तेस्रो शक्तिकेन्द्र पैदा हुन नदिन रामचन्द्रलाई हराउने योजना

तेस्रो शक्तिकेन्द्र पैदा हुन नदिन रामचन्द्रलाई हराउने योजना


Ramchandra

तेह्रौँ महाधिवेशन (२०७२ फागुन २०–२३) मा सुशील कोइराला र शेरबहादुर देउवा आपसमा प्रतिस्पर्धा गर्ने तयारी भइरहेका बेला सभापति कोइरालाको निधन भएपछि कांग्रेसको आन्तरिक राजनीतिमा अनपेक्षित प्रभाव परेको छ । खासगरी हालको संस्थापन पक्षभित्र उत्पन्न तनावले असहज स्थिति उत्पन्न गराएको छ । सुशील कोइरालाको निधनपश्चात् उहाँको स्थान उपसभापति रहनुभएका रामचन्द्र पौडेलले स्वत: लिनुहुने अनुमान र विश्वास गरिएको थियो । कोइराला परिवारको विश्वासमा पर्नुभएका पौडेललाई उहाँले विश्वास गर्नुभएकाहरूबाटै धोखाधडीको शृङ्खला प्रारम्भ भएको छ । स्वयम् सुशील कोइराला रामचन्द्र पौडेलको हातमा पार्टीको सत्ता सुम्पने पक्षमा हुनुहुन्नथ्यो र उहाँले राष्ट्रपति बन्ने अवसर छोड्नुको मुख्य कारण पनि पार्टी सभापति बन्नका लागि नै थियो ।

पौडेलले धेरै अगाडिदेखि नै आफूलाई संस्थापन पक्षबाट सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै देश दौडाहा गर्नुभएको कोइरालालाई मन परिरहेको थिएन । पौडेलको भूमिकाबाट असन्तुष्ट बन्नुभएका कोइरालाले आफ्नो परिवारका सदस्य एवम् अन्य निकटवर्तीहरूसँग ‘देउवाले भन्दा रामचन्द्रले दु:ख दियो’ भन्ने टिप्पणी पनि गर्नुभएको थियो । संसदीय दलको नेता बनाइदिने प्रस्तावलाई पनि रामचन्द्रले लत्याउन सक्ने सम्भावना देखेपछि सुशील कोइरालाले सुजाता कोइराला र प्रकाशमान सिंहलाई सभापतिको उम्मेदवार बन्ने ‘अनौपचारिक घोषणा’ गर्न लगाउनुभएको थियो ।

ज्ञातव्य छ, सुशील कोइराला डा. शशाङ्क कोइरालालाई आफ्नो उत्तराधिकारी बनाउन चाहनुहुन्थ्यो र रामचन्द्र अघि सर्दा कोइराला परिवारका सबैजसो सदस्यहरूले असजिलो मानेका थिए । अहिले सुशीलको निधनपछि पनि रामचन्द्र पौडेलप्रति कोइराला परिवारका सदस्यहरूले ‘दोहोरो व्यवहार’ प्रस्तुत गरिरहेका छन् । आफूलाई महामन्त्री या उपसभापति दिने निश्चित गरिएमा मात्र पौडेललाई सघाउन तयार रहेको व्यवहार कोइराला परिवारका प्रमुख तीन सदस्यहरूले प्रस्तुत गरिरहेका छन् । तर, कोइराला परिवारका सदस्य सबैलाई पदाधिकारी बनाउन असम्भव छ । डा. रामशरण महत, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये महत र सिंहलाई छोड्न सक्ने अवस्थामा पौडेल हुनुहुन्न । त्यसैले कोइराला परिवारका तीन सदस्यमध्ये एकलाई मात्र पदाधिकारी बनाउन सकिने र को पदाधिकारी बन्ने हो त्यसको निर्णय आफैँले लिन पौडेलले डा. शशाङ्क, डा. शेखर र सुजातालाई सुझाव दिनुभएको, तर उहाँहरूले अहिलेसम्म निर्णय नदिनुभएको बुझिएको छ ।

