देहब्यापारलाई व्यवस्थित किन नगर्ने ?

देहब्यापारलाई व्यवस्थित किन नगर्ने ?


suman baral 1
:: सुमन बराल ::

अहिले नेपालमा आङ सिरिङ्ग हुने खालका घरेलु हिंसा र बलात्कारका घटनाहरू सार्वजनिक हुने क्रम बढ्दो छ । हाडनाता करणी, बालबालिका एवम् वृद्धाहरू समेत बलात्कृत हुनु, ६० वर्ष नाघेका वृद्धहरूबाट नै नारी असुरक्षित हुनुलगायतका घटनाले एकातिर बलात्कार गर्नेलाई फाँसीको सजाय दिलाउन माग राख्दै बेटी बचाउ अभियान चलिरहेको छ भने अर्कोतिर बलात्कारजस्ता अपराधहरू घटाउन देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ भन्ने कुरा पनि उठिरहेको छ । यसै सन्दर्भमा संसारकै एक पुरानो व्यवसाय मानिने देहव्यापारलाई नेपालमा कानुनी मान्यता दिन सकिन्छ वा सकिँदैन ? सरल नभए पनि यो प्रश्नको उत्तर खोज्न आवश्यक भएको छ ।

देहव्यापारबारे विश्वभर भिन्नभिन्न खाले मान्यता र मापदण्ड छन् । संसारमा देहव्यापारबारे कस्ता–कस्ता नीतिनियम छन् र नेपालमा कस्तो मोडल उपयुक्त हुन सक्छ भनेर खोज्न आवश्यक छ । प्रहरीले डन समात्न नसके पनि युवायुवतीलाई होटल र पार्कमा समातेर बहादुरी देखाउँदै आएका छन् । तसर्थ देहव्यापार भएको वा नभएकै कारणले आपराधिक गतिविधि हुन नदिन राज्यले कुनै उपयुक्त विकल्प खोज्नुपर्छ भन्ने आलेखको आग्रह हो ।
यौन व्यवसाय 33
प्रहरीले देश र समाजमा अपराध घटाउन पर्याप्त प्रयास गर्नुपर्छ । तर, ठूलै लेनदेन र राजनीतिक दबाबका कारण खुलेआम गुण्डागर्दी गर्दै हिँड्ने डनहरूलाई समात्न नसक्ने प्रहरीले सामाजिक सुरक्षा र मर्यादाका नाममा उमेर पुगेका युवायुवती समझदारीमा एकान्त ठाउँमा बस्न पाउने अधिकार छिन्न मिल्छ ? डन समात्न नसकेर निरीह बनेका प्रहरीले कुनै जोडीलाई समातेर गौरवान्वित बन्न सुहाउँछ ? कुनै १८ वर्ष उमेर काटेका युवा र युवती कुनै होटल, घरमा आपसी समझदारीमा बस्न पाउँछन् कि पाउँदैनन् ? प्रत्येक दिन सोझा र गरिब महिला बोक्सीको आरोपमा मारिन्छन् । कति अबोध नारीलाई दाइजो प्रथाले मार्दै छन् । अझै पनि कति अन्तरजातीय विवाह गरेका जोडी मारिन्छन् । हजारौँ नारीको घरेलु हिंसाले अकालमा ज्यान जाने गरेको छ । भारतलगायत अन्य देशमा नेपाली चेलीहरू बेचिने क्रम रोकिएको छैन । बाल श्रमिकहरूको स्थिति दयनीय छ । अनेक गिरोहले बिहे गराएर वा घरेलु कामदारका रूपमा संसारभर चेलीहरू बेचिरहेका छन् । के नेपाल सरकार र प्रहरीले होटल र लजका कोठामा खोजतलासी गरेझैँ समाजका विकृति हटाउन सार्थक प्रयास गरेका छन् ? के नेपालमा अब उमेर पुगेका केटाकेटी पनि विवाह पूर्वशारीरिक सम्पर्क राख्न नपाउने नीतिनियम बन्न लागेको हो ? साना लज र होटलमा छापा मार्ने प्रहरीको नजर ठूला तारेहोटलमा किन पुग्दैन ? ती ठाउँमा आपराधिक गतिविधि नहुने हो वा निश्चित हिस्सा समयमा नै आउने गर्छ ? यी प्रश्नहरूको उत्तर खोज्न अति आवश्यक भएको छ ।

