नेपालले आन्तरिक समस्या संवाद र सहमतिबाटै टुङ्ग्याउनुपर्छ

नेपालले आन्तरिक समस्या संवाद र सहमतिबाटै टुङ्ग्याउनुपर्छ


Ranjit Ray
– रनजित राय (नेपालका लागि भारतका राजदूत)

० नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अत्यन्त सफल भएको भनिँदै छ, तपाईं के भन्नुहुन्छ ?
– यसमा मेरो फरक धारणा छैन । मेरो दृष्टिमा यो भ्रमण अत्यन्त सफल रहेको छ । माननीय प्रधानमन्त्री ओलीजी स्वयम्ले भन्नुभएको छ कि केही महिनादेखि जे–जस्तो असमझदारी र कठिनाइहरू थिए, ती सबै अब पार भएका छन् र भारत–नेपाल सम्बन्ध अब अझ प्रगाढ बन्नेछ । मलाई लाग्छ कि भारत–नेपालसँग सम्बन्धित सबैजसो महत्त्वपूर्ण मामलामा कुराकानी भएको छ । जस्तो कि भारत–नेपालसम्बन्धी सुरक्षाबारे, नेपालको नयाँ संविधानसँग जोडिएर आन्तरिक रूपमा देखापरेका समस्यासम्बन्धी आदि । मेरो विचारमा यो निकै सफल भ्रमण बनेको छ । भारतको तर्फबाट निकै महत्त्व दिइएको छ । राजकीय भ्रमण हो यो नेपालका प्रधानमन्त्रीको । राष्ट्रपति भवनमा उहाँलाई आमन्त्रण दिइएको छ । हाम्रा राष्ट्रपतिजीबाट उहाँलाई आमन्त्रण दिइएको छ भने हाम्रा विदेशमन्त्रीले उहाँलाई विमानस्थल पुगेर स्वागत गर्नुभएको छ । नेपाल र नेपाली जनतासँग भारतको प्रगाढ सम्बन्ध रहेको कुराको द्योतक हो यो ।

० नेपाल र भारतबीच पछिल्लो समय जुन असन्तुष्टि, असहमति वा समस्या सिर्जना भएको थियो, प्रधानमन्त्री ओलीको भ्रमणपछि सबै समस्याको अन्त्य भयो त ?
– यस प्रश्नको जवाफ म यसरी दिन चाहन्छु कि नेपाल र भारतबीचको सम्बन्धको आधार नै अत्यन्त बलियो छ, निकै प्रगाढ छ । यस्तो सम्बन्धबीच कहिलेकाहीँ उतारचढाव त आउँछ, तर बातचितबाट यसको समाधान पनि निस्किहाल्छ । माननीय प्रधानमन्त्रीजीको यस भ्रमणले आवश्यक मुद्दामा वार्तालाप गरेर समस्याको समाधान निकाल्न मद्दत पुगेको छ । यस अर्थमा यो भ्रमण सफल छ ।

० खुलस्त बताइदिनुहोस् कि नेपालप्रति भारतको ‘इन्ट्रेस्ट’चाहिँ के हो ?
– माननीय प्रधानमन्त्री मोदीजीले पनि बताउनुभएको छ कि नेपालप्रति भारतको ‘इन्ट्रेस्ट’ भनेको नेपालको स्थिरता, समावेशी राजनीतिक विकास, समृद्धि नै हुन् । नेपाल यी लक्ष्य हासिल गर्न सफल या सक्षम भएमा भारत अत्यन्त खुसी हुनेछ । किनकि, नेपालमा कुनै या अस्थिरता भएमा त्यसको प्रत्यक्ष असर भारतमा पर्न सक्छ । यस्तो हुनु न नेपालको हितमा हुन्छ न त भारतकै ।

० प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक समस्या समाधानका लागि सबै पक्ष मिलेर जानुपर्ने अभिव्यक्ति जो दिनुभएको छ, यसले के सङ्केत गरेको छ ? के उहाँको यो अभिव्यक्ति मधेसी दलहरूले उठाउँदै आएका मामलातर्फ लक्षित छैन र ?
– भारतले हरदम भन्दै आएको छ कि संविधानको विषयमा जे–जति आन्तरिक समस्याहरू छन्, त्यसलाई संवाद र सहमतिको माध्यमबाट नै समाधान निकाल्नु उत्तम हुनेछ । यो त कुनै नयाँ कुरा होइन । माननीय प्रधानमन्त्री मोदीजीले आफ्नो दुईपटकको नेपाल यात्राको बेलादेखि नै यो कुरालाई जोड दिनुभएको हो । भारतको त यही नै भनाइ हो कि हरेक समस्यामा सबै पक्षबीच वार्तालाप भएर समस्याको निकास निकालिन्छ भने त्यो देशका लागि हितकर हुन्छ, भारत–नेपाल सम्बन्धका लागि पनि यो सुखद हुन्छ ।

