कहिलेसम्म रमाउने झुटको खेतीमा ?

कहिलेसम्म रमाउने झुटको खेतीमा ?


src=”https://ghatanarabichar.com/wp-content/uploads/2016/02/SN-Karki-1.jpg” alt=”SN Karki” width=”276″ height=”427″ class=”aligncenter size-full wp-image-41850″ />
:: स्वयम्भूनाथ कार्की ::<img

उखानै छ– बोल्नेको पिठो बिक्छ, आजको युगको यथार्थ पनि यही नै हो कि चर्को बोलले पिठो अझ त्यो पनि सडेको व्यापारमा अग्रणी भएको छ । कुरो र कुलो जता लगाए पनि हुन्छ भने झैँ झुट खुल्न लाग्यो भने विषयसँग असम्बन्धित कुनै कुरो उठाएर कुरो बटार्न पनि झुटका खेती गर्नेहरू दक्ष भइसकेका छन् । कुनै कुरालाई राम्रो वा नराम्रो भन्न त्यसको गुण–दोष केलाउने होइन आफ्नाले जेलाई राम्रो भनेका छन् त्यसलाई राम्रो र जेलाई नराम्रो भनेका छन् त्यसलाई नराम्रो भन्नुपर्छ भन्ने मानसिकतामा साधारण मात्र होइन समाजका अग्रणी भएका बुद्धिजीवीहरू पनि छन् । कागले तिम्रो कान लग्यो भन्दा आफ्नो कान नछामी त्यो काल्पनिक कान खोस्न कागको पछाडि दगुर्नु आजको दिनहरूमा अग्रगमन, प्रगति भएको छ । कसैले कान त आफ्नै ठाउँमा छ भनिदियो भने बरु त्यसलाई गाली गर्न रुचाइनु मुलुकको यो अधोगतिको कारक हो । यो प्रवृत्ति केवल नेपालमा मात्र भएको भने होइन, छरछिमेकमा पनि यस्तै कुराहरू देख्न पाइन्छन् ।

मानव स्वभावले नै असन्तोषी प्राणी हो, यो उसको कमजोरी होइन खुवी नै हो । यो असन्तोष नभएको भए यत्रा आविष्कार हुने थिएनन् । कुनै बिन्दुमा अब प्राप्त हुने सबै पाइयो थप केही बाँकी छैन भन्ने लागेमा त्यस बिन्दुपछिको प्रगति नै रोकिनेछ । यदि घोडागाडीमा नै सन्तोष गरेको भए सुपरसोनिक विमान आउने थिएन । टेलिग्राफमै सन्तोष गरेको भए आज सेकेन्डभरमै संसारका कुनै पनि कुनामा संवाद कायम गर्न सक्ने हुने नै थिएन । त्यसैले यो असन्तोष राम्रो कुरा हो, तर, यो असन्तोषको भावना भड्काएर आफ्ना विगतलाई अस्वीकार गराउने अनि आफूले आज चाहेको कुरा मात्र शाश्वत हो भन्ने छनक दिएर ठूलो हुन खोज्ने राजनीतिको चरित्रमा यदि समयमै विराम लागेन भने मानव फेरि ढुङ्गेयुगतिर फर्कन बेर लाग्नेछैन ।

संयुक्त राज्य अमेरिका जो आज विश्वका प्राय: सबै स्थानका बासिन्दाको निमित्त सपनाको प्रदेश बनेको छ, त्यो कोलम्बसको समयमा कस्तो थियो भन्ने कुरा आज कसैले सोच्दैन । उन्नत सभ्यताको खानी भएको पूर्वीय भूभागको प्रतिनिधि भारत आवतजावत गर्न निमित्त समुद्री मार्ग खोज्नेक्रममा कोलम्बस बाटो अलमलिएर अमेरिका पुगेको इतिहास सर्वविदित नै छ । अमेरिका यो खोजबाट आफ्नो सभ्यता परिमार्जन गरेर वर्तमानमा विश्वको अग्रणी भूमिकामा पुग्यो भने भास्को डी गामाले भारतको बाटो खोजेपछि यस भूभागले आफ्नो नाम पनि गुमायो । आज भारतभन्दा इण्डियाको नामले विश्वमा चिनिन्छ । यहाँको रितिथिति, परम्परा जो केवल आजको भारतीय सङ्घको मात्र नभएर यस उपमहाद्वीपको नै थियो त्यसको नामसमेत बदलिएर हिन्दू हुन पुग्यो । इतिहासमा कुनै समयमा चरम उत्कर्षमा पुगेका सभ्यताहरूमा रोमन सभ्यता त अब केवल इतिहासमा मात्र सीमित छ भने पूर्वीय सभ्यता पनि आफ्नो घिडघिडो गन्दै छ । शायद यो सभ्यताको चुलीपछि आउने ठाडो ढलान हो ।

