‘बरु डडेल्धुरा गएर गाई पाल्छु’

‘बरु डडेल्धुरा गएर गाई पाल्छु’


शेरबहादुरले त्यसबेला किन यसो भनेका थिए ?
sherbahadur-deuwa.
०५० सालमा काठमाडौं क्षेत्र नंं. १ को उपनिर्वाचन हुँदै थियो । सवारी दुर्घटनामा परी एमाले नेता मदन भण्डारीको निधनपश्चात् रिक्त हुन आएको स्थानका लागि हुँदै गरेको निर्वाचनमा भण्डारीकी धर्मपत्नी विद्या पाण्डे (भण्डारी)लाई एमालेले उम्मेदवार बनाएको थियो भने नेपाली कांग्रेसका तर्फबाट सन्त नेता कृष्णप्रसाद भट्टराई आफैँ प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । ०४८ मा प्रधानमन्त्री भएर आफैँले गराएको निर्वाचनमा मदन भण्डारीसँग पराजित हुनुभएका भट्टराई सोही क्षेत्रमा पुन: उम्मेदवार बन्नुहुने भएपछि तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवासस्थान बालुवाटारमा एकाएक तनाव बढ्न पुगेको थियो । किसुनजी सांसद मात्र बन्नका लागि चुनाव लड्नुभएको होइन भन्ने जानकारी सिङ्गै मुलुकलाई थियो भने गिरिजाप्रसाद कोइरालालाई नहुने कुरै भएन ।

किसुनजीको प्रवेश संसद्मा भएपछि या त आफूले प्रधानमन्त्रीको कुर्सी खाली गरिदिनुपर्ने, या किसुनजीसँग संसद्मा भिडिरहनुपर्ने अवस्था आउन सक्ने ठम्याई गिरिजाप्रसाद कोइरालाको थियो । त्यसैले किसुनजीलाई निर्वाचनमा पराजित गराएर आफ्नै नेतृत्वको सरकारलाई सुरक्षित तुल्याउने योजना बनाउन गिरिजाप्रसाद कोइराला र उहाँका सहयोगीहरूले ढिलाइ गरेनन् । किसुनजीलाई पराजित गर्न बालुवाटारमा के–कस्ता योजना बनेका थिए र त्यसको कार्यान्वयन कसरी भएको थियो भन्नेबारे बेग्लै सन्दर्भमा चर्चा गर्न सकिन्छ । गिरिजाप्रसाद नेतृत्वको सरकारमा गृहमन्त्री रहनुभएका शेरबहादुर देउवाको भूमिकाचाहिँ कस्तो रह्यो भन्ने विषय–सन्दर्भको मात्र यहाँ उल्लेख गर्नु उपयुक्त हुने ठानिएको छ ।

आफ्नै पार्टीका सभापतिसमेत रहनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गर्न एमाले उम्मेदवार विद्या भण्डारीलाई हरतरहले सहयोग पुर्‍याउने कार्ययोजना बालुवाटारमा बन्यो । उक्त योजनालाई कार्यरूप दिन गृह प्रशासनको सहयोग अनिवार्य ठानियो र त्यसनिम्ति गृहमन्त्री शेरबहादुर देउवालाई विश्वासमा लिनुपर्ने भयो । तर, किसुनजीलाई निर्वाचनमा पराजित गर्न देउवाले सहयोग गर्ने हुन् या होइनन् भन्ने विषयमा बालुवाटार स्पष्ट हुन सकेको थिएन । यसक्रममा भइरहने भेटका क्रममा गिरिजाप्रसाद कोइरालाले मलाई सम्बोधन गर्दै सोध्नुभयो, ‘तपाईंको देउवासँग राम्रै सम्बन्ध छ होइन ?’ माले, मसाले र मण्डलेलाई एउटै देख्ने त्यसबेलाका गिरिजाप्रसाद कोइरालाप्रति एकप्रकारले समर्पित मैले शेरबहादुर दाइसँग आफ्नो राम्रो सम्बन्ध रहेको स्वीकार गर्दै भने…, ‘देउवाजी असल मानिस हुनुहुन्छ र मित्रवत् पनि । त्यसैले मेरो उहाँसँग राम्रो सम्पर्क–सम्बन्ध रहिआएको छ ।’ यसरी गिरिजाप्रसाद कोइरालालाई जवाफ फर्काइरहँदा ‘आफ्नो कित्ता स्पष्ट गर’ भन्नका लागि पो उहाँले देउवासँगको सम्बन्धबारे प्रश्न गर्नुभएको हो कि जस्तो मलाई लागेको थियो, तर त्यसो होइन रहेछ । गम्भीर मुद्रामा रहनुभएका कोइरालाले भन्नुभयो, ‘त्यसो भए तपार्इंले एकपटक शेरबहादुरलाई सोध्नुपर्‍यो, किसुनजीलाई हराउने काममा सहयोग गर्न उनी तयार छन् कि छैनन् ।’

