कांग्रेसको महाधिवेशनले गरेको सङ्केत

कांग्रेसको महाधिवेशनले गरेको सङ्केत


SN Karki

:: स्वयम्भूनाथ कार्की ::

नेपाली कांग्रेसको १३औँ महाधिवेशन धेरै कुराले उल्लेख्य हुने छेकछन्द देखाइरहेको छ । अत्यन्त अप्रिय घटना मानव–मृत्यु हो, त्यसमाथि पनि मुलुककै हाल कायम रहेको दलमध्येको पुरानो र सशक्त प्रमुख दलको अधिवेशनको मुखैमा पार्टी–सभापतिको निधन हुन पुग्यो । यो अप्रत्याशित मृत्युका कारण सभापति कोइरालाले आफ्नो पूर्ण सभापतित्वमा पार्टीको महाधिवेशन गर्न पाएनन् । कुरा यत्तिमा मात्र सीमित छैन, सुशील कोइरालाको निधनसँगै पार्टीको मूल नेतृत्वमा कोइराला परिवारको दाबेदारी हाललाई समाप्त भएको छ । यसअघि नेतृत्वसम्बन्धी जस्तोसुकै विवाद भए पनि ब्रह्मास्त्रको रूपमा प्रयोग हुँदै आएको कोइराला परिवारमा तुरुन्त त्यो ब्रह्मास्त्र देखिएको छैन ।

महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन हुनुअगावै गरिने गरेका बुथदेखि माथिसम्मका निर्वाचनहरूमा यसपटक एक नौलो आयाम देखिएको छ । कतिपय स्थानका निर्वाचनहरू विश्लेषक वा नेपाली कांग्रेसका वैचारिक वीरहरूको अनुमानविपरीत भएका छन् । यस्तोमा यो दु:खद् घटना नभएको भए पनि परम्परागत नेतृत्वले फलामको च्युरा चपाउनुपर्ने अनुमान असामान्य थिएन । नेपाली राजनीतिमा व्याप्त माथिबाट तल नेतृत्वको प्रसारण हुुने पद्धतिले यसपटक चुनौती पाएको छ । अब यो पुरातन मान्यताको स्थानमा नयाँ मान्यताको स्थापना हो कि सामान्य असन्तोषको परिणाम हो, भविष्यको गर्भमै छ ।

नेपाली कांग्रेसमा हमेसा उठ्दै आएको ‘नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण’ लामो समयदेखि केवल नाराकै रूपमा मात्र रहँदै आएको छ । त्यसमा पनि बूढाहरूले युुवालाई स्थान छोड्ने मागले कति युवा नेतालाई प्रौढ बनाइसकेको छ । यस्ता ‘प्रौढ’ युवानेताहरू अझै पनि युवाकै हैसियतमा नेतृत्वमा जान पाउने आसमा मुख मिठ्याइरहेका भेटिनु सामान्य कुरा हो । पछिल्ला दिनमा यो प्रवृत्ति नेपाली कांग्रेसबाट अन्य दलहरूमा पनि सर्दै गएको भेटिन्छ । यदि नेकाभित्र देखिएको यो प्रवृत्ति तलबाट माथि नेतृत्व प्रसारणको आरम्भ हो भने यसले केही न केही प्रभाव अन्य दलहरूका अधिवेशनमा पनि छोड्ने नै छ ।

बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादहरूको शिखर व्यक्तित्व नेकाको पुँजीको आधार बनेको थियो । त्यही व्यक्तित्वको टकरावबाट मातृका र बीपी, गिरिजा र प्रकाशबीच द्वन्द्व पैदा भएको थियो । गिरिजाप्रसादपछि उत्तराधिकार सम्हालेका सुशील त्यसबराबरका शिखर व्यक्तित्व नभए पनि बेलाबेलामा सुशील र शेखरबीच पनि टकराव सुरु होला कि भनेजस्तो लक्षण नदेखिएको होइन । तर, कोइराला परिवारको धरोहर थामेको नेतृत्वलाई चुनौती दिन सम्भव थिएन । जे होस्, नेकामा सुशीलपछिको अर्को व्यक्तित्व शिखर बन्ने प्रक्रिया सुरु नै भएको थिएन, त्यसैले अब तलबाट माथिको बाटो एक मात्र विकल्प बचेको छ । यसले नेकाको देखासिकी दलमा शिखर व्यक्तित्व बनाएर त्यसको वरिपरि सङ्गठन राख्न प्रयत्नशील दलहरूलाई भने कठिन हुने देखिन्छ ।
Nepali-Congress
अति आदरार्थी सम्बोधनले विभेद ल्याउँछ भनेर साथी अर्थात् ‘कामरेड’ शब्द प्रयोग गर्न अभ्यस्त दलहरू पनि आदरणीय कामरेड, सम्माननीय कामरेड भन्न थालिसकेका छन् । सिद्धान्तमुखीभन्दा नेतामुखी भयो भनेर राप्रपाबाट अलग भएको राप्रपा नेपालमा पनि अध्यक्षलाई देवत्वकरण गर्ने चलन सुरु भइसकेको छ । लोकतन्त्र वा प्रजातन्त्रमा जनअधिकार प्रयोगको प्रत्याभूति दिने जिम्मेवारी बोकेका दलका कार्यकर्ताले दलको सिद्धान्तभन्दा शीर्ष नेताहरूलाई माथिल्लो स्थानमा राखेपछि विकृति पैदा हुन्छ । बिस्तारै सबै अधिकारको खास उपभोक्ताको रूपमा शीर्षनेताहरू स्थापित हुँदै जान्छन् । अनि शीर्ष नेताले दिएको निर्देशन तहगत रूपमा तल्लो कार्यकर्तासम्म आउने र उसले जनतालाई निर्देशन दिने हुन जान्छ ।

