तेक्वान्दोमा असफलता : ‘सेन्सर’ नै प्रमुख कारण हो त ?

तेक्वान्दोमा असफलता : ‘सेन्सर’ नै प्रमुख कारण हो त ?


Shree Bikram Bhandari
:: श्रीविक्रम भण्डारी ::

१२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको प्रदर्शन कस्तो रह्यो त्यो घामजस्तै छर्लङ्ग छ । सागलाई ओलम्पिकको संज्ञा दिँदै सहभागिता जनाएको नेपालले त्यहाँ समावेश २२ खेलबाट पदक जित्ने आशा मात्र होइन विश्वास गरेको थियो । त्यसमा चार खेल अनुत्तीर्ण भए पनि अन्य अठार खेलले कसैले स्वर्ण, कसैले रजत त कसैले कांस्य पदक जित्न सफल भएका छन् । नेपालले १२औँ सागमा ६० वटा पदक जित्न सफल भएको छ । जुन पछिल्लो सागको पदकसङ्ख्याको लगभग दोब्बर हो । यस्तो नतिजा सामुन्ने हुँदासमेत किन १२औँ सागमा नेपालको प्रदर्शनलाई सफल मानिएको छैन, त्यसको विश्लेषण हुनु आवश्यक छ । यसर्थमा कि स्वर्ण पदक र अन्य पदकको तुलनात्मक दूरी कति छ त्यो बुझ्नुपर्ने जरुरी छ । खेलकुदमा सबै पदकको उत्तिकै महत्त्व हुने भए पनि स्वर्ण पदक भनेको स्वर्ण नै हो । जसको तुलना अन्य पदकसँग गर्न अलि मिल्दैन । नेपालले १२औँ सागमा ६० पदक जिते पनि त्यसमा स्वर्णको सङ्ख्या मात्र तीन थियो । त्यही स्वर्णको कमीले गर्दा अन्यको सफलता ओझेलमा परेको हो । अङ्कगणितीय हिसाबले नेपालले सफलता पाए पनि ज्यामितीय सफलता या स्वर्ण पदक प्राप्तिको हिसाबले नेपालको सफलता अर्थहीन बनेको हो । उदाहरणका लागि नेपालले १२औँ सागमा अफगानिस्तान, बंगलादेशको भन्दा धेरै पदक जितेको छ । तर, स्वर्ण पदक कम जित्नु नेपालका लागि दुर्भाग्य बन्यो । एउटै बढी स्वर्ण जित्ने बंगलादेश अङ्क–तालिकामा नेपालभन्दा माथि रह्यो ।

नेपाली खेलकुदमा तेक्वान्दोको इतिहास पल्टाउँदा त्यसको सफलताको इतिहास आफैँ बोल्छ । यो खेल नेपालको नम्बर एक खेल त्यसै भएको होइन, यसको रहस्य सफलता हो भनेर जोकोहीले पनि ठोकुवा गर्न सक्छ । ओलम्पिक, एसिया र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलाडीले प्राप्त गरेको सफलता अहिले पनि अन्य खेलका खेलाडीले उछिन्न सकेका छैनन् । जुन नेपाली खेलकुदका लागि गौरव र प्रतिष्ठाको विषय बन्दै आएको छ । तर, विडम्बना, अहिले त्यही तेक्वान्दो खेलले १२औँ दक्षिण एसियाली खेलकुदमा एउटा स्वर्ण पदकसमेत जित्न सकेन । यसको पछाडिको रहस्य थुप्रै भए पनि सागमा कहिल्यै स्वर्ण पदकविहीन नबनेको तेक्वान्दो १२औँ सागमा स्वर्णविहीन बनेको तीतो सत्य हाम्रोसामु छ । तेक्वान्दोको असफलताले अहिले खेलकुदलाई झस्काएको छ । त्यसैले अहिले प्रश्न उठेको छ– तेक्वान्दोको असफलताको पछाडिको रहस्य के हो ? त्यो जान्न आमखेलप्रेमी उत्सुक छन् । यसमा नेपाली खेलाडीको कमजोर प्रदर्शन थियो कि अन्य देशका खेलाडीले नेपाली खेलाडीभन्दा राम्रो प्रदर्शन गरेका थिए । त्यसको सही विश्लेषण हुनु आवश्यक छ । यसर्थमा कि तेक्वान्दोमा असफल हुनु खेलकुद नै असफल हुनु हो । यो कुरामा सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल तेक्वान्दो सङ्घ गम्भीर हुनु आवश्यक छ ।