पहिलो, कुनै पनि प्रकारको देहव्यापारलाई गैरकानुनी बनाउने । उत्तरकोरिया, सुडान, साउदी अरबलगायतका देशमा वेश्यावृत्तिलाई मृत्युदण्डको सजाय पाउन सक्ने अपराधको रूपमा लिइन्छ । यौन प्राकृतिक भएकाले पनि कानुनमा मान्यता नपाएका देशमा पनि वेश्यावृत्ति हुने गरेको छ । अधिकांश अवस्थामा गरिबी, अशिक्षा, अज्ञानता, पुर्खौली पेसालगायतका कारणले गर्दा महिला यी देशमा जोखिम मोलेर वेश्यावृत्ति गर्ने गर्छन् । यस्तो अवस्थामा महिलामाथि हिंसा झन् धेरै हुने गरेको विभिन्न तथ्याङ्कहरूले देखाउँछ । नेपाली महिलाले विभिन्न खाडी राष्ट्रहरूमा भोग्ने यौन हिंसाका घटनाहरूले वेश्यावृत्ति गैरकानुनी भनिए पनि व्यवहारमा रोक्न नसकेको देखिन्छ । कतिपय अरब राष्ट्रहरूमा बलात्कार भएको प्रमाणित गर्न कठिन छ र महिला र गैरमुस्लिमलाई साक्षीको रूपमा लिइँदैन र कतिपय अवस्थामा स्वयम् पीडितले नै व्यभिचार गरेको आरोपमा उल्टै सजाय पनि पाउने गरेका छन् । अफगानिस्तानलगायतका देशमा विवाहअघि वा विवाहपछि अन्य पुरुषसँग शारीरिक सम्पर्क राखेमा ढुङ्गाले हानेर मार्ने चलन यथावत् छ । यो विकल्प नेपालले लागू गर्ने हो भने अब उमेर पुगेका केटाकेटी पनि विवाहपूर्व शारीरिक सम्पर्क राख्न नपाउने नीतिनियम बनाउनुपर्छ । आपसी समझदारी भए पनि आफ्नो जीवनसाथीबाहेक अन्यसँग शारीरिक सम्पर्क गरेमा वेश्यावृत्तिको आरोपमा सजाय दिइनुपर्छ । नेपालमा धेरैले विवाह दर्ता नगरी सँगै बस्ने गरेका छन्, त्यसलाई पनि निषेध गर्नुपर्छ ।

दोस्रो, पैसा वा अन्य कुराका लागि देहव्यापार गर्नेले बेच्न पाउने तर ग्राहकले किन्न नपाउने । स्वीडेन, नर्वे, रोमनियालगायतका केही देशहरूमा देहव्यापार गर्नेलाई नभई किन्ने ग्राहकलाई अपराधी मानिन्छ । बेल्जियम, नेदरल्यान्डलगायतका केही युरोपेली देशमा देहव्यापार गर्न पाइन्छ अनि वेश्यालय खोल्न भने पाइँदैन, तर व्यवहारमा घोषित वा अघोषित वेश्यालयहरू भने हुने गरेका छन् ।
देश ब्यापार
स्वीडेनमा सन् १९९९ मा वेश्यावृत्ति घटाउने लक्ष्यसाथ देहव्यापार गर्नेलाई नभई किन्ने ग्राहकलाई जरिवाना र ६ महिनाको जेल सजायसम्म हुने कानुन बन्यो । फलस्वरूप कानुनले संरक्षण गरेकाले वेश्यावृत्ति गर्नेले अमानवीय व्यवहार खेप्ने सम्भावना घट्यो । सडक वेश्यावृत्ति पनि आधा घटेको छ । नेपालमा वेश्यावृत्तिले कानुनी मान्यता नपाए पनि विभिन्न मसाज सेन्टर, ब्युटिपार्लर, लज, होटल, डान्सबार र रेस्टुरेन्टहरूमा लुकिछिपी यौनजन्य व्यवसाय हुने गरेको छ । तसर्थ किन्ने ग्राहकलाई भन्दा बेच्नेलाई दोषी देख्ने नेपाल प्रहरी र सरकारले स्वीडेनले अभ्यास गरेको मोडलबाट सिक्न सक्छ ।

तेस्रो, देहव्यापारलाई कानुनी मान्यता दिने । जमर्नी, बेल्जियम, कोलम्बिया, ग्रिस, पेरूलगायतका देशमा देहव्यापारलाई कानुनी मान्यता दिइएको छ र वेश्यालय खोल्न पनि पाइन्छ, तर निश्चित प्रक्रिया र अनुगमनहरू हुने गरेका छन् । यो व्यवस्थामा अन्य श्रमिकलाईझँै वेश्यावृत्तिका श्रमिकलाई पनि समान व्यवहार गर्ने र उनीहरूको काम गर्ने अवस्थामा पनि सुधार गर्ने उद्देश्य हुन्छ । ब्रिटेनमा वेश्यावृत्तिले कानुनी मान्यता पाएको छ, तर यदि वेश्यावृत्तिमा संलग्न हुनेले उक्त पेसा करकापमा गरेको प्रमाणित भएमा ग्राहकलाई सजाय दिइन्छ ।

