यसकारण बने देउवा बलवान

यसकारण बने देउवा बलवान


sher-bahadur-deuba

नेपाली काङ्ग्रेसको ऐतिहासिक (तेह्रौं) महाधिवेशन यसैसाता राजधानीमा प्रारम्भ हुँदैछ । फागुन २० गते बिहिबारबाट सुरु हुने महाधिवेशनमा सहभागी हुन जिल्ला–जिल्लाबाट प्रतिनिधिहरू राजधानी आउने क्रम सुरु भइसकेको छ । उन्नाइस गते साँझसम्म देशभरिका सबै प्रतिनिधिहरूको आगमन भइसक्ने विश्वास गरिएको छ । विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधिहरू नेपाल आइसकेका छन् । यो महाधिवेशनले केही नीतिगत विषयमा स्पष्ट मार्गचित्र बनाउनुपर्ने अपेक्षा गरिएको भए पनि सबैको ध्यान नेतृत्वतर्फ गएको छ । देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा नेतृत्वका निम्ति चुनावी प्रतिस्पर्धा हुने पुरानो परम्परा हो ।

पार्टीका संस्थापक नेता बीपी कोइरालालाई समेत चुनौती दिँदै भुदेव राई चुनावी मैदानमा खडा भएका थिए । पञ्चायतकालभरि पाटी– रक्षामा सीमित हुनुपर्दा यसका गतिविधिहरू व्यापक हुन सकेका थिएनन् । ०४६ को परिवर्तनपश्चात ०४८ मा सम्पन्न आठौँ महाधिवेशनबाट सन्तनेता कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यसयताका सबै महाधिवेशनमा नेतृत्वका निम्ति प्रतिस्पर्धा हुँदै आएको छ । गिरिजाप्रसाद कोइरालालाई सबभन्दा पहिले (नवौँ महाधिवेशन) चिरञ्जीवी वाग्लेले चुनौती दिनुभएको थियो । नरहरि आचार्यले पनि कोइरालाविरुद्ध आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन् । बाह्रौँ महाधिवेशनमा सुशील कोइरालाई चुनौती दिन निष्ठावान मानिएका नेता भीमबहादुर तामाङ पनि मैदानमा उत्रिएका थिए । तर, उहाँहरूले निकै दुर्वल मत मात्र प्राप्त गर्नुभएको थियो ।

पोखरा महाधिवेशनमा शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालालाई चुनौती दिँदै उम्मेदवारी दिनुभएपछि मात्र काङ्ग्रेसमा दुईपक्षीय टक्करको राजनीति सुरु भएको हो । उक्त महाधिवेशनमा देउवाले सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । बाह्रौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाबीच भएको प्रतिस्पर्धामा करिव तीन सय मतान्तरले कोइराला विजयी बन्नुभएको थियो । सुशील कोइराला अर्को एक कार्यकालका निम्ति सभापतिमा उम्मेदवारी दिने तयारी गर्दागर्दै उहाँको निधन भएको छ । कोइरालाको निधनपश्चात शीर्षस्थ तीनमध्ये दुई मात्र नेताहरू शीर्ष भूमिकामा क्रियाशील रहनुभएकोले वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच मात्र प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर कोइराला पक्षभित्र अनेकौँ गुट–उपगुटका नेताहरू सभापति पदका दावेदार बनेकाले स्थिति असामान्य तर रोचक बन्न पुगेको छ ।