भारतीय उपमहाद्वीपमा मुगलहरूको आगमनपूर्वका सभ्यता तथा परम्पराहरू यस भेकका सम्पत्ति थिए । यस कुराको उदाहरणको निमित्त महाभारत ग्रन्थमा अनेकौँ दृष्टान्त छन् । छोरीको खुट्टा ढोग्ने र छोरीको साष्टङ्ग दण्डवत् लिने दुवै परम्परा यहाँका साझा थिए । आ–आफ्नो कुल परम्पराको चलन मान्ने र अर्काको नमाने पनि त्यसलाई सम्मान गर्ने समाजमा वर्तमानमा यति साह्रो विचलन पैदा गराइएको छ कि एक आपसमै म तेरो हिस्सा होइन भन्ने कलह बढ्दो छ । पूर्वीय सभ्यता नै बहुआयामिक र विविधताको संगम हो जुन बेला यो तथ्यलाई अस्वीकार गरिन्छ त्यसैबेला पूर्वीय सभ्यता विनाशतिर लम्कन्छ । आजको झुटको खेती गर्नेहरू सबैले यही नै गर्दै छन् । डमरू बजाएर त्रिशूल हातमा लिएर रमाउने, आफ्ना ग्रन्थमा किरातेश्वर भनेर भनिएकाको उपासना गर्नेहरूले किरातले हामी अलग हौँ भन्नेबित्तिकै अलग मान्ने हो भने के तिनलाई किरातेश्वरको अर्चना गर्ने वैधानिकता छ ? विष्णुको नवौँ अवतारको रूपमा बुद्धको पूजा गर्नेहरूले के बुद्धमार्गी हाम्रा होइनन् भन्न हुन्छ ? सोच्ने फुर्सद कसैलाई छैन, आफ्नै अङ्ग भएका यी सभ्यता तथा परम्पराहरूलाई ओमकार परिवारका भनेर साथ लिने प्रयत्न हुनु ठीक जस्तो लाग्ला, तर ठीक भने होइन । सबै हामीमध्येकै हौँ भन्ने सत्य मनन गर्ने कहिले ?

एकले अर्कालाई खिण्डनकारी देख्ने अनि धम्क्याउने कुराले अपनत्व होइन वैमनश्यता बढाउँछ । पूर्वीय दर्शनले कसैको पनि उपासनास्थल देखेमा त्यसलाई नमन गर्न सिकाउँछ । बाटोमा शवयात्रा भेट्दा पनि त्यसको सम्मानमा शिर निहुराउन भन्छ, त्यो शव जसकोसुकै होस् त्यो गौण कुरा हो । महत्त्वको कुरा के हो भने एक मानवले देह त्यागेको छ केही मानवलाई दु:ख परेको छ, त्यसैले आफूले सकेजतिको सम्मान र श्रद्धाञ्जली व्यक्त गर्नुपर्छ, यो नै सनातन सभ्यता हो । त्यसैले विगतको तीतोलाई महत्त्व नदिई त्यसको मीठो केही छ भने त्यसलाई आत्मसात् गरेर भविष्यको सुन्दर योजना गर्नुपर्ने हो । भएकोमा थपेर परिमार्जन गर्दै गएमा प्रगति हुन्छ, हमेसा नयाँ मात्र बनाउन खोज्ने हो भने बन्दै गरेको पनि भत्कने हुन्छ । संयुक्त राज्य अमेरिकामा एक संविधानमा २७ संशोधन गरेर परिमार्जन भएको छ भने भेनेजुयलाले २६ वटा संविधान नै बनाइसक्यो । नेपालको सातौँ संविधानको कोक्रामै संशोधनको शल्यक्रिया भइसक्यो । नयाँ संविधानले सबै रोग चटक्क पार्छ भन्ने कुरा झुटो रहेछ भन्ने सावित भइसक्यो । त्यसैले संविधान जनताको निमित्त हो, जनता संविधानको निमित्त होइन भन्ने कुरालाई प्रतिगमन भन्छ भने त्यो झुटको खेती हो ।