० प्रदेशको सीमाङ्कनबारे भारतको के दृष्टिकोण छ नि ?
– यसका लागि नेपालले अलग्गै समिति बनाएको छ । यसरी समस्या समाधानको प्रक्रिया सुरु हुनु राम्रो हो । सहमति र संवादकै माध्यमबाट उक्त समितिले आफ्नो काम सम्पन्न गर्नेछ भन्ने भारतको बुझाइ छ ।

० वास्तवमा नेपालमा प्रदेशको सीमाङ्कन कसरी गर्नु उचित होला, तपाईंसँग कुनै सुझाव छ कि ?
– यो प्रोसेस संवाद र सहमतिबाटै हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र सम्भवत: सबैको धारणा हो । प्रदेशको सीमाङ्कन कस्तो बन्ला या बन्नु उपयुक्त होला, यो त नेपाली जनता या त्यहाँको राजनीतिक नेतृत्वले नै टुङ्ग्याउने विषय हो ।

० नेपालका मधेसी दलहरूलाई भारतको विशेष समर्थन रहेको छ भन्ने कतिपयको बुझाइ छ, यो सही हो ?
– भारत नेपालका हरेक राजनीतिक दललाई समर्थन गर्दछ, यो वा त्यो भनेर भारतले नेपालका दलहरूलाई छुट्याउने काम गरेको छैन । हरपार्टी, हरसमुदायलाई भारतको समर्थन छ । कुनै व्यक्तिविशेष या समूहविशेषलाई भारतको विशेष साथ–समर्थन छैन, रहन सक्दैन । सम्पूर्ण नेपालका लागि भारतको कुनै नीति वा दृष्टि हुन सक्छ, व्यक्ति या समूह हेरेर सम्बन्ध विशेष हुन सक्दैन ।

० त्यसो भए नेपालको मधेस मामलामाथि भारतको विशेष रुचि छ भन्ने आरोप किन लागेको होला त ?
– म दोहोर्‍याएर भन्न चाहन्छु कि नेपालमा स्थायित्व र शान्ति होस्, नेपाल समृद्धिको मार्गमा अघि बढोस् । यसैमा भारत–नेपालको सम्बन्ध प्रगाढबाट प्रगाढतम् दिशामा जान सक्छ । आन्तरिक समस्याको समाधान त नेपालले आफँै गर्छ, गर्नुपर्छ, कसैमाथि बिनाआधार लाञ्छना लगाउनु तर्कसङ्गत हुन सक्दैन ।

० नेपालको नयाँ संविधानलाई भारतको समर्थन छ कि छैन नि ?
– माननीय प्रधानमन्त्री मोदीजीले भन्नुभएको छ कि नेपालका लागि नयाँ संविधान ठूलो उपलब्धि हो, यसमा केही समस्या रहेका छन् भने वार्ता र सहमतिबाट हल हुँदै जाला, जानेछ ।

० देखावटी रूपमा नेपालका प्रधानमन्त्रीलाई निकै सम्मानपूर्ण स्वागत गरिए पनि राजनीतिक तथा आर्थिक मामलामा नेपाललाई सहयोग गर्ने खास प्रतिबद्धता भारतको तर्फबाट नआएकोप्रति आशङ्का पनि व्यक्त गरिँदै छ नि ?
– यत्तिका बुँदामा समझदारी भएको छ भने कसरी भन्न सकिन्छ कि भारत नेपाललाई सहयोग गरिरहेको छैन या गर्न चाहिरहेको छैन भनेर ? यथार्थलाई बङ्ग्याएर कसैले बुझ्न या व्याख्या गर्न खोज्छ भने त त्यो स्वतन्त्रता सायद व्यक्तिलाई होला । यसमा ज्यादा के भन्ने ? नेपाल र नेपाली जनताप्रति भारतका जनता, प्रधानमन्त्री र सिङ्गै भारतको हृदयमा सद्भाव छ । मैले बुझेको त यही हो, र यथार्थ पनि यही नै हो ।