वरिष्ठ नेता देउवा हालको संस्थापन पक्षका नेताहरूसमेत समेटिएको टिम निर्माण गरेर चुनावी मैदानमा प्रतिस्पर्धाका निम्ति उत्रने तयारी गर्दै हुनुहुन्छ भने अर्को पक्षमा पसभापतिका दावेदारहरूको सङ्ख्या पाँच देखिएको छ । रामचन्द्र पौडेल, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र सुजाता कोइराला सभापतिको उम्मेदवार बन्न इच्छुक देखिए । यसरी आफ्नो पक्षभित्र धेरैले सभापतिमा दाबी गर्न थालेपछि एकथरिले डा. सशाङ्क कोइरालालाई पनि सभापतिको उम्मेदवार बन्न दबाब दिए–दिइरहेका छन् । तर, डा. कोइराला रामचन्द्र पौडेललाई सभापति बनाएर आफू महामन्त्रीमा चुनाव लड्न व्यक्तिगत रुपमा तयार हुनुभएको छ । पौडेल पनि डा. सशाङ्कलाई महामन्त्रीको उम्मेदवार बनाउँदा त्यसबाट आफूसमेत राजनीतिक रूपमा लाभान्वित हुने विश्वासमा हुनुहुन्छ । तर सशाङ्कसँग मिलेर टिम बनाउँदैमा रामचन्द्र पौडेल सुरक्षित अवतरण हुने अवस्थामा पुग्न भने सम्भव देखिएको छैन । महामन्त्री कृष्णप्रसाद सिटौला कुनै पनि हालतमा सभापतिमा उम्मेद्वारी दिन दृढ देखिनुभएको छ । रामचन्द्र उम्मेदवार बनेको अवस्थामा संस्थापन पक्ष पराजित हुने उहाँको भनाइ छ । त्यसैले सुजाता कोइरालादेखि गगन थापासम्मलाई समेटेर संस्थापनको छुट्टै टिमसहित मैदानमा आउने तयारी सिटौलाबाट भइरहेको छ । तथापि, सुजाता र गगनलाई आफ्नो पक्षमा मिलाउने सफलता भने सिटौलालाई मंगलबार (१८ फागुन) साँझसम्म मिलिसकेको थिएन । सुजाताले आफैंलाई सभापति मान्नुपर्ने शर्त राखेका कारण सिटौला र सुजाताबीचको एउटै टिम बन्न मुस्किल परेको बुझिएको छ । प्रकाशमान सिंह र डा. रामशरण महतले सभापति पदमा उम्मेद्वारी दिने इच्छा जाहेर गर्नुभएको भए पनि उहाँहरू रामचन्द्र पौडेललाई सभापति मानेर अघि बढ्न तयार हुनुहुन्छ । तर, हालको संस्थापन पक्षबाट एक मात्र उम्मेद्वार बनाउन भने उहाँहरू असफल हुनुभएको छ । कुनै आकस्मिक घटना भएन भने अब कोइराला पक्षबाट सुजाताबाहेक कम्तिमा दुईवटा प्यानल चुनावी मैदानमा आउने निश्चित भएको छ ।

हालको संस्थापन पक्षबाट एक मात्र उम्मेद्वार बनेको भए पनि देशभरिको चुनावी परिणामले वरिष्ठ नेता शेरबहादुर देउवाको स्थिति सुदृढ देखाएकोले उहाँ नै विजयी बन्ने अनुमान धेरैले गरेका छन् । सभापति पदमा देउवा विजयी बन्ने सम्भावना बढ्नुका ६ वटा ठोस कारणहरू देखिएका छन् ।

भरोसायोग्य व्यक्तित्व
शेरबहादुर देउवा नेपाली काङ्ग्रेसका आमकार्यकर्ता तथा नेताहरूका निम्ति भरोसायोग्य नेता हुनुहुन्छ । उहाँले राष्ट्र, प्रजातन्त्र र काङ्ग्रेसलाई असहज हुने काम गर्नुहुने छैन भन्ने विश्वास त छँदैछ, उहाँबाट आफूहरू सुरक्षित होइने विश्वास पनि पार्टीका नेता तथा कार्यकर्तामा छ । गिरिजाप्रसादपछि उहाँजत्तिकै भरपर्न सकिने अर्को नेताका रूपमा देउवा प्रकट हुनुभएकोले आममतदाताको ध्यान उहाँप्रति आकर्षित भएको छ । देउवामा लड्न सक्ने र आवश्यक पर्दा शीर नझुकाइकन सम्झौता पनि गर्न सक्ने क्षमता रहेकोबारे आम काङ्ग्रेस कार्यकर्ता जानकार छन् । देउवाको मित्रवत व्यवहार र निर्णय लिनसक्ने क्षमताले पनि उहाँलाई पार्टीभित्र भरोसायोग्य नेताको रूपमा स्थापित गरेको छ ।

बलियो नेटवर्क
शेरबहादुर देउवा यतिबेला नेपाली काङ्ग्रेसमा सबैभन्दा बलियो नेटवर्क भएका नेतामा पर्नुहुन्छ । यसअघि दुईपटक सभापतिमा प्रतिस्पर्धा गरेर कोइरालाहरूसँग पराजित हुनुभएका देउवालाई यस (तेस्रो) पटक सभापतिमा विजयी बनाइछोड्न उहाँका समर्थकहरूको नेटवर्क निकै सक्रिय रहेको छ । देउवाको नेटवर्कमा अर्का नेता खुमबहादुर खड्काको नेटवर्कसमेत जोडिन गएकोले देउवाको स्थितिलाई निकै सुदृढ बनाएको छ ।

उदारतापूर्ण व्यवहार
शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबीच पार्टी एकीकरणका क्रममा साठी र चालिस प्रतिशत भागवण्डा गरी मिलाउने सहमति भए पनि पछिल्ला वर्षहरूमा देउवाले सबैप्रति उदारभाव राख्दै आउनुभएको छ । गत महाधिवेशनमा आफूलाई पराजित गर्न मूख्य भूमिका निर्वाह गर्ने संस्थापन पक्षका नेताहरूलाई समेत आफूसँगै राखेर अघि बढ्न देउवा तयार हुनुले उहाँको उदारता झल्किएको छ । देउवाको व्यवहारले कसैलाई काखा–पाखा गर्ने या पूर्वाग्रह राख्ने काम हुनेछैन भन्ने विश्वास बढाएको छ ।

