शिक्षाप्रेमी ‘जिओलोजिस्ट’ !

शिक्षाप्रेमी ‘जिओलोजिस्ट’ !


Bishal N Upreti
प्राध्यापक डा. विशालनाथ उप्रेती

स्कुलकालमै उहाँभित्र विज्ञान विषयमा उच्चशिक्षा हासिल गर्ने चेत पलाएको थियो । त्यही चाहनाबाट डोहोरिएर अमृत साइन्स कलेजबाट आईएस्सी गरेपछि थप अध्ययनका लागि बाहिर प्लानमा जाने कोसिस गर्नुभयो, तर सफलता हात लागेन । त्यसपछि त्रिचन्द्र कलेजमा फिजिक्स, म्याथ र स्ट्याटिस्टिक्स् विषयमा बीएस्सीका लागि फर्म भरेर नाम निकाल्नुभयो, दुर्भाग्यले त्यहीबेला उहाँको आफन्त बिरामी परेकाले समयमा भर्ना हुन पाउनुभएन । उहाँ विचलित हुनुभयो । यस्तैमा त्रिचन्द्रमै महेश्वर भट्टराई नामका एक साथी भेटिए जसले उहाँलाई जिओलोजी (भूगर्भशास्त्र) विषय पढ्न उक्साए । कहिल्यै नसुनेको विषयको अध्ययन गर्ने कि नगर्ने भन्ने दोधारमा पर्नुभयो उहाँ, तर अर्को विकल्प थिएन ।

संयोगले एक छात्रा त्रिचन्द्र छोडेर अस्कल भर्ना हुन गएकी रहिछन्, उनैले छोडेको कोटामा अत्यन्त उहापोहका बीच उहाँले एड्मिसन पाउनुभयो । केमेस्ट्री, म्याथ र जिओलोजी विषयका छात्रका रूपमा त्रिचन्द्र क्याम्पस भर्ना भएपश्चात् उहाँले पछाडि फर्केर हेर्नुपरेन । कुनैबेला नामै नसुनेको भनी अल्मलिएकै विषय जिओलोजीमा उहाँले बीएस्सी, एमएस्सी र पीएचडीसमेत गर्नुभयो । यतिमात्र होइन, आज उहाँ देशकै सीमित भूगर्भशास्त्रीमध्ये शीर्षस्थानमा हुनुहुन्छ भने उहाँको नामले आज राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय पहिचानसमेत बनाएको छ । अत्यन्त महत्त्वपूर्ण भएर पनि आमतप्काले अहिलेसम्म खासै जानकारी वा चासो नराख्ने गरेको ‘जिओलोजी’का धुरन्धर व्यक्तित्व उहाँ हुनुहुन्छ– प्राध्यापक डा. विशालनाथ उप्रेती, जसको जीवनवृत्तमा सर्सर्ती फन्को मार्ने लघु प्रयास यस लेखनीमार्फत गरिँदै छ ।

काभ्रेको डुम्रे गाउँमा २००८ सालमा पिता हरिनाथ र माता खड्गकुमारीको कोखबाट जन्मनुभएका विशालनाथ उप्रेतीको ७ वर्षसम्मको बाल्यकाल गाउँमै गुज्रियो । २ वर्षको उमेरमै पिताको निधन भएकोले काठमाडौंमा बस्ने सर्वोच्च अदालतका न्यायाधिश ठूलोबुबा रंगनाथ उप्रेतीकहाँ आइपुग्नुभयो उहाँ । त्यसो त उहाँका पिताजीको अंशको काठमाडौं धोबिधारामा आफ्नै घर नभएको होइन, तर त्यो घरमा कोही नबस्ने भएकाले उहाँ ठूलोबुबाकहाँ बसेर पढ्न थाल्नुभयो । गाउँकै प्राथमिक स्कुलमा क, ख सिक्न सुरु गरे पनि काठमाडौं आएर ठूलोबुबाका सहयोगी प्रेमप्रसाद सिलवालसँग हिसाबलगायत बाह्रखरी सिकेपछि मात्र आफूभित्र लेखपढमा रुचि जागेको कथन छ विशालनाथको । तर, जम्मा चार महिना मात्र काठमाडौंमा बिताएपछि उहाँ अर्का ठूलाबुबाका छोरा विराटनगरनिवासी लक्ष्मीनाथ उप्रेतीको निर्देशन पालन गर्दै विराटनगर जानुभयो । उप्रेती परिवारको विराटनगरमा पनि खेतीपाती थियो । यसरी काभ्रेबाट लहरी चढेर काठमाडौं पुगेका विशालनाथ काठमाडौंबाट डकोटा विमानमा सवार भई १६ सालमा विराटनगर पुग्नुभयो । त्यहीँबाट उहाँको जीवनले महत्त्वपूर्ण मोड लियो ।