तेस्रो विकल्प रोज्ने हो भने देहव्यापार गर्नेलाई श्रमिकसरह लाइसेन्सको व्यवस्था गर्नुपर्छ ता कि उनीहरूले राज्यलाई कर तिर्न सकुन् र राज्यबाट पाइने स्वास्थ्य, आवास, पेन्सनलगायतका सुविधा लिन सकुन् । देहव्यापार गर्न १८ वा २१ अथवा कति उमेर हद राख्ने भन्ने कुरा राज्यबाट निर्धारण र नियन्त्रण हुनुपर्छ । वेश्यावृत्तिमा संलग्नले बाध्यताले उक्त पेसा गरेको प्रमाणित भएमा ग्राहकलाई सजाय दिइनुपर्छ । अर्थात् तस्करीहरूलाई निरुत्साहित गर्दै बाध्यता वा करकापमा वेश्यावृत्ति गराउने र किन्ने ग्राहकलाई उचित सजाय हुनुपर्छ । लाज वा सामाजिक अपहेलना हुने डरले देहव्यापार गर्नेले लाइसेन्स नलिन पनि सक्छ, तर अनिवार्य रूपमा दर्ता गरिनुपर्दछ ता कि राज्यले उनीहरूको हकअधिकारका लागि काम गर्न सकोस् । निश्चित क्षेत्रमा वेश्यालय खोल्न राज्यले नीतिनियम बनाउनुपर्छ र कुनै पनि प्रकारको हिंसा वा गैरमानवीय घटना हुन नदिन अनुगमनहरू निरन्तर गर्नुपर्दछ । स्वास्थ्य अवस्थाबारे समयसमयमा जाँच र शारीरिक सम्पर्क गर्दा कुनै पनि प्रकारको यौनजन्य रोगहरू लाग्ने जोखिम कम गर्न अनिवार्य रूपमा अस्थायी साधनको प्रयोग हुनुपर्छ । यो विकल्पले सरकारलाई रोजगारी वा देहव्यापार गर्ने अनुमति माग राख्ने वादी समुदायलगायतका अनि असुरक्षित तरिकाले पेसा गर्न बाध्य भएकालाई राहत मिल्न सक्छ ।
हिन्दू धर्मावलम्बीहरूको मठमन्दिरमा देवी र देउताका यौनआसन भएका विचित्रका मूर्ति र तस्बिरहरू हुने गरेको छ ।
temple
यौनजीवनबारे बोल्नसमेत लाज मान्ने वा घृणा गर्ने हाम्रो समाजमा देवी र देउताका लिङ्गहरू भने पूजा गरिन्छन् । हिन्दू ग्रन्थहरूमा अक्सर स्वर्गका राजा इन्द्र र अन्य देउताहरूले सुन्दर अप्सराहरूको नृत्य र सङ्गीतबाट मनोरञ्जन लिएको बयान गरिन्छ । मेनुका, उर्वशी, रम्भालगायतका अप्सराहरूको प्रयोग गरेर विश्वमित्रलगायतका तपस्वीहरूको समेत तपस्या भङ्ग गरेको अनेकौँ उदाहरण छन् । हिन्दूधर्मलाई नजिकबाट हेर्दा सत्ययुगदेखि नै शारीरिक सम्पर्क र यौनानन्दमा भगवान्हरू पनि लिप्त भएको देखिन्छ । यस्ता घटनाले आदिकालदेखि नै यौन व्यवसाय रहेको पुष्टि गर्छ । तसर्थ नेपालले पनि संसारमा अभ्यास भएका कुनै एक मोडल प्रयोग गर्न सक्छ । यौन एक प्राकृतिक कुरा हो । संसार चल्नका लागि पनि यो आवश्यक छ । तर, मानिस एक सामाजिक प्राणी भएकाले यौनलाई अमर्यादित हुन पनि दिनु हुँदैन । नेपालमा वेश्यावृत्तिले कानुनी मान्यता नपाए पनि लुकिछिपी यौनजन्य व्यवसाय हुने गरेको छ । तसर्थ नेपालको धर्म, परम्परा र चालचलनअनुसार देहव्यापारलाई मर्यादित र व्यवस्थित गर्नुपर्छ ता कि वेश्यावृत्ति भएको वा नभएकै कारणले आपराधिक वा अमानवीय गतिविधि नहुन् ।