कांग्रेसमा कोइराला परिवार एउटा शक्तिकेन्द्रको रूपमा रहिआएको र अर्को शक्तिकेन्द्र वरिष्ठ नेता शेरबहादुर देउवा बन्नुभएको छ । अब अर्को शक्तिकेन्द्र पैदा नहोस् भन्नेमा गिरिजाप्रसाद कोइराला निकै सचेत हुनुहुन्थ्यो र सुशील कोइरालाले पनि गिरिजाप्रसादको यस्तै अवधारणालाई पछ्याउनुभएको थियो । देउवालाई शक्तिकेन्द्र बन्ने अवसर दिनु गम्भीर गल्ती भएको महसुस कोइराला परिवारले गर्दै आएको छ । अब तेस्रो शक्तिकेन्द्र पैदा हुने अवस्था सिर्जना हुन नदिन कोइराला परिवार अहिले पनि निकै सचेत रहेको छ । त्यसैले रामचन्द्र पौडेललाई सकेसम्म उम्मेदवार बन्न नदिने र बनिहाले पनि निर्वाचनमा विजयी नगराउने सोच कोइराला परिवारले बनाएको बुझिन्छ । रामचन्द्र पौडेल विजयी बनेमा अर्को एउटा शक्तिकेन्द्र पैदा हुने र त्यसले कोइरालाहरूको प्रभावलाई क्षति पुर्‍याउन सक्ने निष्कर्ष निकाल्दै कोइराला परिवारले पौडेललाई विजयी हुन नदिने गुप्त योजना बनाएको बुझिएको छ ।

सभापति पदमा रामचन्द्र पौडेललाई उम्मेदवार स्वीकार गरेपछि पौडेलले डा. शशाङ्क कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाउने निश्चितप्राय: छ । आफू विजयी बनेमा प्रकाशमान सिंह र डा. रामशरण महतमध्ये एकलाई उपसभापति र अर्कोलाई महामन्त्री नियुक्त गर्ने पक्षमा पौडेल रहनुभएको बताइन्छ । तर, सुजाता कोइरालाको आक्रामक व्यवहारको सामना पौडेलले कसरी गर्न सक्नुहोला, जिज्ञाशाको विषय बनेको छ । त्यस्तै डा. शेखर कोइराला र महेश आचार्यको व्यवस्थापन पनि पौडेलका निम्ति एउटा अर्को समस्या बनेर उभिएको छ । हालको संस्थापन पक्षभित्र उत्पन्न तनाव शिथिलीकरण पौडेलका लागि चुनौती बनेकोले यसको असर निर्वाचन परिणाममा पर्ने देखिन्छ ।

RC paudel

त्यसै पनि अर्को शक्तिकेन्द्र पैदा नहोस् भन्ने कुरामा सचेत रहेको कोइराला परिवारलाई रामचन्द्र पौडेलसँग टाढिन एउटा निहुँ चाहिएको छ । कुनै पनि निहुँमा पौडेललाई पराजित गरी महमन्त्रीमा डा. शशाङ्क कोइरालालाई विजयी बनाउन सक्दा कांग्रेसमा दुईवटा मात्र शक्तिकेन्द्र (देउवा र कोइराला) कायम रहने र यसले कोइराला परिवारको राजनीतिक भविष्य सुरक्षित गर्ने विश्लेषण कोइराला र तिनका हितैषीहरूले गरेका छन् । त्यसैले प्रतिस्पर्धी रामचन्द्र पौडेललाई पराजित गर्न शेरबहादुर देउवाले खासै कसरत गर्नुपर्ने अवस्था नरहेको ठान्न थालिएको छ । तर, नेता रामचन्द्र पौडेल भने आफू उम्मेदवार हुनेबित्तिकै पार्टीका साठी प्रतिशत मतदाताले आफूलाई मतदान गर्छन् भन्नेमा विश्वस्त हुनुहुन्छ । पौडेलको यस्तो विश्वास तेह्रौँ महाधिवेशनको समापनसँगै भङ्ग भएन भने त्यसलाई एउटा चमत्कारका रूपमा लिनुपर्ने अवस्था छ ।