‘साग’मा किन भयो खेलाडीको टिठलाग्दो प्रदर्शन ?

‘साग’मा किन भयो खेलाडीको टिठलाग्दो प्रदर्शन ?


Shree Bikram Bhandari
तर, दुर्भाग्य फाइनलमा नेपालले

– श्रीविक्रम भण्डारी

भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालका लागि उपलब्धिहीन अर्थात् कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तै भएको छ । राज्यको करोडौँको ढुकुटी सिध्याएर २३ खेलमा प्रतिस्पर्धा गरेको नेपाल अन्तिममा तीन स्वर्ण जित्दै छैटौँ स्थानमा सीमित भएको छ । १२औँ सागअघि १० स्वर्ण जित्ने दाबी गरेको नेपालको हैसियत टिठलाग्दो बनेको छ । डाडुजत्रो हैसियत बोकेर नेपालले मानाको फुर्ती लगाएको १२औँ सागमा नेपाली खेलाडीको प्रदर्शनबाट साबित भएको छ । अर्को शब्दमा, हात्ती मार्ने दाबीका साथ सागको प्रतिस्पर्धामा उत्रिएको नेपालको भागमा अहिले मुसो परेको छ । साँचो अर्थमा भन्नुपर्दा नेपाल अन्तिमबाट तेस्रो भएको छ । नेपाल सागमा सहभागिता जनाएका सबैभन्दा कमजोर राष्ट्र माल्दिभ्स र भुटानको सूचीमा परेको छ । जुन नेपालको लागि शर्मनाक कुरो हो । पहिलो स्वर्णपछि दोस्रो स्वर्ण जित्नमा लगाएको समय नेपालका लागि कुनै प्रसव पीडाभन्दा भन्दा कम थिएन । जसले हात्तीझैँ बाह्र वर्षमा ब्याएको आभास दिलाएको थियो । अन्तिम दिनअघि थपिएको तेस्रो स्वर्णले नेपाललाई साँच्चिै राहत प्रदान गर्‍यो, यसर्थमा कि त्यो स्वर्ण नेपालले फुटबलमा जितेको थियो । यसरी बंगलादेशमा सम्पन्न ११औँ सागमा आठ स्वर्ण पदक जितेको नेपाल १२औँ सागमा तीन स्वर्णमा खुम्चिएको थियो ।

१२औँ सागमा नेपालले उसु, जुडो र पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो । अन्य १९ खेल स्वर्ण पदकविहीन बनेका थिए । जसमा दक्षिण एसियाली खेलकुदमा सर्वाधिक स्वर्ण पदक जितेर कीर्तिमान बनाएको तेक्वान्दोसमेत सामेल थियो । नेपालले तेक्वान्दोबाट थुप्रै स्वर्ण पदकको अपेक्षा गरे पनि १२औँ सागमा तेक्वान्दो खेलाडीले कुनै चमत्कार देखाउन सकेनन् । पाँच महिला र दुई पुरुष खेलाडी फाइनलमा प्रवेश गरे पनि कसैले पनि स्वर्ण पदक जित्न सकेनन् । तेक्वान्दोका खेलाडीहरू रजत र कांस्यमै सीमित रहे । तेक्वान्दोले यसपटक महिला खेलाडीबाट स्वर्ण पदकको बढी आशा गरेको थियो । सो कुरा मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले बारम्बार दोहोर्‍याएका पनि थिए । यो कुरालाई सही साबित गर्दै पाँचैजना महिला खेलाडी फाइनलमा पुगेकासमेत थिए ।
SAAG 2016 Logo
तर, दुर्भाग्य फाइनलमा नेपालले सोचेजस्तो भएन । सबै खेलाडी भारत, अफगानिस्तान र पाकिस्तानी खेलाडीसँग पराजित भए । यसरी आठौँ साफमा १४ स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान कायम गरेको तेक्वान्दो १२आँै सागसम्म आइपुग्दा स्वर्ण पदकविहीन बनेको छ । जसले तेक्वान्दो खेलमा समेत प्रश्नचिह्न खडा गरेको छ । यसर्थमा कि सूर्यका अगाडि करोडौँ, करोडौँ बत्तीहरूको कुनै अर्थ हुँदैन, त्यसका लागि एउटा सूर्य नै काफी हुन्छ । यहाँ भन्न खोजिएको कुरा के हो भने तेक्वान्दोजस्तो नेपालको नम्बर एक खेलले जतिसुकै रजत जिते पनि त्यसले कुनै अर्थ राख्दैन । आखिर स्वर्ण भनेको स्वर्ण हो, जसलाई ९९ रजतले पनि जित्न सक्तैन । एक स्वर्ण पदक जित्ने अङ्क–तालिका माथि हुन्छ । यो तीतो सत्य तेक्वान्दोका खेलाडी, पदाधिकारी र प्रशिक्षकलाई चेतना हुन आवश्यक छ । अन्यथा आउँदो सागमा तेक्वान्दो सूची कांस्य पदकमै सीमित नहोला भन्न सकिँदैन ।