दाजु लक्ष्मीनाथ कडा स्वभावका थिए जो विशालनाथलाई पढ्नका लागि सचेत गराइरहन्थे । विशालनाथ पनि तीक्ष्ण दिमागी भएकाले पढेको कुरा सहज ढङ्गले छिट्टै टिप्नुहुन्थ्यो । तसर्थ, विराटनगरको जनता स्कुलमा एकैचोटि तीन कक्षामा भर्ना हुनुभएका उहाँ कक्षामा प्रथम हुनुभयो । चार कक्षामा पनि पहिलो भएपछि पाँच कक्षा नपढी ६ मा उकालियो उहाँलाई । यस क्रममा स्कुल परिवर्तन गर्दै ८ कक्षादेखि ऐतिहासिक पात्र कृष्णप्रसाद कोइरालाद्वारा स्थापित आदर्श स्कुल भर्ना भएर त्यहीँबाट २०२३ सालमा दोस्रो श्रेणीमा उहाँले एसएलसी पास गर्नुभयो । त्यसपछि आफ्नी दिदीको आग्रहअनुसार उच्चशिक्षाका लागि उहाँ काठमाडौं आउनुभयो । दिदीको डेरा रहेको स्थान हाँडीगाउँदेखि पैदल उहाँ अमृत साइन्स कलेज पुग्नुहुन्थ्यो । पढाइमा उहाँले कहिल्यै सम्झौता गर्नुभएन, मिहिनेत लगाएर पढ्नुभयो ।
फलस्वरूप ७ वर्षको उमेर पुगेपछि मात्र नियमित स्कुल जाने अवसर पाउनुहुने विशालनाथ कोलम्बो प्लानअन्तर्गत स्कलरसिप पाएर कर्णाटक युनिभर्सिटीसम्म पुग्नुभयो ।

२२ वर्षकै उमेरमा एमएस्सी पास गर्ने विशालनाथ उप्रेतीले नेपाल र बाह्य मुलुकको पढाइको स्तर बुझ्ने अवसर एमएस्सी पढ्न भारत गएपछि नै पाउनुभएको रहेछ । कर्णाटक जाने क्रममा कलकत्ता पुग्दा त्यहाँ उहाँलाई कर्णाटक विश्वविद्यालयबाट रिसिभ गर्न आउने ड्राइभरले फर्राटेदार अङ्ग्रेजी बोलेको प्रसङ्ग सम्झँदा उहाँलाई अहिले पनि आफैंप्रति हाँसो उठ्छ । आफूलाई ‘राम्रै विद्यार्थी’ ठान्ने विशालनाथ भारतका विद्यार्थीको अध्ययन गर्ने शैली र स्तर देखेपछि भुतुक्कै हुनुभएछ । राति बाह्र बजे पनि पढिरहेका देखिने उनीहरू बिहान ५ बजे ढोका ढक्ढक्याउन गए पनि पढिरहेकै अवस्थामा भेटिन्थे, दिउँसो एकछिन छुट्टी हुँदा पनि पुस्तकालय पुगेका हुन्थे । यो देखेपछि उहाँ अचम्भित मात्र हुनुभएन त्यसैगरी आफूले पनि पढ्ने बानी बसाल्ने अठोट गर्नुभयो । उहाँको यो अठोट र मिहिनेतले आखिर रंग देखाइछाड्यो । कर्णाटक गएको पहिलो वर्षै उहाँ ‘युनिभर्सिटी टप’ हुनुभयो ।