मैले ‘हवस’ भनेँ । र, सोही दिनको साँझ हरिहरभवनस्थित मन्त्रीनिवास पुगेँ, जहाँ गृहमन्त्री देउवाको निवासस्थान थियो । मैले आफू आउनुको मूल उद्देश्य स्पष्ट गर्दै भनेँ, ‘दाइ गिरिजाप्रसाद कोइराला किसुनजीलाई चुनावमा पराजित गर्न चाहनुहुन्छ ।’ मैले आफ्नो कुरा पूरा भन्न पाएकै थिइनँ, बीचैमा देउवाले भन्नुभयो, ‘वाफ रे ऽऽऽ हो र ? यो कुरा साँच्चै हो त ?’

जवाफमा मैले भनेँ, ‘म अरू दिन तपाईंसँग आफैँ भेट गर्न आउँथेँ, आजचाहिँ गिरिजाप्रसाद कोइराला स्वयम्ले पठाएर आएको हुँ र मैले तपार्इंको जवाफ लिएर जानुपर्नेछ ।’ त्यसपछि उहाँले प्रश्न गर्नुभयो, ‘मैले के गर्नुपर्‍यो त ?’

‘नेपाल प्रहरीको सहयोगबिना किसुनजीलाई चुनावमा पराजित गर्न मुस्किल पर्ने भयो रे, तपाईंले यस कार्यमा सहयोग गरिदिनुपर्‍यो भन्ने गिरिजाबाबुको भनाइ छ,’ मैले भनेँ । मेरा कुरा सुनिसकेपछि देउवाले एकदम तर्कंदै भन्नुभयो, ‘हेर्नुस्, म यी बूढाहरूको झगडामा फस्न चाहन्नँ । आफ्नै पार्टीको नेतालाई चुनावमा हराउन म लाग्दिनँ । यो काममा मेरो कुनै प्रकारको सहयोग हुँदैन । यस्ता काममा लाग्नुभन्दा बरु म सब कुरा छोड्छु र डडेल्धुरामा गाई पालेर बस्छु । सहयोग नगरेकाले कोही एक रिसाउँछन् र मप्रति नकारात्मक बन्छन् भने बनून् ।’
sher-bd-deuwa
मैले भनेँ, ‘यो त तपार्इंले मलाई भन्नुभयो, अब गिरिजाबाबुलाई चाहिँ मैले के भन्ने ?’
‘त्यही भनिदिनुहोस् न, म यस्ता कुरामा लाग्दिनँ, बरु डडेल्धुरा गएर गाई पालेर बस्छु भन्यो भनिदिनुहोस्,’ देउवाले भन्नुभयो । त्यसपछि म देउवासँग बिदा भएर मन्त्रिक्वार्टरबाट बाहिरिएँ र भोलिपल्ट बिहानै बालुवाटार पुगी देउवाको जवाफ कोइरालालाई सुनाएँ । आफ्नो मिसनमा गृहमन्त्रीबाट असहयोग हुने भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्काल प्रहरी प्रमुख (मोतीलाल बोहोरा)लाई बालुवाटारस्थित आफ्नो निवासस्थानमा बोलाउनुभयो र निर्देशन दिँदै भन्नुभयो–, ‘आईजीपी साहेव, अबदेखि एक महिनासम्म तपाईंले नियमित रिपोर्टिङ सीधै मलाई गर्नुपर्‍यो र मेरो निर्देशनअनुरूप तपाईंले काम गर्नुहोस् । गृहमन्त्रीसँग सामान्य सम्पर्कमा मात्र रहनुहोस् ।’

त्यसपछि आईजीपीबाट सीधै प्रधानमन्त्रीलाई नियमित ‘ब्रिफिङ’ गर्ने काम सुरु भयो र किसुनजीलाई निर्वाचनमा पराजित नगरिन्जेलसम्म यो क्रम चलिरह्यो । आफ्नै प्रधानमन्त्रीको इच्छाअनुरूप काम नगरेको ‘गल्ती’ का निम्ति देउवा दण्डित हुनुभएन, त्यसैले देउवाले डडेल्धुरातिरै फर्केर गाईपालनमा सीमित हुनु पनि परेन । यस घटनाले देउवाप्रतिको मेरो सम्मानभाव बढायो र देउवा गिरिजाप्रसाद कोइरालाभन्दा माथिल्लो स्तरको नेता हुनुहुँदोरहेछ भन्ने अनुभूति मलाई यसै घटनापछि भएको हो ।

– यादव शर्मा