ओलीको आत्मरति नै ‘महान् उपलब्धि’

ओलीको आत्मरति नै ‘महान् उपलब्धि’


Devprakash tripahi 5
:: देवप्रकाश त्रिपाठी ::

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतमा अनपेक्षित ‘रेस्पन्स’ पाउनुभयो, अतिथि सत्कारमा मित्रराष्ट्रले कुनै प्रकारले कञ्जुस्याइँ गरेन, यसबाट प्रधानमन्त्री ओली निकै प्रसन्न हुनुभएको छ र आफूलाई सम्मान प्राप्त हुँदा उहाँले सिङ्गै नेपाल सम्मानित भएको ठान्नुभएको छ । दक्षिण एसियाकै सम्मानित नेता कृष्णप्रसाद भट्टराईलाई झैँ राष्ट्रपति भवनमा बसोवासको व्यवस्था मिलाउनु, राज्यमन्त्री तहबाट विमानस्थलमा स्वागत गरिने परम्परा तोडेर विदेशमन्त्री सुष्मा स्वराज स्वयम् स्वागतमा सरिक हुनु, सुरक्षा, तामझाम तथा खानपिनमा विशेष ध्यान दिइनु र आफ्नो जन्मदिवससमेत मनाइदिनुले भारतसँग भड्किएको ओली मनलाई तरङ्गित मात्र तुल्याएको छैन, असीम आनन्दानुभूतिसमेत दिलाएको सन्देश प्रधानमन्त्री ओलीको मन्दमुस्कानसहित छचल्किएको खुसद् मुहारले दिइरहेको छ । आफूलाई गरिएको स्वागत–सत्कारबाट अति प्रसन्न हुनुभएका ओलीले दुईपक्षीय सम्बन्धमा उत्पन्न तनाव अन्त्य भई नेपाल–भारत सम्बन्ध पुरानै मित्रवत् अवस्थामा फर्किएको घोषणा गर्नुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले कुनै महत्त्व नदिएको भ्रमणले दुईपक्षीय सम्बन्धलाई पूर्ववत् या मित्रवत् कसरी बनायो भन्ने प्रश्नको जवाफ नदिईकन ओलीले के आधारमा भारत भ्रमण सफल र फलदायी भयो भनिरहनुभएको हो स्पष्ट हुन बाँकी नै छ । यदि आफ्नो स्वागत भव्य रूपले हुनुलाई मात्र उहाँले उपलब्धिमूलक ठान्नुभएको हो भने त्यो गलत हुनसक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान घोषणा हुनु आफैँमा ऐतिहासिक कार्य भएको भन्नु वा उहाँबाट औपचारिकतावश कतिपय बास्नादार शब्द प्रकट भएकै आधारमा उत्ताउलिएर भ्रमणलाई अद्वितीय रूपमा उपलब्धिमूलक भएको ठान्नुलाई केपी ओलीको अपरिपक्व एवम् आवेगी मानसिकताको उपज ठान्न सकिन्छ ।

भारतीय प्रधानमन्त्रीले आफ्नो वक्तव्यमार्फत उत्पन्न समस्याहरूको समाधान संवादमार्फत गर्न र सबैको भावनालाई समेट्न नेपाली प्रधानमन्त्रीलाई दिनुभएको सुझाव अर्थपूर्ण छ । मोदीले प्रधानमन्त्रीका रूपमा पहिलोपटक नेपाल भ्रमण गर्नुभएदेखि यताका हरेक वक्तव्यमा ‘सबैको भावना समेट्न’ सुझाव दिँदै आउनुभएको छ । सबैको भावना समेट्नु भनेको आन्दोलित मधेसी मोर्चाको मात्र भावना हो या आन्दोलित हुन बाँकी अन्य समुदाय र शक्तिको भावनालाई समेत समेट्नुपर्छ भनिएको हो भन्नेबारेमा केपी ओलीहरूले कुनै चासो प्रकट गरिरहनुभएको छैन । भारतीय चासो प्रधानमन्त्री मोदीको यिनै अभिव्यक्तिमार्फत प्रस्तुत भइरहेको छ । नेपाली पक्षले ज्यादा सरोकार राख्नुपर्ने पनि यसैमा थियो ।

बिनाप्रतियोगिता या बिनाप्रतिस्पर्धा एक्लै एकथरीले बनाएको संविधानलाई विश्वकै उत्कृष्ट संविधान भएको दाबी यसका रचनाकारहरूबाट भइरहेको छ । केपी ओलीले नेपालमा झैँ नयाँदिल्लीमा आयोजित हरेक समारोहमा पनि संविधानका दफा पाठ गर्दै ‘विश्वको उत्कृष्ट’ भन्न छोड्नुभएन । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा पुगेर आफूहरूले विश्वकै उत्कृष्ट संविधान बनाएको दाबी गरिरहनुहुँदा भारतीय बौद्धिक समुदाय र राजनीतिकर्मीहरूलाई हाँसो रोक्न कति मुस्किल पर्‍यो होला यसको अनुमान गर्न सकिन्छ । ‘एबीसीडी या कखगघ’ लेख्न जानेका दिन कुनै पनि बालकले प्रस्तुत गर्ने तहको व्यवहार केपी ओलीले देखाउनुभएको ठानियो या बहादुर गोर्खालीहरूका निम्ति देश बनाउनुभन्दा संविधान बनाउनु नै महान् कार्य रहेछ भन्ने मानियो, यस्तै केही मानेको हुनुपर्छ भारतीय समुदायले । मित्रराष्ट्र भारतलाई अर्को छिमेकी मुलुक पाकिस्तानमा पनि सात वर्ष लगाएर संविधानसभाले संविधान बनाएको हेक्का अवश्य हुनुपर्छ र उक्त संविधान तीन वर्षमै विस्थापित भएको पनि उसलाई थाहा छ । एउटा परिपक्व प्रजातान्त्रिक मुलुकका परिपक्व नेता र बौद्धिक समुदायबीच ‘विश्वकै उत्कृष्ट संविधानको व्याख्या गर्दै’ प्रधानमन्त्री ओली नहिँडेका भए त्यसले उहाँको उचाइ बढाउने आशा गर्न सकिन्थ्यो । विवाहको दिनका दुलाहाले झैँ ढोग, भेट, नमस्कार र सम्मानमा अल्झिएर ओली सम्बन्धलाई सहज बनाउनुपर्ने मूल कर्तव्यबाट चुक्नुभएको छ ।