कर्णाटक विश्वविद्यालयबाट २ वर्षमा भूगर्भशास्त्रमा एमएस्सी सकेर फर्केपछि तात्कालिक खानी विभागमा जिओलोजिष्ट/एक्सपर्ट/इञ्जिनियरका रूपमा महिनाको पाँच सय सत्तरी तलब खाने गरी उहाँ सरकारी जागिरे बन्नुभयो । यसरी जागिर सुरु गरेपछि पहिलो फिल्डवर्कका लागि ललितपुरको दुर्लुङ खटिनुभयो । खानी खोज्न दुर्लुङ क्षेत्र खटिँदाका सुख–दु:खका घटना आज पनि उहाँको मानसपटलमा ताजै छन् । त्यहाँको खोलामा बम ब्लास्ट गरेर माछा मारी खाएको, खानी अध्ययनकै सिलसिलामा भीरपहरोमा उक्लिँदा अक्करमा अड्किएर झन्डै ज्यान नै गुमाउनुपरेकोजस्ता सन्दर्भहरू सम्झँदा अहिले पनि आफ्नो शरीर सिरिङ्ग हुने अनुभूति डा. विशालनाथ उप्रेती सुनाउनुहुन्छ । जिओलोजिस्टले कहिलेकाहीँ एकदमै रिस्क लिएर अनुसन्धानमा जुट्नुपर्ने अभिव्यक्ति दिँदै आफ्नो जागिरेजीवनको दोस्रो फिल्डवर्कको सिलसिलामा जुम्ला जाँदाका अनेक भोगाइका किस्साहरू आँखाअगाडि झल्झली उत्रिने शैलीमा सुनाउनुहुन्छ उहाँ ।

यसरी युवावस्थामा एक सरकारी जागिरेका रूपमा जुम्ला गएपछि आफूले वास्तविक नेपाल चिन्न पाएको उल्लेख गर्दै प्राध्यापक विशालनाथ भन्नुहुन्छ, ‘वास्तवमा राज्यबाट राज्यकै एउटा महत्त्वपूर्ण र ठूलो हिस्सा नमिठोसँग उपेक्षित भएको रहेछ, जुम्ला–हुम्लाको कठिन जीवन, अभाव र नागरिकको दुरावस्थाले मलाई यही अनुभूति गरायो ।’ आफ्नै देशको एउटा भाग पुग्न राजधानीबाट पोखरा, भैरहवा हुँदै गोरखपुर पुगेर नेपालगञ्ज प्रवेश गरी पचासौँ भरिया र पन्ध्रौँ दिन लगाएर जुम्ला पुगेको, त्यहाँका भरियाहरूको दैनिकी–दु:ख, जुम्लीहरूले नुनतेलकै लागि पचहत्तर–असी किलोको भारी बोकेर नेपालगञ्ज पुग्नुपर्ने र त्यसरी महिना दिन लगाएर बजार पुगेका उनीहरू ठगिएर फर्कनुपर्नेजस्ता अनेक अमिला सन्दर्भ तथा विभीषिका देखेर युवा विशालनाथको हृदय पग्लन्थ्यो ।
Bishal Nath Uprety
तर, यो सब हेर्ने र अनुभूति गर्नेबाहेक अरू केही गर्न सक्ने अवस्थामा आफू नहुँदा उहाँ चुकचुकाउनुहुन्थ्यो । जुम्लाको जङ्गलमा क्याम्पवासकै बेला गाउँलेले औषधि मागेका, औषधिको नाममा ग्लुकोज दिएर चित्त बुझाउनुपरेको र औषधिकै अभावले जन्डिसले थलिएर एक पच्चीसवर्षे युवकको मृत्यु आफ्नैअगाडि भएको, युवकका आफन्तहरूको दर्दनाक रुवाबासी डा. विशालनाथ उप्रेतीका लागि यस्ता घाउसरह हुन् जो जीवनकै सर्वाधिक पीडादायी प्रसङ्ग बनेर अहिले पनि चहर्‍याइरहन्छ । अभावैअभाव र कष्टैकष्टको त्यो स्थान र समयले आफूलाई त्यसरी चोटहरू दिए, सँगसँगै दु:खी–गरिब तथा असहायहरूलाई सहयोग पुर्‍याउनुपर्छ भन्ने प्रेरणा पनि प्रदान गरेको उहाँको कथन छ ।

खानी अध्ययनकै क्रममा नेपालका अधिकांश भूभाग पुगिसक्नुभएका विशालनाथलाई सुरुका उल्लेखित दुई फिल्डवर्कले नै यो अनुभूति गराइसकेको थियो कि यथार्थमा खानी विभाग सुस्त छ, निदाएको अवस्थामा छ । जुनियरहरूलाई सिकाएर एक्सपर्ट तुल्याउने र भोलि आफू रिटायर्ड हुँदा पछिल्लो पुस्ताले काम सम्हाल्न सक्ने हैसियत निर्माण गरिदिने सोच वा जिम्मेवारी यहाँका पुराना कर्मचारीहरूमा पटक्कै छैन, अनुभव हस्तान्तरण गर्ने संस्कारको पूरै अभाव छ, यस्तो हो भने वैज्ञानिक अन्वेषणको यो गहन दायित्वले कसरी पूर्णता पाउँछ ? यो सवालले बेस्सरी घचघच्याएपछि उहाँ कहालिनुभयो, ‘यसरी त म पूरै निकम्मा हुनेछु, मेरो जीवन नै त्यत्तिकै खेर जानेछ, फगत सरकारी जागिर पचाउने र रिटायरमेन्टको दिनगन्ती गर्नेबाहेक म यहाँ केही गर्न सक्दिनँ ।’ यसपछि हिमालयमा गएर काम गर्ने, केही सिक्ने र पीएचडी पनि गर्ने निष्कर्षमा उहाँ पुग्नुभयो ।