त्यस्तै १२औँ सागमा उसुबाट पनि थुप्रै स्वर्ण पदकको आशा गरिएको थियो । उसुमा नेपाललाई आंशिक सफलता मिले पनि आफ्नो प्रतिबद्धतामा खरो उत्रिन सकेन । आफ्नो पहिलो सहभागिता अर्थात् ११औँ सागमा दुई स्वर्ण पदक जितेको उसु १२औँ सागमा एक स्वर्णमा सीमित भएको थियो । २३ वटा स्वर्ण पदकका लागि भिडेको उसुमा नेपालका ११ खेलाडी फाइनलमा पुगेका थिए । तर, विडम्बना † फाइनलमा उसु खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । परिणाम एक स्वर्ण जित्नु नै उसुको उपलब्धि बन्यो । ११ खेलाडी फाइनलमा पुगेर पनि दोस्रो स्वर्ण पदक जित्न नसक्नुमा उसुका खेलाडीहरू कहाँ चुके त्यो छलफल र समीक्षाको विषय बनेको छ । त्यस्तै, जुडोमा फुपुल्यामुु शेर्पाले नेपाललाई स्वर्ण पदक दिलाउँदा महिला फुटबल टोली भने फाइनलमा बिचरा सावित भएको थियो । लिग चरणमा सानदार प्रदर्शन गरेर समूह विजेता बन्दै फाइनलको यात्रा तय गरेको महिला फुटबल टिमबाट स्वर्णको आशा गरिए पनि फाइनलमा भारतसामु निरीह साबित भएको थियो । फाइनलमा फितलो प्रदर्शनकै कारण नेपाल भारतसँग चार–शून्यले पराजित भएको थियो ।
sport 3

१२औँ सागमा समावेश २२ वटै खेलमा नेपालले सहभागिता जनाएको थियो । जसमा प्रायजसो खेलमा कांस्य पदक हात पारेको नेपाल सुटिङ, टेनिस, कबड्डी र ह्यान्डबलमा पदकविहीन बनेको थियो । विगतका साफमा बक्सिङ एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल यसपटक यी खेलमा स्वर्ण पदकविहीन बनेको छ । त्यस्तै पहिलोपटक १२औँ सागमा समावेश गरिएको ट्रायाथलनमा नेपालले आफ्नो पहिलो सहभागितामै रजत पदक जितेर भविष्यमा स्वर्ण पदकको ढोका खोलेको छ । त्यस्तै १२औँ सागमा सर्वाधिक सफल खेलाडी गौरिका सिंह बनिन् । उनले पौडीलाई ऐतिहासिक सफलता दिलाउँदै एक्लैले एक रजत तीन कांस्य पदक जितेकी थिइन् । गौरिकाको यो प्रदर्शन साग खेलकुदमा कुनै पनि नेपाली खेलाडीले गरेको उत्कृष्ट प्रदर्शन हो । अहिलेसम्म एउटै सागमा कुनै पनि नेपाली खेलाडीले चारवटा पदक जित्न सकेको छैन । त्यस्तै, पुरुष फुटबलमा नेपालले प्राप्त गरेको स्वर्ण एक प्यासीले मरुभूमिमा प्राप्त गरेको पानीभन्दा कम थिएन । साँचो रूपमा भन्नुपर्दा फुटबलमा प्राप्त गरेको स्वर्णले १२औँ सागमा नेपालले गरेको फितलो, कमजोर र निराशाजनक प्रदर्शनलाई किनारा लगाइदिएको थियो । फुटबलमा नेपालले एक स्वर्ण जिते पनि त्यो २० स्वर्णभन्दा कम थिएन ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा जहिले पनि दबदबा कायम गर्दै आएको भारतले यसपटक पनि सोही प्रदर्शनलाई दोहोर्‍याएको छ । १२औँ सागमा भारतले १८८ स्वर्ण, ९० रजत र ३० कांस्यसहित तीन सय आठ पदक जितेर प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै, दोस्रो स्थान हासिल गर्ने श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै २५ स्वर्ण, ६३ रजत र ९८ रजत जित्दै कुल एक सय ८६ पदक जितेको थियो । यसैगरी तेस्रो स्थान हासिल गर्ने पाकिस्तानले १२ स्वर्ण, ३७ रजत र ५७ कांस्य गरी कुल एक सय ६ पदक जितेको थियो । त्यस्तै चौथो स्थान हासिल गर्ने अफगानिस्तानले नौ स्वर्ण, पाँचौँ स्थान हासिल गर्नै बंगलादेशले चार स्वर्ण र छैटौँ स्थान हासिल गर्ने नेपालले तीन स्वर्ण, २३ रजत र ३४ कांस्यसहित कुल ६० पदक जितेको थियो । अहिलेसम्म सागमा स्वर्ण पदक जित्न नसकेका माल्दिभ्स र भुटान यसपटक पनि स्वर्ण पदक जित्नबाट असफल भएका थिए । माल्दिभ्सले फुटबलमा स्वर्ण पदक जित्ने सम्भावना भए पनि उक्त सम्भावनालाई नेपालले सेमिफाइनलमा तुहाइदिएको थियो । १२औँ सागमा नेपाल र माल्दिभ्सको खेललाई सागकै इतिहासमा सनसनीपूर्ण खेलको रूपमा गनिन्छ ।