नेपालले यो अवस्था लामो समयदेखि भोग्दै आएको छ । त्यसैले १३औँ महधिवेशनका पूर्वकार्यक्रमका रूपमा आएको यो नयाँ परिवर्तनको सङ्केतलाई जनताले आशापूर्ण नजरले हेर्दै छन् । अब यो परिवर्तन केवल म्यादीज्वरोजस्तो सेलाएर जान्छ कि यसले नेपाली राजनीतिमा नयाँ दिशानिर्देश गर्दछ भन्ने जिज्ञासा मेटाइदिने दायित्वचाहिँ महाधिवेशन प्रतिनिधिको हातमा छ । ती प्रतिनिधि छान्दा क्रियाशील सदस्यहरूले आफू कसैको मान्छे भएको भनेर भनिने गरेको प्रवृत्तिको विरोध गरेका छन् । यसरी आफूले छानेका प्रतिनिधिहरू आफ्नो मान्छे हुन्छन् कि कुनै उच्चनेताका मान्छे भन्ने कुरा पक्कै पनि नियाल्ने नै छन् ।

धेरै कुरा भविष्यको गर्भमै छ, तैपनि अहिले देखिएको प्रवृत्तिले ढिलोछिटो केही शीर्षनेताहरूले एउटा बन्द कोठामा बसेर गरेको निर्णयलाई दलको आधिकारिक निर्णय भनेर मान्नुपर्ने अवस्थाबाट मुक्ति भने दिलाउँछ नै । दश–बीस नेताबीचको सहमतिलाई राष्ट्रिय सहमति मान्नुपर्ने अवस्थासँग विद्रोहको विगुल बजेको अर्थमा यसलाई लिन सकिन्छ । अब निर्णय प्रक्रियामा कार्यकर्ता तथा जनताको प्रत्यक्ष भागिदारी खोजिने सुनौला दिन आउन लागेको आभासले कांग्रेसजनमा केही शीतलता भने प्रदान गरेकै छ । अब गाँठो परेको समस्या फुकाउने जिम्मेवारी शीर्षनेताहरूको काँधमा नबोकाएर जनताकै बीचमा ल्याउने युग आउने आशा गर्न सकिन्छ ।

यदि साँच्चै यस्तो भयो र यसको सुरुवात नेपाली कांग्रेसको १३औँ अधिवेशनबाट भयो भने त्यो नेकाको निमित्त त सुखकर हुन्छ नै, साथै दक्षिण एसियामा व्याप्त नेतापुजन संस्कारलाई पनि एक गतिलो झापड हुनसक्छ । सम्भव छ– यो परिवर्तन नेपाली कांग्रेसको अर्को कोसेढुङ्गा साबित होस् । जनताको सोचाइको दिशामा परिवर्तन आइसकेको छ, त्यसैले यो परिवर्तन अवश्यंभावी छ । सुखद र दु:खद् दुवै परिस्थितिले यो अवसर पहिलोपल्ट नेपाली कांग्रेसलाई दिएको छ । क्रियाशील सदस्यहरूले त विवेक पुर्‍याइसकेका छन्, के अब उनीहरूले छानेका प्रतिनिधिले पनि विवेक पुर्‍याउलान् ? आफूमा लागेको फलाना–ढिस्कानाको मान्छे भन्ने दाग हटाएर दलको सिद्धान्तले उत्प्रेरित एक निडर र हक्की राजनीतिकर्मीको स्थानमा आफूलाई उभ्याउन सफल होलान् ? साराको ध्यान यसैमा छ, कांग्रेसजनले यो मौका नचुकाएकै वेश ।