विराटनगरमा सँगै पढेका अम्बिका अधिकारी भन्ने साथीलाई उहाँले आफ्नो मनको कुरा सुनाउनुभयो । आईएस्सीमा बोर्डफस्र्ट गरेपछि हार्वर्डबाट पीएचडी गरेका, आईयूसीएनका प्रथम नेपाली कन्ट्री डाइरेक्टरसमेत रहेका र हाल क्यानडानिवासी उनै साथी कुनैबेला इन्डियामा विशालनाथसँगै पढ्थे । उनैद्वारा सम्पर्कमा आएका एक बेलायती प्रोफेसरको सुपरभिजनमा अन्तत: खानी विभागको जागिरबाट राजीनामा दिएर हिमालयन क्षेत्रमा रिसर्च गरी पीएचडी गर्ने उहाँको धोको पूरा भयो ।

हिमालयन क्षेत्रको रिसर्च गरेका भूगर्भ वैज्ञानिकको महत्त्व र माग त्यतिबेलैदेखि थियो । डा. विशालनाथ उप्रेतीलाई इन्डियाको ‘वाडिया इन्स्टिच्युट अफ हिमालयन जिओलोजी’ले आकर्षक अफर गर्‍यो । त्यत्रो सम्मानित संस्थाको आकर्षक आग्रह व्यक्तिगत रूपमा साँच्चै महत्त्वपूर्ण थियो । केही वर्षको अनुभव संगालेर स्वदेश फर्किने र त्यो अनुभव देशहितमा प्रयोग गर्ने सोचले त्यहाँ ज्वाइन हुने मनस्थिति उहाँले बनाउनुभयो, तर तत्काल त्यसबाट मोडिनुभयो उहाँ । ‘स्वदेश भनेको स्वदेश नै हो, अनुभव पनि आफ्नै देशमा हासिल गरुँला, काम पनि देशकै लागि गर्छु’ भन्ने निर्णय गरेर विशालनाथ मुलुक फर्कनुभयो । यता खानी विभागले फेरि मान्छे मागेको थियो । उहाँले आवेदन गरेर स्थायीमै नाम पनि निकाल्नुभयो । तर, त्यहीबेला त्रिविले उहाँलाई त्रिवि ज्वाइन गर्न अनुरोध गर्‍यो । त्रिविमा एमएस्सी खुलिसकेकोले जिओलोजी पढाउने प्राध्यापकको घोर अभाव थियो । त्रिविले बोलाउँछ मात्रै, दरबन्दी पनि छैन, कुनै सुविधा छैन, करारमा गएर त्यत्तिकै अलपत्र पर्ने सम्भावना थियो– यो राम्ररी बुझ्नुभएको थियो डा. विशालनाथ उप्रेतीले । तर, उहाँले खानी विभागको सुविधासम्पन्न, सजिलो र शानमानयुक्त जागिर रोज्नुभएन, त्रिविकै सेवा गर्ने निर्णय गर्नुभयो । यसरी २०३५ सालमा त्रिभुवन विश्वद्यिालय प्रवेश गर्नुभएका प्राध्यापक विशालनाथ उप्रेती हालसम्म अनवरत रूपमा सेवारत हुनुहुन्छ ।

