सडकका विभिन्न स्थानमा विद्यार्थी लाठीसहित बसेर गाडी रोक्दै ठाउँठाउँमा जबर्जस्ती रकम नै तोकेर चन्दा मागेको देखियो । मधेस आन्दोलनमा लाठीको व्यापक प्रयोग गरिएको थियो ।

नेपालमा बारम्बार भइरहने सङ्घर्ष, तनाव र हिंसाका कारण आफ्ना छोरीचेली कन्यादान गरेर दिन हच्किएका भारतीयले नेपालीका लागि कहिलेसम्म कन्यादान बन्द गर्ने हुन् गम्भीर चासोका साथ हेरिएको छ ।