कूटनीतिक संसारमा सबैभन्दा उच्च तहको सम्मान तिनलाई दिइन्छ जसले सधैँ विश्वासयोग्य मित्रको भूमिका निर्वाह गरेको हुन्छ, करिब त्यति नै उच्च तहको सम्मान तिनलाई पनि दिइन्छ जो शत्रु या विरोधी भूमिकामा प्रभावकारी देखिन्छ । सबैलाई समेटेर संविधान बनाउन दिएको सुझावलाई अस्वीकार गर्ने र संविधान घोषणाको मिति केही दिन मात्र पछि सारेर भए पनि सबैको भावना समेट्नु उपयुक्त हुने भनी दिइएको सुझावलाई लत्याउने, प्रधानमन्त्रीको हैसियतमा रहेका व्यक्ति अखिलको एउटा विद्यार्थीझैँ छिमेकी राष्ट्रविरुद्ध प्रस्तुत हुने र राष्ट्रवादी प्रमाणित हुन छिमेकी मुलुकलाई गाली गर्ने केपी ओलीलाई भारतमा निकटतम् मित्र ठानेर स्वागत गरियो होला या अरू नै केही, यो हामीले महसुस गर्ने विषय हो । स्वागतको तामझाम र कसिलो आलिङ्गनका मिठासपूर्ण क्षणहरूकै आधारमा भन्ने हो भने भारत र पाकिस्तानबीच जस्तो सुमधुर एवम् सुदृढ सम्बन्ध संसारका अन्य कुनै मुलुकबीच नरहेको निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट नेपाल या भारत उत्साहित हुनुपर्ने अवस्था सिर्जना गरेको छैन । ओलीको ‘बालहठ’लाई कसरी सम्बोधन गर्नु उपयुक्त हुनसक्छ भन्ने कूटनीतिक विश्लेषणका आधारमा ओलीले नयाँदिल्लीमा स्वागतिने अवसर पाउनुभएको हो । यो भ्रमणले पहिले नै तय भइसकेका कार्यक्रमहरूलाई सुचारु गर्ने या पूर्वसमझदारीलाई नवीकरण गर्ने तहको काम गरे पनि दुईपक्षीय हितका निम्ति नयाँ ढोका खोल्न सकेको छैन । आपसी विश्वासको पुनस्र्थापन गर्न पनि यो भ्रमण सफल रहेन । प्रचण्ड र केपी ओलीहरूले न्वारानदेखिको बल लगाएर जारी गरेको संविधान संशोधनको प्रक्रिया तत्कालै सुरु हुनुको अर्थ यो संविधान सर्वस्वीकार्य होइन भन्ने हो ।

संविधानको अन्तर्वस्तुमा सीताराम येंचुरी या एसडी मुनीहरूले जनाएको सहमतिलाई नै भारतको सहमति मानेर आत्मरति लिनु एउटा पक्ष हो । होइन भने भारतको सदाशयतालाई बुझ्ने र राष्ट्रिय हितमा उपयोग गर्ने मामिलामा केपी ओली असफल देखिनुभएको छ । दुई प्रधानमन्त्रीबीच कुनै गुप्त समझदारी बनेको छ र परिणाम आइसकेपछि मात्र समझदारीबारे जानकारी पाइने हो भने थप केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ । देखिएका, सुनिएका र प्रस्तुत भएका झाँकी या शब्दझाँकीका आधारमा भन्नुपर्दा नेपालका प्रधानमन्त्री केपी ओली कूटनीतिक दृष्टिले उच्च तहको पर्यटकीय भ्रमणमा सामेल हुनुभएजस्तो देखिएको छ । यो भ्रमणले ओली स्वयम्लाई आत्मरतिमा लिन हुने अवसर दिएको भए पनि नेपाल–भारतबीच विश्वासपूर्ण एवम् मित्रवत् सम्बन्ध स्थापित गर्ने सङ्केत देखाएको छैन । ओलीले मान खोजेकोमा मान पाएका छन्, ओलीले मान पाउनु नै भ्रमणको महान् उपलब्धि हो भने त्यस दृष्टिले यो भ्रमण दुई दशकपछिको ‘सर्वाधिक उपलब्धिपूर्ण’ हो । होइन भने ओलीको नौटङ्की हेर्ने दिल्लीको चाहना पूरा भएको अवसरका रूपमा मात्र यसलाई बुझ्न सकिन्छ ।