उहाँका अनुसार जिओलोजीको महत्त्व संसारभर बढेर गएको छ र हाम्रोजस्तो मुलुकमा त यो झन् महत्त्वपूर्ण छ । फिजिक्स, केमेस्ट्रीहरूजस्तै फन्डामेन्टल साइन्स हो जिओलोजी र अझ यो यस्तो साइन्स हो जसको उपयोग आज घर बनाउँदा, ड्याम र टनेल निर्माण गर्दा, बाढी–पहिरो जाँदा, भुइँचालो आउँदालगायतका कुरामा मात्र नभई हाइड्रोपावर र मेडिकल फिल्डमा समेत हुन थालेको छ । जियोलोजिस्टको माग संसारभर बढिरहेको छ र नेपालका हालसम्म उत्पादित (टीयू प्रोडक्ट) ५/६ सय जिओलोजिस्टहरू कोही बेरोजगार रहनुपरेको छैन । अमेरिका, क्यानडा, कोरिया, जापानजस्ता मुलुकमा नेपाली जिओलोजिस्टहरूको माग छ । तर, यस्तो महत्त्वपूर्ण विषयलाई ओझेलमा राखेर राज्यको नीति–निर्माण तहले एकप्रकारको अपराध नै गरेको छ । स्कुलको शिक्षामै यसको महत्त्व बुझाएर अध्ययनको वातावरण मिलाउनुपर्ने अर्थात् यो विषयलाई साइन्सअन्तर्गत राखी अनिवार्य रूपमा पढाइ गराउनुपर्ने उहाँको सुझाव छ ।

नेपालको शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा डा. विशालनाथको मन कोक्किएर आउँछ । संसारकै सबभन्दा ‘झुर’ शिक्षाप्रणाली भएकोले नेपाल आज सबै क्षेत्रमा पछि पर्नुपरेको दाबी गर्न हिच्किचाउनुहुन्न उहाँ । छिमेकी भारतका ५ कक्षाका विद्यार्थी र हाम्रा एसएलसी गरेकाबीच तुलना गर्दा त्यहाँको पाँच कक्षाका विद्यार्थीको पढाइको स्तर माथि छ, दु:खका साथ हामीले यो स्वीकार गर्नुपर्छ भन्नुहुन्छ उहाँ । यसरी शैक्षिकस्तर निराशाजनक रूपमा खस्कनुको प्रमुख दोष प्राध्यापक विशालनाथ नेपालको स्तरहीन राजनीतिलाई दिनुहुन्छ । कामका सिलसिलामा उहाँले संसारका लगभग दुई दर्जन देश घुमिसक्नुभएको छ र भारत, जापान, फ्रान्स, स्विजरल्यान्डलगायतका देशमा त केही महिना या वर्षका हिसाबले गुजार्नुभएको पनि छ । संसारभर थुप्रै साथी छन् । यी सबैसँगको सङ्गत र भोगाइका आधारमा पनि डा. विशालनाथलाई लाग्यो कि नेपालमा ‘सबै’ राजनीतिमा लागिरहेका छन् । पेसा एउटा छ तर कर्मचाहिँ राजनीति नै । अझ स्कुल–कलेजका शिक्षक–प्राध्यापकहरूमध्ये असी–नब्बे प्रतिशत नै अध्यापनमा होइन राजनीतिक क्रियाकलापमा संलग्न देखिन्छन् । यसबाट हाम्रो देशको शिक्षा क्षेत्र तहसनहस बनेको उहाँको ठहर छ ।

राजनीति गर्ने हो भने पढाउने पेसाबाट राजीनामा दिई राजनीति गर्ने पेसामा जानुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका अनुसार राम्रो टिचर बन्नेमा भन्दा राजनीतिक दलको विश्वासिलो कसरी बन्ने भन्नेमा ध्यान लगाउन थाले शिक्षण पेसामा रहेकाहरूले । अध्यापकहरू दलका क्याडर भए । कुनै स्नातकोत्तर गरेका योग्य र स्वतन्त्र व्यक्तिलाई भन्दा एसएलसी योग्यता रहेका पार्टी–कार्यकर्तालाई शिक्षक छान्ने प्रचलन ठाउँ–ठाउँमा देखियो । यसरी हामी बर्बाद भइरहेका छौँ । विद्यार्थी सङ्गठनहरू पनि पेसागत हितका लागि होइन दलीय स्वार्थ पूर्ति गरिदिने क्रियाकलापमा परिचालित देखिन्छन् । पढ्ने विद्यार्थी नानाथरी आन्दोलनमा उत्रँदैनन्, तर ‘पढ्छु’ भन्नेहरूको भविष्यसमेत दलको झोला बोक्नेहरूले खोसिरहेका छन् । डा. विशालनाथ उप्रेतीलाई यस्तै लाग्छ, र यो यथार्थ पनि हो । उहाँको आग्रह छ– ‘स्कुल–कलेज र विश्वविद्यालयलाई राजनीति गर्ने फोरम नतुल्याई दिनुहोस् ।