१२औँ सागमा तेक्वान्दोका सात खेलाडीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । यी खेलाडीबाट नेपालले एउटा नभई सातवटै स्वर्णको आशा गरेको थियो । दुर्भाग्य, सातै खेलाडी फाइनलमा पराजित भए । तेक्वान्दो स्वर्ण पदकविहीन बन्दा खेलाडी, प्रशिक्षक र पदाधिकारी निरस थिए । तर, त्योभन्दा निरस र हतास १२औँ सागका सेभ दि मिसन तथा राखेपका सदस्यसचिव केशवकुमार विष्ट देखिन्थे । उनको छटपटी देख्दा जोकोहीले पनि अनुमान लगाउन सक्थ्यो, ‘उनीमाथि के बितिरहेको छ भनेर ।’ जुन अपेक्षा र आत्मविश्वासका साथ उनी तेक्वान्दो खेल हेर्न भेन्युमा पुग्थे, त्यसको नतिजा ठीक उल्टो आएपछि विष्टको छटपटी अरू बढेर जान्थ्यो । खै त आज पनि आएन त स्वर्ण पदक ? निराश हँुदै सानो स्वरमा विष्टको बोली फुट्थ्यो । यस्तो क्रम तीन दिन चलेको थियो । पहिलो दिनदेखि तेस्रो दिनसम्ममा पनि तेक्वान्दोले स्वर्ण पदक जित्न नसकेपछि खुद सदस्यसचिव विष्ट मात्र होइन, तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ, सहायक मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, अर्का सहायक मुख्य प्रशिक्षक संगीना वैद्य र प्रशिक्षक दीपक विष्ट हैरान थिए । उनीहरू यो अकल्पनीय नतिजाबाट खुद आश्चर्यचकित थिए । पछि उनीहरूको प्रतिक्रिया थियो, ‘खेलाडीहरूले राम्रो प्रदर्शन गरेका हुन्, स्वर्ण पदक जित्ने प्रयास पनि गरेका हुन्, तर भाग्यले साथ दिएन, विपक्षी खेलाडी हाम्रा खेलाडीभन्दा हावी भए ।’
ttt
माथिको कुरा तेक्वान्दो परिवारले बोल्ने हो भन्दा अतिसयोक्ति नहोला । किनकि खेलाडी, तेक्वान्दो सङ्घ र आफूलाई बचाउन उनीहरूले यो कुरा बोल्नु नितान्त आवश्यक पनि छ । खाँटी कुरा यसको असर आमखेलप्ेरमीमा कसरी परेको छ त्यो महत्त्वपूर्ण हुन्छ । तर, तेक्वान्दोको असफलतामाथि उठेको प्रश्नको जवाफ कसले दिने त्यो अहिले अहम् विषय बनेको छ । यसर्थमा कि तेक्वान्दो १२औँ सागमा स्वर्णविहीन बनेको छ । १२औँ सागमा सबैभन्दा बढी स्वर्णको आशा गरिएको खेल नाङ्गेझार भएर स्वदेश फर्केको छ । यसमा कुनै वहानाभन्दा पनि नेपाली खेलाडीको असफलताको द्योतक के हो ? त्यसको पर्दाफास हुनु जरुरी छ । हामीलाई डाइट कम भो, समयमै स्वदेश र विदेशमा प्रशिक्षण गर्न पाइएन, सेन्सरको ज्ञान भएन, सेन्सरकै कारणले पराजित भयौँ भनेर पन्छिने अवस्था छैन । के नेपाली खेलाडीले पहिलोपटक सेन्सर पद्धतिअनुसार खेलेको हुन् ? के उनीहरूलाई योभन्दा अघि सेन्सरको कुनै ज्ञान थिएन ? पक्कै थियो, तर हारपछि के बाहना बनाउने भनेर तेक्वान्दोका प्रशिक्षक र पदाधिकारीले यो सजिलो बाटो त रोजेका होइनन् ? रहस्यको गन्ध आएको छ ।