पुरानो संस्थापनप्रतिको निराशा
सुशील कोइरालाले सभापतिका रूपमा गर्नुभएको कामले पार्टी कार्यकर्ताहरूलाई सन्तुष्ट राख्न सकेन । रिक्त केन्द्रिय सदस्य पदपूर्ति गर्न चार वर्षको कार्यकाल भएको सभापतिलाई पाँच वर्ष लाग्यो । भातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न/गराउन नसक्दा नेतृत्व विकासमा अवरोध पैदा भएको मात्रै छैन, पार्टी काममा समेत नकारात्मक असर परेको छ । पार्टीलाई गतिशील, क्रियाशील र सुदृढ बनाउने मामिलामा हालको संस्थापन पक्ष पूर्णत: असफल रह्यो, यो असफलताका निम्ति सुशील कोइरालालाई मात्र जिम्मेवार ठानिएको छैन । उपसभापति, महामन्त्री, कोषाध्यक्ष र अन्य विभिन्न पदीय जिम्मेवारी लिने नेताहरूसमेत असफलताको निम्ति जिम्मेवार छन् भन्ने आम काङ्ग्रेसजनको ठहर छ । संस्थापन पक्षको निष्क्रियताको लाभ स्वभाविक रूपले देउवालाई पुगेको छ ।

अर्को पक्षभित्रको तनाव र बेमेल
विगतदेखि नै शेरबहादुर देउवालाई जो–जसले समर्थन र सहयोग गर्दै आए, तिनले आफू बन्नेभन्दा देउवालाई सभापति बनाउने कुरालाई प्राथमिकतामा राखे । तर, कोइराला पक्षभित्र त्यसप्रकारको सौहार्दपूर्ण वातावरण देखिएन । कृष्णप्रसाद सिटौला, सुजाता कोइराला र प्रकाशमान सिंहले रामचन्द्र पौडेललाई आफ्नो पक्षको सर्वसम्मत नेता बनाउन चाहेनन् । एउटाले अर्कोलाई अस्वीकार गर्ने रोगले हालको संस्थापन पक्षलाई यसरी च्याप्यो कि त्यसभित्र धेरै ठूलो तनाव उत्पन्न भएको छ । यो पक्षबाट सभापतिमा एक मात्र उम्मेदवार नबन्ने अब पक्कापक्की भएको छ । यसप्रकारको बेमेल र तनावका कारण हालको संस्थापन पक्ष थप कमजोर भएको छ । यसको लाभ पनि देउवालाई नै मिलेको छ ।

देशभरिको मत परिणाम
शेरबहादुर देउवा बलियो देखिनु र उहाँले विजय प्राप्त गर्ने सम्भावना बढ्नुको निर्णायक कारण क्षेत्रिय अधिवेशनबाट प्राप्त परिणाम हो । देशभरि सम्पन्न क्षेत्रिय अधिवेशनहरूबाट देउवालाई मतदान गर्न चाहनेहरूको ठूलो सङ्ख्या निर्वाचित भएको पाइएको छ । मुलुकको दुई सय चालिस निर्वाचन क्षेत्रमध्ये त्यस्तो एउटै निर्वाचन क्षेत्र छैन जहाँ पहिलेको तुनालमा देउवाको मत बढेको नहोस् । मतदाता सङ्ख्या अधिक रहेका तराईका जिल्लाहरूमा पचहत्तर प्रतिशतभन्दा बढी मत देउवाको पक्षमा देखिएको छ । मधेश–तराइको सुनसरीबाहेक सबै जिल्लामा देउवा पक्षको पकड बलियो रहेको परिणामले देखाएको छ । कोइरालाहरूको उद्गमभूमि मानिएको मोरङ काङ्ग्रेसको सभापति पदमा देउवासमर्थकको विजय भएको छ भने कूल १०८ मतदातामध्ये कम्तिमा साठी (६०) प्रतिनिधि देउवाका क्षेत्रबाट ७० देखि ७३ प्रतिशत मत देउवा पक्षमा देखिएको छ ।
मध्यपश्चिमाञ्चलमा ५७ प्रतिशत, पश्चिमाञ्चालमा एकाउन्न प्रतिशत, मध्यमाञ्चलमा करिव एकाउन्न प्रतिशत र पूर्वाञ्चलमा कम्तिमा पचास प्रतिशत मत देउवालाई जाने स्थिति देखापरेको छ । त्यस्तै, विदेशबाट आउने ११९ मध्ये ९० प्रतिनिधहरूले देउवालाई मतदान गर्ने निर्णय गरिसकेका छन् । भातृसंस्थाहरूको ९८ मध्ये ६४ प्रतिनिधिहरूले देउवालाई समर्थक गर्ने भएका छन् । यही स्थिति कायम रह्यो भने शेरबहादुर देउवा चारसयभन्दा बढी मतले सभापति पदमा विजयी बन्नुहुनेमा शङ्का गरिरहनुपर्ने अवस्था देखिएको छैन ।