नेपाललाई उन्नतिको दिशामा लैजाने हो भने गुणस्तरीय शिक्षाबाट मात्र सम्भव छ, शिक्षा क्षेत्रलाई ध्वस्त पार्ने ‘नेसनल क्राइम’ कसैले नगरौँ ।’ प्राइभेट सेक्टरका कतिपय ग्याङले शिक्षा नै बिक्रीको वस्तु तुल्याइरहेको र हुनेखानेहरूले सन्तानका लागि शिक्षा खरिद गरिदिने प्रवृत्तिले देश नै पङ्गु बन्ने खतरा निम्तिरहेकोप्रति चिन्तित प्राध्यापक उप्रेती सरकारी स्कुलबाट आएकाहरूलाई नेपालका मेडिकल र इञ्जिनियरिङ इन्स्टिच्युटहरूमा पचास प्रतिशत रिजर्भेसनको व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ । यसो हुन नसके अबको दस वर्षमा विपन्न परिवारका कुनै व्यक्ति पनि डाक्टर, इञ्जिनियर बन्न र कुनै माथिल्लो ओहोदामा पुग्न नसक्ने विडम्बनाको परिस्थिति देखापर्ने सम्भावना प्रबल रहेको उहाँ बताउनुहुन्छ ।

राज्यमा गुणस्तरीय शिक्षा हुनुपर्छ र शिक्षामा सबैको पहुँच पुग्नैपर्छ भन्ने मान्यताका घोर पक्षपाती भएकै कारण विशालनाथ उप्रेतीले गरिब तथा विभिन्न कारणले पछिपरेका विद्यार्थीलाई पढ्ने अवसर जुटाइदिने तथा छात्रवृत्ति दिलाउनेजस्ता कार्यमा सरिक हुनुहुन्छ । धादिङ मलेखुको बागेश्वरी स्कुलको भौतिक, शैक्षिक एवम् त्यहाँका विद्यार्थीको स्तर उकास्न उहाँले पुर्‍याउनुभएको योगदान एक ज्वलन्त उदाहरण ठहरिन सक्छ । मुलुकका अन्य भागमा पनि स्वदेशी–विदेशी मित्रहरूबाट सहयोग जुटाएर स्कुल भवन निर्माण गरिदिने तथा विपन्नहरूलाई स्कलरसिपको व्यवस्था गर्ने कामहरू उहाँबाट भइरहेका छन् । काम गर्ने तर गरेको कामलाई प्रचारको विषय तुल्याउन खासै रुचि नदेखाउने स्वभाव उहाँमा झल्किन्छ, जसलाई महानताको प्रतीक मान्न सकिन्छ । भोलेन्टियर तथा रिसर्चरका रूपमा कुनैबेला नेपाल आएका एक जापानी मित्र हारुताका साकाइबाट डा. उप्रेती यस्ता कर्म गर्न प्रेरित बनेको बताउनुहुन्छ ।

पीएचडी गरिसकेपछि तीस–एकतीस वर्षको उमेरमा इन्दिरा पोखरेलसँग वैवाहिक बन्धनमा बाँधिनुभएका विशालनाथ उप्रेतीका आफूबाटै जन्माइएका कुनै सन्तान छैनन्, तर उहाँद्वारा दीक्षित तथा उहाँबाट सद्भाव र आशीर्वाद प्राप्त गर्ने कैयन विद्यार्थी उहाँका लागि आफ्नै छोराछोरी या भाइबहिनीसरह छन् । मुलुकभित्र र बाहिरका अनेक इन्स्टिच्युट, प्रतिष्ठान एवम् सङ्घसंस्थामा आबद्ध प्राध्यापक उप्रेती जापान, भारतलगायतका मुलुकका केही विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा समेत क्रियाशील हुनुहुन्छ । जीवनमा अनेक उकाली–ओह्राली भोगेर अनेकौँ अनुभवको सङ्गालो बनिसक्नुभएका उहाँले आफ्नो विषयसम्बन्धी केही पुस्तक पनि लेख्नुभएको छ भने र दर्जनौँ रिसर्च तथा फुटकर लेखरचना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा प्रकाशित छन् । यस्ता व्यक्तित्वको न्यायोचित ‘दोहन’ गर्न राज्य कतै चुकिरहेको पो छ कि ?
(घटना र विचार साप्ताहिकमा ०६७ भदौ ४ मा प्रकाशित)

प्रस्तुति : जयप्रकाश त्रिपाठी