हार आफैँमा पाच्य हुँदैन, यसको पीडाको रापले जहिले पनि खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई पोलिराखेको हुन्छ । तेक्वान्दोमा भोगेको पराजयको पीडाको रापलाई थोरबहुत कम गर्न सदस्यसचिव विष्टले गुवाहाटीवाट ट्रेनमा स्वदेश फर्कने क्रममा तेक्वान्दोका प्रशिक्षकद्वय दीपक विष्ट र संगीना वैद्यसँग हारको कारणबारेमा जानकारी लिएका थिए । सो क्रममा विष्ट र वैद्यले पराजयको कारण ‘सेन्सर’ भएको सदस्यसचिवलाई जानकारी गराएका थिए । सो अवसरमा विष्ट र वैद्यले आफ्ना खेलाडीले सेन्सरयुक्त चेस्ट गार्ड र हेड गार्ड लगाएर प्रशिक्षण नगरेकै कारण तेक्वान्दोले स्वर्ण पदक जित्न नसकेको दाबीसमेत गरेका थिए । तर, वास्तविकता के हो, के तेक्वान्दो खेलाडीले स्वर्ण पदक नजित्नुको कारण सेन्सर नै थियो त ? त्यो अहिले खोजीको विषय बनेको छ । सेन्सरको बारेमा सदस्यसचिव अनविज्ञ हुन सक्छन, तर सेन्सरको बारेमा तेक्वान्दो खेलाडीलाई कुनै ज्ञान नै थिएन अर्थात् अनविज्ञ थिए भन्नचाहिँ मिल्दैन । यसर्थमा कि चेस्टगार्डमा सेन्सर राखेर उनीहरूले पटकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन् । हो, हेडगार्डको राखिएको सेन्सरको बारेमा भने खेलाडीहरू अनविज्ञ हुन सक्छन् । तर, नयाँ प्रविधिको बारेमा प्रशिक्षक अनविज्ञ होलान् त्यो अलि पाच्य हुन सक्तैन । सोझो कुरा, यदि प्रशिक्षकहरूलाई यस्तो कुराको ज्ञान हुँदैन भने उनीहरूले खेलाडीलाई कसरी प्रशिक्षण गर्न मिल्छ त्यो आफँैमा सोचनीय बनेको छ । सुनिनमा आएअनुसार तेक्वान्दोका प्रशिक्षकहरूले हेडगार्डमा सेन्सर राखेर खेलाएको १२औँ सागमा मात्र देखेको सदस्यसचिवलाई बताएको थाहा भएको छ ।

भ्रमको खेती गर्न सजिलो छ, तर त्यसबाट के प्राप्त हुन्छ त्यो अगाडि नै भन्न सकिन्छ । यतिबेला तेक्वान्दोले आफ्नो साख गुमाएर आमखेलमा परिणत भएको अवस्था छ । यस्तोमा कसैलाई पनि प्राविधिक र सैद्धान्तिक कुरा गरेर आफ्नो कमी–कमजोरीलाई ढाकछोप गर्नुभन्दा वास्तविकता के हो ? त्यसको पर्दाफास गर्नु तेक्वान्दोका लागि बुद्धिमानी ठहर्नेछ । यहाँ खेलाडी, प्रशिक्षक र पदाधिकारीको कमी–कमजोरीलाई जोगाउनु खोज्नु मूर्खता हुनेछ । यसर्थमा कि यतिबेला तेक्वान्दोको साख दाउमा लागेको छ । तेक्वान्दोको साख बचाउन ढाकछोप गरेर होइन सत्यतथ्यलाई आत्मसात् गर्नु जरुरी भएको छ । त्यसका लागि खुद तेक्वान्दो सङ्घ जिम्मेवार बन्नुपर्ने आजको आवश्यकता भएको छ । अन्यथा आज सागमा नेपालले स्वर्ण गुमाएको छ, भोलि रजत पनि गुमाएर कांस्यमा सीमित नहोला भन्न सकिँदैन ।